टिसीएलको यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा
काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसीएलले ५५ इन्च यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा एनड्रोइड ५.१.१, २ एचडीएमआई पोर्ट, १ एचडीएमआइ (एमएचएल), ल्यान पोर्ट, अप्टिकल पोर्ट, २ वटा यूएसबी पोर्ट, ४० लाइन जस्ता विषेशताहरु रहेको कम्पनीले जनाएको छ । नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्राली रहेको छ ।
सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालो लाग्दा ४१ करोडको सेयर कारोबार
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक १२ दशमलब ६१ अंकले उकालो लागेर १३२९ दशमलब ४१ अंकमा पुगेको छ । १३४ कम्पनीको कारोबार भएको बजारमा ४१ करोड ११ हजारको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङलादेश बैंक र नेपाल लाइफ इन्स्यारेन्सको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बिहीबार ३ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सेती फाइनान्स, आरएसडीसी लघुवित्त र सोल्टी होटलको क्रमशः ९.७९, ९.७५ र ९.७० प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी स्वरोजगार लघुवित्तको करिब ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
१० वर्षपछि रोजगारीको लागि विदेश जानु नपर्ने, नेपालमा लगानी गर्न इच्छुक हजार जना पूँजीपति लगानी सम्मेलनमा सहभागी
काठमाडौं । बिहीबारदेखि राजधानीमा शुरु भएको लगानी सम्मेलनमा भाग लिन आएको विदेशी पाहुँनालाई सम्बोधन गर्दै सरकार र प्रमुख दलको शिर्ष नेताहरु नेपालमा आर्थिक विकासका एजेण्डामा साझा धारणा विकास भएको बताएका छन् । राजनीतिक विषयमा फरक मत भएपनि स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्ने र उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्न चाहेको बताएका छन् । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएको भन्दै अबको मुल एजेण्डा आर्थिक विकासमात्रै भएको बताए । ‘दीगो शान्ति र आर्थिक समृद्धि हाम्रो मुल एजेण्डा हो, आर्थिक समृद्धिबाटै दीगो शान्ति सम्भव छ’ दाहालले भने । सरकारले लगानीको सुरक्षा हुन्छ ग्यारेन्टी गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । नेपालले भारत र चीनले गरेको उच्च आर्थिक वृद्धिबाट नेपालले लाभ लिन सक्ने उनले बताए । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक परेको बताए । कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणले लगानीको वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई देउवाले आग्रह गरे । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिक एजेण्डामा दलहरुबीच मतभेद भएपनि आर्थिक एजेण्डामा सबै एकै ठाउँमा उभिएको बताए । ‘लगानी हुन्छ, उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ भने सत्ता पक्षले मात्र होइन, विपक्षी दलले पनि त्यसको स्वगात गर्छ’ ओलीले सम्मेलनमा सहभागी हुन आउने पाहुनालाई भने–तपाईहरु यस पटक मात्र होइन, फेरी फेरी आउँनुहोस्, संधै यतै बस्नेगरी आउनुहोस् । ठूला परियोजनामा लगानी गर्नुहोस् । केही समस्या परेमा हामीलाई भेट्न आउनुहोस्, हामी सहयोग गर्छ ।’ नेपालमा लगानी गर्ने व्यवसायीलाई नेता, मन्त्री, प्रधानमन्त्री सबैलाई भेट्न सजिलो भएको र आफ्ना समस्या सजिलै राख्न सकिने पनि उनले बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले लगानीको संरक्षण गर्न सरकारले लगानी बातवरण बनाईरहेको, २४ सै घण्टा विजुली आपूर्तिको व्यवस्था मिलाउँदै गरेको, उद्योगसँग सम्बन्धित पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर लगानी गरेको उनले बताए । नयाँ संविधान निर्माणसँगै आवश्यक कानुन निर्माण तथा परिमार्जनको कार्यलाई सरकारले तिब्र रुपमा अगाडि बढाएको बताए । पौने ३ करोड जनसंख्या भएको नेपाल आफैमा ठूलो बजार भएको र विश्वकै ठूलो जनसंख्या भएका चीन र भारत छिमेकी भएकोले बजार प्रशस्त भएको उनले बताए । