विकासन्युज

चीनको ३३ प्रतिशत इन्धन लत्याउँदै भारतसँग पेट्रोलियम पाइपलाइन

काठमाडौं । चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्झौतालाई लत्याउँदै सरकारले भारतसँगको पेट्रोलियम पाइपलाईन विस्तार सम्झौताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको छ । नयाँ संबिधानको बिरोधमा भारतले नाका बन्दी लगाउँदा नेपालले चीनसँग आफ्नो कुल मागको ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । तर यतिबेला चीनसँगको त्यो सम्झौतालाई लत्याउँदै सरकारले रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन विस्तार सम्बन्धी कामलाई तिब्रता दिएको छ । जबकी सो पेट्रोलियम पाइप लाइन निर्माणको कार्य आरम्भ भएपछि नेपालले आगामी १५ बर्षसम्म चीनसँग इन्धन खरिदको प्रक्रिया अघि बढाउनै सक्दैन् । नेपाल आयल निगम र इण्डियन आयल कर्पाेरेशनबिच हुने पाइप लाइन निर्माणको अन्तिम सम्झौतामा नेपालले आगामी १५ बर्षसम्म भारतसँग मात्रै इन्धन किन्न पाउने व्यवस्था त्यसमा समावेश गर्न लागिएको छ । इन्धन खरिदको प्रारम्भिक सम्झौता भएपछि चीनका लागि नेपाली राजदुताबासले जारी गरेको विज्ञप्ति चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौता कार्यान्वयन कहाँ पुग्यो भन्ने विकासन्युजको प्रश्नमा आपुर्ति मन्त्रालयका सचिव प्रेम राईले भने–‘बाटो साटो छैन, हावाका भरमा चीनबाट इन्धन आउँछ कहीँ ? चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्झौताको केहि पनि काम भएको छैन’, सचिव राईले भने । उनले तत्काल चीनसँग इन्धन खरिद गर्न नसकिने र त्यस्तो सम्झौताका लागि मन्त्रालयले कुनै प्रक्रिया पनि अघि नबढाएको स्पष्ट पारे । उनले असहज सडक पुर्वाधार र महंगो पर्ने भएकाले चीनबाट ल्याउने इन्धन नसकिने दावी पनि गरे । नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले २०७२ साल कात्तिक १० गते चीनसँग आफ्नो मागको ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । २०७२ चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा भएको द्धिपक्षिय सम्झौतामा पनि इन्धन कारोबारलाई समावेश गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा जारी भएको नेपाल-चीन सयुक्त वक्तव्यको अंश उता, नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । तर नेपालले आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्नेछ । आपुर्ति मन्त्रालय श्रोतका अनुसार चीनले इन्धन खरिद सम्झौताका लागि नेपाललाई पटक पटक आग्रह गरेको छ तर नेपालले कुनै प्रतिक्रिया जनाएको छैन् । ‘चीनले हामीले इन्धन दिन्छौं र पुर्वाधार निर्माणमा पनि सघाउन तयार छौं भनेको छ तर नेपालले खासै चासो दिएका छैन’, आपुर्ति मन्त्रालयका एक अधिकारीले विकासन्युजसँग भने । उनले चीनसँगको ३३ प्रतिशत इन्धन खरिद सम्झौतालाई लत्याउँदै भारतसँग आगाम १५ बर्षसम्म इन्धन खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्न नेपाल आतुर देखिएको आरोप पनि लगाए ।

बजार दोहोरो अंकले घट्दा ५ कम्पनीका लगानीकर्ताले कमाए, हेरौँ क-कसले कमाए ?

