मनाइयो सातौँ राष्ट्रिय विज्ञान दिवस
काठमाडौँ । बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा विज्ञान प्रविधि सम्बन्धी सचेतना फैल्याउने उद्देश्यका साथ सो दिवस मनाईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सातौँ राष्ट्रिय विज्ञान दिवस, २०७६ लाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, बिपि कोईराला मेमोरियल प्लानेटोरियम, विधि विज्ञान प्रयोगशाला तथा विश्वविद्यालयका डिनहरुको संलग्नतामा मूल समारोह समिति गठन गरिएको थियो । भदौ २६ देखी मनाइएको विज्ञान दिवन असोज १ गते सम्पन्न भएको हो । राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना वि.स. २०३३ सालमा भएको हो । यस्तै, वि.स. २०३९ मंसिर २० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । साथै, वि.स. २०५३ साल जेठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भएको हो । अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारेर हरेक बर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउन नेपाल सरकार मन्त्रि परिषद्बाट २०६९ साल मंसिर ८ गते निर्णय भएको थियो । सोही निर्णय अनुसार वि.स. २०७० साल असोज १ गते देखी हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाइदै आएको छ ।
सोलुखुम्बु–काठमाडौं सडक अवरुद्ध, उच्च सावधानी अपनाउन आग्रह
सोलुखुम्बु । निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिएका छन् । प्रजिअ खनालका अनुसार सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ । सडकमा पहिरो जाँदा जिल्लाबाट काठमाडौँका लागि छुटेका सवारीसाधन बिच बाटोमै रोकिएको ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी हवल्दार सञ्जीव चौधरीले जानकारी दिएका छन् । उनका अनुसार पहिरोले तिङ्लास्थित सिस्नेरी, साल्मे क्षेत्र अवरुद्ध बनेको छ । त्यस्तै ओखलढुङ्गाको हर्कपुर क्षेत्रमा पनि पहिरो जाँदा सवारी आवगमन ठप्प बनेको छ । सवारी आवगमन ठप्प हुँदा सयौं यात्रुबीच बाटोमा नै रोकिएका छन् । जिल्लाबाट कटारी, सिरहा, सुनसरीलगायत प्रदेश राजधानी विराटनगर तथा काठमाडौँ लगायतको क्षेत्रमा हिँडेका यात्रु बिहान ११ बजेसम्म बिच बाटोमा नै रोकिएको ट्राफिक प्रहरी इञ्चार्ज चौधरीले जानकारी दिएका हुन् । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहे पनि अविरल वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाको ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध बनेको स्थानीयले बताएका छन् । पानीले जमिन गलेकाले उच्च सावधानी अपनाउन प्रमुख जिल्ला अधकारी खनालले सवारी चालक, यात्रु तथा स्थानीयलाई आग्रह गरेका छन् । वर्षापछि पहिरोको सम्भावना उच्च हुने हुँदा सबैलाई सावधानीपूर्वक रहन प्रशासनले सबैलाई अनुरोध गरेको छ । अहिलेसम्म जिल्लामा सामान्य पहिरो बाहेक अन्य कुनै पनि अप्रिय घटना भने नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ । केही विपद् परिहालेमा तत्काल खबर गर्न पनि आग्रह गरिएको छ । रासस
जेष्ठ नागरिकलाई आजदेखि वायुसेवा निगमको हवाईजहाजमा ५० प्रतिशत छुट
काठमाडौं । नेपाल वायुसेवा निगमले ७० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने थालेका छ । उक्त छुट बुधबारदेखि नै लागू भएको वायुसेवा निगमले जनाएको हाे । निगमका सहप्रवक्ता सुलेख मिश्रले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट बुधबारदेखि नै लिन पाउने निर्णय गरिएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । त्यहीअनुसार नेपाल वायुसेवा निगमले उक्त निर्णय गरेको हो । यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ ।
काबेली ‘बी वान’ को परीक्षण उत्पादन दशैँअघि, २५ मेगावाट केन्द्रीय प्रसारणमा जोड्ने तयारी
ताप्लेजुङ । काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँ अगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको हो । दशैँ अगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिएका छन् । “आयोजनाको काम सकिएर अहिले परीक्षण उत्पादन शुरु गरेका छौँ, दशैँ अगावै काबेली करिडोरमा जोड्ने हाम्रो तयारी छ”, निर्देशक न्यौपानेले भने । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट उत्पादन भएको विद्युत् पाँचथरको अमरपुरस्थित काबेली करिडोरको सवस्टेशनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणद्वारा अमरपुरमा केही दिन अघि मात्रै काबेली करिडोरको सवस्टेशन निर्माणको कार्यसमेत सम्पन्न भएको छ । झण्डै रु पाँच अर्बको लगानीमा आयोजना सम्पन्न भएको हो । शुरुमा रु चार अर्बको लगानीमा सम्पन्न हुने अनुमान गरिए पनि बाढी, मूल्य वृद्धि, भारतीय नाकाबन्दी र आयोजनाको अवधि लम्बिएकाले लगानी पनि बढेर रु पाँच अर्ब पुगेको बताइएको छ । कूल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले र बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गरेका छन् । तीन वर्षमा नै निर्माण पूरा गर्ने गरी २०७२ साल वैशाखदेखि आयोजनाको निर्माण शुरु भएको थियो । अघिल्लो वर्षमा नै निर्माण पूरा हुनुपर्ने भए पनि काबेली करिडोर निर्माणमा ढिलाइ भएकाले आयोजनाको अवधि लम्बिएको आयोजनाले जनाएको छ । ताप्लेजुङको साविकका गाविस थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु, सिनाम र पाँचथरका थर्पु, नागी, अमरपुर आयोजनाको प्रभावित क्षेत्र हुन् । रासस
