विकासन्युज

हजारको नोटमा अमेरिकी डलरको थ्रेड, हरेक दरका ४० करोड थानसम्म नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब छाप्न लागेको नयाँ नोटमा अमेरिकी डलरमा प्रयोग भएको जस्तो थ्रेड प्रयोग गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । हजारको नोट अमेरिकी कम्पनीलाई छाप्न दिने तयारी गरिएको छ,’ उनले भने-‘अन्य नोट अन्य देशका कम्पनीले पनि साट्न सक्छन् ।’ यो नोट विशेष तरिकाले छाप्न लागिएकोले अन्य देशका कम्पनीलाई नदिइ अमेरिकी कम्पनीलाई दिन लागिएको हो । राष्ट्र बैंकले ५ देखि एक हजार डेनोमिनेशनको नोट छपाउन लागेको हो । एक र दुई दरका नोट भने राष्ट्र बैंकले यसअघि नै छपाउन छाडिसकेको छ । नेपाली चलनचल्तीमा रहेका नयाँ नोट छाप्नका लागि ६ वटा विदेशी कम्पनीले चासो देखाएको उनले बताए । यसअघि नोट छाप्दा विभिन्न १० कम्पनी आएका थिए । बजारमा भएको नोटको पर्याप्तता, नष्ट गरिएको नोट र तीन वर्षमा भएको खर्च र आगामी वर्षमा हुन सक्ने खर्चको अनुमान गरी नोट छाप्ने गरिने प्रचलन छ । राष्ट्र बैंक हरेक अढाई वर्षमा आवश्यकताअनुसार विभिन्न दरका नोट छाप्ने गर्दछ । एक पटकमा २१ करोड थानदेखि ४० करोडसम्म नोट छाप्ने गरेको डेपुटी गर्भनरले बताए । साधारणतया नोटको आयु ३ वर्षको हुन्छ । राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा बनेको मुद्रा व्यवस्थापन समितिले अध्ययन गरी नोट छाप्ने प्रस्ताव राष्ट्र बैंक संचालक सञ्चालक समितिबाट स्वीकृत भएपछि ग्लोबल बिडिङ गरिन्छ,’ उनले भने-‘गुणस्तरीय नोट छाप्न सक्ने कम्पनीलाई यसको यसको जिम्मा दिने गरिएको छ ।’ देशमा आर्थिक कारोबार बढेसँगै राष्ट्र बैंकले नोट छाप्ने दर पनि बढाउन थालेको छ । तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको राष्ट्र बैंकले यो वर्ष करिब ३१ करोड थान छपाउने तयारी भएको छ । राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आव्हन गरेको छ । यहि कार्तिक ९ गते आव्हान गरिएको उक्त बोलपत्रको समयावधि मंसिर २४ गतेसम्म रहेको छ । इच्छुक कम्पनीले यो अवधिभित्र राष्ट्र बैंकले तोेकेको सेवा शर्त पुरा गरी टेण्डर हाल्नु पर्नेछ । राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका २० डेनोमिनेशनको नोट छाप्न बोलपत्र आह्वान गरेको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो । राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ। २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।राष्ट्र बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ । यसलाई नोटको आयु पनि भनिन्छ । यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो । अहिले बजारमा २० दरका नोट बढी चलनचल्तीमा रहेको छ । यसअघि ५  दरका नोट बढी चल्ने गर्दथ्यो । पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । बजारमा २० रुपैयाँ दरका नोटको चाप बढी भएपनि राष्ट्र बैंकले भने साना दरका नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएको छ । अब ५०० र १०० दरका नोट करिव ३१/३१ करोड थान छाप्ने भएको छ । यसअघि राष्ट्र बैंकले २० करोड थान १ हजार दरका नोट छपाएको थियो । तीन वर्ष अघि नै वित्तीय बजारलाई डिजिटलाइजेशन लैजाने रणनीति सरकारले अवलम्वन गरेपनि अहिले सम्म पुरा नहुँदा नोट छपाइमा ठूलो रकम बाहिरिने गरेको छ । राष्ट्र बैंकले यस अघि नोट छाप्दा औसतमा दुई रुपैयाँ पर्न आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनले भने-‘अब कति लाग्छ थाहा छैन, यस अघि भने ५ देखि १ हजार दरका नोट छाप्दा औसतमा प्रति नोट २ रुपैयाँको दरले खर्च भएको छ ।’

