पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम हुन्छः मन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने दाबी गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित ’‘स्थानीय तहको क्षमता अभिवृद्धि’ विषयक दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई बढ्दो अवस्था कायम गरिरहेको बताए । मन्त्री बाँस्कोटाले भने, “केही साताअघि भएको सात दशमलव एकको वृद्धिदर अहिले सात दशमलव पाँच प्रतिशत कायम भएको छ ।” आर्थिक वृद्धिदरलाई बढाएर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पु¥याइने लक्ष्य लिएको जानकारी दिए । मन्त्री बाँस्कोटाले सरकारले आर्थिक वृद्धिदरलाई बढाउने प्रमुख सूचक श्रमको सम्मान गर्ने नीति भएको उल्लेख गर्दै तल्लो वर्गलाई पनि सँगसँगै हिँडाउने नीति अवलम्बन गरेका छौँ, यो आर्थिक वृद्धिदरको प्रमुख सूचक मान्दछौँ भने। उनले विभेदको अन्त्यबाट नै मुलुकको समृद्धि जोडिएको बताउँदै विभेदलाई लोकतन्त्रले स्वीकार नगरेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उत्पादकत्वसँग नजोड्दा विभेद समाप्त नभएको बताए । उनले भने, “जुन तहको बजेट भए पनि स्थानीय तहले नै कार्यान्वयन गर्ने हो, विकासको अभियानले श्रम–संस्कृतिलाई उत्पादन र उत्पादकत्वसँग नै जोड्ने हो ।” मन्त्री बाँस्कोटाले जनता बसेको स्थानमा विकास निर्माणका काम गरिने बताए । “सु–शासन लोकतन्त्रमा अनिवार्य शर्त हो”, उनले भने, “लोकतन्त्रमा सुशासन अनिवार्य शर्त हो, यो बिना आर्थिक समृद्धि सम्भव छैन, समृद्धिका लागि प्राविधिक शिक्षा पनि अर्को पाटो हो ।” मन्त्री बाँस्कोटाले सङ्घीयता नेपाली मौलिकता अनुरुपको भएको चर्चा गर्दै अन्यत्रजस्तो छुट्टिने अधिकारसहितको सङ्घीयता नभएको बताए। “संविधानले कुनै पनि सरकारलाई अल्मल्याउने गरी अधिकार दिएको छैन, साझा र एकल अधिकार तोकेर तीनै तहका सरकारलाई गतिशील बनाउने गरी दिइएको छ ।” भन्दै एकल अधिकारको संविधान सम्पूर्णरूपमा प्रयोग भयो कि भएन भन्ने विषय महत्वपूर्ण हुने बताए । मन्त्री बाँस्कोटाले संविधानले निर्दिष्ट गरेका सबै कानूनहरु नबनेकाले आफूलाई चाहिने सबैखाले संविधानप्रदत्त कानून बनाएर प्रयोगमा ल्याउन आग्रह गरे । “हिजो फालिएका तत्वले प्रश्न उठाउने गरी काम गर्नुपर्छ, यसका लागि नयाँ कानून बनाएर सुशासन कायम गर्नुपर्छ”, उनले भने । सरकारले अवलम्बन गरेको राजनीतिक प्रणालीको ‘डेलीभरी’ जनताको घरआँगनमै दिने स्थानीय सरकार नै भएकाले जवाफदेही बन्न पनि उनले आग्रह गरे । मन्त्री बाँस्कोटाले अर्को फरक प्रसङ्गमा वर्तमान १८ प्रतिशत गरीबीलाई पञ्चवर्षीय योजनाको ‘सुखी नेपाली र समृद्ध नेपाल’को महाअभियानले १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको बताए। उनले भने, “मुलुकले लिएको लक्ष्यलाई जनप्रतिनिधिले पूर्णता दिनुपर्छ ।” जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले सु–शासन कायम गर्न तथा विकास निर्माणको विषय पहिचान, विधि, समस्या, अवसर, सम्भावना र चुनौतीको खोजी गरिने जानकारी दिए । गोष्ठीमा जिल्लास्थित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको थियाे । रासस
साताको शेयर बजार : एक अर्ब ८९ कराडको कारोबार
काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो । त्यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिनु भएपछि नेप्से मङ्गलबार र बुधबार भने नयाँ विन्दुमा पुग्यो । साताभर कूल १७२ कम्पनीको कारोवार भयो । साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखाप¥यो । सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो । साताभरको कारोवारमा नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेको छ । यस साता कारोवार मापक सूचक एक हजार १५५.३ अङ्कमा झरेको छ । अघिल्लो साता नेप्से ७९ प्रतिशतले घटेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुग्यो । त्यस दिन कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि सोही लय पहिल्यायो । सो दिन नेप्से १६.१८ विन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ विन्दुमा पुग्यो । नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढ्यो । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । नेप्से परिसूचक २६।९१ विन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकियो । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भयो । कूल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरीद बिक्री भए । बुधबार पनि नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुग्यो । कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुग्यो । कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भए । यस साता शिवम् सिमेन्टको सबैभन्दा बढी कारोवार भयो । सो कम्पनीको रु १५ करोड बराबरको शेयर कारोवार भयो । यस साता बजार पूँजीकरण रु १४ खर्ब ६७ अर्बमा सीमित भयो । बजार पूँजीकरणमा सधै शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकमले यस साता पनि आफ्नै हिस्सा कायम राख्यो । साताभर दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भए । त्यसमा रिलायन्स फाइनान्सको कूल आठ लाख ९१ हजार ८७४ कित्ता शेयर लाभांश र एभरेष्ट इन्सुरेन्स कम्पनीको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचीकृत भए । रासस
