विकासन्युज

बक्यौता रकम उठाउने तयारीमा प्राधिकरण, पुनरावलोकन शुल्क घटाएर ५ प्रतिशतमा पुर्याएपछि उद्योगी सहमत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीबाट डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम उठाउन तयारी गरिरहेको जनाएको छ ।  प्राधिकरणका अनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत शुक्रबार बक्यौता बाँकी रहेका उद्योगीलाई प्राधिकरणमा बोलाएर छलफल गरेका थिए । लामो समयदेखि विवादित हुँदै आएको यो विषयलाई टुङ्गो पुर्याउनुपर्ने हेतुले उद्योगीहरूसँग छलफल गरिएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए। उनले भने, ‘हामीले गत शुक्रबार उद्योगीहरूलाई छलफलका लागि बोलाएका थियौं । छलफलमा लामो समयदेखि बन्द बनेको यो विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भन्ने लाइनमा हामी प्राधिकरणको छौं । हामी यस विषयमा छलफलकै क्रममा छौं । ठोस निर्णय आएको छैन ।’  प्रवक्ता शिल्पकारले प्राधिकरणको बोर्ड बैठकले पुनरावलोकन शुल्क २५ प्रतिशत रहेकोमा घटाएर ५ प्रतिशतमा झारेपछि उद्योगीहरूले सहमतिको संकेत देखाएको बताए ।  छलफलमा विद्युत् सेवा नियमित र भरपर्दो गर्न एकातिरको आपूर्ति अवरुद्ध हुँदा अर्कोतिरबाट लाइन दिन मिल्ने व्यवस्था गर्न प्राधिकरण जुटिरहेको जनाइएको छ । प्रवक्ताले यसका लागि खर्च र समय दुवै चाहिने भएकाले तत्काल गर्न नसकिने बताए ।  उनले विगतका विषयमा बढी केन्द्रित नभएर यो विषयलाई प्राथमिकता राखेर अघि बढ्नुपर्नेमा जोड दिए । प्राधिकरण र उद्योगीहरूले यो विषयलाई जसरी पनि सल्टाउनुपर्ने उनको धारणा छ ।  के भन्छन् उद्योगी ? यता उद्योगीहरूले भने पहिलादेखि नै आफूहरूले कुनै गल्ती नगरेको दाबी गर्छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफूहरूले पहिले पनि गलत नगरेको र अझै पनि गलत नगर्ने दाबी गरे ।  उनले भने, ‘छलफलमै छौं, ठोस निर्णयमा पुगेका छैनौं । । हामीले त्यस्तो कुनै गल्ती पनि गरेका छैन । जति बेला पनि प्राधिकरणलाई सहयोग गर्न तयारी छौं । अब हामी छलफलमा भएको सहमतिअनुसार पुनरावलोकनमार्फत विवादको समाधान गरेर अघि बढ्छौं ।’  पूर्वअध्यक्ष मुरारकाले लाल आयोगको रिपोर्टका आधारमा आफुहरु सहमतिमा पुग्ने समेत जानकारी दिए ।  यसैगरी, नेपाल सिमेन्ट उत्पादक संघका रघुनन्दन मारुले मन्त्रिपरिषद्, संसद्को लेखासमिति, विद्युत् नियमन आयोग र लाल आयोगलगायत सबै निकायको निर्देशनको पालना गरी बाँकी रहेको बक्यौता रकम तिर्न तयार रहेको बताए ।  यस विषयमा प्राधिकरण पनि सकारात्मक देखिएको उनको भनाइ छ ।  उनले भने, ‘बक्यौताबापतको बाँकी रहेको रकम भुक्तान गर्न तयार छौं । गत शुक्रबार प्राधिकरणमा छलफल भएको छ । यसमा प्राधिकरणका निर्देशकज्यू र हामी सकारात्मक नै छौं । यो चाँडै नै टुङ्गोमा पुग्ने संकेत देखिएको छ ।’

समृद्धि फाइनान्सका सीईओ सन्तोष घिमिरेले गरे पदभार ग्रहण

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले पदभार ग्रहण गरेका छन् । मंगलबार अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथ ग्रहण गर्दै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । संस्थाको फागुन २८ गते बसेकाे सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । उनले यसअघि नेपाल राष्ट्र बैंकमा तीन दशक सेवा गरी अवकाश प्राप्त गरेका थिए । त्यस्तै, गोर्खाज फाइनान्स लिमिटेडमा पनि सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल राष्ट्र बैंकमै कार्यरत रहँदा समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुखको जिम्मेवारी पनि सम्हालेका घिमिरेसँग नियामक निकायदेखि वित्तीय संस्थासम्मको अनुभव छ । उनको अनुभव, नेतृत्व क्षमता र दूरदर्शिता समृद्धि फाइनान्सलाई आगामी दिनमा अझ सशक्त र स्थायीतर्फ उन्मुख गराउने संस्थाको विश्वास छ । संस्थाले आफ्नो वित्तीय सेवा विस्तार र व्यवसायीक समृद्धिका लागि घिमिरेको नियुक्तिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरेको छ ।  

