निजगढ विमानस्थलको इआइएसहितका कागजात पेश गर्न सरकारलाई अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सहितका काजजात अदालतमा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालासले इआइएसहित सो सम्बन्धमा भएका कागजात पेश गर्न आदेश जारी गरेको हो । “परियोजनाका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनसहित यस सम्बन्धमा निर्णय भएका फाईल सम्बन्धित सरकारी वकिलमार्फत इजलासमा पेश गर्नु”, आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सो क्षेत्रका रुख कटानी गर्दा वन्यजन्तुलाई अपूरणीय क्षति हुने भएकाले रुख बिरुवा काट्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २२ गते रिट निवेदन दायर गरेका थिए । वन तथा वातावरण मन्त्रालयले ८० वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मूल्याङ्कन विसं २०७४ चैतमा स्वीकृत गरेको थियो । विमानस्थल निर्माणस्थलमा रहेको जङ्गल फँडानीका विषयमा विरोध हुँदै आएको छ । सर्वोच्च अदालतले सरकारलाई आगामी मङ्सिर १६ गते सो सम्बन्धी फाइलसहित उपस्थित हुन आदेशमा भनेको छ ।
आजदेखि काठमाडौँमा आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधि सहभागी हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, भारत, बङ्गलादेश, माल्दिभ्स, मलेसिया, कतार, थाइल्याण्ड, मङ्गोलिया, दक्षिण अफ्रिका, केन्यालगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न पाँच विषयमा विज्ञसहित छलफल हुनेछ । आयोगका अनुसार ‘आप्रवासन सुशासन र आप्रवासी कामदारका अधिकार’, ‘निष्पक्ष र जिम्मेवार कामदारको भर्ना’, ‘अनियमित आप्रवासन’, ‘आप्रवासी कामदारको न्यायमा पहुँच’ र ‘आप्रवासी कामदारको अधिकार प्रवद्र्धन र संरक्षणमा विश्वव्यापी सञ्जालसँगको सहकार्य’ विषयमा गम्भीर छलफल हुनेछ । नेपाल सरकारको आर्थिक सहयोगमा हुने सम्मेलनमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले सहजीकरण गर्ने आयोगले जनाएको छ ।
बङ्गलादेशी राष्ट्रपति हमिद आज नेपाल भ्रमणमा आउँदै, यस्तो छ भेटघाट र घुमफिरको सूची
काठमाडौँ । छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । सन् १९४४ जनवरी १ मा जन्मनुभएका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत हुनुहुन्छ । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उहाँले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थियो । कानूनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एशोसिएशनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मनुभएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् । सन् १९५९ मा छात्र लिगबाट राजनीति शुरु भएका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आउनुभएको छ । यसबाट नै उहाँको लोकप्रिताको पुष्टि हुन जान्छ । पूर्वी पाकिस्तानको रुपमा परिचित बङ्गलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वाचित हुने अवसर प्राप्त गर्नुभयो । सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उहाँले लगातार आफ्नो पक्षमा जित निकाले । अवामी लिगबाट पटकपटक निर्वाचित हमिद पछिल्लो पटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए । उनले सन् १९७१ मा भएको बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए । उनलाई बङ्गलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको छ । तीन छोरा र एक छोरीका पिता हमिदले सन् १९६४ मा रसिदा हमिदसँग विवाह गरेका थिए । संसारकै अत्याधिक घना बस्ती भएको देशको रुपमा परिचित बङ्गलादेशलाई शुरुआती चरणमा पूर्वी पाकिस्तानको रुपमा चिनिन्थ्यो । करीब १६ कडोड जनसङ्ख्या रहेको बङ्गलादेशमा इस्लाम, हिन्दू र बौद्ध धार्मिक समुदायको बसोबास छ । यहाँ ‘टाका’ नामक मुद्रा प्रचलनमा रहेको छ । बङ्गलादेशले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनमार्फत भाइचाराको अभिवृद्धि तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफ्नो सक्रिया भूमिका निर्वाह गर्दै आएको छ । मत्स्यपालन, गार्मेन्ट, पर्यटन तथा कृषिमा संलग्न बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीलाई समेत अवसर प्रदान गर्दै आएको छ । पछिल्लो पटक नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ । क्रिकेट खेलको ‘पावर हाउस’का समेत परिचित बङ्गलादेश लामो समुद्री तह भएकाले पनि पर्यटकीय रुपमा समेत आकर्षक गन्तव्य हो । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नेछिन् । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द, धावनमार्ग मर्मत गरिंदै
