नेप्से सामान्य अंकले घट्दा ६५ करोडको सेयर कारोबार
काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ । सामान्य अंकले घटेको बजारमा कुल ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको १२ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ४८ लाख रुपयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याडार्ण्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
एडीबीद्धारा ५ अर्ब ऋण सहयोग, पाँच वर्ष भित्र ८ नगरपालिकामा शहरी पूर्वाधार निर्माण गर्ने
काठमाडौं । एशियाली विकास बैंक(एडीबी)ले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन् । आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ । परियोजनाअन्तर्गत ती आठ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजना सम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै शहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए । उनले शहरी विकास मन्त्रालय तथा मातहतका निकायलाई समयमै परियोजना सम्पन्न गर्न आग्रह गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर कर्तव्यनिष्ठ हुन अनुरोध गरेका छन् । देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय शहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने बताउँदै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको बताए । रासस
हिमालयन पावर पार्टनरको मंसिर २० गते बुक क्लोज, पुस ६ गते साधारणसभामा जाँदै
काठमाडौं । हिमालयन पावर पार्टनरको आगामी मंसिर २० गते बुक क्लोज हुने भएको छ । यस कम्पनीले आफ्नो ५औँ वार्षिक साधारणसभा प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको ५औँ वार्षिक साधारणसभा आगामी पुस ६ गते हुने भएको छ ।
लक्ष्मी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सोमबार कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको थियो ।
२ हजार ५७ स्थानका मतपेटिकाहरु सदरमुकाम आइपुग्यो, कुन जिल्लामा कति मत खस्यो ? (विवरणसहित)
काठमाडौं । २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु ३२ जिल्लाका सम्बन्धित सदरमुकाममा पुगेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मङ्सिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा लगिएको हो । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ । यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मङरसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा खसेको मतको जिल्लागत संख्यात्मक विवरण यस प्रकार छ :
बागदरबारमा प्राधिकरणको हस्तक्षेपः महानगर र पुरातत्वसँग मागियो प्रतिवेदन
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बागदरबार पुनर्निर्माण सम्बन्धी काममा हस्तक्षेप गरेको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबिच बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि प्राधिकरणले हस्तक्षेप गरेको हो । बागदरबार भत्काएर काठमाडौं महानगरपालिकाले बनाउन लागेको भवनको डिजाइन प्राधिकरणले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारेको अध्ययन प्रतिवेदन उपलब्ध गराउने निर्देशन दिएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा आइतवार बसेको पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई लगायत सरोकारवाला निकायको बैठकले भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरवारको प्रबलीकरण गर्ने वा पुनर्निर्माण गर्ने बिषयको अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । पुरातत्व विभागले बागदरबारमा रेक्ट्रो फिटिङ गर्नुपर्ने बताउँदै आएको छ भने काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउने प्रक्रिया अघि बढाईसकेको छ । दुई निकायबिच विवाद बढेपछि प्राधिकरणले हस्तक्षेप गरेर अध्ययनहरुका सक्कल फाइलहरु बुझाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिए ।
बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलाम हुदै, मंसिर २९ सम्म बोलपत्र पेश गर्न पाइने
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ । बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर मंसिर २९ गतेसम्म लिलामीबाट बिक्री गर्न लागेको हो । मंसिर २२ गतेदेखि सेयर खरिदका लागि बोेलपत्र पेश गर्न पाइने छ । संस्थापक सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ पुग्ने छ ।
