पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मुल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै स्वचालित प्रणाली अनुसार निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मुल्य समायाेजन गरेकाे निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए । उनका अनुसार सञ्चलक समितिको वैठकद्वारा उक्त मुल्य तय गरिको हो । निगमका अनुसार अब बढेर पेट्रोल प्रतिलिटर १०५, डिजेल र मट्टीतेल प्रतिलिटर ८५/८५ रुपैयाँ पर्ने भएको छ । नाफा ५ करोड बढ्ने मुल्य समायोजनसँगै निगमको नाफा पनि बढ्ने भएकाे छ । ‘गएको पाक्षिक (१५ दिनमा) १५ करोड रुपैयाँ रहेको नाफा बढेर आगामी पाक्षिक २० करोड रुपैयाँ पुग्नेछ,’ निगमका प्रवत्ता गोईतले भने । इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले बढेको मूल्य सूचि पठाएपछि निगमले पनि नेपालमा पेट्रोलियमको भाउ बढाएको हाे । भारतमा सोमबारदेखि पेट्रोलियम पदार्थ महंगो भएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर परेको हो । फाइनान्सियल एक्सप्रेसका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर प्रतिव्यारेल ६५।२१ डलर पुगेको छ ।
एक पैसा नतिरि पाए विपिन दाहालले यामाहा माेटरसाइकल
काठमाडौं । इनरुवाका विपिन दाहालको जीवनमा सोमबार अपत्यारिलो खुसीको क्षण भएको छ । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाएका छन् । इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीले जनाएअनुसार उनले उक्त शोरुमबाट यामाहा एफजीएस एफआई खरिद गरेका थिए । नयाँ वर्षको योजना अन्तर्गत खरिद गरेको मोटरसाइकलमा स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनले १०० प्रतिशत क्यासब्याक लेखिएको कुपन पाएको जनाइएको छ । शोरुमको अनुसार उनले पाँचौं तथा अन्तिम स्क्र्याचमा क्यासब्याक पाएको हो । यामाहाले चैतको पहिलो ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको उक्त योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलार्इ कम्पनीले एउटा स्क्र्याच बुक उपलब्ध गराउने व्यवस्था गरेकाे छ । स्क्र्याच बुकमा पाँच वटा पाना हुने जनाइएको छ । जसमा ग्राहकले पाँच हजारदेखि सतप्रतिशत क्यासब्यकसम्मको उपहार योजना प्रदान गरिएको छ । उक्त योजना चैत १ बाट शुरु भएको र ३१ बैशाखसम्म चल्ने कम्पनीको भनाइ छ ।
गोगो फाउण्डेसनले गर्यो यातायात निर्देशिकाको स्वागत
काठमाडौँ । गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ । फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आज विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध जनाएको छ । सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित सात वटा निर्देशिका मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी विल्डिङ मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४० कार्यान्वयनमा ल्याएको छ । केही वर्षअघि सर्वोच्च अदालतले उपभोक्ताको प्रतिस्पिर्धी सेवा छनोट गर्ने अवसरबाट वञ्चित गर्ने उद्देश्यले यातायात क्षेत्रमा लादिएको एकाधिकार अन्त्य गर्न सरकारका नाउँमा निर्देशात्मक आदेश दिएको थियो । अब सबै यातायात व्यवसायीले कानूनी सर्वोच्चताको सम्मान गर्दै सरकारले ल्याएका निर्देशिकाअनुसार व्यवसाय सञ्चालन गर्न गराउन गोगो फाउन्डेशनले आह्वान गरेको छ । रासस
स्वीकृती नलिइ सेयर निष्कासन नगर्न संगठित संस्थालाई बोर्डको चेतावनी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति विना निष्कासन भएका कुनै पनि सेयरमा लगानी नगर्न लगानीकर्तालाई सचेत गराएको छ । केही जलविद्युत कम्पनीले अग्राधिकरण सेयरको रुपमा सर्वसाधारणबाट लगानी उठाएको गुनासो आएपछि बोर्डले सोमबार सार्वजनिक सूचना प्रकाशित बोर्डको स्वीकृति विना निष्कासन गरिएको सेयर अवैद्यानिक हुने भन्दै यस्ता काम नगर्न जलविद्युत कम्पनीलाई सचेत गराएको छ । युनिभर्सल पावर कम्पनी लिमिटेड, साहस ऊर्जा लिमिटेड, दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडलगायतले सूचना प्रकाशित गरी सेयर बिक्री गरेपछि बोर्डले अंकुस लगाएको हो । बोर्डले केही जलविद्युत कम्पनीले सेयर निष्कासन गरेकोमा गम्भिर ध्यानकर्षण भएको जनाउदै त्यसो नगर्न निर्देशन दिएको हो । बोर्डले कतिपय जलविद्युत कम्पनीहरुले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशित गरेको भन्दै आपत्ति जनाएको छ । धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था गरेको जानकारी दिएको छ । धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारणलाई सेयर बिक्रि गर्नु गैरकानुनी भएको जानकारी दिदै स्वीकृति लिएर दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र सेयर निष्कासन गर्न सबै कम्पनीलाई निर्देशन दिएको हो ।
कर्मचारीको पेन्सन मात्र वार्षिक ३ खर्ब पुग्दै, थेग्ला त मुलुकले ?