सिमेन्ट उद्योगबीच उपहार दिने प्रतिष्पर्धा, क्यास ब्याकदेखि चाँदीका सिक्कासम्म

काठमाडौँ । आफ्ना उत्पादनको बजार बिस्तार र प्रवद्र्धनका लागि सिमेन्ट उद्योगहरु ग्राहकहरुलाई उपहार दिने प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालका सिमेन्ट उत्पादकहरु आफ्ना उत्पादन खरिद गर्ने ग्राहकलाई क्यास ब्याकदेखि चाँदीको सिक्कासम्म उपहार दिने योजना ल्याएका छन् । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले आफ्ना ग्राहकलाई बजार मूल्यमा प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने घोषणा गरेको छ । उदयपुर सिमेन्टका सूचना अधिकारी रामबहादुर जिसीले भने–‘हामीले प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने व्यवस्था गरेका छौँँ ।’ अर्को सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगले निर्माण कार्यको समय शुरु हुन लाग्दा असोजबाटै प्रतिबोरा २६ रुपैँया मूल्य घटाएर ८ सय रुपैयाँ मूल्य कायम गरी बिक्री गरिरहेको छ । असोजभन्दा पहिले सो सिमेन्टको कम्पनी मूल्य ८२६ रुपैयाँ रहेको हेटौँडा सिमेन्टका प्रवक्ता केशव बर्तौलाले बताए । यता, शिवम् सिमेन्टले ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्रामको चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्रामको चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने घोषणा गरेको छ । यसैगरी मारुती सिमेन्ट उद्योगले पनि ‘चाँदीको झिलिमिली’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै दिने घोषण गरेको छ । अर्घाखाँची सिमेन्टले पनि ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहार दिने घोषणा गरेको छ । सिमेन्ट उत्पादनको ४ दशक करिब चार दशकअघि सरकारी लगानीमा सञ्चालनमा आएको हिमाल सिमेन्ट उद्योगले नेपाल पहिलो पटक सिमेन्ट उत्पादन शुरु गरेको थियो । अहिले हिमाल सिमेन्ट बन्द भइसकेको छ । त्यसपछिका दिनमा सिमेन्ट उद्योग सञ्चालन हुने क्रम बढ्यो, नेपाली बजारमा बिस्तारै सिमेन्टको माग बढ्न थाल्यो । नेपाली उद्योगीहरुले नेपालमा सिमेन्टको उद्योगहरु आवश्यता छ भनेर सिमेन्ट उद्योगहरु लगानी शुरु गरे । त्यसैको फलस्वरुप नेपाल आज सिमेन्टमा आत्मनिर्भर हुन सफल भएको छ । सरकारले लगानी गरेर शुरु गरेको सिमेन्ट उद्योगले शुरुका चरणमा विभिन्न समस्या भोग्नु पर्यो । हिमाल सिमेन्टले नेपालीहरुलाई सिमेन्ट प्रयोग गर्ने सिकायो र उक्त उद्योग आफैँमा चाँही बन्द भयो । त्यसपछि नेपालमा विदेशी सिमेन्टले बजार पायो र विदेशबाट सिमेन्ट आयात बढ्न थाल्यो । करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योग स्थापना हुन शुरु भयो । नेपालमा नै नेपाली ब्राण्डका सिमेन्ट उत्पादनले विदेशी ब्राण्डको सिमेन्टलाई विस्थापित गर्दै नेपाली सिमेन्टले बजार लियो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने–‘पछिल्लो समय सिमेन्ट उत्पादकहरुले आफ्नो ब्राण्डको प्रोमोट गर्न उपहार योजना ल्याएका हुन् ।’ हाल नेपालमा वार्षिक ८० लाख टन हाराहारी सिमेन्ट उत्पादन भइरहेको छ । निजी क्षेत्रको लगानीमा खुलेका सिमेन्ट उद्योगका कारण सिमेन्टमा देश आत्मनिर्भर भइसकेको छ–अध्यक्ष थापाले भने ।

एक हजारले लिए आरोहण अनुमति, छ करोड १७ लाख राजस्व सङ्कलन

काठमाडाैं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । हालसम्म  १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ । विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका लागि ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए  । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमाल आरोहणका लागि हालसम्म उनीहरूबाट करिब छ करोड १७ लाख  राजस्व सङ्कलन भएको विभागले जनाएको छ । सगरमाथा बाहेक अन्य १२ वटा अग्ला हिमालका लागि पनि अनुमति लिनेहरुको संख्या बढिरहेको विभागले जनाएकाे छ । हालसम्म नेपालमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार अमेरिकी डलर तिरे पुग्ने गरेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्च गर्नेमा आरोहणमा आउने आरोहीहरू  छन् । जसबापत प्रत्येक वर्ष नेपाल सरकारले झन्डै ४० करोड रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ । नेपालमा आरोहणका लागि आउने पर्यटकहरू कम्तीमा ४५ दिनदेखि ७५ दिनसम्म बस्छन् । आरोहणमा आउने पर्यटकले नेपाल बसाइको क्रममा ३५ हजार डलरदेखि ६० हजार डलरसम्म खर्च गर्ने गरेका छन् । जसमा आरोहण स्वीकृतिको लागि एक जनाले ११ हजार डलर सरकारलाई बुझाउने गरेका छन् । आरोहणमा एजेन्सीहरूले ३५ हजारदेखि ६० हजार डलरसम्म लिएर बुकिङ गराउने गरेका छन् ।  एक जना आरोहणमा जाँदा ७ जनादेखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । आरोहणका लागि जाने सहयोगीले दैनिक १ हजारदेखि २५ सय रुपैयाँ पाउने गरेका छन् ।

