सगरमाथा क्षेत्रमा ४३ हजार पर्यटकले गरे भ्रमण, ११ करोड ३२ लाख राजस्व जम्मा
सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो । 'हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,’ रेन्जर श्रेष्ठले भने । पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ । हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन् । अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् । यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातायात व्यवसायीहरू बताउँछन् । हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो । तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ । मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन् । यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन् । निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन् । अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् । लुक्ला–मन्थली तथा काठमाडौं–लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए । काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन् । सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए । लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । 'लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ तर अब लुक्ला नजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो,’ उपाध्यक्ष शेर्पाले भने । यद्यपि खुम्बु आउन चाहने केही पर्यटक भने मौसमका कारण अन्यत्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ । व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, 'खुम्बु जाने सहज माध्यम भनेको हवाइजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको 'भिषा' लिएर आउने भएकाले मौसम प्रतिकूल हुनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ ।' निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवर्धक विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक यहाँ आउने गर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्दै आएको छ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो । नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन् । गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए । पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु ११ करोड ३२ लाख नौ हजार १०० राजस्व सङ्कलन गरेको छ । भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन् । तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन् । हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ । पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पुर्याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन् । पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, 'अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ । सगरमाथा नेपाल र नेपालीको गौरव हो, याे देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ ।'
२०८२ भित्र काठमाडौंमा सय बढी ईभी गुडाउने मयुर यातायातको तयारी, भाडा अनलाइनबाटै, जेष्ठ नागरिकलाई निःशुल्क
काठमाडौं । मयुर यातायात प्रालिले १ सय वटा ईभी बस (विद्युतीय सवारी) सञ्चालनमा ल्याउने तयारी थालेको छ । ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मयुर यातायातले २०८२ सालभित्र १ सय वटा विद्युतीय बस सञ्चालनमा ल्याउने योजना बनाएको हो । मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठका अनुसार हाल मयुरको नाममा ९० वटा बस (स्वागतम यातायातसहित) बजारमा गुडिरहेका छन् । कम्पनीको योजना अनुसार थप १ सय विद्युतीय बस सञ्चालनको तयारीमा रहेको उनले बताए । ‘हामीले ४ सयभन्दा बढी ईभी बस ल्याउने योजना बनाएका छौं । कुल २२ अर्बको प्रोजेक्ट छ । एउटा बसको मूल्य नै करोड पर्छ । चीनबाट ल्याउन लागेका छाैं, पहिलो चरणमा १ सय वटा ल्याउँछौं । २०८२ मा काठमाडौं उपत्यका मयुरमय हुन्छ,’ उनले भने । अब आउने विद्युतीय बसहरूको रुट परमिट पनि निर्धारण भइसकेको छ । उनका अनुसार साँखुदेखि दक्षिणकाली, नारायाणथानदेखि गोदावरी, रिङरोड (चक्रपथ) र थानकोटदेखि धुलीखेल रूटमा बसहरू गुड्नेछन् । साथै विद्युतीय बसहरू पूर्णरूपमा क्यासलेस (नगदरहित) हुने छन् । ‘विद्युतीय बसहरूलाई क्यासलेसको योजना छ । कार्डको माध्यमबाट भाडा रकम तिर्नुपर्ने हुन्छ । कार्डमा नागरिकता नम्बर र फोटो हुनेछ । नगदको जमाना सकियो । साथै वृद्धवृद्धाहरूका लागि जेष्ठ नागरिक कार्ड वितरण गर्ने योजना छ । