सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर चण्डेश्वरी उच्च मावि काभ्रे–४, बनेपालाई कम्प्युटर प्रदान गरेको छ । उग्रचण्डी नाला समाजमार्फत साे कम्प्युटर हस्तान्तरण गरिएको जनाइएकाे छ । कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । बैंकको काठमाडौं उपत्यकामा ११ शाखाहरु तथा ५ एक्स्टेन्सन काउन्टर रहेको छ । त्यस्तै उपत्यकाबाहिर ८२ शाखाहरु, ३ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैंकिङ सेवा गरी जम्मा १११ स्थानबाट आफ्नो कारोबार सञ्चालन गरिरहेको जनाएकाे छ ।
सिटिजन्सद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार प्रदान
काठमाडौं । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रबीच बैंकले विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकले आफ्नो ११ अाै बार्षिक उत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा १ लाख पचास हजार रुपैयाँको चेक विद्यालयका प्राचार्य एसके नेपाललाई हस्तान्तरण गरेको जनाइएको छ । बिद्यालयका प्राचार्य नेपालले उक्त रकम फर्निचर खरिदमा खर्च गर्ने कार्यक्रमको अवसरमा जानकारी गराए ।
लगानीकर्ताको रोजाइमा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स, हेर्नुस यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सोमबार बजार ३ अंकले गिरावट आएका बेला यी दुई कम्पनीको बढी सेयर किनबेच भएको छ । लगानीकर्ता दुई कम्पनीको सेयर किन्न झुम्मिएका छन् । स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ घटेर ८२० रुपैयाँमा कारोबार भएको छ । सोमबार स्ट्याण्डर्डको १ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफको पनि सेयर मूल्य ६ रुपैयाँ घटेर प्रतिकित्ता १ हजार ५० रुपैयाँ कायम भएको छ । सोमबार नेपाल लाइफको १ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटेदै गएपछि कुल कारोबार रकम पनि कम हुदै गई २० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दुबै कम्पनीको सेयर मूल्य सस्तो हुदै गएको छ । दुबैं कम्पनीको सेयर मूल्य २ हजार रुपैयाँ माथि थियो । स्ट्याण्डर्डले लगानीकर्तालाई १०० प्रतिशत बोनस सेयर दिइसकेको छ । यस्तै नेपाल लाइफले साढे ७० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । दुबैंको सेयर मुल्य सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । वित्तीय अवस्था राम्रो हुनुका साथै आगामी वर्षमा पनि राम्रो प्रतिफल दिने लोभमा लगानीकर्ताले सेयर किनेको ती ब्रोकरको विश्लेषण छ । सोमबार वित्त समूहको सेयर सामान्य बढेको छ भने अन्य समूहको घटेको छ । नेप्से परिसुचक १ हजार १९२ रुपैयाँमा झरेको छ ।
३ अर्ब लगानीमा विर्तामोडमा पूर्वाञ्चल क्यान्सर हस्पिटल बन्दै, असोजदेखि सञ्चालनमा आउने
काठमाडौं । क्यान्सर रोगको उपचारलाई लक्षित गरी निजी लगानीमा पुर्वाञ्चल क्यान्सर हस्पिटल निर्माण सुरु भएको छ । स्थानीय व्यवसायी दुर्गा प्रसाइको लगानीमा झापाको विर्तामोड नगरपालिका ५ मा क्यान्सर हस्पिटल निर्माण सुरु भएको हो । अस्पतालको निर्माण गत माघदेखि सुरु भएको छ । हस्पिटल निर्माणमा ३ अर्ब रुपैयाँ लगानी हुने भएको छ । आउदो असोजदेखि सञ्चालनमा आउने हस्पिटलका जनशक्ती प्रमुख प्रमिस गिरीले बताए । उनकाअनुसार हस्पिटल निर्माण दुत गतिमा अघि बढेको छ । यो पूर्वाञ्चलकै पहिलो क्यान्सर हस्पिटल हो । क्यान्सर रोगबाट पीडितलाई स्थानीय क्षेत्रमै उपचार गर्ने लक्ष्यकासाथ सम्पूर्ण सरकारी मापदण्ड पूरा गरी हस्पिटलको निर्माण गरिएको उनले बताए । हस्पिटल निर्माणसँगै पूर्वाञ्चलका क्यान्सर पीडितहरु उपचारका लागि भारत जाने गरेकोमा अब स्वदेशमै उपचार गरिने उनले जानकारी दिए । हस्पिटलको निर्माण कार्य गएको माघदेखि शुरु भएको हो । अहिले हस्पिटलको वातावरणी प्रभाव मूल्यांकन (इआइए) अध्ययन कार्यका लागि क्षेत्र निर्धारण तथा कार्यसूची तयारीको अध्ययन कार्य अघि बढेको छ । ‘हालसम्म २० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ आगामी असोजसभित्र हस्पिटल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।’ निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ । कम्पनीका जनशक्ती प्रमुख गिरीका अनुसार अस्पतालमा ३ सय वेड संख्या रहने छन् । हस्पिटलमा चिकित्सकलगायत अन्य प्राविधिक गरी ७ सय जनाले रोजगारी पाउने छन् । ओपीटीमा मात्रै दैनिक हजार जना सेवाग्राहीलाई सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य छ । हस्पिटलबाट क्यान्स उपचारका लागि रेडिएसन, केमो लगायत क्यान्सर सम्बन्धित सम्पूर्ण उपचार हुने गिरीले बताए । नेपाल इन्भारोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टले परामर्शदाताको रुपमा काम गर्दै आएको छ ।
भैरहवामा पोखरा फाइनान्सको शाखा
काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार एवं ग्राहकलार्इ सेवा पुर्याउने उद्देश्यले शाखा खाेलिएकाे हो । शाखाकाे नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले उद्घाटन गरेकाे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । सो शाखाबाट निक्षेप एवं कर्जा तथा सि–आश्वा लगायतका सेवा प्रदान गर्ने फाइनान्सको भनाइ छ । सो अवसरमा आयोजना गरिएको कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्णिमा विकास बैंकका कार्यकारी प्रमुख प्रकाश गुरुङले लगायतले आफ्नो धारणा राखेको जनाइएको छ । फाइनान्सको हाल जारी पूँजी रू ७५ अर्ब ४१ करोड रहेको छ । निक्षेप रू ४ अर्व २३ लाख तथा कर्जा लगानी रु. ३ अर्व ८६ करोड रहेको जनाएको छ । त्यस्तै जगेडा कोषमा रू ४१ करोड ७४ लाख रहेको छ । आब २०७३/७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पूँजी रू ८० करोड पुर्याउने लक्ष्याका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।
भरतपुर महानगरले क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने
काठमाडौं । महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी हुन् । धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो । महानगर प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलब्ध गराउन महानगर तयार रहेको बताइन् । उनले आवश्यक पर्ने आर्थिक र भौतिक सहयोग गर्नसमेत तयार छ भन्दै आजै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउण्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन् । तत्कालीन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि रु ५० लाख विनियोजन गरेका थिए । त्यसमा रु १९ लाखमात्रै खर्च भएको र अरु रकम फर्किएको थियो । अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि रु एक करोड बजेट छुट्याएको जनाएको छ । यसअघि चितवनको रत्ननगरस्थित टिकौली चौरमा क्षेत्रीय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको कामसमेत अधुरो छ । चितवन जिल्लामा खेलकूद मैदानको अभाव छ । रासस
सिन्धुलीको तीन पक्की पुलको निर्माण तीव्र, सम्झौताभन्दा १८ महिनाअघि सक्ने
