विकासन्युज

एक वर्षमा विदेश भ्रमण खर्च २ अर्ब ३३ करोड

काठमाडौं । केही दिन अघिमात्र ऊर्जा मन्त्री जनार्दन शर्माबाट नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिदै भने–‘जलाशययुक्त आयोजनाको भ्रमण गर्नका लागि अष्टे«लिया होइन, माथिल्लो तामाकोशी जाऊ ।’ ठूला नेतादेखि कर्मचारी तन्त्र तथा परियोजनाका पदाधिकारीहरूबाट अवसर खोजेर भ्रमणै गर्ने र राज्यको ढुकुटी रित्याउने काम भइरहेको छ । सरकारको विदेश भ्रमण, अनुगनम तथा मूल्यांकन जस्ता अनुत्पादक क्षेत्रमा खर्च बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा विदेश भ्रमण, अनुगनम तथा मूल्यांकनमा मात्र दुई अर्ब ३३ करोड ९६ लाख खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क  छ । सरकार परिवर्तन सहित विभिन्न वहनामा विदेश भ्रमण गर्ने र अनुगमन तथा मूल्यांकनका नाममा भत्ता खाने प्रवृत्तिको कारण खर्च यस्तो खर्च बढ्न गएको हो  । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा यस्तो खर्च एक अर्ब ९२ करोड २४ लाख भएको थियो । राजनीतिक, कुटनीतिक तथा देश विकासका नाममा गरिने यस्ता भ्रमणबाट खासै उपलब्धी हासिल नभए पनि माटो रकम भने खर्च हुने गरेको छ । भ्रमणमा जाने भनेको ज्ञान तथा सिप हासिल गर्न जाने हो । तर, त्यहाँ सिकिएका सिपबाट उपलब्धी हासिल हुन नसक्ने हो कि गर्नु पर्यो विदेशको भ्रमण ।

इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट २३ लाख रकम गायब, छानबिन गर्दै प्रहरी

धनगढी । धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको २३ लाख रुपैयाँ गायब भएको भन्ने ठाडो उजुरी आइतबार परेकाले आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । कुन प्रयोजनको रकम कसरी कहिले गायब भयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ । बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस

स्प्राइटको नयाँ अफर नेपाली बजारमा, कोकाकोला तथा फ्यान्टा खरिदमा पनि लागू

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कम्पनी कोकाकोलाले स्प्राइटमा एक अफर ल्याएको छ । यस नयाँ अफर अन्तर्गत, अब उपभोक्ताले स्प्राइटको हरेक २.२५ लीटर बोतलको खरिदमा निःशुल्क पेय पदार्थ माज्जासँग आँपकोे स्वादिलो स्वाद अनुभूति गर्न पाउनेछन् । उपभोक्तामाझ स्प्राइटको रुचि कायम गर्नुका साथमा आँपको चाहनालाई पूर्ति गर्ने उद्देश्यले यो अफर ल्याएको कम्पनीले जनाएको छ । यो अफर मुख्य शहरहरुमा अन्तिम स्टक रहुन्जेलसम्म सीमित गरिएको छ । कम्पनीले यो अफर कोकाकोला तथा फ्यान्टाको खरिदमा पनि लागू गरेको छ । आँपको पेय पदार्थको पहिलो विकल्पको रुपमा उपभोक्तामाझ एक विशेष स्थान बनाउन सफल माज्जाले आँपको एक नयाँ अनुभव प्रदान गरि आएको छ । उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद उनीहरु सामु उपलब्ध गराउने दृष्टिकोणले यो रणनीतिक अभियान सुरु गरिएको हो । त्यसैले, आजै २.२५ लीटरको स्प्राइट, कोकाकोला अथवा फ्यान्टाको बोतल खरिद गरि निःशुल्क आँपको स्वादको भरपुर आनन्द उठाउन सक्ने छन् ।

नेपाल प्रहरीको कमाण्ड चन्दलाई, शसस्त्रमा श्रेष्ठ

काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए । रासस

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सीईओमा शिवनाथ पाण्डे नियुक्त

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । पाण्डेले फागुन २ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्नेछन् । पाण्डेले करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । ५२ वर्षको उमेरका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् । २०६३ सालमा स्थापना भएको सूर्यालाईफ इन्स्योरेन्स कम्पनीमा अहिलेसम्म प्रभावकारी सीईओको कमी देखिएको थियो । अधिकांश समय यस कम्पनीको सीईओ पद खाली नै रह्यो । नियुक्त भएका सीईओहरु पनि स्थीर नभएपछि यस कम्पनीको पर्फमेन्स पनि कमजोर थियो ।

