विकासन्युज

एसियाली पूर्वाधार बैंकले आसियानका छ परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने

नानिङ, चीन । चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का छ परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ । बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरु र अरु एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रबद्र्धन गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विगत चार वर्षमा एआइआइबीले आसियानका छ वटा मुलुकका १० वटा परियोजनामा करिब एक अर्ब डलर लगानी गरिसकेको पनि अध्यक्ष जिनले जानकारी दिए । आसियान क्षेत्रमा पारस्परिक सञ्जाल सम्पर्क बढाउन बेल्ट एन्ड रोड अभियानको भूमिकाका बारेमा चर्चा गर्दै अध्यक्ष जिनले आसियानका सदस्य मुलुकहरुले यस कार्यक्रमबाट बढी लाभ लिन सक्ने बताए । बेइजिङमा मुख्यालय रहेको यो बैंक चीनको अग्रसरतामा स्थापना गरिएको पूर्वाधार विकास बैंक हो । सन् २०१६ देखि कारोबार थालेको यस बैंकका हाल १०० मुलुक सदस्य छन् । बैंकले हालसम्म आफ्ना सदस्य १८ मुलुकका ४६१ परियोजना स्वीकृत गरी ८ अर्ब ५० करोड अमेरिकी डलर लगानी गरिसकेको छ । रासस/सिन्ह्वा

सिटी एक्सप्रेस, मेगा बैंक र साउदी अरबको नेशनल कमर्सियल बैंकबीच सम्झौता, रेमिट्यान्स कारोबार शुरु

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको नेशनल कमर्सियल बैंक, क्वीक पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । क्वीक पे को ३७७० एटिएमका साथै ४०० भन्दा बढी रेमिट्यान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको ७००० भन्दा बढी एजेन्टहरु र मेगा बैंकको १०२ ब्राञ्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ । नेशनल कमर्सियल बैंकको उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडि बढ्ने बताएका छन् ।

बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्नेहरुको प्रश्न, मुआब्जा निर्धारण कसले रोक्यो ?

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्काल मुआब्जा निर्धारण गरी वितरण गर्न नसके रोक्का गरिएको जग्गा फुकुवा गर्न पनि सरकारसँग माग गरेका छन् । कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले गएको चार वर्षदेखि सरकारले आरुघाट र खहरे क्षेत्रको जग्गा किनबेचमा रोक लगाउँदै आएकाले अब अहिलेसम्मको क्षतिपूर्तिसहित रोक्का भएको जग्गा फुकुवा गर्नुपर्ने बताए । “आरुघाटका प्रभावितहरु सबैले पटक–पटक ऊर्जामन्त्रीलाई भेटेर मुआब्जा निर्धारण गरी वितरणका लागि गएर भनेका छौँ, तर अहिलेसम्म पनि सुनुवाइ भएन, जिल्लाका सबै राजनीतिक दल तथा जनप्रतिनिधिले मुआब्जा निर्धारण गर्न आग्रह गरिरहेका छन्”, उनले प्रश्न गरे, “अब कसले रोक्यो ?” उनले मुआब्जा निर्धारण फेरि ढिलाइ गरिए आरुघाट खहरे क्षेत्रका जनता अनिर्णयको बन्दी भएर बस्न नसक्ने बताए । प्रभावित क्षेत्रका शिव थापाले मुआब्जा निर्धारण गर्न ढिलाइ गर्ने र जति ढिलो उति आयकर भन्दै मुआब्जामा कर कटौती गर्दा जनतालाई मार परेको बताए । “कतै निर्धारणसमेत गरिएको छैन”, उनले भने, “फेरि आयोजना आफैँ प्रत्येक बर्ष सरकारले मुआब्जामा पनि आयकर बढाउँदै लगेको छ, यसबाट प्रभावित क्षेत्रका जनतालाई सुकुम्वासी बनाउने काम हुँदैछ ।” कार्यक्रममा आरुघाट गाउँपालिकाका जगन्नाथ खनालले विसं २०४२ देखि चर्चा शुरु भएको आयोजनाको अहिलेसम्म कार्य प्रगति हेर्दा आयोजना बन्नेमा शङ्का रहेको बताए । उनले आयोजना जसरी पनि बन्नुपर्छ भन्ने प्रभावित क्षेत्रका जनताको चाहना रहेको भन्दै आरुघाट खहरे क्षेत्रको डुबानमा पर्ने जमीनको मुआब्जा निर्धारणमा ढिलाइ गर्न नहुनेमा जोड दिए । खनालले अब तत्काल मुआब्जा निर्धारण नगरे प्रभावित क्षेत्रका जनता सरकारका विरुद्ध नै आन्दोलनमा उत्रन सक्ने चेतावनी दिए । त्यस्तै आरुघाट गाउँपालिकाका नारायणप्रसाद श्रेष्ठले मुआब्जा निर्धारण नहुँदा आरुघाट र खहरे क्षेत्रका जनता अन्योलमा रहेको बताए । “विसं २०७२ चैत १९ गतेदेखि सरकारले रोक्का गरेको छ, जग्गाको कारोवार ठप्प भएपछि बैंकबाट झिकिएको ऋण तिर्न नसक्दा बैँकले कालोसूचीमा नाम निकालेको छ”, उनले भने, “अब कतिञ्जेल व्यवहार टार्न सक्छौँ ।” श्रेष्ठले भएको अचल सम्पत्ति जति रोक्का हुँदा बालबच्चालाई पढाउन समेत आर्थिक समस्या हँदै आएको बताए । नेपाली काङ्ग्रेस गोरखा सचिव नन्दप्रसाद न्यौपाने, समाजवादी पार्टी नेपालका जिल्ला सचिव नारायण खत्री, समाजवादी पार्टी नेपालका नेता ज्ञानेन्द्र कुमाल, रोहित पाण्डे, बूढीगण्डकी सरोकार समितिका संयोजक हरेराम ढकाल, बूढीगण्डकी डुबान क्षेत्रका प्रभावित ऋषिराम लामिछाने, दिनेश ढकालले मुआब्जा निर्धारणमा ढिलाइ गरेर प्रभावित क्षेत्रका नागरिकलाई अनिणर्यको बन्दी बनाउन नहुने धारणा राखे । रासस

