विकासन्युज

पूर्वीनाकाबाट १८ अर्ब ६२ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा धेरै चिया

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त ९ महिनाको अवधिमा सबैभन्दा धेरै चिया ८ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ, अलैंची ५ अर्ब ६३ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा २७ करोड २१ लाख रुपैयाँ, अम्लिसो ८७ करोड २१ लाख रुपैयाँ, बन्दा ८ करोड १७ लाख रुपैयाँ, जडिबुटी ४ करोड ५८ लाख रुपैयाँ, मुसुरो दाल ४ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट २ अर्ब ७० करोड ६८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कृषि जन्य मालबस्तु आयात भएको छ ।  आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।  क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १४ करोड ४५ लाख ७६ हजार रुपैयाँ, चामल ६ करोड १ लाख रुपैयाँ, ताजा तरकारी ३४ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । यसैगरी ताजा फलफुल ३१ करोड ८० लाख रुपैयाँ, लसुन ६३ करोड ८० लाख रुपैयाँ, आलु ३६ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

१९ लाख भ्रष्टाचार अभियोगमा ग्रामीण विकास लघुवित्तका अधिकारी विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध ८० लाख ५२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ वैशाख २४ गते फैसला गरेको थियो  । सो फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । यस्तै, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल समेतका प्रतिवादी विरुद्ध आयोगले २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ जेठ २० गते फैसला गरेको थियो । आयोगले ३८ लाख ७६ हजार २७० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा महावै गाउँपालिका कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेतका प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८१ भदौ एक गते फैसला गरेको थियो । त्यस्तै, आयोगले शैल्यशिखर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट समेतका प्रतिवादी २६ लाख २ हजार ५५६ रुपैयाँ बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८० फागुन २२ गते फैसला गरेको थियो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध १९ लाख २ हजार २३७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८१ असोज ६ गते फैसला गरेको थियो । विशेषले गरेको फैसला विरुद्ध आयोगले छुट्टा छुट्टै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

२ घण्टा लाग्ने सडक कालोपत्रपछि १५ मिनेटमा छोटियो

काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ ।  घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न २ घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताए ।  उनले भने, ‘सडक कच्ची हुँदा धुलो र हिलोले हैरानी थियो । सडक कालोपत्र भएसँगै सहज रूपमा आवतजावत गर्न पाएका छौँ ।’  सडक कालोपत्र भएसँगै घिरिङ गाउँपालिका-४ र १ का वासिन्दालाई आवतजावत गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । घिरिङ गाउँपालिका-१ को पुट्टार, अत्रौली र बैडीलगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांशले कालोपत्र सडक प्रयोग गर्ने गरेका छन् ।  उक्त सडक कालोपत्र गर्न विसं २०७६ फागुनमा ठेक्का लागेको थियो । सडक कालोपत्रका ठेक्का पाएको सपना निर्माण सेवाले उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ ।  उक्त सडकमा ट्रयाक खुलेको ३० वर्ष भयो । विसं २०५१ सालमा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्र भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ रुपैयाँ लागतमा उक्त मार्गको स्तरोन्नतिको काम अगाडि बढेको थियो । ३५ करोड १४ लाख ७४ हजार १०९ रुपैया लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो । यो बाटो कालोपत्र भएपछि पोखरादेखि मुग्लिन हुँदै नवलपुर जाने यात्रुले तनहुँको भिमाद हुँदै नवलपुर निस्कन छोटो बाटो प्रयोग गर्न सक्नेछन् । नवलपुरतर्फ बौदीकाली झ्यालबास १४.१ किलोमिटर कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप ७ किलामिटर कालोपत्र गर्न बहु वर्षीय ठेक्काको प्रक्रिया अगाडि बढेको छ । झ्यालबासबाट चोरमारासम्म ९ किलोमिटर सडक निर्माण भइसकेको छ । 

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

काठमाडौं । नेपालगञ्ज उप-महानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए । ‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उप-महानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ,’ उनले भने ।  नगर प्रमुख विष्टले आनन्द नगर टोलमा नेपालगञ्ज-९ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । उनले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।  नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए । चालु आर्थिक वर्षमा वडाको २५ लाख रुपैयाँ बजेट र बाँकी नेपालगन्ज उप-महानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए । भवन निर्माणको लागि ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनको भनाइ छ ।  वडासचिव तेज बहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका-४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