विद्युत् प्राधिकरणले २९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले २९ करोड रुपैयाँभन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले २९ करोड ३७ लाख ३७ हजार २०७ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए । गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट १५ लाख १४ हजार १९२, लाहान नगरपालिकाबाट तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट एक लाख नौ हजार ५६१, जिल्ला वन कार्यालय लहानबाट ९७ हजार ८८८, जनता मावि बाखरबाट एक लाख २१ हजार २१४, मावि अयोध्यानगरबाट एक लाख ७३ हजार, ७६७, मावि बरियारपट्टीबाट एक लाख १२ हजार ८४७, मावि पिप्राबाट ८३ हजार, मावि पडरियाबाट ६४ हजार २७५ रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको छ । यस्तै हेल्थपोष्ट सीतापुरबाट ७६ हजार ७३०, हेल्थपोष्ट छपरारीबाट ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३४६, कोल्ड चेञ्जरबाट दुई लाख २८ हजार ३३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट एक लाख ८ हजार ७००, इलाका हुलाक कार्यालय भगवानपुरबाट ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट ८३ हजार ९६८, कृषि सेवा केन्द्र धनगढीबाट ७० हजार १२० रुपैयाँ बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ । विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ । पटक–पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले बताए ।

जनकपुरका पान पसलेले आमादब्लम हिमालको गरे सफल आरोहण

काठमाडाैं । जनकपुरका ३३ वर्षिय रन्जित साहले मंगलबार सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमादब्लम हिमालमा सफल आरोहण गरेका छन् । तराई, पहाड,हिमाल, हाम्रो मातृभूमि नेपाल भन्ने  मूल नाराका साथ भ्रमण वर्ष २०२० लाई सफल बनाउन उनले मंगलबार बिहान ७ बजे हिमालकाे आरोहण गरेकाे जनाइएकाे छ । पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलता पूर्वक आमादब्लम आरोहण गरेका हुन् ।सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा हिमाल आरोहण गरेको रंजीतले बताए  । आमादब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो । जनकपुरधाम नयाँ बस पार्कमा पानपसल सन्चालन गर्दै आएका रन्जित एक साइकलयात्री पनि हुन् । उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए । आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ ।  

पर्यटकको पर्खाइमा नारच्याङ ताल, पूर्वाधार र प्रचारप्रसारको अभाव

म्याग्दी । अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । वरपर सुक्खा र उजाड पहाड छ । अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए । समुद्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करीब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा खासै छैन । हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताइन् । “ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिए”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन ।” भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन । न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताए । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्”, उनले भने, “यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।” परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाएका छन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलोपटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो । यसअघि मुस्ताङको ताउलुङ हुँदै पाँचदेखि सात दिन लगाएर भिर र जङ्गलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नुपर्दथ्यो । यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र ताल गुमनाम थियो । निलगिरि हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको यात्रापछि आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माणलाई तीव्रता दिएका छन् । पदमार्ग पर्यटक हिँड्नलाई अझै योग्य भइसकेको छैन । स्तरोन्नति गरेर पदमार्ग सञ्चालनको तयारी गरिएको छ । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । तालको गहिराइको मापन हुनसकेको छैन । तटबन्ध गरेर तालको गहिराइ तथा क्षेत्रफल बढाउने योजना रहेको नारच्याङका अगुवा सुवास विश्वकर्मा बताउँछन् । रासस

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको अस्पताल स्रोतले विकासन्जयुलाई बताएको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए। अस्पताल स्रोतले भने यस विषयमा औपचारिक धारणा राखेको छैन।

धानमा फौजी कीराको प्रकोप, ३२ प्रतिशत उत्पादन घट्ने

बाँके । जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ । डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ । जिल्लामा कूल दुई लाख २५ हजार ८३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । छत्तीस हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको छ । यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद महेश्वर गहतराजले सङ्घीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् । “विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजा बनाउँदै छौँ”, ज्ञान केन्द्र प्रमुख ढकालले भने, “राहतका लागि हामीले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” रासस