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई पैसा लाग्दैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘मुख्य ठाउँमा कार्ड बिक्री लागि काउन्टर राख्नेछौं । बसमा यात्रा गर्दा अनिवार्य कार्ड बोक्नुपर्ने हुन्छ । त्यो कार्ड लिएपछि नि:शुल्क यात्रा गर्न मिल्नेछ ।’ एक वर्ष अगाडि नै चाइनिज कम्पनीसँग विद्युतीय बसका सम्झौता भइसकेको श्रेष्ठले दाबी गरे । अर्कै कम्पनीको नाममा बसहरू दर्ता भएपनि मयुरको नामबाटै बजारमा गुड्ने उनले बताए । कम्पनीमा भने २/३ जना अन्य लगानीकर्ता रहेको उनले बताए । ‘एकवर्ष अगाडि म आफै चीन गएर चाइनाको एक कम्पनीसँग सम्झौता बुक गरेको छु । यसमा अरू पनि लगानीकर्ता छन् । कम्पनी अर्कै नाममा दर्ता भएपनि सञ्चाल भने मयुरको नाममा हुनेछ,’ उनले भने । बस खरिदका लागि ग्लोबल आइएमई, हिमालयन बैंकबाट ऋण लिने सहमति भइसकेको छ । तर, बसहरू बजारमा गुडेपछि मात्रै कर्जा लिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मयुर यातायात प्रालिका सञ्चालक राजकुमार टकाची ईभी बस ल्याउने छलफल भएपनि कहिलेसम्म ल्याउने भनेर जानकारी नरहेको बताउँछन् । साथै आफू मयुर यातायातको नाम मात्रैको सञ्चालक रहेको जानकारी दिए । ‘केही परेको बेला सल्लाह दिन्छु । म मयुरमा संलग्न भएको ५/६ महिना भयो । एक/दुई जनालाई मैले पैसा दिएको थिएँ । उनीहरूले त्यो बापतको सेयर मेरो नाममा गरिदिएको हो,’ उनले भने, ‘ईभी ल्याउने विषयमा छलफल भएको हो । एक सय वटा ईभी ल्याउने भन्ने छलफल भएकाे थियाे ।’ साथै बस ल्याउन कर्जाका लागि बैंकसँग सम्झौता भएको आफूले सुनेको उनले बताए । तर, नेपालमा बाटो राम्रो नभएकाले धेरै गाडी ल्याउनु नहुने भनेर सुझाव दिएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठका अनुसार ग्वार्काे पुल समयमा निर्माण सम्पन्न नहुँदा बस सञ्चालनमा ढिला भएको छ । जहिले ग्वार्काे पुल निर्माण सम्पन्न हुन्छ, त्यसको एक साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने उनको भनाइ छ । ‘एक वर्षदेखि बस ल्याउने भनिरहेका छौं । तर, गफमात्रै जस्तो भइरहेको छ । यसअघि एक महिनाभित्र बस चलाउने तयारी थियो । फेरी पुल निर्माण कार्य पछि धकेलिँदा बस ल्याउन पनि धकेलिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘व्यवसाय विस्तारमा समेत असर परिरहेको छ । पुल निर्माण नभई बसहरू ल्याउँदा जाम पर्ने भएकाले तत्काल नल्याएको हो ।’ मयुर यातायातमा बहुमत सेयर मोहनबहादुर श्रेष्ठको नाममा रहेको छ ।
वीरगञ्जको सद्भाव खल्बल्याउने घटनामा मन्त्री गुप्ताको ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको निर्देशन
काठमाडौं । हनुमान जयन्तीका अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसपछिका घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गम्भीर ध्यानाकर्षण भएको छ । धार्मिक, साँस्कृतिक र जातीय विविधता रहेको समाजमा आपसी सम्मान, भाइचारा र सहिष्णुता आवश्यक रहेको भन्दै मन्त्री गुप्ताले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले समाजमा शान्ति र सहअस्तित्व कायम राख्नका लागि सबै नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री गुप्ता घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहेको र घटनाको गम्भीरता अनुसार दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्न निर्देशन दिएको प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य अत्यन्त दुःखद र चिन्ताजनक हो,' मन्त्री गुप्ताले भनेका छन्, 'नागरिकले एक अर्काको धार्मिक विश्वास र परम्पराप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो ।' झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलबीच सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । सो बैठकले तयार पारेको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई तिव्रता दिन मन्त्री गुप्ताले आग्रह गरेका छन् । मुलुकको प्रमुख आर्थिक केन्द्रको रूपमा रहेको वीरगञ्जमा सामाजिक सद्भावमा खलल ल्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै उनले सबै नागरिकलाई संयमित, विवेकी र सजग रहन अनुरोध गरेका छन् ।
एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँ : डा. भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति गोरखा सभापति स्व. चन्द्रप्रसाद न्यौपानेको स्मृति दिवस एवं ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै डा. भट्टराईले लोकतन्त्र नै मुल आधार भएको भन्दै एकअर्कालाई निषेध नगरी गुण सिकेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, 'लोकतन्त्र नै प्रमुख कुरा हो। उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एकअर्काका राम्रा गुणहरू सिक्दै, खराब गुण त्याग्दै अघि बढ्नुपर्छ।' पछिल्लो समय प्रतिगामी तत्वहरू सक्रिय हुन थालेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रहितलाई केन्द्रमा राख्दै सबै दलहरूबीच सहकार्य अपरिहार्य भएको बताए । डा. भट्टराईले आफू काँग्रेस र कम्युनिस्ट दुवै विचारधाराबाट सिकेर अगाडि बढेको व्यक्ति भएको स्पष्ट पारे । उनले २०३३ सालसम्म काँग्रेससँग निकटता राखेको, पछि कम्युनिस्टहरूसँग मिलेर गणतन्त्र स्थापनामा योगदान दिएको उल्लेख गरे । उनले थपे, 'म सामन्तवाद, निरङ्कुशता र राजतन्त्रविरोधी चेतना बोकेको मान्छे हुँ । म अलिकति काँग्रेस पनि हुँ, अलिकति कम्युनिस्ट पनि । दुवैको गुण लिएर अगाडि बढेको मान्छे हुँ ।' राजनीतिमा मूल्यमान्यता र निष्ठाको सट्टा व्यक्तिको तडकभडक र सम्पत्तिप्रतिको मोह बढेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
खाद्यवस्तु परीक्षण गर्न भारत जानुपर्ने बाध्यता हट्यो, नेपालका दुई प्रयोगशालाले पाए अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ । नेपालमा रहेका दुईवटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो । भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराए । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ । उनले भने, 'नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।' निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौं, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् । भारतले मान्यता दिएसँगै नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ । यसले नेपालबाट परीक्षण भई प्रमाणपत्र दिएर भारत निर्यात भएका समानहरूको पुनः भारतको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता नहुने उहाँले बताए । उनले नेपाली राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र लगिसकेपछि भारतको भन्सारले त्यसलाई प्रक्रिया पुराएर जारी गर्ने बताए । अन्तर्राष्ट्रिय पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने महानिर्देशक कर्णले बताउनु भयो । नेपाली खाद्यवस्तुहरू भारतमा पुगेर परीक्षण गरिसकेपछि उक्त खाद्यवस्तु न्यून गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने उनको भनाइ छ । विभागले यो एउटा सुखद् सुरुवात भएको बताउँदै व्यापारमा सहजीकरण र निर्यात बढ्ने विश्वास लिएको छ । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्ने र यो ठूलो उपलब्धि भएको विभागले जनाएको छ । विभागले अब व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडि नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने बताएको छ । विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्डको टोली नेपाल आएर मूल्याङ्कन गरेको थियो । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पुर्‍याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् ।
डेढ दशकपछि युनिटी ठगी प्रकरणमा सर्वोच्चको फैसला : सञ्चालकहरू दोषी ठहर, ठगिनेले पैसा पाउने