भद्रपुर । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्का लिएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उहाँले जानकारी दिए । भद्रपुर–काठमाडौँ हवाईसेवाका लागि यहाँबाट अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन् । रासस
एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९ मंगलबारदेखि काठमाडौँमा हुने
काठमाडौँ । अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसी–एन० र वाणिज्यदूतहरुको विश्व महासंघ (फिकाक) ले “एचसिसी–एन, फिकाक क्षेत्रीय सम्मेलन २०१९” नोभेम्वर १२–१५, २०१९ मा काठमाण्डौको सोल्टी क्राउन प्लाजा होटलमा आयोजना गर्दैछन् । यो सम्मेलनलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र भिजिट नेपाल २०२० तथा नेपाल पर्यटन वोर्डको पनि सहयोग रहेको छ । यो सम्मेलनमा संसारका विभिन्न १०० देशका अवैतनिक महावाणिज्य दूतहरुको सहभागिता हुनेछ । यो सम्मेलनको मुख्य (थिम) ‘‘साझा सम्वृद्धिको लागि एकेवद्धता’’ रहेको छ । यो सम्मेलनको उद्घाटन उप–राष्ट्रपति नन्दबहादुर पुनबाट हुनेछ । “एचसिसी–एनका डिन प्रदीपकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । साथै फिकाक का अध्यक्ष डा. अकुट इकेन र माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीबाट पनि संवोधन हुनेछ । सम्मेलनका सहभागीहरुले द्विपक्षीय तथा वहुपक्षीय सरोकारका विभिन्न क्षेत्रहरुमा गहन छलफल गर्ने र सम्मेलनको अन्तिम दिन ‘‘काठमाण्डौ घोषणा पत्र’’ जारी गर्ने कार्यक्रम छ । सम्मेलनमा हाल विश्वका जल्दा बल्दा विषय वस्तु र सम्मेलनको मुख्य थिम र तपसिलमा उल्लेखित विषयहरुमा सम्बन्धित विषयका ज्ञाताहरुले कि नोट स्पिकर को हैसियतमा आफ्ना विचारहरु प्रस्तुत तथा छलफल गर्नेछन् । साथै साझा सम्वृद्धिको लागि एकेवद्धता, लैगिक समानता, वातावरण परिवर्तन र हिमनदीहरु, सम्बन्ध र सम्वृद्धिका एजेन्डाहरुमा छलफल गर्न फरक फरक प्लिनरी सिजनहरुको व्यवस्था गरिएको छ । सम्मेलन आयोजकले सहभागिहरुको लागि विभिन्न मनोरन्जनात्मक तथा दृष्यावलोकनका कार्यक्रमहरु माउण्टेन प्mलाइट, साइट सिनिङ्ग, चन्द्रागिरी हिल्स रिसोर्टमा रिट्रिटको आयोजना गरेको छ । यसबाट नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यो सम्मेलनबाट नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु जस्तैः विद्युत, पर्यटन, उद्योग व्यवसायमा वैदेशिक लगानीलाई आकर्षण गर्न एउटा राम्रो अवसर प्राप्त हुने जनाइएको छ ।
स्थानीयसँगै उठाउन थाल्यो सरकारले १९ हजार प्रतिकेजीमा जडिबुटी, १० करोडको उत्पादन
काठमाडौं । जडिबुटीको उचित मूल्य नपाएर निरास बनेका किसानले अब प्रतिकेजी जडिबुटीको १९ हजार रुपैयाँसमम्म पाउने भएका छन् । जङगलमा आफै उम्रेको होस् वा व्यवसायिक रुपमा नै खेती गरेको होस्, जडिबुटीको महत्व बढ्दै गहिरहेको छ । सरकारले देशका विभिन्न स्थानमा जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रको स्थापना गरी काम गरिरहेको छ । कर्णाली इलाम, जुम्ला, झापा र बारालगाएतका ठाउँमा प्रशोधन केन्द्र खोलेर किसानले उत्पादन गरेको र आफैले उत्पादन गरेको जडिबुटीलाई प्रशोधन गर्ने गरेको छ । नेपालको विभिन्न केन्द्रबाट उत्पादन भएको जुडीबुटी ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको बारा जिल्लाको कोल्हबी नगपालिकाको ३ नम्वरमा रहेको जडिबुटी उत्पादत तथा प्रशोधन केन्द्रले कृषकलाई जडिबुटीको प्रतिकेजी १९ हजारसम्म दिने गरेको छ । बारामा रहेको कम्पनीको २ करोड ५० लाखको लागतमा सरकारले सञ्चालनमा ल्याएको हो । प्रशोधन केन्द्र २१० हेक्टरमा फैलिएको छ । जडिबुटी प्रशोधन केन्द्रको भवन २ हेक्टर क्षेत्रफलमा बनेको छ । बाराको केन्द्रमा युक्लिट्टा, सिट्रोनेला, क्यामोमाइल, लेभन, ग्रास, मेन्था, फेन्चब्रेसिल जडीबुटी खेती र प्रशोधन गर्ने गरिएको छ । केन्द्र प्रमुख बकतबहादुर राउतले हामीले सात प्रकारका जडिबुटी उत्पादन र प्रशोधन गरिहरहेका छौ । कृषकले उत्पादन गरेको जडिबुटीमा प्रतिकेजी १९ हजार देखि १९ सय केजीसम्ममा खरिद गर्ने गरेको बताए । उनले भने हाम्रो १७ टन जडिबुटी उत्पादन गर्ने लक्ष्य रहेको बताए । अहिले कम्पनीले लक्ष्यको ८५ प्रतिशत जडिबुटी उत्पानदन गरिहरकेको छ । कम्पनीले करिब १५ करोडको बारोवार गरेको जानकारी दिएको छ । औषधि वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् । नेपालमा हजारौं प्रजातीका जडिबुटी छन ती मध्ये केही जडिबुटीको पहिचान भएको छ भने कतिको अझै पहिचान हुन वाँकी छ । करिब ४५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको र बहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको खेती व्यवसायको समेत सम्भावना नेपालमा रहेको छ । आज नेपालमा प्रशस्त जडिबुटी छन् तर उपयोग विहिन देखिन्छन् । नेपालमा पाइने चमत्कारिक जडिबुटी हेर्दा विश्वको आँखा नेपालमा रहेको छ तर, नेपालीको ध्यान पुग्न नसकेको उनले बताए ।नेपालमा भएको जडिबुटी सरकारले पहिचान गर्न सके क्यान्सर देखि एड्स सम्मको औषधि हाम्रो जंगलमा उर्मिरहेको र यस्ता कतिपय जडिबुटीको पहिचान गर्न नसक्दा राष्ट्रले घाटा व्यहोर्नु परेको छ ।
बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीद गर्ने
काठमाडौँ । नेपाल र बङ्गलादेशले दीर्घकालीन लक्ष्यसहित ऊर्जा तथा जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने भएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीदको लक्ष्यसहित सरकारी तथा निजीस्तरमा समेत संयुक्त लगानीको प्रस्ताव गरेको छ । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बङ्गलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ । भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् बङ्गलादेशसम्म पु¥याउने उसको सोच छ । पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा विश्व समुदायलाई आफ्नो पहिचान दिन सफल बङ्गलादेशले नेपालको विद्युत्बाट थप आर्थिक उपार्जन गर्ने लक्ष्य राखेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा साझा सहकार्य गर्ने द्विपक्षीय संयन्त्र क्रियाशील छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रका लगानीका लागि द्विपक्षीय संयन्त्रमार्फत आफ्ना गतिविधि अगाडि बढाइरहेको छ । मन्त्री वर्षमान पुनले २०७५ भदौमा बङ्गलादेशको भ्रमण गरेपछि दुई देशबीच ऊर्जा सहकार्यमा मार्गप्रशस्त भएको हो । गत असोज २६ र २७ गते भारतको बैंगलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, बङ्गलादेश र भारतबीच ऊर्जा आदानप्रदानका लागि त्रिदेशीय संयुक्त बैठक आयोजना गर्ने सहमति भएको थियो । सो सहमतिले नेपालको विद्युत् भारतको भूमि वा संयन्त्र प्रयोग गरेर बङ्गलादेश पु¥याउन मार्गप्रशस्त गरेको छ । त्रिपक्षीय बैठक तीन महिनाभित्र आयोजना गर्ने सहमति भएकाले बैठकपछि थप आधारहरु तयार हुनेछन् । दुई देशबीचको ऊर्जा संयन्त्रको बैठक नियमित बसिरहेको र ऊर्जा सहकार्यको क्षेत्रमा बङ्गलादेशको अनुभव नेपालले अनुसरण गर्नेतर्फ काम भइरहेको मन्त्रालयको भनाइ छ । भारतबाट विद्युत् लगिरहेको बङ्गलादेशले सोही प्रसारण प्रणाली उपयोग गर्ने वा अन्य कुनै संरचना बनाउने भन्ने बारेमा आपसी समझदारीका आधारमा निर्णय हुने जनाइएको छ । नेपाल र बङ्गलादेशबीच २०७५ साउन २५ मा ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त हस्ताक्षरमा मन्त्री पुन र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए । मन्त्री पुनका अनुसार सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा बङ्गलादेशसँगको ऊर्जा सहकार्य पनि एउटा महत्वपूर्ण कडी हो । दुई देशबीचको समझदारीअनुसार उसले तत्काल नै नेपालबाट ५०० मेगावाट विद्युत् खरीदका लागिसमेत तयार देखिएको छ । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरीद गर्न बङ्गलादेश यसअघि नै तयार भएको थियो । भारतीय कम्पनी जिएमआरले निकट भविष्यमै बङ्गलादेशसँग विद्युत् खरीद सम्झौता हुने जनाएको छ । नेपालको विद्युत् क्षेत्रीय बजारमा लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बङ्गलादेशसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ । बङ्गलादेश सरकार आफ्ना जनताको सपना पूरा गर्ने र ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यसाथ ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालसँग हात बढाएको स्पष्ट पार्दै आएको छ । ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षरपछि तत्कालीन बङ्गलादेशी राज्यमन्त्री हमिदले दिएको वक्तव्य आज पनि उत्तिकै सान्दर्भिक छ । उनले नेपालमा जलस्रोतको अपार सम्भावना भएकाले दुई देशका सरकारी वा निजी क्षेत्रले मिलेर काम गर्ने उल्लेख गरेका थिए । बङ्गलादेशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यतिखेर बङ्गलादेशलाई करीब ६० हजार मेगावाट विद्युत् जरुरी छ । त्यसका लागि एउटा उत्तम विकल्प नेपाल हो भन्नेमा बङ्गलादेश स्पष्ट छ । सन् २०२१ सम्म बङ्गलादेशलाई २४ हजार मेगावाट विद्युत् आवश्यक पर्ने जनाइएको छ । बङ्गलादेशको आर्थिक वृद्धिदर १० प्रतिशत पु¥याउने लक्ष्यसाथ काम भइरहेकाले थप ऊर्जा जरुरी रहेको छ । नेपालको निजी क्षेत्र विशेषगरी स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान) सँग मिलेर बङ्गलादेशका निजी क्षेत्रले संयुक्त रुपमा लगानीका लागि प्रस्ताव गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं ऊर्जाको अत्यधिक माग रहेको बङ्गलादेशमा त्यहाँको निजी क्षेत्र तत्काल नै करीब ६ हजार मेगावाट क्षमताका आयोजना निर्माणका लागि इच्छुक छन् । त्यसका लागि नेपाल सरकारले विद्युत् निर्यातका लागि मार्गप्रशस्त हुने गरी वातावरण बनाई दिनुपर्ने अध्यक्ष गुरागाईंको भनाइ छ । सरकारी तथा निजी क्षेत्र जुन रुपमा भए पनि लगानीका लागि तयार भएका बङ्गलादेशी लगानीकर्तालाई नेपाल भित्र्याउन सरकारले विशेष पहल गर्नुपर्ने इपानको धारणा छ । त्यसो त बङ्गलादेशी लगानीकर्ताले प्रदेश नं १ का केही आकर्षक आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरेको इपानका अध्यक्ष गुरागाईंको भनाइ थियो । रासस
नेपाल भित्रियो रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’, कहिले होला सार्वजनिक ?
काठमाडाैं । इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले ‘इन्टरसेप्टर ६५०’ लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार केहि दिन अघि नै नेपाल भित्रिसकेको सो मोटरसाइकललाई अबको एक हप्ता भित्र सार्वजनिक गरिनेछ । ‘इन्टरसेप्टर ६५०’ लाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल-ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ । यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओएल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी, ६-स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ । कम्पनीका अनुसार १४ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको इन्टरसेप्टर ६५० ले २५ केएमपीएल हाराहारीको माइलेज र १६० केएमपीएच प्लसको टप स्पिड दिन्छ । यस मोटरसाइकलका दुबै चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने सेफ्टि फिचरको रुपमा डुअल-च्यानल एबीएस दिइएको छ । त्यसैगरी, यस मोटरसाइकलको रेट्रो लुक्स कायम राख्नका लागि यसमा कन्भेन्स्नल टेलिस्कपिक फर्क तथा ट्वीन शक एब्जर्बर्सहरुलाई सस्पेन्सनका रुपमा जडान गरिएको छ । विवेक अटोमोवाइल्सले जनाए अनुसार नेपालमा हाल इन्टरसेप्टर ६५० लाई मात्र सार्वजनिक गरिने छ भने रोयल इन्फिल्डकै ६५० सीसीको अर्को उत्पादन ‘कन्टिनेन्टल जिटि ६५०’ लाई चाहिँ केहि पछि मात्र नेपाल भित्र्याउने कम्पनीकाे योजना रहेको छ । नेपालमा लञ्च पश्चात इन्टरसेप्टर ६५० को बजार मूल्य १२ लाख रुपैयाँको हाराहारी पर्न आउने कम्पनीले जनाएको छ ।