अग्निद्वारा महिन्द्रा एक्स्यूभी५००को अटोमेटिक भेरियेन्टको बुकिङ्ग खुल्ला
काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले महिन्द्रा एक्स्यूभी५००को नयाँ अटोमेटिक रेन्ज नेपाली बजारमा ल्याएको छ । नयाँ नियू एज एक्स्यूभी५०० अटोमेटिक सँग अब ग्राहकहरुको ड्राइभिङ्ग अनुभव झनै प्रभावकारी हुने छ । ग्राहकहरुले सिटि रोडमा आनन्द लिनुका साथै जस्तो सुकै कठिन अफ-रोडहरुमा पनि आरामका साथ यात्रा गर्न सक्नेमा कम्पनी विश्वस्त छ । उक्त गाडिहरुका लागि बुकिङ्ग www.onlineagni.com खुल्ला गरिएको छ । साथै, ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ ।
राधी विद्युत कम्पनीले ७ लाख कित्ता आइपीओको लागि माग्यो बोर्डको अनुमति
काठमाडौं । राधी विद्युत कम्पनी लि. ले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गराएका हुन् । अध्यक्ष पदमा नियुक्त हुनुअघि श्रेष्ठ सोही बैंकको सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । साथै, उनी पोखराको फेवा सिटी हस्पिटलको निर्देशक हुन् । श्रेष्ठ त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त पोखराको गण्डकी मेडिकल कलेजको प्रधानअध्यापक पनि हुन् । विभिन्न सामाजिक संस्थाहरुमा संलग्न श्रेष्ठ पोखराको बाग्लुङ समाजको पूर्व अध्यक्ष थिए ।
हिमालयन जनरल इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन जनरल इन्स्योरेन्सलाई १६६ दशमलब ६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई उसले जारी गर्ने ६४ करोड २० लाख रुपियाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल रहेको छ ।
सेयर बजार हरियो, ४९ करोडको सेयर कारोबार
काठमाडौं । मंगलबारको सेयर बजार हरियो भएको छ । हरियाली छाएको बजारमा नेप्से परिसूचक ४ दशमलब ६३ अंकले बढेको छ । सो दिन ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १४३ कम्पनीको ९ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी एभरेष्ट बैंकको ४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । बजारमा ८ समूहको कारोबार भएका छन् । ती मध्ये उत्पादनमूलक समूहक ७ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १७ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा र हाइड्रोपावर समूहको परिसूचक क्रमशः १४ र १३ अंकले उकालो लागेका छन् । मंगलबार सबैभन्दा बढी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६३ रुपैयाँ रहेको छ ।
सम्माननीय गोपाल पराजुलीज्यू, हजुरको जन्म भएको कहिले हो ?
काठमाडौं । सुशीला कार्कीले अवकाश पाएसँगै सर्वाेच्च अदालतको कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी बरिष्ठ न्यायधिस गोपाल पराजुलीले सम्हालिरहेका छन् । त्यसो त कार्की माथी महाअभियोग दर्ता भएकै मध्यरातमा पनि पराजुलीले कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारी सम्हालेका थिए । पराजुलीको फरक फरक उमेर लेखिएका २ वटा नागरिकताका अब करिब ११ महिनासम्म पराजुलीले सर्वाेच्च अदालतको नेतृत्व निर्विकल्प रुपले सम्हाल्ने छन् । तर न्यायलयको नेतृत्वमा बसेर जनतालाई न्याय दिने उनै कायम मुकायम प्रधानन्यायधिश पराजुलीले आफैंलाई भने अन्याय गरिरहेका छन् । अर्थात पराजुलीले आफ्नै जन्म मितिबारे फरक फरक कागजात बुझाएका छन् । उनले बिभिन्न समयमा बनाएको नागरिकता र सेवा प्रवेशका प्रमाणपत्रहरुमा उनको जन्म मिति फरक फरक फेला परेको छ । पराजुरीको जन्म सम्बन्धी तीन वटा मिति भेटिन्छन् । यसरी जनतालाई न्याय दिने पराजुलीले आफ्नै जन्म माथी पनि अन्याय गरेको देखिन्छ । उनले २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ बर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपीमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ । त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । सम्माननिय कायम मुकायम प्रधान न्यायधिशज्यु, तपाईको जन्म २०१० साल बैशाख १६ गते हो कि २००९ साल साउन २१ गते हो ? आफ्नै उमेरमाथी न्याय गर्न नसक्ने तपाइँले आम नागरिकलाई कसरी न्याय दिन सक्नु हुन्छ ?