काठमाडौं । सर्वोच्च अदालतले झण्डै डेढ दशकअघि व्यापक चर्चा पाएको युनिटी नेटवर्किङ ठगी प्रकरणमा संलग्न सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिटीका सञ्चालकहरूलाई ठगी, कम्पनी ऐनको उल्लंघन, बीमा कारोबारको स्वीकृति नलिई संचालन गर्नु लगायतका अभियोगमा दोषी ठहर गरेको हो । फैसला अनुसार युनिटीका अध्यक्ष काशीराम गुरुङ र सञ्चालक भीमबहादुर गुरुङलाई साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । यस्तै, महाप्रवन्धक शिशिर योगी र निर्देशक विश्वनाथ गौतमलाई एक–एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अन्य सञ्चालकहरू इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी र विष्णुबहादुर क्षेत्रीलाई पनि साढे २ वर्ष कैद र समान जरिवाना गरिएको छ । विष्णुबहादुर क्षेत्रीको भने यसअघि नै निधन भइसकेको छ । सञ्चालकहरूले पिरामिड शैलीमा व्यापार सञ्चालन गरी करिब ३ लाख ६६ हजार सदस्यबाट ३ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेको, बीमाजस्ता स्किम सञ्चालन गरेको र त्यसबापतको रकम व्यक्तिगत खातामा राखेको भेटिएको हो । प्रहरीले २०६७ सालमा युनिटीको कार्यालयमा छापा मारी अनुसन्धान थालेको थियो । जिल्ला अदालत ललितपुरले २०७० मा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक करोडभन्दा बढी जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालत पाटनले सफाइ दिएपछि मुद्दा सर्वोच्च पुगेको थियो । अब सर्वोच्चको आदेशसँगै युनिटी ठगी प्रकरणले कानुनी टुंगो पाएको छ ।
‘आन्दोलनमय राजधानी : अस्तव्यस्त सडक, मारमा जनता’
काठमाडौं । पछिल्ला केही दिन यता संघीय राजधानी काठमाडौंका सडक अस्तव्यस्त छन् । कारण हो, आन्दोलन । पछिल्लो समय आन्दोलन र प्रदर्शनका कारण राजधानी शान्त बनेको छैन । राजधानीका अधिकांश क्षेत्रमा आन्दोलन चर्किंदा समेत सरकारले कुनै चासो दिएको छैन । आफ्ना गुनासो र मागसहित सडकमा उत्रिएकाहरुको समस्या समाधानमा सरकारले आवश्यक पहल नथाल्दा राज्य आफ्नो अभिभावकीय जिम्मेवारीबाट पन्छिएको आरोप कतिपयले लगाउने गरेका छन् । व्यवस्था बदलिएपनि अवस्था नबदिएको भन्दै आन्दोलनमा उत्रिएका पूर्वराजा समर्थकहरु हुन् वा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा होस् । राजनीतिक दलहरु हुन् वा सर्वसाधारण । संघीयता विरोधीहरु हुन् वा संघीयताका पक्षधर । शिक्षक हुन् वा विद्यार्थी । चिकित्सकहरु हुन् वा पत्रकारहरु हुन् । सहकारी पीडित हुन् वा भूमीपीडित हुन् । यतिबेला, सबै सडकमा छन् । गत चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरे । तीनकुनेमा भएको प्रदर्शनकै दिन दिन समाजवादी मोर्चाले काठमाडौंकै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्यो । उक्त प्रदर्शनपछि पनि राजधानीका सडकहरु आन्दोलनमै व्यस्त बनेका छन् । काठमाडौंमा विभिन्न पेशागत संघसंगठन, सहकारीपीडित, लघुवित्तपीडित विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रिएका हुन् । १४ दिनदेखि सडकमा शिक्षक विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरुले शुरु गरेको काठमाडौं केन्द्रित आन्दोलनको १४ औं दिन पुगिसकेको छ । चैत २० गतेदेखि काठमाडौंको माईतीघर मण्डलाबाट शुरु भएको आन्दोलन १३ दिनसम्म पनि जारी रहँदा पनि कुनै ठोस निष्कर्ष भने निस्किएको छैन । सरकारसँग दुई पटक वार्ता भएपनि कुनै निष्कर्ष ननिस्किएपछि शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले चासो नदेखाएको भन्दै शिक्षकहरुले गत चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई चर्काइरहेका छन् । उनीहरुले सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनलाई जारी राखेका हुन् । लाखौं शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासिन बनेको शिक्षकहरुको गुनासो छ । शिक्षकहरु नै विद्यालय छाडेर राजधानीमा आन्दोलनमा उत्रिँदा यसले मंगलवारदेखि शुरु भएको नयाँ शैक्षिक वर्षलाई नै प्रत्यक्ष असर पारिरहेको छ । संसदको नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरु विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ । शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासंघले चेतावनी दिँदै आएको छ । त्यसो त, गत वर्ष पनि यही मागसहित शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । तर, सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयनमा सरकारले चासो नदेखाएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । लघुवित्त र सहकारी पीडित सडकमै