काठमाडौं । सिन्धुलीका विभिन्न भागमा निर्माणाधीन तीन पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हेटौंडा–सिन्धुली–उदयपुर–चतरा वैकल्पिक राजमार्ग अन्तर्गत पर्ने सिन्धुलीको कमला, मरिण र रातु नदीका तीन पक्की पुलको निर्माण तीव्र गतिमा भएको हो। एक अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माणाधीन पुल सम्झौताअनुसारको समयभन्दा झन्डै डेढ वर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा निर्माण भइरहेको पुल निर्माणमा संलग्न रसुवा कस्ट्रक्सन कम्पनीका अध्यक्ष इन्जिनियर राजेन्द्र आचार्यले जानकारी दिए । २०७३ असार २९ गते कालिका–रसुवा–तुदी जेभी काठमाडौंले सडक विभाग पुल महाशाखा, पुल आयोजना पूर्वी क्षेत्र सेक्टर १ सँग सम्झौता गरी निर्माण थालिएका तीनै पक्की पुलको निर्माण ८० प्रतिशतसम्म सम्पन्न भइसकेको इन्जिनियर आचार्यको भनाइ छ । ‘४८ करोड रुपैयाँ कुल लागत रहेको कमला नदीअन्तर्गत जगाडीमा निर्माणाधीन पाँच सय मिटर लामो पक्की पुलको हालसम्म ७२ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। उक्त पुल आगामी असार मसान्तभित्र निर्माण सकिन्छ,’ उनले भने। यस्तै ४३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण थालिएको मरिण खोलाअन्तर्गत कपिलाकोटा कल्पवृक्षको पुलको निर्माण १४ महिनामै ८० प्रतिशत सम्पन्न भइसकेको छ। उक्त पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मंसिर १२ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो। पुलको लम्बाइ चार सय मिटर छ। २० करोड रुपैयाँ लागतमा निर्माण थालिएको दुई सय २५ मिटर लामो पुलको निर्माण हालसम्ममा ६०प्रतिशत सम्पन्न भएको छ’, आचार्यले भने । यी तीनै पक्की पुलको निर्माण आगामी असार मसान्तभित्र सक्ने लक्ष्य रहेको उनको भनाइ छ। अन्य निर्माण कार्यमा ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नहुने र लागत बढ्नुका साथै करोडौंका योजना वर्षौंदेखि अलपत्र अवस्था पर्ने गरेका घटनाहरु बाहिर आइरहेको अवस्थामा जिल्लाका तीन ठूला नदीमा निर्माणाधीन पुल भने सम्झौता अवधिभन्दा झन्डै १८ महिनाअघि नै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भैरहेको छ ।यी तीनवटै पुलको निर्माण आगामी २०७६ साल पुस २८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। इन्जिनियर आचार्यले आफूहरूले दिनरात नभनी पुल निर्माण कार्य गरिरहेको भए पनि सरकारले समयमा भुक्तानी दिन नसकेको गुनासो गरेका छन्। ‘हामीले ४३ करोडमा ३० करोड रुपैयाँको काम सकिसकेका छौं। तर पनि सरकारबाट भुक्तानी पाउन सकेका छैनौं,’ उनले थपे ।
एमडी विद्यार्थीको भर्नामा मनोमानी नगर्न डीन कार्यालयको आङ्गिक क्याम्पसलाई चेतावनी
काठमाडौं । चिकित्साशास्त्र क्षेत्रमा मास्टर इन डाक्टर (एमडी) विद्यार्थी भर्नामा मनोमानी नगर्न डीन कार्यालयले आङ्गिक क्याम्पसलाई चेतावनी दिएको छ । विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले विद्यार्थीहरुलाई प्रक्रिया अनुसार नै भर्ना गर्न निर्देशन दिएको हो । संथानको निर्णय अनुसार शैक्षिक सत्र २०७४/०७५ मा चिकित्साशास्त्रमा स्नातकोत्तर पढ्ने विद्यार्थीहरुले ५० प्रतिशत रकम सुरुमै तिर्नुपर्ने छ । दोस्रो र तेस्रो वर्षमा बाँकी २५/२५ प्रतिशत तिर्नुपर्नेछ । यसैगरी डीन कार्यालयको निर्देशन पालना नगर्ने क्याम्पसलाई चिकित्सा शिक्षाको मान्याता नदिने समेत बताएको छ । क्याम्पसहरुले विद्यार्थी भर्नाको लागि रकम जम्मा गर्ने बैँकको खाता नम्बर लगायतका विवरण विद्यार्थी र अविभावकहरु जनकारी गराउनुपर्नेछ । डीन कार्यालय र परीक्षा नियन्त्रण महाशाखा मार्फत छानिएका विद्यार्थीहरुले मात्र बैँकमा रकम दाखिला गरी अनलाइनबाट भर्ना हुनुपर्नेछ । २ वर्ष कार्यक्रमको हकमा भने भर्ना समयमा ५० प्रतिशत रकम र बाँकि ५० प्रतिशत दोस्रो वर्षको सुरुमा नै बुझाउनु पर्नेछ । सीट संख्या तथा शुल्क त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट स्वीकृत भए पनि डीन कार्यलयले वेभसाइट मार्फत जानकारी गराउनेछ ।