भाटभटेनी तोडफोड प्रकरण : स्याउ र सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भाटभटेनी अगाडि भएको तोडफोडपछि पक्राउ परेका ८ जना व्यक्तिलाई हाजिरी जमानीमा छोडिएको छ । उनीहरू तोडफोडपछि भुइँमा छरिएका स्याउ, सुन्तला टिप्दै गरेको आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनीहरूलाई छुटाइएको हो । छुट्नेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् । प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छोडे पनि मुद्दा भने अगाडि बढ्ने जनाएको छ। सुरुवातमा ६ जनालाई छुटाइएको थियो भने पछि थप २ जना छुटाइएका हुन् । तीनकुने घटनाका क्रममा हालसम्म ८२ जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको छ । तीमध्ये ८ जना हाजिरी जमानीमा छन् भने ७४ जना प्रहरी हिरासतमा छन् । प्रहरीले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने कार्यप्रति कठोरताका साथ अनुसन्धान गरिने स्पष्ट पारेको छ ।

शिक्षक आन्दोलन १४ औं दिन पनि जारी, ऐन जारी नगरेसम्म सडक नछाड्ने चेतावनी

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले आन्दोलनको १४ औं दिन पनि आन्दोलन जारी राखेका छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार पनि माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरिरहेका छन्।  यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरूका माग छन् । उता सरकारले शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्नसक्ने निर्णय गरेर संसद्को बर्खे अधिवेशनबाट ऐन जारी गर्ने सरकारले जनाएको छ ।  यद्यपि सरकारबाट पटक—पटक धोका पाएको भन्दै शिक्षकहरूले तत्काल निर्णय नहुन्जेल र ऐन जारी नभएसम्म सडक नछाड्ने ढिपी कसेका छन् । सरकारले पटक–पटक शिक्षकहरुलाई झुक्याउने, अल्मल्याउने र धोका दिने काम गरेको कारण अब सरकारलाई विश्वास गर्ने वातावरण नरहेको उनीहरूको भनाइ छ ।  महासंघको सोमवार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने र कक्षा १० को उत्तरपुस्तिका समेत नजाँच्ने निर्णय गरेको बताइएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारलाई पटक पटक पत्याउँदा धोका भएको उल्लेख गर्दै अब काममा मात्र विश्वास गर्न सकिने बताए । यो आन्दोलनले नै शिक्षा ऐन जारी गर्ने विषयमा निष्कर्स निकाल्ने उनको विश्वास छ । उनले आफूहरूसँग तीन वटा मात्र उपाय बाँकी रहेको र ती सबै उपाय आन्दोलन गर्नु नै रहेको जिकिर गरे । उनले सरकारले बजेट अधिवेशन बोलाएर ऐन जारी गरेको अवस्थामा मात्र आफूहरू घर फर्किने बताए । उनले भने, ‘अब सरकारको बोलीमा पत्यार गर्दैनौं, काममा मात्र पत्यार गर्छौं । व्यवस्था परिवर्तनका निष्कर्ष त आन्दोलनले निकालेको छ भने एउटा ऐन जारी गर्ने निष्कर्ष आन्दोलनले निस्किँदैन ? हामीसँग तीनवटा उपाय छन् । पहिलो पनि आन्दोलन । दोस्रो पनि आन्दोलन । र तेस्रो पनि आन्दोलन । अनि सरकारसँग पनि तीन वटा उपाय छन् । सबै उपाय भनेको ऐन जारी गर्ने नै हो । सरकारले बर्खे अधिवेशन बोलाएर पहिलो दिन नै ऐन जारी गरिदियोस् हामी घर फर्किन्छौं ।’ आन्दोलनमा सहभागि धादिङका शिक्षक प्रमोदराज अधिकारीले सरकारले मन्त्रिपरिषदबाट गर्ने निर्णयमा समेत आलटाल गरेको बताए । अधिकारीले शिक्षा ऐन निर्माणको वातावरण नबनेसम्म सड्क नछोड्ने अडान लिए । धनकुटाबाट आन्दोलनमै आउनु भएका शिक्षक चन्द्र बडालले आफूहरु वार कि पारको लडाइँमा रहेको बताए । उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता कार्यान्वयनमा कुनै चासो नदेखाएको कारण वार्ता नगएको बताए ।  उनले सरकारले विश्वासको वातावरण बनाउन नसक्ने उल्लेख गर्दै ऐन जारी नभएसम्म सडक नछोड्ने बताए । शिक्षक आनन्दराम खनालले सरकारले नै शिक्षकहरुका माग सम्बोधन नगरेर राज्यको शिक्षा प्रणालीमाथि नै कुठाराघात गरेको आरोप लगाए । उनले नेपालको शैक्षिक क्षेत्र सुधार र गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि अन्तिम संघर्ष गरिरहेको बताए । सरकारले विगतका सम्झौताका आधारमा ऐन जारी गरेपछि संशोधन हाल्न सडकमा उत्रिनुपर्ने अवस्थामा पनि ऐनको माग गर्दै आन्दोलनमा रहनु सरकारको लागि लज्जाजनक विषय भएको शिक्षक पवनराज दाहालले बताए । उनले सरकार शिक्षाबाट भाग्न खोजेको आरोप लगाए । शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासंघले यसअघि नै बताइसकेको छ । गत वर्ष पनि यही माग राखेर शिक्षकहरूले आन्दोलन गरेका थिए । आन्दोलनपश्चात २०८० साल चैत २० गते माग सम्बोधन गर्नेगरी सरकारसँग सहमति भएको थियो । तर सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयन गर्न सरकारले कुनै संकेत नदेखाएपछि शिक्षकहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।  १४ दिनेदखि जारी आन्दोलनको सम्बोधन तथा शिक्षकहरुको माग पूरा गरी शिक्षकहरुलाई तत्काल विद्यालय फर्काउनुपर्ने दबाबमा सरकार रहेको छ भने नयाँ शैक्षिक सत्र शुरु भएसँगै शैक्षिक हड्ताल फिर्ता लिएर विद्यालय सुचारु गर्न शिक्षकहरुलाई पनि नैतिक दबाब परेको छ । 

बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर

खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ  । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं ।  झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें ।  मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ  । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने ।  उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ?  श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो ।  छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन्  । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् ।  कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो ।        छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ ।  ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्‌नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’  म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्‌नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्‌नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् ।  सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो ।  यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्‌न मन लागेको छ मलाई ।’   मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’

सरकारप्रति गगनको तीव्र असन्तुष्टि, देउवा भने मौन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगातार सरकारप्रति आक्रोशित देखिँदा सभापति शेरबहादुर देउवा भने मौन बसिरहेका छन् । सरकार गठन भएको नौ महिना पुग्न लाग्दा पनि कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै थापा लगातार आलोचनामा उत्रिँदै आएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले दुई ठूला दलको सहकार्यमा बनेको सरकारले अपेक्षाअनुसार काम नगरेको आरोप लगाए । संविधान संशोधनदेखि विकास निर्माणसम्मको विषयमा सरकार निष्क्रिय रहेको उनको भनाइ थियो । महामन्त्री थापाले सरकार सञ्चालनमा विचौलियाहरूको हस्तक्षेप भएको भन्दै 'विचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको' टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन् । निजी क्षेत्र र विचौलिया फरक भए पनि तिनको प्रभावले अर्थतन्त्रमा समस्या उत्पन्न भएको उनको तर्क छ । थापाले सरकारद्वारा गठित संयन्त्रको सुझावसम्म कार्यान्वयन नगरेको गुनासो गर्दै, 'बिँड तातेर केही नहुँदो रहेछ, ताप्केपनि तात्नुपर्ने रहेछ,' भनेर कटाक्ष गरेका थिए । नेपाली विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक हटाउने निर्णय, प्रधानमन्त्रीको कार्यक्रमप्रतिको मोह र शिक्षक आन्दोलनप्रति सरकारको बेवास्ताले पनि उनी असन्तुष्ट भएको जनाएका छन् । थापाले आफूलाई अहिलेको प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्ने क्षमता भएको दाबी गर्दै, प्रधानमन्त्रीमा नियुक्त भए आजै देखाएर छाड्ने विश्वास व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध अख्तियार वा विशेष आयोगमार्फत गहिरो छानबिन गर्नुपर्ने धारणा राख्दै २०८४ भित्रमा भ्रष्टाचारमुक्त नेपाल बनाउने लक्ष्य उनले राखेका छन् । तर, सभापति देउवा भने सरकारको कार्यशैलीबाट सन्तुष्ट देखिन्छन् । प्रधानमन्त्री ओलीसँगको पुरानो मित्रताको कारण उनले सरकारलाई पूर्ण समर्थन जनाइरहेका छन् । यसले थापाको आलोचना पार्टीभित्रै सीमित बन्न पुगेको देखिन्छ ।

