विकासन्युज

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

चन्द्रपुर । मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।  

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ८० पैसा र बिक्रीदर १८२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८० पैसा र बिक्रीदर ११२ रुपैयाँ २७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ७७ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ २६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने चीनको घोषणा

काठमाडौं । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषदको कस्टम्स ट्यारिफ कमिसनका अनुसार यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ । यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने हो । चीनले केही महत्वपूर्ण कम्पोनेन्ट र उच्च प्रविधिका सामग्रीमा कर घटाएर उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई समर्थन गर्नेछ । त्यस्तै, केही प्राकृतिक स्रोतमा कर घटाएर हरित विकासलाई प्रवर्द्धन गरिनेछ । स्वास्थ्य क्षेत्रमा पनि कर घटाइनेछ, जसले जनताको भलाइमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, चीनले ट्यारिफ हेडिङ र राष्ट्रिय उप-हेडिङ नोटहरू सुधार्ने योजना बनाएको छ । स्मार्ट बायोनिक रोबोट र बायो-एभिएसन केरोसिन जस्ता नयाँ उत्पादनका लागि पनि उप-हेडिङ थपिनेछ । चीनले आफ्ना ३४ व्यापारिक साझेदार देशसँग सम्झौताअनुसार पूर्वनिर्धारित शुल्क दर लागू गर्न जारी राख्नेछ । यसैगरी, ४३ अत्यन्त कम विकास भएका देशका लागि सतप्रतिशत शून्य शुल्क सुविधा पनि कायम रहनेछ ।

सालपा विकास बैंकको आईपीओ बिक्री खुला, २५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सालपा विकास बैंकले आज पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।​​​​​​​  बैंकको आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।​​​​​​​ बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । 

विश्व बैंकको सहयोगमा सडक कालोपत्र हुँदै, ४९.२२ करोडमा ठेक्का सम्झौता

काठमाडौं । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी-तितौरे ९ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ ।  पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती-निरयघाट र ओढारचौर-ढोडेनी सडक कालोपत्र भइसकेको छ ।   बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । 

भियतनामको विद्युत् क्षमता ८७ हजार ६०० मेगावाट, ९९.८५ प्रतिशत घरमा पहुँच

काठमाडौं । भियतनामको विद्युत् प्रणाली अब दक्षिण-पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सार्वजनिक गरेको हाे ।  ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब ८७ हजार ६०० मेगावाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ हजार ४०० मेगावाटले वृद्धि भएको हो । यस वृद्धि प्रमुख रूपमा नयाँ ऊर्जास्रोतहरू जस्तै जलविद्युत्, तापविद्युत् र नविकरणीय ऊर्जा परियोजनाहरूबाट भएको हो । सोही अवधिमा भियतनामको व्यावसायिक विद्युत् उत्पादन २ करोड ८७ लाख किलोवाट प्रतिघण्टा पुगेको छ । यसले देशको ऊर्जा आपूर्तिमा निरन्तर वृद्धि भएको र औद्योगिक तथा घरेलु आवश्यकताहरू पूरा गर्न पर्याप्त क्षमता विकसित भएको देखाउँछ । विद्युत् पहुँचको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । हाल देशभर १०० प्रतिशत कम्युनहरू (स्थानीय तह) र ९९.८५ प्रतिशत घरधुरीहरू राष्ट्रिय विद्युत् सञ्जालसँग जोडिएका छन् । यसले भियतनाममा विद्युत् पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता स्पष्ट देखाउँछ र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि ऊर्जा सुविधामा पहुँच प्रदान गरेको छ । विशेषज्ञहरूले भियतनामको ऊर्जा क्षेत्रमा देखिएको यो वृद्धि आर्थिक विकास, औद्योगिक विस्तार र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । साथै, नविकरणीय ऊर्जा र स्मार्ट ग्रिड प्रविधिमा लगानी बढाइ रहेकोले देशको ऊर्जा प्रणाली दिगो र पर्यावरण मैत्री बन्ने अपेक्षा गरिएको छ ।

चिसो अत्यधिक बढ्दा पनि घटेन मुक्तिनाथमा दर्शनार्थीको चहलपहल

काठमाडौं । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट ३ हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत १ हजार ५०० दर्शनार्थी आइरहेका छन् ।  मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ । चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । हुम्लाबाट मुक्तिनाथ आएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताए । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू आएको उनले बताए ।  साथै जाजरकोटबाट आएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताए । पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म २ लाख ३ हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । 

शीतलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा कठिनाइ, यी हुन् वैकल्पिक मार्ग

काठमाडौं । शीतलहरका कारण निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकाले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनले स्पष्ट पारेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन  नारायणघाट-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल-काठमाडौं जाने सवारी साधनहरु काठमाडौं-मुग्लिङ-पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।