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षपछि कुनै पनि नेपाली रोजगारी खोज्दै विदेशिनु नपर्ने घोषणा गरे । नेपालमा लगानीको वातावरण बनेको भन्दै मन्त्री जोशीले ठूलो लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । ‘नेपालमा हजारौंलाई रोजगारी चाहिएको छ । रोजगारी सिर्जना गर्न लगानी बढाउनै पर्छ,’ उनले भने,‘नेपालमा लगानीको वातावरण बनेको छ, अबको १० वर्षपछि कुनैपनि नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन ।’ विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बैंकिङ कसूर सम्बन्धी ऐन संसदबाट पारित भइसकेको र अन्य आर्थिक ऐनहरु संसदमा छलफलका क्रममा रहेको उनले जानकारी गराए । पूर्व अर्थमन्त्री रामशरण महतले नेपाल अल्प विकसित मुलुकबाट विकासशील देशको सूचीमा प्रवेश गर्न एकदमै आतुर रहेको बताए । उनले सन् १९९० पछिको कालखण्डमा नेपाली कांग्रेस सरकारले नै नीजि क्षेत्रलाई लगानीमा आकर्षित गरेको भन्दै त्यसकै परिणाम स्वरुप नेपालमा टेलिकम्युनिकेसन, एयरलाइन्स, बैंकिङ लगायत क्षेत्रको विकास भएको बताए । आगामी दिनका लागि सरकारले पूर्वाधारमा लगानी खुला गरेको र त्यसमा पिपिपी मोडेल दोस्रो ‘जेनेरेसन’आकर्षण भएको उनले बताए । महतले नेपाल जैविक विविधताले भरिपूर्ण भएको भन्दै हाइड्रोपावर, क्लिन इनर्जी तथा नयाँ इन्फ्रास्टक्चर निर्माणका लागि धेरै लगानीको सम्भावन धेरै रहेको बताए। सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लिछुनले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए । त्यसका लागि नेपाली नीजि क्षेत्रसँग सहकार्य गरेर जाने उनको भनाइ छ । ‘हामी ठूला आयोजनामा काम गर्न चाहन्छौं’ लिछुनले भने ‘लगानी पनि ठूलो गर्ने र रिजल्ट पनि सामाजिक र आर्थिक परिवर्तन सहितको ठूलो लिन चाहन्छौं।’ एआइआइवीले नेपालमा परिवर्तनको चरणमा पुग्ने र ग्रिन सस्टेनेवल इकोनोमीका लागि सहयोग तथा सहकार्य गर्ने स्पस्ट पारे । सम्मेलनमा विदेशी र नेपाली सहित झण्डै १ हजार पुँजीपति सहभागी भएका छन् । सरकारका तर्फबाट २५ वर्षपछि आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भारत, चीन, बगंलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका संस्थागत र व्यक्तिगत लगानीकर्ताले सहभागी भएको आयोजकले बताएका छन् ।
सीजी फिन्को र नेपाल एसबिआई बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फिन्को प्रालि र नेपाल एसबिआई बैंक लिमिटेडबीच रेमिट्यान्स कारोबार गर्नका लागि द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापछि वेस्टर्न यूनियन मनी ट्रान्सफर मार्फत विदेशबाट पठाइएको नगद सीजी फिन्कोका तर्फबाट एसबिआई बैंकका सम्पूर्ण शाखाबाट ग्राहकलाई प्रदान गरिने बैंकले जनाएको छ । बुधबार आयोजित एक कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा सीजी फिन्कोका अध्यक्ष निर्वाण कुमार चौधरी तथा एसबिआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरीले यो सम्झौता सीजी फिन्कोको सेवा विस्तार गर्नका लागि कोसेढुङ्गा सावित हुने बताएका छन् । एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नागरले नेपालको बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन बैंकका तर्फबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वेस्टर्न यूनियन मनी ट्रान्सफरका नेपाल प्रमुख कबिन्द्र श्रेष्ठले चौधरी ग्रुप र नेपाल एसबिआई बैंकसँगको साझेदारीले वेस्टर्न युनियनलाई अझ दरिलो बनाउने धारणा व्यक्त गर्दै छिटोछरितो र बिना झन्झट सेवा पुर्याएर सेवाग्राहीको मन जित्न आग्रह गरेका छन् ।
सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्दै, फागुन २६ गते बुक क्लोज
काठमाडौं । सिटिजन्स बैंकल इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत(१० बराबर २.५ अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन २६ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।
स्ट्याण्डर्ड चार्टड बैंकको एफपीओ चैत १ गतेदेखि खुला, प्रतिकित्ता मूल्य १२९० रुपैयाँ
