मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रु बाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।
‘गाडी एसेम्ब्लीमार्फत लक्ष्मी ग्रुपले बहुआयामिक क्षेत्रमा औद्योगीकरण र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ’
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चैत ११ गते क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो । यो गाडी नेपालमै एसेम्बल भएका हो । यससँगै अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए । उनै थपलियासँग विकासन्युजले एसेम्ब्ली सम्बन्धी गरेको कुराकानीको सम्पादित अंश : नेपालमै गाडी एसेम्ब्ली सुरु गर्नु आफैमा एउटा साहसी निर्णय हो । यो कसरी सम्भव भयो ? लामो समयदेखि नेपाल आयात–निर्भर मुलुक हो । गाडीजस्तो मूल्यवान वस्तु पूर्णरूपमा बाहिरबाट ल्याउने चलन थियो, जसले देशको अर्थतन्त्रमा दबाब पर्थ्यो । यस्तै अवस्थामा हामीले राष्ट्रमै मूल्य राख्ने साेंच राख्यौं । हुन्डाईजस्तो विश्वसनीय ब्रान्डसँगको सहकार्यले हामीलाई नेपालमै एसेम्बलिङ सुरु गर्ने आत्मबल दियो । यो परियोजना केवल व्यापारिक दृष्टिकोण मात्र होइन, देशमै रोजगारी सिर्जना गर्ने, प्राविधिक दक्षता बढाउने र अर्थतन्त्रलाई बलियो बनाउने एउटा ठूलो कदम हो । औद्योगिकीकरणको यात्रा चारपाँग्रे सवारीसाधनबाटै किन सुरु गरियो ? गाडी नेपालको दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु हो- पेट्रोलियम पदार्थपछि । यसले ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ । यदि हामीले गाडी आफै एसेम्ब्ली गर्न थाल्यौं भने त्यसले ठूलो मात्रामा मुद्रा बचत गर्छ, साथसाथै स्थानीय उद्योगहरूलाई पनि चलायमान बनाउँछ । गाडी एसेम्ब्लीसँगै ढुवानी, पार्ट्स सप्लाई, तालिम केन्द्र, सर्भिस वर्कसप जस्ता धेरै उद्योग खुल्छन् । यसले समग्र औद्योगिक प्रणालीमा गहिरो असर पार्छ । युवाहरू र इन्जिनियरिङ क्षेत्रमा के प्रभाव परेको छ ? एसेम्ब्लीको सुरुबाटै युवाहरूलाई आधुनिक प्राविधिक तालिम दिने काम गरियो । अहिलेसम्म २०० भन्दा बढी इन्जिनियर र प्राविधिकले हुन्डाईबाट तालिम पाइसकेका छन् । जसमा सेन्सर क्यालिब्रेसन, टर्क एक्युरेसी, इलेक्ट्रिक कोडिङ र डाइनोग्टिक, चेसिस टेस्टिङ, अटोमेसन टूल्सको प्रयोग जस्ता अत्याधुनिक सीप सिकाइन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा—यी सीपहरू अब केवल कागजी प्रमाणपत्रमा सीमित छैनन्, युवाहरूले यसमा प्रत्यक्षरूपमा काम गरिरहेका छन् । उनीहरू नेपालबाट सर्टिफिकेट लिएर वैश्विक प्रतिस्पर्धामा उत्रिन सक्छन् । अझ रमाइलो कुरा त के छ भने– विदेश जान सोच्ने धेरैजना अब यहीँ फर्केर काम गर्न चाहिरहेका छन् । एसेम्ब्ली प्लान्ट एउटा ‘ब्रेन गेन’ को केन्द्र बन्दै गएको छ । के अब पार्टपुर्जा पनि नेपालमै बनाउने योजना छ ? बिल्कुलै छ । सुरुमा सबै पाट्र्स आयात गरिए पनि अब हामी स्थानीयकरणको चरणमा छौं । चेसिस बाहेकका धेरै कम्पोन्ट्स- जस्तै बम्पर, डासबोर्ड फ्रेम, फम सीट, वाइरिङ हार्नेस, एसी डक्ट, प्लास्टिक क्लाडिङ आदि नेपालमै उत्पादन गर्न सकिने सम्भावनाको अध्ययन भइरहेको छ । स्थानीय उद्यमीहरूसँग ओइम स्तरको पाट्र्स विकासको अध्ययन भइरहेको छ । यसको अर्थ- नेपालमै उत्पादन, नेपालमै रोजगारी र नेपाल मेड इकोसिस्टमको विकास । के एसेम्ब्ली प्लान्टले नेपाली औद्योगिक भविष्य निर्माण गर्ला त ? अवश्य गर्छ, एसेम्ब्ली प्लान्टले केवल गाडी उत्पादन गर्दैन, यो देशभित्र औद्योगिक चेतना र साेंचको रूपान्तरण पनि हो । अहिले