आफूले जम्मा गरेको वचत नै सञ्चालकले हिनामिना गरेर फरार भएपछि लघुवित्त र सहकारीबाट पीडितहरूले राजधानीको सडक छोडेका छैनन् । उनीहरु आफूहरूको रकम फिर्ता हुनुपर्ने लगायत माग राखेर सडक आन्दोलनमा छन् । तर सरकारले उनीहरुको वचत फिर्ताको लागि गम्भीरतापूर्वक काम गर्न नसकेको पीडितहरुको गुनासो छ । चिकित्सकहरु पनि आन्दोलनमै निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरु पनि यतिबेला सडकमै छन् । सरकारले नै निर्णय गरेको निर्वाहभत्ता पाउनुपर्ने मागसहित उनीहरु पनि सडक केन्द्रित आन्दोलनमन उत्रिएका हुन् । सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रूपैयाँ निर्वाहभत्ता दिने निर्णय गरेको थियो । तर उक्त निर्णय लागू नभएको उनीहरुको गुनासो छ । मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी पनि आन्दोलनमा उत्रिएका छन् । चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मीहरु मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आन्दोलनमा उत्रिएका हुन् । उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उनीहरु गुनासो गरेका छन् । कुलमानको बर्खास्तीको विरोध सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि उनका समर्थकहरुले पनि प्रदर्शन गर्दै आएका छन् । कुलमानलाई हटाएको भन्दै उनका समर्थकहरुले पुनर्बहालीको माग राखेर आन्दोलन गरिरहेका छन् । सरकारले प्रतिशोध राखेर कुलमानलाई हटाएको भन्दै समर्थकहरुले आपत्ति जनाएका छन् । खोला मापदण्ड खारेजीको माग गर्दै विरोध सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले गरेको विरोध प्रदर्शन पनि रोकिएको छैन् । जनतालाई उठिवास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर्नुपर्ने, जनताको सम्पत्तिको हक कायम गर्नुपर्ने र आइएसओ १६९ लागू गर्नुपर्ने जस्ता मागसहित बेलाबखतमा सडकबाटै सरकारको ध्यानाकर्षण गराइरहेका छन् । एकहप्ता अघि मात्रै बल्खुमा राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी ७ वैशाखदेखि निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने तयारीमा छ । उता, नेकपा एमालेले वैशाख ११ गते एक लाख युवालाई काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । केही दिनमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयता खारेजीको माग राखेर राष्ट्रिय जनमोर्चा आन्दोलन गरेको छ । गत चैत १५ गतेको राजावादी आन्दोलनमा तीनकुनेको एउटा घरमा लागेको आगोबाट ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै त्यसको स्वतन्त्र छानबिन समिति गठनको माग गर्दै पत्रकारहरू नै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले गरिखान नदिएको र आतंक मच्चाएको भन्दै कबाड व्यवसायीहरू पनि आन्दोलन रहँदा कृषि, उद्योग, पर्यटन, पूर्वाधार र रोजगारीको मुद्दा लिएर नेकपा (एकीकृत समाजवादी) पनि आन्दोलनमा छ । उता, पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले ‘जनयात्रा’ शुरु गरिसकेको छ । आफ्ना गुनासा र मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिन पाउनु हरेक नागरिकको अधिकार हो । तर पछिल्ला दिनमा विभिन्न मागसहित बढ्दो आन्दोलन र विरोध प्रदर्शनलाई शान्त पार्न सरकारले चासो नदिनु दुःखद् पक्ष हो । विभिन्न संघसंस्थाले उठाएका जायज मागहरुलाई सम्बोधन गरी सरकारले आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्छ ।
लुक्ला जाँदै गरेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा आकस्मिक अवतरण
काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि सुरक्षाका दृष्टिले काठमाडौंमा ल्याएर अवतरण गराइएको हो । उक्त घटनाका कारण त्रिभुवन विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द गर्नुपरेको थियो । हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा केहीबेर रोकिएको र पछि सुरक्षित रूपमा ट्याक्सी गराएर बाहिर निकालिएको जनाइएको छ । हाल जहाजको प्राविधिक जाँच भइरहेको विमानस्थल स्रोतले जनाएको छ । यात्रुहरू भने सकुशल रहेको बताइएको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै जहाजलाई समयमै सुरक्षित अवतरण गराइएकोले ठूलो दुर्घटना टरेको विमानस्थल अधिकारीहरूले बताएका छन् ।