ईपीएल भारतीय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने
काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको यस वर्षको संस्करणको प्रसारण भारतीय टेलिभिजन च्यानल डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ बाट हुने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले यसबारे लिगको जानकारी दिएका हुन् । डिस्कभरी एसिया प्यासिफिकले सञ्चालन गरेको च्यानलले ग्लोबल प्रसारण अधिकारी खरिद गरेको हो । नेपालको लागि भने प्रसारण अधिकारी ईपीएलसँग नै रहेको छ । अख्तरका अनुसार आवश्यक परेको खण्डमा ईपीएलले नेपाली च्यानलहरुलाई पनि लिगबारे अधिकार प्रदान गर्न सक्नेछ । डी स्पोर्ट्सले यसअघि अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, निददास ट्रफी लगायत प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । ईपीएलका लागि अख्तर र डी स्पोर्ट्सका सिइओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अख्तरले गर्व महसुस गर्दै विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए । डी स्पोट्र्सका दिलिपले पनि नेपालमा आएर प्रतियोगिता प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए । यू१९ टोलीका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय बोर्डकाष्टले विदेशी समर्थक आर्कषित गर्नुको साथै स्तरीय प्रसारण देख्न पाइने र नेपाल पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउने बताए । नेपाली क्रिकेटमा पहिलो पटक अन्तर्राष्ट्रिय मिडिया डी स्पोर्ट्सको प्रयोग गरिएको हो । यसअघि ईपीएलले पहिलो संस्करण कान्तिपुर टेलिभिजनले गरेको थियो । दोस्रो र तेस्रो संस्करण भने एपिवान एचडीले गरेको थियो । चौथो संस्करणको ईपीएल आगामी फागुन १७ देखि चैत्र १ सम्म हुने छ ।एभरेष्ट प्रिमियर लिगको ६ शहरमा ६ टोली रहेका छन् । गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो ।
सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा
काठमाडौँ । सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा आएको छ । सगरमाथा प्रिकास्टको स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ प्लान्ट सुनवल नवलपरासीमा रहेको छ । प्रिकास्ट निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट इन्फ्रास्टक्चर निर्माणमा सहयोग पुग्ने सगरमाथा प्रिकास्ट प्रालिले जनाएको छ । हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजीहरु प्रयोग गरिरहेको जनाएको छ । साथै उच्च गुणस्तरीय कच्चा पदार्थहरु सुक्ष्म रुपले कम्पनीको स्टेट अफ दी आर्ट प्रयोगशालामा परीक्षण गर्छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटीकता र स्थिरताका साथ नवीन उत्पादनहरुको ग्यारेन्टी जनाइएको छ । कम्पनीले मेक ईन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ । साथै यो उत्पादन नेपालमा पहिलो पटक आर्थिक विकासको लागि बनेको र यसले नेपालीलाई ठूलो संख्यामा रोजगारी पनि दिएको जनाइएको छ ।
अर्थमन्त्रीको अभिव्यक्ति पछि उचालियो सेयर बजार, २७ अंकले बढ्यो, ३८ करोडको कारोबार
काठमाडौ । अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा दोस्रो बजारका खेलाडीहरूले खेल्ने तथा बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने बेला आएको अभिव्यक्ति दिएपछि साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.९१ अंकले बढेको हो । बजार २.३९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११५०.७४ बिन्दुमा पुगेको छ । उक्त कार्यक्रममा उनले लगानीकर्ताहरूको विश्वास बढाउनु पर्ने अवस्था आएको बताएका थिए । पछिल्लो समय बैंकहरूको नाफा बढिरहेको, वित्तीय प्रणाली सवल भएको, राजनीतिक स्थायित्व भएको, करको समस्या करिब समाधान भएपछि पनि बजारमा गिरावट आउनु राम्रो नभएको भन्दै यो समयमा दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न सुझाव दिएका थिए । मंगलबार सेयर बजारमा १ सय ७१ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर किनबेच हुँदा ३८ करोड ३९ लाख ५७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेमा म्यूचुअल फण्डको सूचक मात्र रातो देखिएको छ । बैक समूह २१.०७, टेडिङ समूह २.२८, होटल समूह ५७.७९, विकास बैंक समूह २६.७७, जलविद्युत समूह ३९.५, वित्तीय समूह ८.४६, निर्जीवन बीमा समूह ८८.५७, उत्पादन मूलकसमूह १०७.१, अन्य २०.२६, माइक्रो फाइनान्स ३०.२, जीवन बीमा समूह १०२.९३ अंकले बढेका छन् । शिवम सिमेन्टका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । २६.९१ अंकले बजार बढेको दिनमा घाटा व्यहोर्ने १० कम्पनी बजार बढेको दिन इभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.५९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । यस्तै, आखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.३५ प्रतिशत, सिटिजन बैक इन्टरनेशनल लिमिटेडका लगानीकर्ताले ५.०६ प्रतिशत, सिन्धु विकास बैक लिमिटेडका लगानीकर्ताले ४.७६ प्रतिशत, सानिमा इक्युटी फण्डका लगानीकर्ताले ३.०३ प्रतिशत मंगलबार गुमाउने कम्पनीको उच्च सूचीमा परेका छन् । कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले २.४३ प्रतिशत गुमाएका छन् । सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले २.०२ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड वानका लगानीकर्ताले २ प्रतिशत पनि गुमाउने कम्पनीमा परेका छन् । सर्पोट माईक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १.६७ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ । उक्त सहयोग बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । यसरी, बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट डब्लुडब्लुडब्लु डट सेञ्चुरी बैंक डट कम डट एनपि तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिन्छ ।