नेपाली युवाले उद्योग भनेको ‘बिग ड्रिम’ होइन, ‘अटेनेबल करिअर’ हो भन्ने बुझ्न थालेका छन् । जापान, थाइल्यान्ड, भियतनाम, मलेसिया जस्ता देशहरूले पनि औद्योगिकीकरणको यात्रा यस्तै एसेम्ब्ली प्लान्टबाटै सुरु गरेका थिए । नेपाल पनि अहिले त्यो मोडमा उभिएको छ । नीति निर्माताले कस्तो सहयोग पु¥याउनुपर्छ ? सरकारको नीतिगत सहयोग अत्यन्त आवश्यक छ । यदि सरकारले एसेम्ब्ली उद्योगलाई स्पष्ट नीति जस्ता सहुलियत दिन सक्छ भने निजी क्षेत्रले झन ठूलो लगानी ल्याउन सक्छ । त्यस्तै, एकीकृत औद्योगिक क्षेत्र सेज, लोजिस्टिक पार्क, टेस्ट ट्र्याक जस्ता पूर्वाधारको विकासले यो अभियान विस्तृत रूपमा फैलिन्छ । त्यसैले अब दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ । के यस्तो प्रकारको औद्योगिक कार्यक्रमले ब्रेन ड्रेन कम गर्न सक्छ ? हो, कम मात्रै होइन, अब उल्टो प्रक्रिया सुरु भइसकेको छ- ब्रेन गेन । धेरैजना विदेश पढेर फर्किएका युवाहरू अब नेपालमै असेम्ब्ली, रिसर्च एन्ड डेभलपमेन्ट, प्लान्ट अपरेशन, क्वालिटी एस्सूरेन्स, आईटी सिस्टम इन्टिग्रेसनजस्ता क्षेत्रमा काम गरिरहेका छन् । यहाँको एक्सपोजरले उनीहरूलाई अन्तर्राष्ट्रिय मान्यतासमेत दिनेछ । यस्तो प्रविधिको विकासले विदेश पलायनमा रोक लगाउनुका साथै फर्किसकेकाहरूलाई देश निर्माणमा जोड्ने मौका दिएको छ । यो केबल असेम्ब्ली हो कि खास प्रविधि हस्तान्तरण पनि हो ? यो केवल बाहिरबाट पाट्र्स ल्याएर स्क्रू जोड्ने प्रक्रिया होइन । हामी जाँच गर्ने उपकरणमार्फत् ईसीयू प्रोग्राम गर्छौं, स्टेरिङ क्यालिब्रेसन, ब्रेक टेस्टजस्ता कामहरू नेपालकै प्लान्टमा हुन्छन्। प्लान्टमा भेहिकल एसेम्ब्ली सफ्टवेयर, रोबोटिक टुल कन्ट्रेल र क्वालिटी टेस्ट बेन्चहरु जडान भएका छन् । यो सही अर्थमा प्रविधिको हस्तान्तरण हो, जसले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय ओईम स्तरको काम गर्न सिपालु बनाएको छ । के लक्ष्मीले ईभी पनि एसेम्बल गर्ने योजना बनाएको छ त ? हो हामीले योजना बनाएका छौं । हामीले हुन्डाई क्रेटा ईभी लगायतका मोडेलहरूको लागि ईभी स्पेसिफिक एसेम्ब्ली प्लानिङ सुरु गरेका छौं । ब्याट्री थर्मल म्यानेजमेन्ट, चार्जर इन्टिग्रेसन, आईपी ६७ वाइरिङ हार्नेस, रिजेनेरेटिभ ब्रेकिङ टेस्ट जस्ता ईभीसम्बन्धि अध्ययन गरिनेछ । साथै भविष्यमा ईभी को विकास हाम्रो मुख्य लक्ष्य हो । यो सँगै नेपाललाई ईभी हब बनाउने सम्भावना प्रबल छ । के यसले शैक्षिक पाठ्यक्रममा प्रभाव पारिरहेको छ ? पक्कै पनि । अब पढाइ केवल सिद्धान्त सीमित छैन । पुलचोक, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय जस्ता शैक्षिक संस्थाहरूसँगको सहकार्यले विद्यार्थीहरू प्रत्यक्ष रूपमा औद्योगिक वातावरणमा सहभागी भइरहेका छन् । धेरै विश्वविद्यालयहरूले अटोमोबाइल इलेक्ट्रोनिक्स, मेकाट्रोनिक्स इन्टीग्रेसन, इभी सिस्टम, भेहिकल सफ्टवेयर इन्टिग्रेसन जस्ता विषयहरू पाठ्यक्रममा थप्न थालेका छन् । यो शिक्षा र उद्योग बीचको सेतु हो । असेम्ब्ली प्लान्टले अन्य क्षेत्रहरूमा कस्तो असर पारेको छ ? हामीले एसेम्ब्ली प्लान्ट सुरु गरेसँगै अहिले धेरै क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्ने देखिएके छ । जस्तै विद्यार्थीहरूले अब औद्योगिक सीप सिक्न थालेका छन् । बैंकहरूले पनि औद्योगिक प्रोजेक्ट फाइनान्सिङमा लगानी गर्न थालेका छन् । यसैगरी, उद्योगहरूलाई निरन्तर रूपमा ऊर्जा दिन नयाँ सौर्य र ग्रिड प्रोजेक्टहरू अघि बढ्दैछन् । आईटी क्षेत्रमा पनि स्वचालित प्रविधि, सफ्टवेयर लगायतमा सकारात्मक प्रभाव पारिरहेको हामीले देखेका छौं । नेपाली उद्यमीहरूलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ? अब उद्यमशीलताको परिभाषा बदलिँदैछ । केवल डिलरसिप वा शोरूमसम्म सीमित नरहेर, सफ्टवेयर डेभलपमेन्ट, पाट्र्स डिजाइन, क्वालिटी एस्सुरेन्स, ट्रेनिङ सर्भिसेज, लोजिस्टिक्सजस्ता धेरै सम्भावनाहरू खुलेका छन् । अब ‘खरिद तथा बिक्री’मात्र होइन, ‘निर्माण तथा बिक्री’ मा जानुपर्ने समय हो । हामीले पनि यात्राबाट यात्रा सुरु गरेका थियौं, तपाईं पनि सक्नुहुन्छ । अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास
तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट अप्रिल २३ देखि सुरु, यसपटक काठमाडौंमा पनि हुने
काठमाडौं । तेस्रो बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) यही अप्रिल २३ देखि आयोजना हुने भएको छ । बुधबार नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले पत्रकार सम्मेलनको आयोजना गरी मार्ट आयोजना हुनेबारे जानकारी गराएको हो । मार्ट नेपाल पर्यटन बोर्ड र नाट्टा दुवैले संयुक्त रूपमा मिलेर आयोजना गर्न लागेको जनाएको छ । यससम्बन्धमा बोर्ड र नाट्टाबीच गत चैत्र २२ गते सम्झौता भइसकेको छ । उक्त कार्यक्रममा बोर्डबाट कार्यबाहक निर्देशक सुनील शर्मा तथा बीआईटीएम २०२५ की संयोजक एवं नाट्टाका वरिष्ठ उपाध्यक्ष जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्ने तय भएको छ । आयोजकका अनुसार अघिल्लो वर्षमा बुद्धको जन्मस्थान लुम्बिनीमा मात्रै मार्ट आयोजना हुँदै आएकोमा यो पटक भने काठमाडौंमा पनि आयोजना हुने भएको हो । काठमाडौंमा अप्रिल २३ र २४ अनि लुम्बिनीमा २५ मा हुनेछ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहको सहभागिता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । साथै मार्टमा १ हजार १ सयभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरू, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा धर्मको माध्यमबाट पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगमी अप्रिल २३ देखि २४ गतेसम्मको लागि कार्यक्रम आयोजना हुन लागेको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए । उनले भने, ‘बीआईटीएम २०२५ नेपाललाईद केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर हो । यसले निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउनेछ ।’ कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको बताउँदै त्यसको प्रचारप्रसार आवश्यक औंल्याए । उनले भने, नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौं मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ ।’ यसले दीर्घकालीन पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनले उल्लेख गरे । कार्यक्रम तालिका २२ मेमा विदेशीहरू नेपालमा आइपुग्ने कार्यक्रम रहेको छ । २३ अप्रिलमा औपचारिक रूपमा मार्टको उद्घाटन कार्यक्रम रहेको छ भने उक्त दिन कन्फ्रेन्स, बिटुबी मिटिङ, र प्रदर्शनी रहेको छ । साँझ गाला डिनरका साथै नेटवर्किङ कार्यक्रम आयोजना हुने छ । दोस्रो दिन अर्थात २४ मे मा कन्फ्रेन्स, बिटुबी नेटवर्किङ र प्रदर्शनीको निरन्तरता रहनेछ भने त्यही दिन साँझ लुम्बिनी जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजनका अनुसार २५ मे मा लुम्बिनीमा त्यहाँ पोष्ट कन्फ्रेन्स, एफएम ट्रिप, बिटुबी नेटवर्किङसहित कार्यक्रमको समापन हुने छ । २६ मे मा काठमाडौं फिर्ता हुँदै विदेशीहरु