मेरो टोपी नेपालमा बनेको हो तर सियो, धागो र कपास अन्तैको हो
केपी ओली, पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष काठमाडौं । अबको हाम्रो मुल एजेण्डा आर्थिक समृद्धि नै हो । निर्वाचनपछि गठन हुने नयाँ सरकारको पहिलो उदेश्य भनेकै समृद्धि र विकास नै हो । हामीले लामो समय राजनीतिक आन्दोलनमा बितायौं तर अब भने देश बनाउनै लाग्ने हो । हामीले यथास्थितीमा बस्ने घोषणा गर्ने अवस्था छैन् । हामी साह्रै ढिलो हिडेका थियौं अब अरु भन्दा छिटो हिडेर विकास र प्रगति हासिल गर्ने हो । हामीले विज्ञान र प्रबिधीको अधिक उपयोग गरेर अघि बढ्ने हो । अरुले बर्षाै लगाएर विकास गरे अब हामीले केहि बर्षमै उनीहरुकै जस्तो विकास गर्नुपर्नेछ । १९६० पछिको विकास दुनियाँमै असाधारण छ, ८० को दशकपछि झनै द्रुत गतिमा विकास भएको छ । सन २००० पछिको विकास गति झनै तिब्र भएको छ । ७० बर्षमा नभएको विकास सन २००० देखि २०१७ को अवधीमा भएको छ । हामीले अब अझै तिब्र गतिमा विकास गर्ने हो । संयुक्त राष्ट्र संघले तयार पारेको दिगो विकास लक्ष्य अनुसार हामी विकासको गतिमा अघि बढ्न चाहान्छौं । अझै त्यो भन्दा तिब्र गति कायम गरेर सन २०३० सम्ममा विकासको नयाँ चरणमा प्रवेश गर्ने हो । १९२ देशले हस्ताक्षर गरेकाले मात्रै हामीले दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका होइनौं । साच्चै देश बनाउने भनेर हस्ताक्षर गरेका हौं । म प्रधानमन्त्री हुँदा पुर्वपश्चिम राजमार्ग विस्तार गर्ने योजना बनाउँदा पैसा थिएन तर अहिले अमेरिकाले मात्रै पाँच अर्ब दिने भनेको छ । पैसा धमाधम आईरहेका छन् । योजना बनेपछि पैसाको अभाव हुन्न । हामीले यस्ता पुर्वाधार बनाउनुपर्नेछ, जसले निजी क्षेत्र वा सरकारी लगानीलाई प्रोत्साहन गरोस, विदेशी लगानी आकर्षित गरोस, त्यसमा ध्यान दिनुपर्नेछ । आगामी २ बर्षभित्र हामीले आफ्ना लागि पुग्ने गरि विद्युत उत्पादन गरिसक्छौं । सोही अवधीमा पुर्व पश्चिम राजमार्ग विस्तार, हुलाकी राजमार्ग निर्माण, उत्तर दक्षिण सडक करिडोरको निर्माण, मध्पपहाडी राजमार्ग पनि तयार हुँदैछ । यसले आन्तरिक बजार र चिन तथा भारतको बजारमा पनि पुग्न सहज हुनेछ । हाम्रा गुणस्तरिय उत्पादन चीन र भारत तथा बंगलादेशको बजारमा लगेर बेच्न सकिनेछ । बामपन्थी गठबन्धन आयो भने लोकतन्त्र मासिन्छ । निजी क्षेत्र निरुत्साहित हुन्छ भन्ने आरोप लगाइएको छ । यो गलत कुरा हो । हामीले लडेर ल्याएको लोकतन्त्रमा हामीलाई लोकतान्त्रिक हौं भन्ने लाइसेन्स काँग्रेस वा अन्य पार्टीले दिनु पर्दैन । हाम्रो इतिहास नै लोकतन्त्र प्रतिको हाम्रो प्रतिवद्धताका लागि पर्याप्त छ । अब राजनीतिक आन्दोलन र हड्तालहरुको समय सकिएको छ । अब उद्योग धन्दामा पनि बन्द र हड्ताल हुने छैनन् । दोहोरो करका बारेमा पनि उद्योगी व्यवसायीले डर मान्नु पर्दैन् । तीन तहका सरकार भएपनि कर एकद्धार प्रणालीबाटै संकलन हुनेछन् । कृषिको आधुनिकीकरणले रोजगारीको ठुलो अवसर सृजना गर्न सकिन्छ । कृषिमा आधारित सहायक उद्योगहरुको स्थापना गर्न सकिन्छ । कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ यहि उत्पादन गर्न सक्छौं । मैले लगाएको टोपी बनेको नेपालमा हो तर बन्ने धागो अन्तैको हो, कपास अन्तैको हो । यो धागो हामीले नेपालमा जोडेका मात्रै हो । यो टोपी सिलाउने सियो पनि अन्तै बनेको हो । यो टोपी उध्रियो भने टाल्ने सियो पनि हामीसँग छैन् । कपडा सिउने सियो र धागो अब नेपालमै बनाउनु पर्छ । आत्मनिर्भर बन्ने भनेको आफ्ना लागि आवश्यक पर्ने समान आफैं बनाउने भन्ने नै हो । आधारभुत आवश्यकताका बस्तु आफैंले बनाएर आत्मनिर्भर बन्ने अभियानमा जुटेका हौं । सिंहबाट जोगिन हरिणले सिंह भन्दा धेरै दौडनु पर्छ र हरिणलाई शिकार बनाउन सिंहले हरिण भन्दा धेरै दौडनु पर्छ । अर्थात हामीले पनि संसारका सबै मुलुक भन्दा धेरै कुदेर विकास र समृद्धिको मार्ग समाउनु पर्छ । हामीले आफ्ना श्रोत साधनको अधिकतम उपयोग, विज्ञान प्रबिधीको उपयोग गर्नु पर्छ । निर्वाचनपछि बन्ने सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्छ । मिलेर लोकतन्त्रको रक्षा गर्छ र समृद्धिको महाअभियान सुरु गर्छ ।( ओलीले व्यक्त गरेको विचारमा आधारित)