बबई नदीमा अवैध मोटरबोट सञ्चालन,  रोक लगाउन प्रशासनको आदेश

काठमाडौं । दाङको बबई नदीमा अवैध रूपमा बाँध निर्माण गरी पानीको बहाव रोक्दै मोटरबोट सञ्चालन गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार एक आदेश जारी गर्दै उक्त गैरकानुनी गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार पर्यटन विभागमा व्यवसाय दर्ता नगरी मोटरबोट चलाइएको, नदीको प्राकृतिक बहाव अवरुद्ध गरिएको, र बोट हेर्न पुलमा भीड जम्मा हुँदा सार्वजनिक सुरक्षामा जोखिम बढेको देखिएकाले यो कदम चालिएको हो । प्रशासनले कानुन र आवश्यक अनुमति नपाउञ्जेल यस्ता गतिविधि नगर्न चेतावनी दिँदै अवज्ञा भए कानुनी कारवाही हुने जनाएको छ ।

ट्यारिफ युद्धको बीचमा चीनलाई खुसीको खबर, निर्यातमा १२.४ प्रतिशत वृद्धि, आयातमा गिरावट

काठमाडौं । चीनको निर्यातमा मार्च महिनामा वार्षिक आधारमा १२.४ प्रतिशतको वृद्धि भएको छ । त्यही समयमा आयातमा ४.३ प्रतिशतको गिरावट आएको छ । अमेरिकाले चीनबाट आयात गरिने वस्तुहरूमा शुल्क वृद्धि गरेसँगै सरकारले यो जानकारी दिएको हो । विश्वको दोस्रो ठूलो अर्थव्यवस्था चीनको निर्यात सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च) मा वार्षिक आधारमा ५.८ प्रतिशतले बढेको छ भने आयातमा ७ प्रतिशतको गिरावट आएको छ ।  चीनको अमेरिकासँगको व्यापार नाफा मार्च महिनामा २७.६ अर्ब डलर रह्यो, जहाँ निर्यातमा ४.५ प्रतिशतको वृद्धि देखियो । वर्षको पहिलो त्रैमासिकमा (जनवरी–मार्च) अमेरिका र चीनबीचको व्यापार सरप्लस (निर्यातको मूल्य आयातको मूल्यभन्दा बढी भएको अवस्था) ७६.६ अर्ब डलर रहेको छ । चीनमाथि भारी ट्यारिफ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै संशोधित व्यापार नीतिअनुसार चीनले अमेरिका पठाउने अधिकांश निर्यातमा १४५ प्रतिशतसम्मको शुल्क भोगिरहेको छ । यद्यपि निर्यातमा सबैभन्दा बढी वृद्धि चीनका दक्षिण-पूर्वी एसियाली छिमेकी देशहरूतर्फ भएको देखिन्छ, जहाँ मार्चमा चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको छ । अफ्रिकातर्फको निर्यात पनि ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चीनको सीमा शुल्क प्रशासनका प्रवक्ता ल्यू डालियाङले भने, 'चीनले जटिल र गम्भीर परिस्थितिको सामना गरिरहेको छ, तर घुँडा टेक्ने छैन ।'  उनले चीनका विविध निर्यात विकल्पहरू र विशाल घरेलु बजारतर्फ इशारा गर्दै यो कुरा बताएका हुन् । जब उनीसँग चिनियाँ आयात घटेकोबारे सोधियो तब उनले भने, 'चीन लगातार १६ वर्षदेखि विश्वको दोस्रो ठूलो आयातकर्ता रहँदै आएको छ, जसले विश्व आयातमा आफ्नो हिस्सा करिब ८ प्रतिशतबाट बढाएर १०.५ प्रतिशत पुर्‍याएको छ ।’  'वर्तमान र भविष्यमा चीनको आयात वृद्धि क्षेत्र निकै ठूलो छ र विशाल चिनियाँ बजार सधैं विश्वका लागि ठूलो अवसर हो,’ल्यू डालियाङले थपे । शी भियतनामको यात्रा गर्दै चीनका राष्ट्रपति सी जिनपिङ सोमबार क्षेत्रीय दौरा अन्तर्गत भियतनामको भ्रमणमा जाँदै छन् । उनी मलेसिया र कम्बोडिया पनि जाने कार्यक्रम छ । यसबाट उनलाई एसियाली देशहरूसँग व्यापार सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ । यद्यपि अमेरिकाले यस निर्णयलाई गत हप्ता ९० दिनको लागि ट्यारिफ स्थगित गरिसकेको छ। भियतनाममा गत महिना चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको थियो, जबकि आयातमा २.७ प्रतिशतको गिरावट देखिएको थियो । यद्यपि  सी जिनपिङको यात्रा पहिलेदेखि नै तय गरिएको थियो, तर अमेरिका र चीनबीचको व्यापार युद्धको सन्दर्भमा यो यात्रा अझै महत्त्वपूर्ण बन्न पुगेको छ ।