यी तीन प्रदेशमा भारी वर्षा हुने, सडक र हवाई यातायातमा प्रभाव पर्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नदी सभ्यताको रक्षा गर्न १३ करोडमा बोतल प्रशोधन उद्योग स्थापना, रिसाइक्लिङबाट कपडा र झोला बनाउने

काठमाडौं । प्लास्टिकका विभिन्न फोहरले देशभरका नदी फोहर भइरहेका बेला नदी सभ्यताको रक्षार्थ बोतल प्रशोधन गर्ने उद्योग स्थापना गरिएको छ । विश्व बैंकको सहयोग र संयुक्त राष्ट्र सङ्घीय खरिद सचिवालय (युनोप्स) तथा दक्षिण एसियाली वातावरण सहकार्य (सकेप) को कार्यान्वयनमा ‘सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल (क्रियसन)’ले भरतपुर महानगरपालिका-४ जगन्नाथ चोकमा करिब १३ करोड रुपैयाँको लागतमा उद्योग निर्माण गरेको हो । उद्योगको आज उद्घाटन गरिएको छ । चीनबाट ल्याएको अत्याधुनिक यन्त्र जडान गरेर स्थापना भएको उद्योगले प्लाष्टिकका बोतललाई ‘रिसाइक्लिङ’ गरी कच्चा पदार्थ बनाएर बिक्री गर्ने क्रियसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले जानकारी दिए । उद्योगले अहिले प्लास्टिकको चिउरा र दाना बनाएर बजारमा बिक्री सुरु गरेको छ । भविष्यमा ‘रिसाइक्लिङ’ गरिएको प्लास्टिकबाट कपडा र झोला बनाउने लक्ष्य रहेको उनको भनाइ छ । नदी सफा गर्ने यो अभियानमा चितवनका युवा र सामुदायिक विद्यालयका विद्यार्थीको पनि योगदान रहेको छ । उक्त अभियानमा १२ सामुदायिक विद्यालयका विद्यार्थी ‘बेष्ट स्मार्ट क्लब’ खोलेर चेतना मूलक अभियानमा सक्रिय भएका छन् । यो उद्योगमा ३५ युवाले रोजगारी पाएका छन् । निजी कम्पनी र अनौपचारिक क्षेत्रका श्रमिकबाट बोतल किनेर उद्योगले काम गरिरहेको छ । उद्योग उद्घाटन समारोहमा समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले दिगो विकास लक्ष्य पूरा गर्न नदी एवं सार्वजनिक स्थलमा फालिने प्लास्टिकजन्य फोहरलाई व्यवस्थापन गर्नुपर्ने बताए । नेपालको संविधान एवं कानुन बमोजिम फोहर व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले नदी सभ्यताको संरक्षणका लागि यस्ता योजनालाई निरन्तर सहयोग जारी रहने बताए ।  वातावरण विभागका दीपक ज्ञवालीले नेपालमा प्लास्टिकबाट बनेका फोहर व्यवस्थापन समस्या बन्दै गइरहेका बेला फोहरलाई मोहरमा बदल्ने गरी अभियान सुरु भएकामा सबैको सहयोग आवश्यक भएको बताए । सकेफका महानिर्देशक नोर्बु वाङ्चुकले प्लास्टिकका बोतल ‘रिसाइक्लिङ’ गरी बागमतीलगायत नेपालका नदीमा पुनः स्नान गर्न सकिने आशा पलाएको बताए ।  नेपाली चलचित्रका नायक दयाहाङ राईले जल, जङ्गल र जमिनमा बस्ने सबैलाई बाँच्ने अधिकार रहेको उल्लेख गर्दै मानिस चेतनशील प्राणी भएर पनि वातावरण बिगार्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। विश्व बैंकका समूह संयोजक जासेफले प्लास्टिकका बोतलका कारण दक्षिण एसिया नै समस्यामा परेकाले यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

वैध बाटोबाट मालवस्तु ल्याउन भन्सार महसुल समायोजन र बेष्ट ट्रिटमेन्ट प्लान्टको माग