आइतबार कमाउने पाँच कम्पनी काठमाडौं । दोहोरो अंकले घटेको आइतबारको सेयर बजारमा जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको नेप्से परिसूचकले जनाएको छ । बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् । सो दिन संस्थाको सेयर प्रतिकित्ता ६४६ रुपैयाँ रहेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ३ दशमलब ०८ प्रतिशत कमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । त्यस्तै, सोल्टी होटल, जेबिल्स फाइनान्स र प्रभु बैंक लि. प्रमोटर सेयरको सेयर मूल्य क्रमशः १.९२, १.६३ र १.६२ अंकले बढेको छ । सो दिन सोल्टीको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ, जेबिल्स फाइनान्सको १८७ र प्रभु बैंक लि. प्रमोटर सेयरको सेयरको सेयर मूल्य प्रतिकित्ता १८८ रुपैयाँ रहेको छ । आइतबार सेयर बजार ४३ दशमलब ७३ अंकले घटेको छ । १३२ कम्पनीको करोबार भएको बजारमा १२७ कम्पनीले गुमाएका छन् ।

चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज महानिरीक्षकमा चन्दलाई नियुक्ति दिने/दिलाउने, पदबहाली गर्ने/गराउनेलगायत कुनै पनि कार्य नगर्नू, नगराउनू भनी सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । आदेशमा प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्दा प्रहरी नियमावली, २०७१ को नियय ४१ बमोजिम ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यजस्ता कुरालाई ध्यानमा राख्नुपर्ने कुरा उल्लेख छ । साथै, प्रहरी महानिरीक्षक पदका लागि मापदण्डको पालना र अवलम्बन बाध्यात्मक रुपमा गर्नुपर्ने संवेदनशीलता समेतलाई विचार गर्दा दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निष्कर्षमा नपुग्दासम्मका लागि उक्त आदेश जारी गरेको आदेशमा उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई आदेश दिन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेश भएको हो । रिट निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षक पदमा नियुुक्त गरेकाले सो नियुक्ति बदर गर्न माग गरिएको थियो । रिट निवेदकका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट, अधिवक्ताहरु डा भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल र निवेदक ढकालले बहस गरेका थिए । रासस

६ महिनामा आउँदै छ साझाको सेमी लो फ्लोर बस, १० वटा डिलक्स बस पनि थपिने

काठमाडौं । साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने भएको छ । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर सडकमा मात्र चल्ने जान मोडलको बसका लागि साझाले आइतबार टेण्डर आह्वान गरेको छ । ६ महिनामा साझाले १० वटा डिलक्स बस सहित एउटा सेमी लो फ्लोर बस ल्याउन लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेले जानकारी दिए ।  ‘साझाले सेमी लो फ्लोर र डिलक्स बसका लागि टेण्डर आह्वाहन गरिसकेको छ’ , उनले भने, ‘ करिब ६ महिनामा साझाका बस काठमाडौं आइसक्छन् भन्ने आश गरिएको छ ।’ ‘हामीले परीक्षणका लागि नमुनाका लागि एउटा लो फ्लोर बस ल्याउने कुरा गरेका थियौं, ‘ उनले भने, ‘समथर भागमा मात्र चलाउन मिल्ने भएकाले त्यसको सम्भाव्यता हेरेर मात्र खरीद गर्ने कुरा भएको थियो ।’ ३० वटा बस ल्याउने सम्झौता हुँदा नै अशोक ले ल्याण्डसँग लो फ्लोर बस ल्याउने बारे छलफल भएको पाण्डेयले बताए । तर लो फ्लोर गाडी नेपालमा ल्याउदा महंगो पर्ने भएकाले समय लागेको उनले बताए । सहर क्षेत्रमा सेमी लो फ्लोर बसको आवश्यकता पर्ने भएकाले परिक्षणका लागि स्याम्पलको रुपमा ल्याउन खोजिएको साझाका अध्यक्ष कनकमणी दिक्षितले जानकारी दिए । उनले भने, ‘ सिटी ट्रान्सपोर्टको अवधारणा अनुसार सेमी लो फ्लोर बस चाहिन्छ नै । गाडीको मुल्य झन्डै एक करोड पुग्ने देखिएको छ । यसका लागि सरकार, स्थानिय सरोकारबालाको विषेश ध्यानाकर्षण हुनु जरुरी छ ।’ के हो सेमी लो फ्लोर बस ? नयाँ सिटी बस मोडल अन्तर्गतको सेमी लो फ्लोर बसको ६५० मिलि मिटर ग्राउन्ड क्लियरेन्स छ। यही कारण यात्रुले सहजै बसमा चढ्न सक्ने अशोक लेल्याण्डका कर्पोरेट म्यानेजर प्रविन अधिकारीले जानकारी दिए । प्राविधिक भाषा अनुसार बसको खुड्किलोको पहिलो तल्लालाई ‘ई’ भनिन्छ । यो जमिन सतह भन्दा चार सय एमएमको उचाईंमा हुन्छ । हाल नेपालमा चल्ने सामान्य बसका धरातल जमिनको सतहभन्दा दुई वटा खुड्किलो सहित नौ सय एमएमको दुरीमा हुन्छ भने डिलक्स बसमा तीन वटा खुड्किलो तथा धरातलसम्म एक हजार एक सय ५० एमएमको दुरी हुन्छ । लो फ्लोर बसमा यो दुरी जम्मा ६ सय ५० एमएम हुन्छ । त्यसैले छोटो समयमा नै यात्रु प्रवेश गर्न वा निक्लन मिल्ने अधिकारीले बताए  ।  उनका अनुसार यसको ढोका पनि फराकिलो हुन्छ । १२ मिटर लामो यस बसमा धेरै यात्रुहरु अटाउन मिल्ने अधिकारीले जानकारी दिए । ह्विल चियर प्रवेश गर्न मिल्ने यो बस अपाङ्गमैत्री छ । अरु सामान्य बसमा पछाडी इञ्जिन हुने गर्छ भने यो बसमा अगाडी इञ्जिन हुने भएकाले इन्धन खपतलाई घटाउन सकिने उनले जानकारी दिए ।