अजय श्रेष्ठबारे पूर्वसहकर्मी उपेन्द्र पौड्याल : उहाँ असल मान्छे हुनुहुन्छ, पक्राउ पर्नु दुर्भाग्य हो

काठमाडौं । अजयजी र म सन् १९८६ देखि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सँगै काम गरेका थियौं, त्यसपछि हामीले धेरै वर्ष सँगै काम पनि गर्यौं, त्यसैले उहाँबारे म धेरै जानकार छु । उहाँलाई जुन अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको भनिएको छ, त्यसमा उहाँको संलग्नता छ भन्ने कुरामा मलाई कत्ति पनि विश्वास लाग्दैन । यो मामिलामा म विश्वस्त हुन सक्दिन । यो दुभाग्र्य हो । उहाँ जस्तो राम्रो छवि भएको मान्छेलाई यस्तो आरोप लाग्नु भनेको सम्पूर्ण बैंकिङ क्षेत्रकै बदनियत हो । यसले राम्रो काम गर्नेलाई निरुत्साहित गर्छ । उहाँको पक्राउले म स्तब्ध र अचम्मित भएको छु । मैले व्यक्तिगत रुपमा उहाँलाई एकदमै इमान्दार र कर्तव्यनिष्ठ बैंकको रुपमा बुझेको छु । उहाँले जुनसुकै बैंकमा काम गर्दा पनि आफ्नो स्वार्थका लागि काम गर्नुभएन र गर्नुहुन्न भन्ने पनि मलाई थाहा छ । कुनै प्राविधिक कारण मात्रै फस्नुभएको हुनसक्छ । उहाँले आफूले स्वीकृत गर्ने सबै फाइलहरु राम्रोेसँग आफैं हेर्नुहुन्थ्यो । त्यसैले बैंकका कर्मचारीहरुले मिलेमतो गरे कि भन्ने पनि मलाई लाग्दैन । यो मामिलामा मलाई जहाँसम्म लाग्छ मूल्यांकनकर्ता र ऋणीकै संलग्नता रहेको छ भन्ने मलाई लाग्छ । बैंकरहरुले आफ्नो कार्यअवधिमा यस्ता कयौं अप्ठ्याराहरु भोग्नुपर्छ । तर गल्ती नगर्नेले सजायको भागिदार हुनु हुँदैन हुँदैन भन्नेमा म विश्वस्त छु, यस अर्थमा अजयजी निर्दोष सावित हुनुहुनेछ भन्ने मलाई लाग्छ । यो घटनाबाट बैंकरहरुले पाठ सिक्नुपर्छ तर निराश बन्नु चाहिँ हुन्न ।

जेनेस सोलुसन र यूकेएडको साझेदारीमा २ हजारलाई रोजगारी

काठमाडौँ । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब/सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ । जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजाहोनानको उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरी नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरी जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टल मार्फत विश्वव्यापी रोजगारीमापहुँचकालागिलोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ । यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीयतहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चितगर्दै परियोजनामा सह लगानी गर्नेछ । नेपालका २,००० सूचना प्रविधिका विद्यार्थीहरूका लागि क्लाउड कम्प्युटिङको प्रशिक्षण प्रदान गर्ने तथा मुलुक भित्र र बाहिर रोजगारी उपलब्ध गराउने विशेष परियोजना सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंंक र इसेवाफोन पे प्रालिबीच अनलाईन भुक्तानी सम्झौता

