
काठमाडौं । अजयजी र म सन् १९८६ देखि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सँगै काम गरेका थियौं, त्यसपछि हामीले धेरै वर्ष सँगै काम पनि गर्यौं, त्यसैले उहाँबारे म धेरै जानकार छु । उहाँलाई जुन अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको भनिएको छ, त्यसमा उहाँको संलग्नता छ भन्ने कुरामा मलाई कत्ति पनि विश्वास लाग्दैन । यो मामिलामा म विश्वस्त हुन सक्दिन । यो दुभाग्र्य हो । उहाँ जस्तो राम्रो छवि भएको मान्छेलाई यस्तो आरोप लाग्नु भनेको सम्पूर्ण बैंकिङ क्षेत्रकै बदनियत हो । यसले राम्रो काम गर्नेलाई निरुत्साहित गर्छ ।
उहाँको पक्राउले म स्तब्ध र अचम्मित भएको छु । मैले व्यक्तिगत रुपमा उहाँलाई एकदमै इमान्दार र कर्तव्यनिष्ठ बैंकको रुपमा बुझेको छु । उहाँले जुनसुकै बैंकमा काम गर्दा पनि आफ्नो स्वार्थका लागि काम गर्नुभएन र गर्नुहुन्न भन्ने पनि मलाई थाहा छ । कुनै प्राविधिक कारण मात्रै फस्नुभएको हुनसक्छ ।
उहाँले आफूले स्वीकृत गर्ने सबै फाइलहरु राम्रोेसँग आफैं हेर्नुहुन्थ्यो । त्यसैले बैंकका कर्मचारीहरुले मिलेमतो गरे कि भन्ने पनि मलाई लाग्दैन । यो मामिलामा मलाई जहाँसम्म लाग्छ मूल्यांकनकर्ता र ऋणीकै संलग्नता रहेको छ भन्ने मलाई लाग्छ ।
बैंकरहरुले आफ्नो कार्यअवधिमा यस्ता कयौं अप्ठ्याराहरु भोग्नुपर्छ । तर गल्ती नगर्नेले सजायको भागिदार हुनु हुँदैन हुँदैन भन्नेमा म विश्वस्त छु, यस अर्थमा अजयजी निर्दोष सावित हुनुहुनेछ भन्ने मलाई लाग्छ । यो घटनाबाट बैंकरहरुले पाठ सिक्नुपर्छ तर निराश बन्नु चाहिँ हुन्न ।