पशुपति पेन्ट्सद्वारा १५० थान लाइफ ज्याकेट हस्तान्तरण

काठमाडौ । पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितीलाई सो ज्याकेट उपलब्ध गराएको हो । कम्पनीले शुक्रबारका दिन बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी दिएको छ । विगत लामो समयदेखि पशुपति पेन्ट्सले समय समयमा विभिन्न समयमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्रियाकलापहरु गर्ने गरेको छ । यही कर्पोरेट सामाजिक उत्तरदायित्वको क्रममा कम्पनीले १ सय ५० थान लाइफ ज्याकेट सहयोग स्वरुप हस्तान्तरण गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

तोसिवा टिभीको प्रर्दशनी केएल टावरमा, सामान खरिद गर्ने ग्राहकलाई विशेष छुट

काठमाडौं । नेपालको लागी आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रा.लि.ले विक्री वितरण गरेको तोसिवा स्मार्ट टिभीको प्रर्दशनी केएल टावरमा भएको छ । उक्त प्रर्दशनीमा पिक्विू टेक्नोलोजि, क्लाउड बेस स्टिमको विशेषता रहेको ५५ इन्चको स्मार्ट टिभी राखिएको थियो । जस अन्र्तगर्त तोसिवाको सामान खरिद गर्ने ग्राहकहरुलाई विशेष छुट सहित गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको थियो । जापनिज ब्राण्ड एट एफोडएवल प्राइसलाई उच्च प्राथमिकता दिदै आउदा दिनहरुमा विभिन्न स्थानमा प्रर्दशनी जारी राख्ने कम्पनीले जनाएको छ ।

नेप्सेमा भारी गिरावट, बीमा समूह ३४६ अंकले ओर्लियो, १२७ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आइतबार कारोबार शुरु भएसँगै नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार शुरु भएको पौने घण्टा नबित्दै २५ अंकले घटेर १२६८ अंकमा पुगको नेप्से परिसूचक बजार बन्द हुँदा ४३ अंकले घटेर १२५२ दशमलब ५० अंकमा अडिएको छ । बजारमा ४९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १३२ कम्पनीको १३ लाख ९ हजार कित्ता सेयर कारोबार भएको हो । आइतबार १२७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्स, राप्ती भेरी विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अन्लपाइन डेभलपमेन्टका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । सो दिन जम्मा ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार होटल समूह बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक १५ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३४६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ६ अंकले ओरालो लागेको हो ।

विस्थापित हुँदैछन् ४८ लाख एटिएम कार्ड, बैंकहरुले धमाधम ल्याउँदैछन् चिपमा आधारित कार्ड