काठमाडौं । वीरगन्जका उद्योगी-व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा नीति कार्यक्रममा उद्योग र व्यवसायी मैत्री नीति अवलम्बन गरिनुपर्ने सुझाव दिएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बाराको सिमरामा आज आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशप्रसाद घिमिरेलाई आगामी आवको बजेटमा समावेश गर्नुपर्ने २३ बुँदे सुझाव हस्तान्तरण गर्दै उद्योग, व्यवसाय सञ्चालन र स्थापनाको प्रक्रिया सरल र सहज हुनुपर्ने बताए । ‘अहिले पनि उद्योग, व्यवसाय सञ्चालन र स्थापनामा विभिन्न थरीका ऐन र प्रशासनिक जटिलताले बोझिलो बनाएको छ,’ अध्यक्ष गौतमले भने, ‘खुला र उदार अर्थतन्त्रको मान्यताअनुरुप उद्योग, व्यवसाय, सञ्चालन र स्थापनाका लागि राज्यस्तरबाट न्यूनतम् कागजी प्रक्रिया र एकद्वार प्रणाली माध्यम सहज बनाइनुपर्नेमा सो हुन नसकेको देखिन्छ । एकद्वार प्रणालीलाई एकीकृत अनुमति प्रणालीमार्फत व्यवस्थित गर्न आवश्यक भइसकेको छ ।’  अध्यक्ष गौतमले सङ्घले फिर्ता पाउनुपर्ने मूल्य अभिवृद्धि करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने सुझाव दिए ।  ‘करदाताले मूल्य अभिवृद्धि करबापत फिर्ता पाउनुपर्ने रकमलाई अग्रिम आयकर, अन्तःशुल्क तथा अन्य करसँग मिलान गर्ने सुविधा हुनुपर्ने टड्कारो खाँचो रहेको छ । अतः मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी अत्यावश्यक उपभोग्य वस्तुमा कम दरको मूल्य अभिवृद्धि कर लागू गरिनुपर्दछ,’ उनले भने ।  सङ्घले सरकारसँग भारतीय ‘गुड्स एन्ड सर्भिस ट्याक्स’ (जिएसटी)को सापेक्ष भन्सार महसुल निर्धारण गर्न पनि माग गरेको छ ।  ‘विगतका केही वर्षदेखि भारतबाट आयात हुने वस्तुमध्ये धेरैजसो मालसामान वैध बाटोबाट नभएर अवैध बाटोबाट आउने गरेको देखिएको छ,’ सङ्घको सुझावमा भनिएको छ, ‘यस पछाडिका कारणमध्ये हाम्रो भन्सार महसुल, दरबन्दी पनि एक हो । अवैध बाटो भएर आउने माल वस्तुलाई वैध बाटोबाट ल्याउनका लागि भारत सरकारको जिएसटीको सापेक्षमा हाम्रोतर्फको भन्सार महसुल (भन्सार, भ्याट र अन्तःशुल्क लाग्नेमा अन्तःशुल्कसमेत जोडेर) समायोजन गर्न आवश्यक छ ।’ सङ्घले उधारो कारोबार कानुन सम्बन्धमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगबाट सिफारिस भएको मस्यौदा विधेयक मन्त्रिपरिषदमा राजनीतिक समितिमा रहेकाले पनि त्यसलाई पास गरी विधेयकका रूपमा संसद्मा पेस गरी फास्ट ट्रयाकबाट कानुन बनाउनुपर्ने सुझाव दिएको छ ।  वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका बीच रहेको सिर्सिया नदीलाई प्रदूषणसहित बनाउन बेष्ट ट्रिटमेन्ट प्लान्टको स्थापनाका लागि माग गरेका छन् ।

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन, सही नीति र नेतृत्वबाट सञ्चालित हुन्छः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै मजबुत र लोकप्रिय शक्तिका रूपमा स्थापित गर्दै जाने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताए ।  उनले भने, ‘हामी देश र जनताका पक्षमा काम गरेर स्थापित हुने हो, भ्रम पालेर होइन । अहिलेको अवस्थामा आत्तिनुपर्ने होइन ।’  अध्यक्ष ओलीले मिसन २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।  एमाले हुलबाट निर्देशित हुने पार्टी नभई सही नीति र नेतृत्वबाट सञ्चालित हुने उनले बताए । एमालेले लिएको नीति सही भएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय नीति नै यही आधारमा तय हुने गरेको धारणा राखे ।