आ–आफ्नो देशमा फर्किने कार्यक्रम रहेको छ । मार्टमा सहभागी हुन चाहने सहभागीहरूले २०८२ वैशाख २८ (१० मे २०२५) भित्र अनिवार्य दर्ता गर्नु पर्ने छ । र २०८२ वैशाख १८ (३० अप्रिल २०२५) भित्र दर्ता गर्ने सहभागीहरूलाई ‘अर्ली बर्ड’ को छुटसमेत उपलब्ध रहेको आयोजकले जनाएको छ । यो कार्यक्रमको मूख्य लक्षित समूहमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ट्राभल एण्ड ट्रेड कम्पनी, पर्यटनसम्बद्ध सरकारी कार्यालय, बुद्धिजमसँग सम्बन्धित संघसंस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय एयरलाइन्स, सञ्चारमाध्यमलगायत रहेको आयोजकले जनाएको छ । बीआईटीएम २०२५ को लागि प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर स्तरका प्रायोजन प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार विभिन्न स्तरमा ब्राण्डको सहभागिता, कार्यक्रमको प्रचारमा सहकार्य तथा अन्तर्राष्ट्रिय बजारमा नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ । आयोजकले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पर्यटन क्षेत्र, सरकारी निकाय, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सहकार्यको अपेक्षा गरेका छन् । नेपालमा पहिलोपटक सन् २०१९ र दोस्रोपटक सन् २०२३ मा बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट सम्पन्न भएको थियो । सन् २०२३ मा २५० भन्दा बढी भिजिटर्स, ८ सय भन्दा बढी सदस्य, १५ भन्दा बढी देशका प्रतिनिधि, ५० भन्दा बढी बिक्रेता र ५० भन्दा बढी सञ्चारमाध्यमको सहभागिता रहेको आयोजकले जनाएको छ । आयोजका अनुसार सन् २०२३ मा ३५० भन्दा बढी भिजिटर्स, ९ सयभन्दा बढी सदस्य, ८० भन्दा बढी ब्लगर्स÷मिडियाको सहभागिता रहेको थियो ।
नाइमाको औपचारिक घोषणा, साउनमा ‘नेपाल मोबिलिटी एक्स्पो' आयोजना हुने
काठमाडौं । अन्तत : नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा भएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा फागुन ९ गते दर्ता भएको उक्त संस्था दुई महिनापछि औपचारिक रूपमा बुधबारदेखि सक्रिय भएको हो । आजदेखि नाइमाले औपचारिक रूपमा ‘इम्पावरिङ ग्रो थ्रु मोबिलिटी’ नारासहित सांगठनिक गतिविधि सुरुवात गरेको हो । नाइमाको नेतृत्व गर्दै आएकी रितुसिंह वैद्यले कार्यक्रममा नाइमाको आधार स्तम्भ उल्लेख गर्दै नेपालको मोबिलिटी क्षेत्रको नेतृत्व गर्ने कार्ययोजना घोषणा गरिन् । नेपालको मोबिलिटी क्षेत्रमा रहेका समस्याहरूलाई समाधानका निम्ति नाइमा संस्थाको जन्म भएको उनको भनाइ छ । उनले भनिन, ‘नेपालको मोबिलिटी क्षेत्रमा धेरै समस्या छन्, ती समस्या र चुनौतीहरूको वकालत अब नाइमाले गर्नेछ । यी क्षेत्रका हरेक समस्या नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउनेछ ।’ यसले मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एकीकृत प्लेटफर्मको रूपमा समेत काम गर्ने अध्यक्ष वैद्यको दावी छ । नेपालको अर्थतन्त्रको वृद्धि र विकासमा अटोमोबाइल उद्योगको योगदान अभिवृद्धि गर्ने, अटोमोबाइल उद्योगको दक्षतालाई प्रोत्साहन गर्ने, नीति निर्माण, सडक सुरक्षा र यातायात पूर्वाधारका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारी विभागहरूसँग सहकार्य गर्ने, अटोमोबाइल तथा सवारीसाधन आयातकर्ता तथा उत्पादक समुदायको सर्वाङ्गीण विकासका लागि काम गर्नेलगायत उद्देश्य नाइमाको रहेको छ । यस्तै, अटोमोबाइल आयातकर्ता र उत्पादक समुदायका लागि सीपमा आधारित तालिमहरू प्रदान गर्ने, चेतना जगाउने, नीति वकालत गर्ने र अन्य कल्याणकारी