काठमाडौं । आउदो एक दशकमा राष्ट्रसेवक कर्मचारीका लागि निवृतिभरण (पेन्सन) र अवकास गरी सरकारले वार्षिक ३ खर्ब रुपैयाँ बढी लगानी गर्नुपर्ने देखिएको छ । वर्षेनी पेन्सन र अवकास कोषका लागि अर्बौ रुपैयाँ दायित्व थपिदै गएकाले १० वर्षभित्रै यसमा ३ खर्ब रुपैयाँ खर्च हुने अनुमान अर्थ मन्त्रालयको छ ।५ वर्षको अवधिमा पेन्सन र अवकास खर्च मात्रै १५६ प्रतिशत बढेको छ । सरकारले चालु आर्थिक वर्षमा पेन्सन र अवकास गरी ६४ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । चालु आवमा पेन्सन मात्रै ४५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ७ वर्षको अवधिमा पेन्सन र अवकास गरी साढे ५५ अर्ब रुपैयाँ दाइत्व बढेको देखिन्छ । आव ०६७/०६८ मा सरकारले ६ अर्ब ८२ करोड ४० लाख रुपैयाँ खर्च गरेको थियो । त्यसपछि बढ्दै दायित्व बढ्दै गएको सरकारी तथ्याँकले देखाउछ । वर्षेनी बढ्दो क्रममा रहेकाले एक दशकमा ३ खर्ब रुपैयाँ नाघने अनुमान अर्थ मन्त्रालयको छ । सरकारले निजामति कर्मचारी, सेना, प्रहरी र सामुदायिक विद्यालयका शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीको निवृतिभरण र अवकासमा ठुलो लगानी गर्दै आएको छ । कर्मचारीको अवकास उमेरमा पुनरावलोकन नगरिएका कारण कम उमेरमै अवकास हुदा पेन्सन दायित्व बढ्दै गएको अर्थमन्त्री डा. युवराज खतिवडाको निष्कर्श रहेको छ । २० वर्ष सेवा गरेपछि पेन्सन पाउने, ५८ वर्षमै अवकास हुने र अवकास पाएको दिनदेखि नै पेन्सन पाउने, कर्मचारीको परिवारले पनि आजीवन पेन्सनपाउने र वहालवाला कर्मचारीको तलव बढ्दा पेन्सन पनि दुई तिहाइले बढ्ने व्यवस्था भएकाले दायित्व बढी रहेको उनको भनाई छ । यस्तै सेवा करार भन्दा व्यक्तिगत करार गरी नियुत्त गरेर कर्मचारी सरह सेवासुविधा दिइएको छ । हाल करारमा नियुक्त भएका कम्प्युटर अपरेटर, सवारीचालक र कार्यालय सहयोगीलगायतको संख्या ३२ हजार बढी रहेको अर्थले जानकारी दिएको छ । यी कर्मचारीका लागि सरकारले वार्षिक ५ अर्ब ५६करोड रुपैयाँ खर्च गरेको उनले बताए ।
ज्योति विकास बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, बैंकको जुनसुकै शाखाबाट विमा गर्न सकिने
काठमाडौं । सोमबार ज्योति विकास बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो, भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीे र इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने छ । बैंकका अनुसार हाल ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा बैंकले १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराइरहेको जनाएको छ ।
कुमारी बैंकले हकप्रद सेयर निष्कासन गर्न पायो बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । बैंकको चुक्तापूँजी ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ छ ।
रहेनन् उद्योगी रमेश गुप्ता
काठमाडौं । उद्योगी व्यवसायी रमेश गुप्ताको अल्पायुमै निधन भएकाे छ। टाउकोको समस्या झेलिरहेकाे उनकाे भारतको दिल्लीमा उपचारको क्रममा सोमबार दिउसो देहवसान भएको नेपाल परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । उनी परिसंघका राष्ट्रिय परिषद सदस्य थिए । लक्की ग्रुपका उपाध्यक्ष रहेका उनको शिवम् सिमेन्ट, होङ्सी सिमेन्ट, लुम्बीनी विद्युत, विभिन्न बैंक तथा विमा कम्पनीहरुमा लगानी रहेको जनाइएको छ । व्यापार व्यवसायबाट आफ्नो क्यारियर शुरु गरेको युवा उद्यमी गुप्ताको निधनले परिसंघ स्तब्ध भएको अध्यक्ष शर्माले बताए । ‘मुलुकले उद्योग क्षेत्रमा राम्रो सम्भावना बोकेको युवा उद्यमीलाई गुमाएको छ,’ उनले भने ।