विकासन्युज

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ । नवनियुक्त महानिर्देशक खतिवडाले बुधबारनै पदबहाली गरेका छन् । नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए । खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व दिएका थिए । पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई सम्बोधन गर्नुहुंदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय÷अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ÷संस्थाहरूको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरूलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिए । पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरू लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।

एभरेष्ट इन्स्योरेन्सको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए । एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतले भने-‘यस वर्ष हामीले नदिएको होइनौ हामीसँग नै नभएको अवस्था भएर लगानीकर्ताले केही नपाउनु भएको हो ।’ तर आगामी दिनमा भने लगानीकर्ताहरूकै पक्षमा काम गर्ने कम्पनीले प्रतिवद्धता जनाएको छ । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।

नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ । जनरल, जीआई एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्य चिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय अञ्जु बुढाथोकीमा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

सन नेपाललाइफले ताप्लेजुङ्गमा गर्यो उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ३० गते ताप्लेजुङ्गमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

टेलिकमद्वारा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक

काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो । यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध रहने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

टेण्डर गर्दा नै सम्भावित भाउवृद्धि राखिएकोले अरु पैसा थप्नु पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उनले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट गरेका छन् । “अब के प्राप्त गर्नको लागि हिंसा गर्ने हो रु’’, उनले प्रश्न गरे । उनले तोकिएको समयमा नै काम सम्पन्न हुनुपर्नेमा जोड दिँदै भने,‘‘ कामको गुणस्तरमा कुनै सम्झौता हँुदैन । काम गुणस्तरीय हुनुपर्छ ।’’ प्रधानमन्त्री ओलीले तोकिएको समयभन्दा पछाडि पैसा थप्ने काम नहुने बताउँदै समयमा नै खुरुखुरु काम गर्न र सकाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । ‘‘टेण्डर गर्दा नै सम्भावित भाउवृद्धि राखिएकोले अरु पैसा थप्नु पर्दैन । परिपाटी धेरै बिग्रिएको छ । त्यसलाई सुधार गर्नुपर्दछ’’, उनले भने । उनले आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र संसद् भवन बनाउने भनेको तर बल्ल शिलान्यास भएकामा असन्तुष्टि व्यक्त गर्दै आफ्नै कार्यकालमा संसद्को भवन बन्ने दृढता व्यक्त गरेका छन् । ‘‘यसका तयारीका पक्ष अत्यन्तै ढिलो भए । एउटा कहाँ बनाउने भन्ने कुरामा नै समय लाग्यो । त्यसअनुसार डिजाइन, लागतमा समेत समय लागेकोले ढिलो भएको छ तर यो भवनलाई समयभित्रै सकाउनुपर्छ’’, उनले भने । प्रधानमन्त्री ओलीले देश विकासको बाटामा अगाडि बढे पनि चाहेजस्तो गति लिन नसकेको भनी आएको आलोचनालाई हृदयङ्गम गरी सरकारले अझ बढी गतिको साथ काम गर्ने बताएका छन् । उनले डेढ वर्षमा थुप्रै काम भएका र ती काम देखिन थालेको बताउँदै मोतीहारी–अमलेखगञ्ज पाइप विस्तार, धरहरा निर्माण र रानीपोखरीको पुनःनिर्माण सरकारका देखिने खालका काम रहेको उदाहरण दिए । उनले भ्रष्टाचार विरोधी अभियान चलाइने जानकारी पनि दिएका छन् । सो अवसरमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले २०५५ सालदेखि संसद् भवन निर्माण गर्ने सरकारको कार्यक्रम भए पनि अहिलेको सरकारले प्राथमिकतामा राखेर भवन निर्माणको शुरुआत गरेको बताउँदै तोकिएको समय तीन वर्षभित्र भवन निर्माण गरिने जानकारी दिएका छन् । शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संसद्का दुवै सदन सञ्चालन गर्न सक्ने गरी अत्याधुनिक भवन बनाइने बताए । कुल रु नौ अर्ब ६० करोडमा निर्माण हुने उक्त भवनमा विभिन्न ११ संरचना निर्माण हुनेछन् । रासस

असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छः मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महिनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट गरेका छन् । मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित चालू आर्थिक वर्षका कार्यक्रममाथिको द्वैमासिक प्रगति समीक्षा बैठकमा आज मन्त्री बाँस्कोटाले त्यसरी हुन नसकेका कामको बजेट आगामी माघदेखि फिर्ता लिई अन्य काममा लगाइने जनाएका हुन् । मन्त्री बाँस्कोटाले भने,“समयमा काम हुनुपर्छ । हुन नसके के कारणले नभएको हो र माथिल्लो निकायमा पेश गर्नुपर्ने भएमा तत्काल पेश गर्ने गरी प्रभावकारी काम हुनुपर्छ । कार्यसम्पादन सम्झौतामा उल्लेख भएका कामहरु समयमा नभएमा कारवाही गरिनेछ ।” मन्त्री बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा जानुपूर्व पत्रकारिता र आमसञ्चार क्षेत्रमा क्रियाशील संस्थाहरुसँग छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् । सो विधेयक सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । उनले नेपाल टेलिकमका कर्मचारी काठमाडौँ उपत्यकामा धेरै तर कतिपय जिल्लामा अपुग भएकामा सन्तुलत मिलाउन र नेपाल दुरसञ्चार प्राधिकरणलाई अनुगमनकार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अनलाइनमार्फत यथार्थपरक प्रगति विवरण दिने प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गर्दै असोज मसान्तभित्र सबै बोलपत्र आह्वान नभएमा समस्या आउने बताए । उनले भने, “समयमा काम सम्पन्न गर्नुपर्ने बन्धनमा मन्त्री र हामीहरु सबै छौँ । त्यसैले समयसीमा र आवश्यक प्रक्रिया तत्काल पूरा गर्न म आग्रह गर्छु ।” मन्त्रालयअन्तर्गत समीक्षा अवधिमा डिजिटल नेपालको फ्रेमवर्कको अवधारणा कार्यान्वयनमा ल्याउने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको, विद्युतीय भुक्तानीका लागि विद्युतीय हस्ताक्षरको विधि तय भइरहेको, सामुदायिक विद्यालयमा इन्टरनेट जडानको कार्य ४५ प्रतिशत सम्पन्न भएको, खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापनाका लागि निर्देशिका जारी हुने तयारीमा रहेको छ । यस्तै, इटहरी र बाँकेमा डाटा सेन्टर स्थापनाका लागि जग्गा पहिचान भइरहेको, भूउपयोग नीति सहमतिका लागि कानून मन्त्रालयमा पठाइएको, पत्रकार दुर्घटना बीमा, लोककल्याणकारी विज्ञापन र चलचित्र क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया शुरु भएको जानकारी दिइयो । मन्त्रालयका सहसचिव राधिका अर्यालले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित कार्यक्रम र गतिविधिको समीक्षा तथा अनुगमन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । बैठकमा मन्त्रालय र मातहतका विभिन्न महाशाखा तथा निकायका प्रमुख र प्रतिनिधि सहभागी थिए । रासस

बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं । भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताएका छन् । “बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।” उनले भने । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनको सुझाव थियोे । सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ । बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २६.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४.० मिलिमिटर, सिमरामा १६.० मिलिमिटर, धनगढीमा २५।.० मिलिमिटर जुम्लामा १.० मिलिमिटर र दिपालयमा ११.० मिलिमिटर वर्षा भएको छ । रासस