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बागलुङ्ग मालपोत कार्यालयमा
काठमाडौँ । प्रभु बैंकले बागलुङ्ग नगरपालिका स्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज ०१ गते बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशबराज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णुप्रसाद शर्माले एक समारोहबीच संयूक्त रुपमा उद्घाटन गरेका हुन् । बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बताइएको छ ।
शुल्क वृद्धिको विरोधमा १६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प
चितवन । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताएका छन् । शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । मुख्य रुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको बताएका छन् । यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु छ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनको भनाइ छ । शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उनले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताएका हुन् । समितिले शैक्षिक शुल्कका अतिरिक्त कलेजले लिँदै आएको तीन शुल्कबाहेक रजिष्टे«शन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्रा.डा. न्यौपानेले बताए । अन्य सङ्कायमा सरकारले शुल्क निर्धारण गर्नुअघि कलेज स्वयंले निर्धारण गरेको शुल्क बढी भए पनि तोकेपछि भने बढी नलिएको न्यौपानेले जानकारी दिएका छन् । पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने जानकारी दिए । कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पुर्याउन आग्रह गर्दै आएको बताएका छन् । नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन् । सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि यहाँमात्र आन्दोलन भएको उनले बताए । “सरकारले तोकेको शुल्कमा पढाउन तयार हुँदा अन्यत्र हुने हाम्रोमा मात्र आन्दोलन किन भइरहेको छ हामी अन्योलमा छौँ ” न्यौपानेको प्रश्न छ । रासस
नेप्से परिसूचक अस्थिर, २२ अंकले बढेको बजार १२ अंकमा झर्यो
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण मंगलबार एकाएक उचालिएको सेयर बजार साताको चौथो दिन अस्थिर देखिएको छ । साताको चौथो दिन आज सेयर बजारमा कारोबार शुरु भएको एक घण्टामै २२ अंक उकालो लागेर पुनः तल ओर्लिएको छ । बिहान ११ बजे बजार खुल्दा ११५०.६६ अंकको परिसूचक ११ बजेर २६ मिनेट जाँदा ११७२.५९ अंकमा पुगेको थियो । बजार खुलेको आधा घण्टा नबित्दै २२ अंकले बढेको थियो । १२ बजेर २० मिनेट १२.५२ अंकले बजार बढेको छ र परिसूचक ११६३.२६ अंकमा पुगेको छ । मंगलबार कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री खतिवडाले सेयरमा लगानी गर्ने उपयुक्त समय आएको अभिव्यक्ति दिएपछि २ दिनसम्म लगातार दोहोरो अंकले घटेको बजार एकाएक २७ अंकले बढेको थियो ।
खुशीको खबरः ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य जाँच
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिएका हुन् । कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उनले बताए । गाउँपालिकाभित्रका आठ वटै वडामा घरमै पुगेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको उनको भनाइ छ । ‘ धेरै ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था धेरै छ उनले भने, “कम्तीमा महिनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पुर्याउनका लागि कार्यक्रमको थालनी गरिएको हो ।” यही भदौ ४ गते सबै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालीम प्रदान गरी कार्यक्रम शुरु गरेको उनले बताए । गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिने शुरु गरेको उनको भनाइ छ । “हरेक वडामा ८० वर्ष माथिका कम्तीमा १५० जना ज्येष्ठ नागरिक छन्, उनले भने, । “ती मध्ये पनि आधाजति मात्र गाउँमा बसोवास गर्दा रहेछन्, उनीहरुमा सबैमा उपचार सेवा पुर्याउन सकिने पालिकाले अपेक्षा गरेको छ ।” नेपाल सरकारको तय गरेका विभिन्न राष्ट्रिय कार्यक्रमलाई असर नपर्ने गरी गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।‘गाउँघर क्लिनिक, खोप कार्यक्रम, पोषण कार्यक्रमलगायतका कार्यक्रमलाई प्रभाव नपर्ने गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौ ।’ शाखा प्रमुख भट्टले भने,“घरघरमा गएर उपचार सेवा दिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरुप केही रकम गाउँपालिकाले उपलब्ध गराउछ ।” एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षण गर्न सक्ने उनले बताएका छन् । रासस