काठमाडौं । नेपालको ग्लोबल आइएमई बैंक र कोरियाको ग्लोबल मनि एक्सप्रेस (जीएमई) रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत जीएमईको शाखा तथा अनलाईनबाट तुरुन्तै नेपालमा रहेको ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखाहरुमा पैसा पठाउन सकिने छ । साथै, ग्लोबल आईएमईको नेपालभर रहेका ७००० भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त जीएमई रेमिट्यान्स कम्पनीको आइतबारदेखि उद्घाटन भएको छ । उक्त रेमिट्यान्सको उद्घाटन कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् । कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने जीएमई पहिलो रेमिट्यान्स कम्पनी भएको छ ।
उक्त कार्यक्रममा बोल्दै कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले कोरियामा जीएमईको स्थापना संगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियन सरकारको यो स्वीकृती र जीएमईको कारोबार सुरु भएपश्चात अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन ठुलो सहयोग पुग्ने बताएका छन् ।