फागुन महिनामा चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, हप्तामा चार दिन मात्रै पाउने
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारले आगामी फागुन महिनाको हप्तामा चार दिन विशेष छुट दिने व्यवस्था गरेको छ । कम्पनीले फागुन महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट लिन सक्ने व्यवस्था मिलाएको छ । छुट व्यवस्था अनुसार कूल ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैन । यो सुविधाअन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने छन् भने सो दिन लिइएको टिकट अन्य दिनका लागि मात्र मान्य हुनेछ । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेरभालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागिअशोक लेलेण्डको४२ सिट क्षमता भएको निः शूल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार सम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ । चन्द्रागिरिमा अहिले घोडसवारीको पनि व्यवस्था गरिएको छ ।
कोका-कोला मोःमोत्सव फेरी शुरु, नेपालका विभिन्न रेष्टुरेन्टहरुमा आयोजना हुने
काठमाडौं। गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका-कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । कोका-कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरुसँगको सहकार्यमा अनुपम ‘कोका-कोला मोःमोत्सव’ गत वर्ष देखि आयोजना गर्दै आएको हो । यस मोःमो अभियानले कोका-कोलाका साथमा मोमोहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यस वर्षको मोःमोत्सव महोत्सव बुधबारदेखि शुरु भएको छ भने मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखी प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् । विभिन्न आउटलेटहरुमा कोका-कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनु भने मोःमोका पारखीहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्नेछन् । मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ । जसको लागि फुटबल खेलाडी जसले यो प्रतिस्पर्धामा जित्न सक्दछ जस्तो लाग्दछ त्यसलाई आफूले समर्थन गर्न सकिनेछ । फेबु्रअरी महिनालाई प्रेमको महिना भनेर चिनिन्छ । यो मोःमोत्सवको अवधिमा, प्रियंका कार्कीले तपाईँको महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि तपाईँलाई सहयोग गर्नेछिन् । विभिन्न आउटलेटहरुमा विभिन्न कार्यक्रमहरुका साथ यो महिनाभर तपाईँले सरप्राइजका प्राप्त गर्नका लागि प्रतिक्षा गर्नुहोस् रतपाईँले कोका–कोलाको आधिकारिक फेसबुक पेज पनि फलो गर्न सक्नुहुनेछ । यसको लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ @CocaCola ट्याग गरी Facebookमा आफ्ना पोस्टहरु पब्लिक गरी अपलोड गर्नुपर्ने हुन्छ । कोका-कोला र खाना सधै संगसंगै आउदछ त्यसैलले कोक र मोःमो संगै ल्याएर उत्सव मनाउने यो भन्दा उत्कृष्ट तरिका अर्को हुन सक्दैन । प्रियंका कार्कीका साथमा हाम्रो राष्ट्रिय फुटबल खेलाडीहरु पनि यो अभियानको बारेमा निकै उत्सुक रहेका छन् र उनीहरुले आफ्ना मनपर्ने खाना, साथीहरु तथा परिवारहरुको साथमा आनन्द उठाउन यो मोःमोत्सवमा सहभागी भएर अनुभव लिने अपेक्षा गरिएको छ । कोका-कोलाले नेपालभर आफ्ना ग्राहकहरुका लागि नौला र रुचिकर अवसरहरु निरन्तर ल्याउने गर्द छ र मोमो उत्सव पनि अन्य कार्यक्रमहरु जस्तै रुचाईएको छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सले २६ प्रतिशत बोनस दिने, एफपीओकाे सेयर पाउनेले पनि बोनस सेयर पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २६ दशमलब ३१ प्रतिशत बोनस दिने निर्णय गरेको छ । माघ २६ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे । कम्पनीले गत महिनामा जारी गरेको एफपीओ पश्चातको पूँजीमा सो मात्राको बोनस दिने निर्णय गरेको हो । कम्पनीले गत पुस २७ गतेदेखि ३० लाख ९६ हजार ४२९ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको थियो । उक्त सेयर बाँडफाँड हुन बाँकी छ । कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ६१ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरकाे बोनस सेयर र कर प्रयोजनको लागि ३ करोड २५ लाख ९३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश एफपीअाे जारी गर्नुअघिकाे चुक्ता पुँजीकाे अाधारमा ३० दशमलब ०८ प्रतिशत भएकाे कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
अाैषधीकाे अधिकतम मूल्य ताेक्नुपूर्व भारत र बंगलादेशकाे अाैषधी नीतिबाट नेपालले सिक्नुपर्ने वास्तविकता
काठमाडौं । सरकारले औषधीको मूल्यमा एमआरपी (अधिकतम खुद्रा बिक्री मूल्य) तोक्ने भनेको छ । यस्तो व्यवस्था भारतमा बाहेक संसारमा कहिँ पनि छैन् । भारतमै पनि स्वदेशी औषधी उद्योगलाई बिशेष सुबिधा दिएर मात्रै एमआरपी तोकिएको छ । भारत विश्वकै तेश्रो ठूलो औषधी निर्यात कर्ता मुलुक हो । त्यहाँ स्वदेशी उद्योगीलाई यतिधेरै सुबिधा दिएको छ की हामीले त्यसको आधा सुबिधा मात्रै पायौं भने पनि धेरै प्रगति गर्न सक्छौं । बंगलादेशमा जति सुबिधा मात्रै दिने हो भने पनि हामी ठूलै उपलब्धि दिन सक्छौं । तर नेपालमा भने औषधीको विकासमा कुनै सहयोग भएको छैन् । बरु भारतका अनुसन्धान परिषदहरुले गरेका अनुसन्धान रिपोर्टहरु हेरेर हामीले काम गरिरहेका छौं । भारतमा आधुनिक सुबिधा सम्पन्न रिसर्च एकेडेमी छन् । तिनले रिसर्च गर्छन र निजी कम्पनीले औषधी उत्पादन गर्छन् । सरकारले कर छुटदेखि निर्यातमा नगद अनुदान र प्रविधि आयातमा छुट दिने गरेको छ । बंगलादेश औषधीमा ९७ प्रतिशत आत्मनिर्भर छ । बंगलादेशले अनुदान दिँदैन् तर बंगलादेशले ८० वटा मुलुकमा औषधी निर्यात गर्छ । भारतको जस्तो सहयोग गर्न नसक्ने हो भने बंगलादेशको जस्तो सहयोग गर्नु पर्छ । सन १९८२ मा जनरल एहसारले बंगलादेशको शासन लिएपछि हरेक नागरिकलाई सस्तो र गुणस्तरिय औषधी उपलब्ध गराउने औषधी नीति बनाए । बंगलादेशमा बंगाली कम्पनीले मात्रै कफ सिरप, भिटामिन, मिनरल र एन्टासिक बनाउन पाए । त्यहाँ विदेशी कम्पनी पनि थिए । भिटाएक्स नामको भिटामिन सबै भन्दा धेरै बिक्थ्यो तर त्यो कम्पनीलाई बन्द गरिदिए । एक वर्षभित्रै बंगाली कम्पनीले २० प्रतिशत बजार हिस्सा ओगट्न सफल भए । त्यसपछि दुई वटा बंगाली कम्पनीले मिलेर मलिक्युल बनाउन सक्छन भने आयात गर्न पनि नपाउने व्यवस्थ गरियो । विदेशी कम्पनीले करारमा औषधी उत्पादन गर्न नपाउने बंगाली कम्पनीले बंगाली कम्पनीसँगै करारमा औषधी बनाउनु पर्ने व्यवस्था ल्याइयो । त्यसपछि तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले एहसारलाई अमेरिका बोलाएर त्यस्तो नीति फिर्ता लिन अनुरोध गरे । त्यसो गरेमा आफुले विशेषज्ञ अमेरिकी टोली पठाएर बंगलादेशमा औषधी उत्पादनमा नयाँ प्रविधि भित्र्याउन सघाउने उनले बताएका थिए । एहसारले रेगनको कुरा स्विकार गरे । अमेरिकाले चार जना बिशेषज्ञ पठायो । तर ती सबै अमेरिक औषधी कम्पनीका कामदार रहेको पत्ता लाग्यो । त्यसपछि तत्कालिन बंगाली स्वास्थ्य मन्त्री जफ्रल्लाह चौधरीले उनीहरुलाई अमेरिका नै फिर्ता पठाईदिए । त्यसकारण आज बंगलादेशले ९७ प्रतिशत आत्मनिर्भर र ८० देशमा निर्यात गर्ने हैसियत बनाएको छ । औषधीको व्यवस्थापनमा बंगलादेश संसारमै अब्बल मानिन्छ । भारतले एमआरपी तोकेको छ तर पनि बंगलादेशले भारतको भन्दा सस्तो औषधी बेच्छ । अब