काठमाडौँ । ईसेवाफोन पे प्रालि र नेपाल इन्भेष्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्टमेन्ट बैंकबाट ईसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ । ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखामार्फत सहजै ईसेवामा रकमलोड गर्न सक्ने छन् भने ईसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ । पछिल्लो समयमा इसेवाले क्युआर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल ईसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा ईसेवाले आकर्षक क्यासब् याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ईसेवामा पैसा लोड गरी सजिलै क्युआर कोडको सुविधा पनि लिन सक्नेछन् ।

बैंकिङ कसुरको अभियोगमा पूर्वबैंकर अजय श्रेष्ठ पक्राउ, ‘बैंकनै जमानी बस्छु भन्दा पनि छोडेन सीआईबीले’

काठमाडौं । इमान्दार बैंकरको छवि बनाएका पूर्व बैंकर अजय श्रेष्ठ बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार बिहान पक्राउ गरेको बैंक स्रोतले पुष्टि गरेको छ । मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको धितोमा राखिएको सम्पत्ति लिलामी प्रक्रिया सुर गरिएको थियो । तर, झापाको निरिङखोलामा रहेको भनिएको धितोमा रहेको उक्त सम्पत्ति नै नक्कली देखिएपछि बैंक अफ काठमाडौंले सीआईबीमा उजुरी दिएको थियो । बैंकले दिएको उजुरीका आधारमा सीआईबीले यसअघि नै ऋणी श्रेष्ठलाई पक्राउ गरेको थियो । सो ऋण प्रवाहमा कर्मचारीहरुको मिलेमतो देखिएपछि सीआईबीले बैंकका अन्य ५ जना कर्मचारीहरुलाई समेत पक्राउ गरेको हो जसमध्ये ३ जना हाल बैंकमा कार्यरत रहेको बैंकले जनाएको छ । ५ करोड रुपैंयाको ऋण स्वीकृतिमा तात्कालिन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठकै हस्ताक्षर थियो । सोही कारण उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । बैंक जमानी बस्छु भन्दा पनि छोडेन सीआईबीले श्रेष्ठ पक्राउ परेको खबरपछि बैंक अफ काठमाडौंको सञ्चालक समिति बैठक आकस्मिक रुपमा बोलाइएको थियो । बैठकले श्रेष्ठ इमान्दार भएको भन्दै राष्ट्र बैंकमार्फत् सीआईबीलाई श्रेष्ठलाई पक्राउ नगरिकनै अनुसन्धान गर्न सीआईबीलाई आग्रह गर्ने निर्णय गरेको थियो । ‘तर राष्ट्र बैंक र बैंकको आग्रहलाई सीआईबीले मानेन, उहाँलाई छाड्न मानेन’ बैंकका एक सञ्चालकले भने । स्रोतका अनुसार श्रेष्ठलाई छाड्न बैंक अफ काठमाण्डू आफैं जमानत बस्न तयार भएको थियो । तर पनि सीआईबीले छाड्न नमानेको स्रोतले बतायो । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले पनि घटनाको पुष्टि गर्दै श्रेष्ठको पक्राउले आफू स्तब्ध भएको बताए । ‘उहाँ इमान्दार मान्छे हुनुहुन्छ, उहाँले यसरी ऋण अपचलन गर्ने मान्छे होइन, उहाँको पक्राउले म सक्ड भएँ ।’ विकासन्यूजसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत पन्तले भने ।

नेपाल बैंकले संविधान दिवसको अवसरमा शुरु गर्यो सम्बृृृद्धि व्यवसाय कर्जा

काठमाडौँ । नेपाल बैंक लिमिटेडले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसंग अन्तरक्रिया तथा नयाँ कर्जा सेवा शुभारम्भ लगायतका विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसै अवसरमा बैंकले सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार बनाउन उद्योग वा व्यवसाय विस्तारका लागि सम्बृृृद्धि व्यवसाय र सेवाग्राही कर्जा, वातावरणीय सुधार निम्ति ग्रिन फाइनान्सिङ्ग कर्जा लगायतका नयाँ कर्जा सेवाहरु समेत सुरुवात गरेको जनाएको छ । यसैगरी बैंकद्वारा सञ्चालित भुगोल पार्क वरपर सरसफाई कार्यक्रमको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शुभारम्भ गरेका हुन् । यसै अवसरमा बैंकद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक ५० जना रक्तदातालाई बंैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरे । त्यसैगरी बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभात फेरी सम्पन्न गरियो । साथै बंैकद्वारा यसै सप्ताहान्तमा नेपालको वर्तमान संविधानबारे वरिष्ठ संविधानविद पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ । राष्ट्रिय दिवस उल्लासमय ढंगले मनाउने क्रममा असोेज १ देखि ४ गतेसम्म प्रधान कार्यालय एवम् विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको नेपाल बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले जनाएका छन् ।