काठमाडौं । के तपाईसँग पुराना एटिएम कार्ड छन् ? त्यसो हो भने अब त्यो कार्डले काम गर्दैन । किन की सबै बैंक तथा वित्तिय संस्थाहरुले एटिएमको कारोबारलाई सुरक्षित बनाउन नयाँ एटिएम कार्ड ल्याउँदैछन् । जसले पुराना कार्डलाई विस्थापित गर्छ । बैंकहरुले म्याग्नेटिक स्ट्रिपमा आधारित पुराना एटिएम कार्डलाई हटाएर चिप बेस्ड कार्ड प्रयोगमा ल्याउन लागेको छन र यो क्रम धमाधम अघि बढिरहेको छ । ‘एटिएमबाट हुने कारोबारलाई सुरक्षित बनाउन भनेर हामीले २०७२ सालमै योजना ल्याएका थियौं तर प्राबिधिक पक्षले गर्दा केहि ढिलो हुन पुग्यो तर अब धमाधम काम भैरहेको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२÷७३ सालको मौद्रिक नीतिमै असोज मसान्तभित्र बैंक तथा वित्तिय संस्थाबाट म्याग्नेटिक स्ट्रिप कार्ड विस्थापित गरेर चिप बेस्ड(आधारित) कार्ड सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले पनि चालु आर्थिक बर्षभित्रै सबै बाणिज्य बैंकहरुले चिप बेस्ड कार्ड सञ्चालनमा ल्याइसक्ने बताए । ‘हामीले सबै बाणिज्य बैंकलाई फर्म भराएका छौं, एकिकृत आधारमा काम गर्दा न्युन लागत र कार्यान्वयनमा पनि सहजता हुन्छ, अहिले नै केहि बैंकले कार्यान्वयन गरिसकेका छन्, केहि महिनामै धेरै बैंक गैसक्नेछन् चालु आर्थिक बर्षभित्रै सबै बैंकका एटिएमहरु चिपमा आधारित हुनेछन’, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेको अध्यक्ष शाहले विकासन्युजसँग भने । उनले एउटा बैंकले ६ महिनाको प्रयासपछि मात्रै म्याग्नेटिक स्ट्रिप कार्डलाई विस्थापित गरेर चिपमा आधारित कार्ड सञ्चालन गर्न सक्ने पनि बताए । मेगा बैंकले पनि चिपमा आधारित कार्ड सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी शाहले गराएका थिए । अबको केहि समयभित्रै ४७ लाख ९१ हजार ९ सय ३६ वटा एटिएम कार्ड विस्थापित भएर नयाँ कार्ड सञ्चालनमा आउनेछन् । केहि बैंक तथा वित्तिय संस्थाहरुले नयाँ कार्ड सञ्चालनमा ल्याइसकेका छन् । बैंक तथा वित्तिय संस्थाको कमजोर प्राबिधिक पक्ष, सेवा उपलब्ध गराउने संस्थाहरुको आपसी समन्वय लगायतका कामले चिपमा आधारित कार्डको कार्यान्वयनमा केहि ढिलाई भएको प्रवक्ता पौडेलले जानकारी दिए । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२/७३ सालको मौद्रिक नीतिमा–‘ग्राहकहरुलाई बैंकिङ सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन बैंक तथा वित्तिय संस्थाहरुले हाल प्रयोगमा ल्याएका डेबिट, क्रेडिट, प्रिपेड लगायतका म्याग्नेटिक स्ट्रि कार्डलाई २०७२ असोज भित्र चिप बेस्ड कार्डले विस्थापित गर्नुपर्ने व्यवस्था गरिनेछ ।’, लेखेको थियो हाल १९०८ वटा एटिएम बुथ सञ्चालनमा रहेका छन् । बाणिज्य बैंकका १६६२ वटा, विकास बैंकका २५० वटा र फाइनान्स कम्पनीका २६ वटा एटिएम बुथ रहेका छन् । यी सबै एटिएमका बुथहरुको स्तरोन्नतिमा गरिनुपर्ने उनले बताए । नेपालमा डेबिट कार्डको संख्या ४६ लाख ५७ हजार एक सय २५ रहेको छ भने क्रेडिट कार्डको संख्या ५५ हजार ५ सय १९ वटा र प्रिपेड कार्डको संख्या ८२ हजार ७ सय ९७ वटा रहेको छ ।