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले गर्याे ‘मिस्ड कल बैंकिङ सेवा’ शुरु
काठमाडाैं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मिस्ड कल बैंकिङ सेवा शुरू गरेको छ । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको साे संस्थालेअत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी सदस्यलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे नेचुरल बचतले ‘मिस्ड कल बैंकिङ सेवा’ शुरूवात गरेकाे हो । नेचुरल संस्थाको ११ औं बार्षिक साधारणसभा (असोज ३ गते शुक्रबार) बाट ‘मिस्ड कल बैंकिङ सेवा’ शुभारम्भ गरेको संस्थाका अध्यक्ष शर्मिला अमात्यले जानकारी दिईन । यो सेवाको सुरुवातसँगै नेचुरलका सदस्यहरुले मोबाईल रिर्चाज र खाताको रकमको जानकारीका लागि ‘मिस्ड कल’ गरेर प्राप्त गर्न सक्ने अमात्यले बताईन । सदस्यहरुले मोबाइल रिर्चाजको लागि ९८४८७५४९८० र खाताको रकमको जानकारीका लागि ९८२३०११७९४ मा ‘मिस्ड कल’ गर्नुपर्नेछ । यो नम्बरमा ‘मिस्ड कल’ गरेपछि मोबाईल रिर्चाज र खाताको रकमको जानकारी पाउने व्यवस्था संस्थाले मिलाएको संस्थाको प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । नेचुरलले एटिएम सेवा पनि सुरु गरिसकेको छ । यस संस्था एससिटि नेर्टवकसँग आवद्ध नेपालभरि रहेका बैंक तथा वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्न तथा पिओएस मा पनि प्रयोग गर्न सकिने सेवा प्रदान गरेको पाठकले बताए । यसका साथै ‘नेचुरल स्मार्ट एप’ मार्फत खाताको रकम ट्रान्सफर, आफ्नो बारोबारको मिनि स्टेटमेन्ट, मोबाइल रिर्चाज, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, डिस होमको रिर्चाजका साथै स्टक मार्केट र विनिमय दरको दैनिक जानकारी समेत प्राप्त गर्न सकिने । संस्थाले बचत तथा कारोबारलाई थप पादर्शी र बिस्वासिलो बनाउन एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बजार प्रवद्र्धन, व्यवस्थापन र बचत संकलन सहजिकरण गर्न ब्रान्चलेस बैंकिङ सेवा प्रदान गरी प्रभावकारी ढंगबाट कारोबार सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी पाठकले बताए । नेचुरल बचतको ८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गरेको थियो । संस्थाले १ अर्ब ७ करोड ४७ लाख ६८ हजार २ सय ८० रुपैयाँ लगानी गरी १७ करोड ६७ लाख ८९ हजार १ सय ७ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले यस अवधिमा २ करोड ४३ लाख ८५ हजार ४४ रुपैयाँ २९ पैसा खुद नाफा (आयकर व्यवस्था अघि) कमाएको छ । संस्थाको केन्द्रिय कार्यालय जोरपाटी, सेवा केन्द्र साँखु, सेवाकेन्द्र नयाँ बजार र सम्र्पक कार्यालय काँडाघारीबाट सदस्यलाई सरल, सहज र विश्वाशिलो ढंगबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । “कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ”, जनाए । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए सो शुल्क फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ । त्रिविले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेजमा अध्ययरत विद्यार्थीलाई कलेजले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आग्रह गरेको छ । त्रिविले विद्यार्थीको पठनपाठन र जनताको स्वास्थ्योपचार प्राप्त गर्ने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउन कार्य नगर्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ । रासस
कृषि विकास बैंकले गर्याे वृक्षारोपण तथा वातावरण संरक्षणमा सहयोग
काठमाडौं । कृषि विकास बैंकले संविधान दिवसको अवसर वृक्षारोपण तथा वातावरण संरक्षणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर नगरपालिका अन्र्तगत कृषि विकास बैंक कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सभासद राजकाजी महर्जन, विशेष अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विशेष अतिथि पूर्व सभासद जनक चालिसे रहेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त वातावरण सुधार समितिलाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित १ लाख २० हजार रुपैयाँको चेक वातरवरण सुधार समितिका संयोजक तथा १५ नं. वडासदस्य महेन्द्र मानन्धरलाई हस्तान्तरण गरेका थिए । स्थानीय नागरिकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रामकाजी महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै वृक्षारोपण तथा वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवन संगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नु पर्ने बताउंदै बैंकले पुर्याएको योगदानको प्रशंसा गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका विशेष अतिथी अनिलकुमार उपाध्यायले वातरवरण संरक्षणको प्रमुख आधार नै वृक्षारोपण भएकोले हामी सवैले घर, आंगन लगायत खाली जग्गामा वृक्षारोपण गर्ने कार्यलाई आत्मसाथ गरी अगाडी बढ्न आग्रह गर्दै आफ्नो नगर/टोल लाई सुरक्षित तथा सफा हरावरा बनाउने दायित्व सोच राख्दै सकरात्मक परिवर्तनमा लाग्नु पर्ने जनाए । कार्यक्रमका अध्यक्ष तथा ललितपुर नगरपालिकाका वडा १५ का वडा अध्यक्ष सुर्दशन मिश्र र पूर्व सभासद जनक चालिसेले वातवरण संरक्षण तथा वृक्षारोपण कार्यक्रमलाई कृषि विकास बैंकले पुराएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै किसिमका सहयोग पाउने अपेक्षा गर्दै बैंकको प्रगतिका लागि कामना गरे । सो कार्यक्रमका बैंकका का.मु.उप महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक करुणचन्द्र घिमिरे, अनिल यादव, का.मु.मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रबक्ता हिमलाल पौडेल, शाखा प्रबन्धक जनार्दन न्यौपाने, राजेन्द्र रानाभाट, प्रबन्धकहरु राजु कार्की, खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो ।
फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
मेन्लो पार्क, अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो । फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन । निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । रासस/एएनआई
जाजरकोटमा जुम्ली स्याउ, भारतीय स्याउले बजार पाएन
काठमाडौं । जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सय रुपैयाँमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारीहरुको भनाइ छ। भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका–३ का स्थानियले बताए । जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ । जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री–वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् । भारतबाट कमाई गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउ नै कोशेलीका रुपमा लिने गरेका छन् । अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ । यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरु, यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको जनाएका छन् । जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारीहरु बताउँछन् । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताए। भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो । अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, सङ्घसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग दर बढेको छ । रासस
आगलागीबाट ३२ पसल नष्ट, एक जनाले साढे ३१ लाख क्षतिपूर्ति पाउँदा अरुको हात खाली
पोखरा । गत साउन २८ गते पोखराको नयाँ सडकस्थिति मिनि मार्केट कम्प्लेक्समा आगलागी भयो । ३० वटा पसल र २ वटा कार्यालय आगलागीबाट ध्वास्त भयो । करोडौ रुपैयाँ बराबरको धनमाल छिनझरमा नै खरानी भयो । घट्नाको एक महिनापछि अर्थात भदौ ४ गते अर्थमन्त्री युवराज खतिवडा, पोखरामहानगर पालिकाका नगर प्रमुख मानबहादुर जीसी, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत महत्वपूर्ण व्यक्तिहरुको माझ पीडित मध्ये एक लिलाधर ढुंगानालाई ३१ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरियो । शुभ यूनिक होम डेकोरेशनका मालिक ढुंगानाले साढे ३१ लाख रुपैयाँ क्षतिपूर्ति पाउँदा अरु ३१ पसलको मालिकहरुको हात खाली भयो । ढुंगाना जस्तै अरु धेरै व्यवसायीहरुले त्यस मिनि मार्केटमा करोडौ रुपैयाँ लगानी गरेर व्यापार गर्दै आएका थिए । उनीहरु सबैको लगानी आगलागीबाट खरानी भएको थियो । बाँकी ३१ सटर तथा अफिसका सञ्चालकहरुले एक रुपैयाँ पनि क्षतिपूर्ति पाएनन् । यहाँ अर्थमन्त्री वा मेयरले विभेद गरेका होइनन् । बीमा र जोखिम व्यवस्थापन सम्बन्धि ज्ञान नभएका व्यवसायीहरुले क्षतिपूर्ति पाएनन् । शुभ यूनिक होम डेकोरेशन, जसले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ५ हजार ७७५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गरेको थियो, उसलाई बीमा कम्पनीले ३१ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको हो । अरुले बीमा नगर्दा क्षतिपूर्ति पाउन सकेनन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेशभक्त बादे श्रेष्ठले आगलागीबाट भएको धनमालको क्षतिपूर्ति दुःख व्यक्त गर्दै बीमित लिलाधर ढुंगानालाई निजको पसलमा भएको क्षतिको बीमा दावी भुक्तानी गर्न पाएकोमा खुशी व्यक्त गरे । बीमा गर्दा र नगर्दा जोखिम कति कम वा धेरै हुन्छ भन्ने बुझ्नको लागि यो घट्ना उदाहरण भएको उनले बताए । ढुंगानाले एनसीसी बैंकबाट कर्जा लिला पसलको बीमा गराएका थिए । अझै पनि बैंकबाट कर्जा लिँदा मात्र बीमा गर्ने, स्वपुँजी लगानीबाट हुने क्षतिको बीमा नगर्ने संस्कार रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।