नेपालले हामी उद्योगीलाई भारतले जस्तै अनुदान दिने हो वा बंगलादेशले जस्तै सुबिधा दिने हो ? एउटा रोज्नुपर्छ । बल्ल हामी सस्तोमा औषधी दिन तयार छौं । नेपालमा रहेका नियामक निकायमध्ये सफल नियामक निकाय भनेको औषधी व्यवस्था विभाग हो । नेपालका हरेक उद्योगसँग आफ्नै प्रयोगशाला छ, डब्ल्युएचओ र जीएमपी मापदण्ड पुरा गरेका छन् । अमेरिका र बेलायतकै प्रविधि र गुणस्तरमा औषधी उत्पादन भैरहेका छन् । अब औषधी व्यवस्था विभागको ल्याब पनि विश्वस्तरिय बनाउनु पर्छ । खाद्यान्न, औषधी र उर्जामा आत्मनिर्भर भएको दिन हामीलाई कसैले नाका बन्दी गर्न सक्दैन् । हामीलाई सबैले सहयोग गर्ने हो भने दुई बर्षभित्रै आत्मनिर्भर हुन सक्छौं । अहिले नै एक सय वटा औषधीमा हामी आत्मनिर्भर छौं । लार्ज भोल्युम प्यारेन्टलको एउटा ठूलो उद्योग खुलेको छ त्यसले नै हामीलाई आत्मनिर्भर बनाउन सक्छ । सरकारसँग हाम्रो आग्रह छ, हामीले जे उत्पादन गरिरहेका छौं त्यसमा हामीलाई सुरक्षा दिनु पर्यो । गत वर्ष ३६ अर्ब २० करोडको औषधी कारोबार भएको थियो नेपालमा । त्यसमध्ये १६ अर्ब २० करोडको बजार आन्तरिक उत्पादनले धानेको थियो भने २० अर्बको औषधी आयात गरिएको थियो । हामीलाई सरकारले सघाउने हो भने हामी चाँडै आत्मनिर्भर बनेर निर्यात गर्न सक्ने अवस्थामा पुग्नेछौं । (दाहाल नेपाल औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष हुन्)
ग्रामिण सडकमा वार्षिक २८ अर्ब, देशैभर ५७ हजार किलोमिटर स्थानिय सडक, अझै ३६८ गाविस सडक पहुँच बाहिर
काठमाडौं । देशमा सडक विभाग र स्थायिन पूर्वाधार तथा कृषि सडक विकास विभाग (डोलिडार)ले गरी करिब ७० हजार सडक निर्माण गरेका भएपनि २ जिल्ला सदरमुकाम र ३६८ गाविस अझै सडक पहुँच बाहिर छन् । हुम्लाको सिमिकाटे र डोल्पाको दुनै सदरमुकामबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालले छोइसकेको छ । सरकारले सडक विभाग अन्तर्गन राष्ट्रिय रणनीतिक महत्वका सडक मात्रै बनाउँने भएपनि स्थायिन तहमा भने डोलिडार अन्तर्गत कृषि तथा ग्रामिण सडक निर्माण हुने गरेका छन् । सरकारले सडक विस्तार, निर्माण र विकासका क्षेत्रमा गर्ने ठूला खर्चबाहेक स्थानिय तहमा खर्च हुने रकम सबै अनुदानमा सरकारले हरेक वर्षको बार्षिक बजेटमार्फत विनियोजन गर्ने गरेको छ । सरकारले स्थानिय निकायलाई निःशर्त अनुदान दिएर निर्माण गर्ने यस्ता सडकमा वार्षिक २८ अर्ब खर्च भइरहेको भएपनि अझै विभिन्न जिल्लाका ३६८ गाविसमा सडक पुुग्न सकेको छ । सडक पहुँचबाट बञ्चित हुने यस्ता गाविसमा सबैजसो पहाडी जिल्ला रहेको डोलिडाका महानिर्देशक रामकृष्ण सापकोटाले जानकारी दिए । पहाडी जिल्लामा पनि डोल्पा, हुम्ला, जुम्लासहित कर्णालीका अधिकांश जिल्ला र अन्य जिल्लाका विकट गाविस रहेको उल्लेख छ । डोलिडारले हालसम्म ५७ हजार किलोमिटर सडक निर्माण गरेको बताएको छ । यी सडकमध्ये २ हजार किलोमिटर कालोपत्रे, १३ हजार किलोमिटर ग्राभेल, ४२ हजार किलोमिटर अर्धन रहेको उल्लेख छ । यी सडकमा २६ प्रतिशत मात्रै सडक बाह्रै मास सन्चालन योग्य रेहका छन भने बाँकी ७४ प्रतिशत सडक सिजनल रहेको छ । स्थानिय तहमा मात्र २६ सय पुल स्थानिय तह तथा ग्रामिण भेगमामा मात्रै २६ सय पुल पुलेसा हालसम्म निर्माण भएका छन् । सडक विभागले निर्माण गरेको रणनीतिक महत्वका र ठूला सडकममा निर्माण भएका २ हजार पुल बाहेक नै २६ सय पुल डोलिडार अन्तर्गत निर्माण भएको उल्लेख छ । राजनीतिक दबाब थेग्नै गाह्रो स्थानिय तहमा निर्माण हुने कुनै पनि भौतिक पूर्वाधारका लागि आउने राजनीतिक दबाब थेग्न सडक विभाग तथा डोलिडारलाई हरेक वर्ष हम्मेहम्मे पर्ने गरेको छ । सरकारले वार्षिक रुपमा विनियोजन गरेको बजेटको सिलिङ विपरित आउने यस्ता राजनैतिक दबाबले काम गर्ने गाह्रो पर्ने गरेको डोलिडार स्रोतको भनाइ छ । स्थानिय तहमा पूर्वाधार लैजान र विकास निर्माणको काम गरेर राजनैतिक नेतालाई काम देखाउनुपर्ने र स्थानिय तहमा सानो मात्रामा भएपनि कुनै नै कुनै काम नभए नेतालाई गाउँ जान गाह्रो हुने भन्दै दबाब आउने गरेको पनि उल्लेख छ ।