सिटिजन्स बैंक र एनबिआईबीच सम्झौता, बैंकका कर्मचारीको कार्यदक्षता अभिबृद्धि गरिने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबिआई) बीच तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ ।
डेढघण्टादेखि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्याे
काठमाडौं । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले राससलाई जानकारी दिएका छन् । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करिब ३०० आन्तरिक उडान–अवतरण हुँदै आएको छ । यसैबीच मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौँका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभे्रपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रु सकुशल छन् । ती यात्रु अधिकांश विदेशी हुन् । रासस
उद्योग महासंघको आयोजनामा ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक गोष्ठी सम्पन्न
काठमाडौं । सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् । महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित विज्ञान र प्रविधिको माध्यमबाट हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिएका छन् । बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि त्यसको मुख्य आधारको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका थिए । आफैसँग रहेको स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको प्रवद्र्घनबाट मात्रै बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सकिने भन्दै उनले यसका लागि सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद खनालले विज्ञान र प्रविधिलाई कसरी लघु, घरेलु तथा साना उद्योगसँग जोड्न सकिन्छ भन्नेतर्फ सरकारले योजना बनाउन लागेका जानकारी दिए । अहिले भएका लघु, घरेलु तथा साना उद्योगबाट पाउन सकिने प्रतिफल पनि पाउन नसकिएको भन्दै उनले परम्परागत उद्योगधन्दालाई विज्ञान र प्रविधिसँग जोडेर मात्रै उत्पादकत्व र उत्पादन क्षमता बृद्घि हुने बताएका हुन् । व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले समृद्घिको लागि उद्यमी हुनैपर्ने भन्दै उद्यम र उद्यमशीलता परम्परागत नभएर आधुनिक हुनुपर्नेमा जोड दिएका छन् । यसरी, मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुको सुझाव थियो ।
नलगाड जलविद्युत् आयोजनाले बढाउने भयो उत्पादन क्षमता
जाजरकोट । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । चारसय दश मेघावाटबाट बढेर ४१७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन् । शुरुमा गरिएको अध्ययनले ४१० मेघावाट विद्युत् उत्पादन हुने सर्वेक्षण गरिएकामा अहिले डिपिआरको प्राराभिक प्रतिवेदनबाट सात मेघावाट विद्युत् उत्पादन क्षमता बढने आयोजनाका इञ्जिनीयर पदम थापाले बताएका हुन् । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा निर्माण हुने बाँधको उचाइ शुरुमा २०० मिटर रहेकामा अहिले २१० मिटर बनाइएकाले विद्युत् उत्पादन क्षमता बढने उनको भनाइ थियो ।सो विषयमा वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ । त्यसैगरी आयोजनाको जग्गा अधिग्रहणको काम समेत शुरु गरिएको छ । जलविद्युत् निर्माणस्थलका लागि अधिग्रहण गरिएको चार हजार ४६२ रोपनी ९३ हजार ८६१ कित्ता जग्गाको मुआब्जा उपलव्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ । सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड उपलब्ध गराएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मुआब्जा यसै वर्षमा वितरण गरिने उनको भनाइ थियो । चार वर्ष अघिदेखि मुआब्जा वितरण शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो । मन्त्री बस्नेतले भने, “आयोजना निर्माणका लागि विभिन्न देशसँग छलफल जारी छ र कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि परेका छौँ ।” मुआब्जा वितरण गरिएको ठाउँमा यसअघि प्रतिरोपनीे रु चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो । अब तीन हप्ताभित्र जग्गाको मूल्याङ्कन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् । दक्षिण एशियाको नमूना बाँध बन्न लागेकोले पर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण हुने उनले बताए । निर्धारित मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम चार महिनाभित्र सकिने कम्पनीका इञ्जिनीयर पदम थापाले जानकारी दिएका छन् । बत्तीस महिनाभित्र निर्माण गरिने भनी सम्झौता गरिएकामा काम नसकिएकाले छ महिना थपिएको थियो । सामग्री ढुवानी, सुरक्षा व्यवस्था र विस्फोटक पदार्थ समयमै आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकिएको उक्त कन्सलटेन्टले बताएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा सो परियोजनाको बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण गरिने भएको छ । विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम शुरु गरिए पनि थपिएको मिति सकिँदासम्म २५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर थापाले बताएका छन् । रासस