नेप्सेमा तीव्र गिरावट जारी, आत्तिए लगानीकर्ता

काठमाडौं । आइतबार कारोबार सुरु भएसँगै नेप्सेमा भारी गिरावट भैरहेको छ । कारोबार सरु भएको पौने घण्टा नबित्दै नेप्से २५ अंक भन्दा बढिले ओरालो लागिसकेको छ । ११ बजेर ४३ मिनेटको समयमा नेप्से २७ दशमलब ३५ अंकले घटेर १२६८ दशमलब ८८ अंकमा झरिसकेको छ । नेप्सेका बैंक, बीमा, होटल, उर्जा लगायतका सात वटै समुहको कारोबारमा भारी गिरावट आएको देखिन्छ ।

पूर्वमन्त्री विद्याधर मल्लिक, विमल वाग्ले र रविन्द्र घिमिरे राष्ट्र बैंक सञ्चालक बन्ने लाईनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न पूर्व मन्त्री, पूर्व सचिव, अर्थविद, प्रध्यापकहरुको दौडदुप चलेको छ । बैकिङ क्षेत्रको लागि पावर, पैसा र प्रेष्टिज (सम्मान) सबै दृष्टिले राम्रो मानिने सञ्चालक पदमा नियुक्त खान शक्ति केन्द्रहरुमा चहलपहल बढेको छ । स्थानीय निर्वाचनको मिति तोक्न सत्ता साझेदार र विपक्षी दलहरुबाट सरकारलाई दवाव परिरहेकोले निर्वाचनको मिति तोक्नु पूर्व नै राष्ट्र बैंकका सञ्चालकहरु नियुक्ती गर्ने सरकारको योजना छ । राष्ट्र बैंकको सञ्चालक समितिमा पदेनबाहेकका सबै सदस्यहरु परिवर्तन खाली हुँदैछ । सञ्चालक बालकृष्णमान (विकेमान) श्रेष्ठ योग्यता विवादमा निलम्बित भएका छन् । त्यस्तै, सञ्चालकद्वय श्रीराम पौडेल र डा रामहरि अर्यालको कार्यकाल फागुनबाट सकिन लागेको छ । स्रोतका अनुसार विकेमान निलम्बरनमा परेपछि उनको ठाउँमा पूर्व सचिव विमलप्रसाद वाग्लेलाई नियुक्त गर्न अर्थमन्त्रालयले सिफारिस गर्दै थियो । तर थप दुई पद पनि खाली हुन लागेकोले तीन वटै पदमा एकै पटक नियुक्त गर्ने लाईनमा सरकार रहेको स्रोतले बतायो । अर्थमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाली काँग्रेस नेतृत्वबीच एउटा अनौपचारिक सहमति भएको छ । त्यसमा काँग्रेसको तर्फबाट पूर्वमन्त्री विद्याधर मल्लिक, माओवादीको तर्फबाट अर्थविद् डा. रविन्द्र घिमिरे र दुबै पार्टीले विश्वास गरेको पूर्व सचिव विमलप्रसाद वाग्लेलाई मन्त्रिपषिद्को एउटै बैठकबाट नियुक्त गर्ने सहमति भएको छ । पौडेल र अर्यालको कार्यकाल अझै एक महिना बाँकी भएकोले नयाँ सञ्चालकहरुको नियुक्त तत्काल हुनेछैन । ‘समय धेरै छ, धेरै चलखेल हुन्छ, अहिलेको सहमति अनुसार नै निर्णय हुन्छ भन्ने निश्चित छैन’ स्रोतले भन्यो–‘राष्ट्र बैंकको सञ्चालक बन्न प्रधानमन्त्री निवास, काँग्रेस सभापति शेरबहादुर देउवा निवास र अर्थमन्त्रालय धाउने धेरै जना छन् ।’ राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । त्यसमा ४ जना पदेन हुन्छन् । गभर्नर सञ्चालक समितिको अध्यक्ष समेत रहने व्यवस्था छ भने अर्थसचिव र दुई जना डेपुटी गभर्नर सञ्चालक समितिमा पदन सदस्य रहने व्यवस्था छ । तीन जना सरकारले नियुक्त गर्छ । राष्ट्र बैंकका सञ्चालकहरुले नियमित तलब त पाउँदैनन् तर भत्ता तथा अन्य सूविधा आकार्षक हुन्छ । भत्ता मात्र मासिक १ लाख रुपैयाँ भन्दा बढी हुन्छ । विदेश भ्रमणका अवसर धेरै हुन्छन् । राष्ट्र बैंकमा सञ्चालक हुनेले पावर प्रयोग गरी वित्तीय क्षेत्रमा आफ्ना मान्छेलाई रोजगारी दिलाउने गरेको पाइन्छ । राष्ट्र बैंकको सञ्चालक समितिमा सर्बसहमतिय निर्णयलाई उच्च स्थान दिने संस्कार भएकोले हरेक सञ्चालकसँग निर्णायक पावर भएको मानिन्छ । थप समाचारस : राष्ट्र बैंक सञ्चालक समितिको बैठक खर्च १२२ प्रतिशतले वृद्धि, भत्ता र खान्कीमा प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च

