बैंकिङ कसुरको अभियोगमा पूर्वबैंकर अजय श्रेष्ठ पक्राउ, ‘बैंकनै जमानी बस्छु भन्दा पनि छोडेन सीआईबीले’

<p>काठमाडौं । इमान्दार बैंकरको छवि बनाएका पूर्व बैंकर अजय श्रेष्ठ बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार बिहान पक्राउ गरेको बैंक स्रोतले पुष्टि गरेको छ । मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको [&hellip;]</p>

काठमाडौं । इमान्दार बैंकरको छवि बनाएका पूर्व बैंकर अजय श्रेष्ठ बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार बिहान पक्राउ गरेको बैंक स्रोतले पुष्टि गरेको छ ।

मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको धितोमा राखिएको सम्पत्ति लिलामी प्रक्रिया सुर गरिएको थियो । तर, झापाको निरिङखोलामा रहेको भनिएको धितोमा रहेको उक्त सम्पत्ति नै नक्कली देखिएपछि बैंक अफ काठमाडौंले सीआईबीमा उजुरी दिएको थियो ।

बैंकले दिएको उजुरीका आधारमा सीआईबीले यसअघि नै ऋणी श्रेष्ठलाई पक्राउ गरेको थियो । सो ऋण प्रवाहमा कर्मचारीहरुको मिलेमतो देखिएपछि सीआईबीले बैंकका अन्य ५ जना कर्मचारीहरुलाई समेत पक्राउ गरेको हो जसमध्ये ३ जना हाल बैंकमा कार्यरत रहेको बैंकले जनाएको छ । ५ करोड रुपैंयाको ऋण स्वीकृतिमा तात्कालिन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठकै हस्ताक्षर थियो । सोही कारण उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

बैंक जमानी बस्छु भन्दा पनि छोडेन सीआईबीले

श्रेष्ठ पक्राउ परेको खबरपछि बैंक अफ काठमाडौंको सञ्चालक समिति बैठक आकस्मिक रुपमा बोलाइएको थियो । बैठकले श्रेष्ठ इमान्दार भएको भन्दै राष्ट्र बैंकमार्फत् सीआईबीलाई श्रेष्ठलाई पक्राउ नगरिकनै अनुसन्धान गर्न सीआईबीलाई आग्रह गर्ने निर्णय गरेको थियो । ‘तर राष्ट्र बैंक र बैंकको आग्रहलाई सीआईबीले मानेन, उहाँलाई छाड्न मानेन’ बैंकका एक सञ्चालकले भने ।

स्रोतका अनुसार श्रेष्ठलाई छाड्न बैंक अफ काठमाण्डू आफैं जमानत बस्न तयार भएको थियो । तर पनि सीआईबीले छाड्न नमानेको स्रोतले बतायो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले पनि घटनाको पुष्टि गर्दै श्रेष्ठको पक्राउले आफू स्तब्ध भएको बताए । ‘उहाँ इमान्दार मान्छे हुनुहुन्छ, उहाँले यसरी ऋण अपचलन गर्ने मान्छे होइन, उहाँको पक्राउले म सक्ड भएँ ।’ विकासन्यूजसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत पन्तले भने ।

Share News