गतिविधिहरू सञ्चालन गर्ने, नेपालभित्र अटोमोबाइल, सडक सुरक्षा र सम्बन्धित विषयमा सेमिनार, कार्यशाला, प्रदर्शनी, कार्यक्रम र तालिम सत्रहरू आयोजना गर्ने गराउने, वातावरणको सुधारका लागि नातिगत वकालतमा संलग्न हुने र अटोमोबाइल प्रयोगकर्ता र सर्वसाधारणको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने तथा सडक यातायातका लागि पूर्वाधार र प्रणालीको विकास गर्ने लगायतका सेवाहरू उपलब्ध गराउने उद्देश्य नाइमाले लिएको छ । नाइमामा को-को छन् आवद्ध ? नाइमाको सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, शौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काब्रा आवद्ध रहेका छन् । कार्यक्रमा सञ्चालक समितिका सदस्य सुहृदराज घिमिरेले आफूहरू कसैसँग प्रतिस्पर्धा र द्वन्द्व गर्न नआएको बताए । उनले सबै संस्थाहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने दाबी गरे । उनले भने, ‘हामी कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौं । अटो व्यवसायमा थुप्रै समस्या छन्, ती समस्यालाई नीतिगत रूपमा समाधान गर्ने उद्देश्यले यो कदम चालेका हौं ।’ मोबिलिटी शोको घोषणा नाइमाले बुधबार नै साउन २१ गतेदेखि ‘नेपाल मोबिलिटी एक्स्पो- २०२५’ आयोजना गर्ने घोषणा गरेको छ । नाइमाले गौरव शारडालाई एक्स्पाेको संयोजकको रूपमा तोकेको छ । मोबिलिटी एक्स्पो २०२५ को लोगोसमेत अनावरण भएको छ । साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पो प्रदर्शनीकर्ता र अवलोकनकर्तालाई फाइदाजनक हुने नाइमाको दावी छ । नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने जनाएको छ । अवलोकनकर्तालाई कम मूल्यमा टिकट दिनेदेखि मिडिया र बिजनेस डेको लागि अलग्गै दिनको व्यवस्थासमेत गरेको छ । संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक अटो व्यवसायीबीच ‘सक्ने-सकाउने’ खेल, नियतबस् जुधाइयो नाडा अटो शो
सरकारका प्रवक्ता भन्छन् : देउवा र ओलीबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो दावी गरेका हुन् । उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको बताए । उनले सत्तारूढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिए । मन्त्री गुरुङले सत्तारूढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए । उनले भने, ‘हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नर नियुक्तिकाे समस्या चाँडै समाधान हुन्छ ।’ सरकार शिक्षकका मागहरूप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे । उनले शिक्षकका जायज मागहरु पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत जानकारी दिए ।
ई-सेवाबाट १ करोड रुपैयाँ चोरी, २२ वर्षीय युवक पक्राउ
काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट १ करोड २ लाख रुपैयाँभन्दा बढी चोरी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने राहुल बुढा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले फिसिङ लिंक प्रयोग गरी ४ हजारभन्दा बढी प्रयोगकर्ताको ई–सेवा खाताबाट रकम चोरी गरेका थिए । उनले 'द अलर्ट, एटी अलर्ट' जस्ता फिसिङ लिंक एसएमएसमार्फत पठाउँथे, जसमा 'तपाईंको खाता सस्पेन्ड हुन लाग्यो, कृपया भेरिफाइ गर्नुस्' भन्ने सन्देश राखिन्थ्यो । लिंक खोलेपछि प्रयोगकर्ताको विवरण लिएर ई–सेवामा पहुँच पुर्याई रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ । चोरी भएको रकम पशुपति ग्लोबल इनोभेशन प्रालिका मर्चेन्ट खाताहरूमा जम्मा गरेको अनुसन्धानबाट खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार युवकविरुद्ध साइबर अपराध र आर्थिक ठगी अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण अनलाइनमै हेर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएको सम्पत्तिसम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा जान सक्नेछन् । सो पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहितको जानकारी उपलब्ध गराइएको छ । साथै, गुगल म्यापमार्फत सम्पत्तिको सठिक स्थान पनि सजिलै पहिचान गर्न सकिन्छ । यदि कुनै सम्पत्ति खरिद गर्न थप जानकारी आवश्यक भएमा सोही पोर्टलमा रहेको म्यासेज बक्समा आफ्नो नाम, मोबाइल, ठेगाना र इमेल राखेर सिधा सन्देश पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार, उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सूचना अद्यावधिक गरिनेछ । यसले ग्राहकलाई सजिलै विश्वसनीय र पारदर्शी रूपमा सम्पत्ति खरिदबारे जानकारी लिन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
युनिक हेल्थ आइडी ल्याउने तयारी : नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य मन्त्रालयको पहल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपाली नागरिकको स्वास्थ्यसम्बन्धी विवरण एकीकृत गर्न युनिक हेल्थ आइडी प्रणाली लागू गर्ने तयारी थालेको छ । यसले सम्पूर्ण स्वास्थ्य विवरणलाई एउटै डिजिटल प्रणालीमा समेट्ने र सेवा प्रवाह सहज बनाउने लक्ष्य राखिएको छ । सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका छन् । सोही निर्णय अनुसार व्यक्तिका सबै स्वास्थ्य विवरण एउटै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी प्रणाली विकास गर्न लागिएको हो । यसका लागि मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा सुझाव समिति गठन गरेका छन् । समितिमा नीति योजना तथा अनुगमन महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा, पञ्जिकरण विभागका प्रतिनिधि, साथै स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन र नेपाल उद्योग परिसंघका प्रतिनिधि छन् । त्यस्तै, सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने र मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी पनि समिति सदस्य सचिवको भूमिकामा रहेका छन् । समितिलाई स्वास्थ्य पहिचान नम्बर सिर्जना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदमको अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ । साथै, राष्ट्रिय परिचयपत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी मान्यता प्राप्त अन्य परिचयपत्रहरूसँग मिलाउन आवश्यक अनुसन्धान गर्ने भनिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, समितिबाट विस्तृत सुझावसहितको प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइनेछ । उनले यो प्रणाली लागू भएपछि स्वास्थ्य सेवा वितरण सहज र प्रभावकारी हुने उल्लेख गरे । विश्वका धेरै देशहरूमा जस्तै, हरेक नागरिकका लागि व्यक्तिगत स्वास्थ्य परिचय नम्बरको व्यवस्था भएकोले, यस्तो प्रणाली नेपालमा पनि उपचार, सेवा अभिलेख, बीमा प्रणाली, औषधि इतिहास आदि एकीकृत गर्न मद्दत गर्ने विशेषज्ञहरूको भनाइ छ । समितिका सदस्य इञ्जिनियर शशांकश्री न्यौपानेले भने, 'विद्यमान विद्युतीय चिकित्सा अभिलेख प्रणाली कार्यान्वयन र डिजिटल माध्यमबाट सहज स्वास्थ्य सेवा दिन युनिक हेल्थ आइडी जस्ता संरचना आवश्यक छन्। यसले नागरिक, स्वास्थ्य संस्था र सरकारबीचको समन्वयलाई सुदृढ बनाउनेछ ।'