जथाभावी बाटो काट्ने पैदल यात्रुको २०० रुपैयाँ जरिवाना हट्यो
काठमाडौं। काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदल यात्रुको रु २०० जरिवाना हटेको छ । मंगलबार गृहमन्त्री जनार्दन शर्माले जनताले अनुभव गर्ने गरी काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई संयुक्त रुपमा निर्देशन दिँदै गृहमन्त्री शर्माले भने – “विद्युत् कटौतीको अन्त्य जस्तै नेपाली जनताले अनुभव गर्ने गरी काठमाडौँ उपत्यकाको ट्राफिक समस्या समाधान गर्नोस् ।” गृहमन्त्री शर्माले रु २०० जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षा दिने काममा जोड दिन आग्रह गरेका छन् । गृहमन्त्री शर्माले भने -“रु २०० जरिवाना गरेको भरमा जहाँसुकैबाट बाटो काट्ने प्रवृत्तिको अन्त्य हुन सक्दैन । जरिवाना लिने कार्य तत्काल हटाएर जनचेतना जगाउनेतर्फ लाग्नुस् । बरु आधा घन्टा जथाभावी बाटो काट्नेलाई राखेर शिक्षा दिनुस् । जरिवानाले कसैको पनि हित गर्दैन । उपलब्ध साधन र स्रोतको प्रयोग गरेर सहज सवारी आवागमनको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री शर्माले अन्य मन्त्रालय र विभागसँगको समन्वयमा गर्नुपर्ने कामको पूर्ण फेहरिस्त बनाउन पनि निर्देशन दिए । उनले काठमाडौं उपत्यकामा साझाजस्ता ठूला सवारी साधन चलाउनुपर्ने र जोर बिजोर प्रणाली लागू गरेर ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री शर्माले सडक किनारामा थुपारिएका निर्माण सामग्री तत्काल हटाउन र मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तत्काल पुनःनिर्माण गरी धुलोरहित बनाउन कुन निकायले के गर्नुपर्ने हो तत्काल देखिने गरी कार्यसम्पादन गर्नसमेत निर्देशन दिए । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्यालकाअनुसार काठमाडौँका २५० वटा मुख्य चोक ट्राफिक जामको चपेटामा पर्ने गरेको छ । केशरमहल, हात्तीसार, कलङ्की, कालीमाटी, कोटेश्वर, सातदोबाटो, महाराजगन्जजस्ता स्थानमा हुने चर्को जामका कारण यात्रुले सास्ती भोग्न परेको छ । अधिकारको अभावमा प्रभावकारी कार्यसम्पादन भएन धुवाँ, धुलो, पानी र घाम व्यहोर्नुपर्ने ट्राफिक प्रहरीलाई पर्याप्त अधिकार नदिइएका कारण पनि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको पाइएको छ । यातायात व्यवस्था विभाग नियमनकारी निकायका रुपमा रहेको छ । व्यस्त रहने अधिकांश ठाउँमा जेब्रा क्रस छैनन्, सडकमा ट्राफिक बत्ती पनि छैन । पैदल यात्रुमा पनि जनचेतनाको अभाव छ । यसमाथि सवारी चालकको लापर्बाही पनि उस्तै रहेको महानिरीक्षक अर्याल बताउछन्। यस्तै कानुनतः अन्त्य भएको भनिएको एकाधिकार व्यावहारिक रुपमा अन्त्य हुन सकेको छैन । यातायात व्यवसायीले संस्थागत गरेको एकाधिकारको मारमा यात्रु पर्ने गरेका छन् । महानिरीक्षक अर्याल भन्छन् – “राज्यले नै अनुदान दिएर हुन्छ वा कुनै अन्य उपाय अवलम्बन गरेर हुन्छ सहरी क्षेत्रमा तत्काल ठूला सवारी साधन चलाएर निजी सवारी साधन प्रयोग गर्ने बानीमा सुधार गर्नु जरुरी छ ।” ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामाले पनि साना सवारी साधनमा भएको वृद्धिका कारण समस्या बढेको भए पनि सुधारका अनेकन प्रयास गरिएको बताए । तीन अर्ब लगानी आवश्यक काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको ट्राफिक बत्ती राख्न रु तीन अर्ब बराबरको लगानी जरुरी रहेको छ । प्रहरी महानिरीक्षक अर्यालले विगतमा राखिएका ट्राफिक बत्ती जीर्ण भएको र काम गर्न नसक्ने अवस्थामा पुगेका कारण सरकारले रु तीन अर्ब लगानी गरेर सुधार गर्नुपर्ने बताउछन् । लामो समयदेखि काठमाडौँको ट्राफिक व्यवस्थापनमा ख्याति कमाउएका सीताराम हाछेँथुका अनुसार काठमाडौँमा प्रतिमिनेट ५२ वटा चारपाङ्गे्र र ८१ वटा मोटरसाइकल चल्ने गरेको तथ्य पेस गर्दै सुधारको पहिलो सर्त नै ठूला सवारी साधन भएको बताए । सो अवसरमा गृहसचिव लोकदर्शन रेग्मीले ठूला सवारी साधनको व्यवस्था तथा तत्काल सुधार गर्न सकिने विषयमा ध्यान केन्द्रित गर्न प्रहरीलाई आग्रह गरेका छन् । मन्त्रालय ट्राफिक व्यवस्थापनसम्बन्धी दीर्घकालीन रणनीति बनाउने योजनामा रहेको पनि उनले बताए । रासस
नेपाल-हङकङ एकदिवसीय व्यापार मेला हुँदै, नेपालमा उत्पादित हस्तकलाका वस्तुको बिक्री गरिने
काठमाडौं । हङकङस्थित नेपाली महावाणिज्य दूतावास, हङकङ नेपाल व्यापार सङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा नेपाल-हङकङ एकदिवसीय व्यापार मेला हुने भएको छ । हङकङस्थित सांस्कृतिक केन्द्रमा आगामी असार १० र ११ गते उक्त मेला आयोजना हुन लागेको हो । मेलामा नेपालमा उत्पादित प्रमुख हस्तकलाका वस्तुको प्रदर्शन तथा बिक्री गरिने महासङ्घका महानिर्देशक डा गोविन्द्रप्रसाद रेग्मीले जानकारी दिए । मेलामा नेपालको कला र संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । मेलामा नेपाली हस्तकला उद्यमी व्यवसायी १५ वटा फर्म कम्पनीले सहभागिता जनाउने रेग्मीले बताए । मेलाबाट नेपाल र हङकङको कला तथा सांस्कृतिक एवम् व्यापारिक सम्बन्ध विस्तार हुने महासङ्घले विश्वास लिएको छ । मेलामा नेपालका तर्फबाट ५० जनाभन्दा बढीले भाग लिने महासङ्घले जनाएको छ । रासस