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर(एफपीओ) चैत १ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ अर्ब ३० करोड ६ सय रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । प्रिमियम सहित कम्पनीको एफपीओको मूल्य प्रतिकित्ता १२९० रुपैयाँ तोकिएको छ । उक्त सेयरका लागि सर्वसाधारणले चैत ४ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको बैंकले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंको नयाँ सडकमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय काठमाडौंको नयाँ सडकमा स्थापना गरेको छ । कम्पनीले बुधबार उक्त शाखाको उद्घाटन गरि बीमा सम्वन्धी सम्पूर्ण कारोवार सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले गरेका छन् । उद्घाटनको अवसरमा अध्यक्ष चापागाँईले बीमा कम्पनीहरुलाई आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ/नयाँ बीमा सेवाहरु प्रदान गर्न सुझाव दिएका छन् । साथै उनले हालसम्म ९२/९५ प्रतिशत जनताहरु बीमासेवा लिन बाट बन्चित रहेको जनाएका छन् । त्यसैले अध्यक्ष चापागाँईले दुर्गम क्षेत्र लगायतमा सेवा बिस्तार गरि बीमासेवा प्राप्त गर्न बाँकी जनताहरुमा सेवा बिस्तार गर्न आग्रह गरेका छन् । सोही कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्न्द्र मल्लले चुक्ता पूँजी ३८ करोड ५० लाखको ५० प्रतिशत हकप्रद शेयर निश्काशनको प्रकृया अन्तिम चरणमा रहेको बताएका छन् । आगामी आ.व.को अन्त्य सम्ममा कम्पनीको चुक्ता पूँजी १०० करोड पुर्याउने मल्लले जनाएका छन् ।
प्रतिमेगावाट ५० लाख अनु्दान दिन मन्त्रालय सहमत, दुई सय मेगावाटले तत्काल अनुदान पाउने
काठमाडौं । जलविद्युत् आयोजनालाई मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता दिने सहमति भएको छ । आर्थिक वर्ष २०७९/८० सम्ममा निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालय सहमत भएको हो । अर्थ मन्त्रालयले जलविद्युत् आयोजनालाई मात्र अनुदान दिने व्यवस्था गर्ने सहमति केही दिन अघि गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए । ‘अब अर्थ मन्त्रालयको सहमती आएपछि हामी उक्त अनुदान प्रस्तावलाई मन्त्री परिषद्मा लैजान्छौ,’ उनले भने ‘ उताबाट स्वीकृत भएर आएपछि अनुदान वितरण कार्य शुरु हुन्छ ।’ सरकारले दिएको समय सीमाभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने जुनसुकै आयोजनाले पनि प्रतिमेगावाट ५० लाख रपैयाँ अनुदान पाउँछन् । असारसम्ममा करिब दुई सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने अनुमान ऊर्जा मन्त्रालयले गरेको छ । यसका लागि १० अर्ब खर्च हुने देखिएको छ । आर्थिक २०७१/७२ को बजेटमार्फत आर्थिक वर्ष २०७९/८० सम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने आयोजनालाई प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एक मुष्ठ अनुदान दिने व्यवस्था सरकारले गरेको थियो । सरकारले तत्कालको विद्युत् संकट निवारण गर्न सहयोग पुर्याउने अर्थात आव २०७४/७५ भित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उत्पादकलाई अनुदानमा १० प्रतिशत थप गरिने समेत व्यवस्था छ । बजेटमै घोषणा गरिएको कार्यक्रम अर्थ मन्त्रालयले कार्यान्वयन नगर्दा निर्माण सम्पन्न भएका आयोजनाले समेत अनुदान पाएका छैनन् । राष्ट्रिय ऊर्जा संकट निवारण कार्ययोजनामा भएको व्यवस्था अनुसार आव २०८२/८३ सम्ममा निर्माण हुने आयोजनालाई अनुदान प्रस्ताव गरिएको थियो । तर, यसका लागि भने अर्थ मन्त्रालयले स्वीकृत दिएको छैन । तत्काल सुविधा पाउने आयोजनाहरूमा जिरी खोला साना आयोजनाले एक करोड २१ लाख अनुदान पाउने भएको छ । उक्त आयोजनाले २.२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । माईखोाल २२ मेगावाट उत्पादन गरेर ११ करोड, बेल्खु ५१८ किलोवाटले २८ लाख ४९ हजार, माथिल्लो पुवा एक ३ मेगावाट, माथिल्लो खुम्दी ५ मेगावाट, नौगाढ खोलाको ८.५ छ्याङ्दी २ मेगावाट, सुम्पाबुखारी ९९८ किलोवाट विद्युत् गर्ने हुने बताइएको छ । माई क्यास्केट ७ मेगावाट, माथिल्लो माई खोला ९.९८ मेगावाट , दरम खोला ए २.५ , झ्याक्दी खोला २ मेगावाट, टुंगुन ठोस्ने ४.३६ मेगावाट, माथिल्लो मस्र्याङ्दी ए ६ मेगावाट, खानी खोला २ मेगावाट, मिया खोला ९९६ किलोवाट, माथिल्लो मादी २५ मेगावाट आयोजनाले अनुदान पाउने गरी विद्युत् उत्पादन गर्ने भएका छन् ।