एक अर्बको लगानीमा संचालन हुँदै अन्नपूर्ण केवलकार, स्थानीय पनि केवलकार मालिक बन्ने

फाइल फोटो काठमाडौं । पोखराको सेतीवगरदेखि सराङ्कोटसम्म २३ सय मिटरको दूरीमा अन्नपूर्ण केवलकार संचालन हुने भएको छ । केवलकारमा मात्रै एक अर्ब रुपैयाँ लगानी गरिरहेको यो कम्पनीले स्थानीयलाई नै मालिक बनाउने भएको छ । अन्नपूर्ण केवलकारका एक संचालक तीर्थराज त्रिपाठीका अनुसार सेतीवगरदेखि सराङ्कोटसम्म केवलकारको स्पेशमा पर्ने स्थानीयलाई सेयर दिएरै संचालन गरिने भएको छ । यो केवलकारमा जापानी नागरिक ताकासिं मियाहाराको १५ प्रतिशतसहित धेरै पोखरेली नागरिकको लगानी रहेको छ । ‘हामीले मेरो भन्दा पनि हाम्रो केवलकार भनेर संचालन सुरु गर्न लागेका हौ’, त्रिपाठीले भने । उनका अनुसार केवलकार संचालन गर्न करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । केवलकार निर्माण सुरु भइसकेकोले आगामी दुई वर्षभित्रमा नै संचालन हुने भएको छ । हाललाई १८ वटा गोन्डुला रहने छ । यो केवलकारमा प्रतिघण्टा ६ सय जनाको क्षमता हुने उल्लेख छ । संचालनमा आएपछि गोन्डुला (केबलकार) थप गरेर प्रतिघण्टा नै एक हजार जनाको क्षमतमा संचालन गर्ने योजना रहेको पनि त्रिपाठीले जानकारी दिए । उनका अनुसार हाल सराङ्कोटबाट अन्नपूर्ण पानारोमा भ्यू हेर्नेदेखि, सूर्योदय, सूर्यास्तको दृश्याववलोकन गर्नेसम्मको लागि निकै उपयुक्त स्थान हो सराङ्कोट । प्याराग्लाइडिङ, जिपफ्लार गर्न र पोखराको आकर्षण दृश्यावलोकन गर्न पनि उपयुक्त भएकोले पनि अब केवलकारमार्फत यसको सुविधा लिन सकिने भएको छ । केवालकार निर्माणको जिम्मा भने मनाकामना केवलकार निर्माण गर्ने चितवन कोई ग्रुपले पाएको छ । यो कम्पनीमार्फत केवलकार निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । मोनो डीएचएल नामक आधुनिक प्रविधिको यो केवलकार जापानी प्रविधिमा निर्माण हुने भएको छ । होटल पनि संचालनमा आउँदै केवलकारसँगै सराङ्कोटमै आधुनिक रेस्टुरेन्ट, मनोरन्जक पार्क तथा होटल पनि संचालनमा आउने भएको छ । अन्नपूर्ण केवलकारसमूहले आधुतिक रेस्टुरेन्ट र मनोरन्जन पार्कसहितको योजना अगाडि बढाएको छ । सो ठाउँमा भएको होटल पूर्वाधारले थप आकर्षण दिने पनि त्रिपाठीको भनाई छ । उनका अनुसार होटल निर्माण धामाधम भइरहेकोले केवलकार भन्दा अगाडि नै १०० कोठाको सुविधासम्पन्न होटल संचालन हुने उल्लेख छ ।  निर्माण सम्पन्नको अन्तिम तयारीमा रहेको होटलमा पनि एक अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख छ । ४० वर्षलाई २४ रोपनी वन क्षेत्र भाडामा केवलकार संचालन गर्नकै लागि अन्नपूर्ण केवलकारले २४ रोपनी सरकारी वन क्षेत्र आगामी ४० वर्षको लागि भाडामा लिइसकेको छ । वैदेशिक लगानीको ठूलो उद्योग भएकोल आवश्यक सरकारी प्रकृया पूरा गरेर काम भएको पनि उल्लेख छ । केवलकारले निजी आवधिक जग्गा पर्नेलाई र स्थानिय दुबैलाई सेयर दिने योजना अगाडि सारेको उल्लेख छ । पर्यटक आकर्षणको केन्द्र पोखरा पुगको हरेक स्वादेशी तथा विदेशी पर्यटक सराङ्कोट पुग्ने भएकोले यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य पनि हो । अहिले पनि दैनिक चारपाँचसय जान पोखरा तथा उत्तरी क्षेत्रतर्फको हिमाली दृश्यावलोकनकै लागि सराङ्कोट पुग्ने गरेका छन् । केवलकार संचालनमा आएपनि प्रमुख पर्यटकीय गन्तव्य हुनुका साथै यसको महत्व पनि थप उजागर हुने उल्लेख छ ।