स्याण्डर्ड चार्टड बैंकको खुँद नाफा ७४ करोड, ६ महिनाको नाफा करिब २१ प्रतिशतले बढ्यो
काठमाडौं । स्याण्डर्ड चार्टड बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २१ प्रतिशतले बढेको छ । यो बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७४ करोड रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १२ करोड ८१ लाख रुपैयाँले बढी हो । बैंकको गत वर्षको सोही अवधिको नाफा ६१ करोड २० लाख रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने १९ अर्ब ७३ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात शून्य दशमलव २६ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ८६ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३९ रुपैंयाँ ४८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२० रुपैंयाँ ३९ पैसा छ । हाल यो बैंकको प्रतिसेयर १९६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
टेलिकमको नाफा ७ अर्ब ९१ करोड, प्रतिशेयर आम्दानी १०५ रुपैयाँ
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को चालू आर्थिक वर्षको ६ महिनाको खुँद नाफा ७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । टेलिकमले यो अवधिमा २२ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी गत वर्ष २१ अर्ब २९ करोड रुपैयाँ थियो । यो वर्षको आम्दानीमा सेवा क्षेत्रबाट भएको आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ हो भने अन्य आम्दानी १ अर्ब ८३ करोड रहेको छ । टेलिकमको अघिल्लो वर्षको सोही अवधिको आम्दानी भने ७ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । यसको प्रति सेयर आम्दनी १०५ रुपैयाँ रहेको छ । प्रति सेयर अम्दानी गत वर्षको तुलनामा ८ रुपैयाँ ८३ पैसाले बढेको देखिएको छ । टेलिकमको प्रति सेयर नेटवर्थ ६२५ रुपैयाँ ४५ पैसा रहेको छ । यो नेटवर्थ अघिल्लो वर्ष ५७४ दशमलव ६५ पैसा रहेको थियो । यसको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७८ अर्ब ८१ करोड रहेको छ । टेलिकमको बजारमा प्रतिसेयर ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुमारी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, ६ महिना कमायो २७ करोड ९३ लाख
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ३३ प्रतिशले बढेको छ । बैंकले यो अवधिमा २७ करोड ९३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ६ करोड ९१ लाख रुपैयाँले बढेको छ । बैंकले गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १७ करोड ३९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २१ करोड १ लाख रुपैयाँ खुँद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ३९ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३३ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ६ अर्ब १४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात १ दशमलव १४ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ३७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ९५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १६० रुपैंयाँ ८९ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ५०८ रुपैयाँमा कारोबार भइरहेको छ ।