९ महिनामा काठमाडौं महागनरको आम्दानी ७ अर्ब १६ करोड, अधिकांश शीर्षकमा खुम्चियो
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म्को अवधिमा काठमाडौं महानगरपालिकाको आम्दानी ९ प्रतिशतले बढेको छ । महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा महानगरको आम्दानी ९.२० प्रतिशतले बढेको हो । चालु आवको चैत्रसम्ममा महाननगरले कुल ७ अर्ब १६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यही अवधिमा महानगरले ६ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चैत्र महिनामा मात्रै महानगरले ८९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९३ प्रतिशतले बढी हो । आव २०८१/८२ मा महानगरले १२ अर्ब ९० करोड ६३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । काठमाडौं महानगरले तीन शीर्षकमा आम्दानी गर्दै आइरहेको छ । महानगरले आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी तीन शीर्षकमा आम्दानी गर्दै आएको हो । तथ्यांकअनुसार यस अवधिमा महानगरले आन्तरिक राजश्व शीर्षकमा ४ अर्ब २५ करोड ६७ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको तुलनामा न्यून वृद्धि अर्थात ३.९९ प्रतिशतले वृद्धि हो । बाँडफाँट प्राप्त राजश्वबाट महानगरले गत आवको तुलनामा ५६.९० प्रतिशतले वृद्धि गरेको छ । गत आवमा यस शीर्षकबाट ९७ करोड ८८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा महानगरलाई प्राप्त हुने आन्तरिक अनुदानसमेत घटेको छ । गत आवको तुलनामा चालु आवको ९ महिनामा आन्तरिक अनुदान ७.८७ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ प्राप्त गरेको छ । गत आवमा महानगरले १ अर्ब ४९ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो । घरबहाल करबाट २ अर्बभन्दा बढी आम्दानी महानगरले सबैभन्दा बढी घरबहाल करबाट आम्दानी गरेको छ । चालु आवको ९ महिनामा महानगरले घरबहालबाट २ अर्ब ९ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले बढी हो । गत आवको ९ महिनामा महानगरले १ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चैत्र महिनामा मात्रै यो शीर्षकबाट १६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । ९ महिनाको अवधिमा महानगरले सम्पति करबाट ९४ करोड ४५ लाख ७६ हजार रुपैयाँ उठाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.७६ प्रतिशतले बढी हो । यस अवधिमा पर्यटन शुल्क गत आवको भन्दा ११.९२ प्रतिशतले बढेको छ । महानगरका अनुसार यस शीर्षकमा १५ करोड १३ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । महानगरको बेरुजु भने २९.६६ प्रतिशतले बढेको छ । गत वर्ष १ करोड ८० लाख १० हजार रुपैयाँमा रहेको बेरुजु यो वर्ष २ करोड ३३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत १९ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार शिक्षा क्षेत्रको आम्दानी १८.३६ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा महानगरले यस शीर्षकबाट ५४ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक, घरजग्गा घरजग्गा रजिस्ट्रेसन दस्तुर १३६.६३ प्रतिशतले बढेको छ । उक्त शीर्षकबाट चालु आवको ९ महिनामा महानगरले १ अर्ब ५ करोड ३ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर १४.१२ प्रतिशतले बढेर ७ करोड २२ लाख ७० हजार रुपैयाँ संकलन भएकाो तथ्यांक छ । बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क गत वर्षको तुलनामा १४.१२ प्रतिशतले बढेको छ । नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालु ५६.३२ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा उक्त शीर्षकमा महानगरलाई ७९ लाख ३० हजार रकम प्राप्त भएको छ । नेपाल सरकार सशर्त अनुदान पुँजीगत २६५.५१ प्रतिशतले बढेको महानगरको तथ्यांक छ । यी शीर्षकमा घट्यो आम्दानी अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा महानगरको आम्दानी ८६.५७ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको महानगरले चालु आवको यही अवधिमा ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, नक्सापास दस्तुरमा पनि महानगरको आम्दानी ४० प्रतिशतले खुम्चिएको छ । गत आवको यही अवधिमा ४९ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा २९ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको महानगरको तथ्यांक छ । चैत्र मसान्तसम्मको तथ्यांकअनुसार महानगरले उठाउँदै आएको अन्य बिक्रीबाट प्राप्त रकम ५१ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा १ करोड २७ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा ६२ करोड ४० हजार रुपैयाँ मात्रै आम्दानी गरेको हो । यसपछि नाता प्रमाणित दस्तुर ९.५२ प्रतिशतले घटेको छ । बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर २३.९१ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रोयल्टी ३९.४३ प्रतिशत, त्यस्तै नेपाल सरकार समानीकरण अनुदान ३३.८३ प्रतिशत घटेको छ । प्रदेश समानीकरण अनुदान ४५.९७ प्रतिशतले घटेको छ । प्रदेश शसर्त अनुदान पुँजीगत ७.८८, अन्य व्यक्तिगत आन्तारिक अनुदान २८.७० प्रतिशतले घटेको छ । यी शीर्षकमा महानगरको शून्य आम्दानी महानगरले उठाउँदै आएको पार्किङ शुल्क १०० प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा महानगरले पार्किङ शुल्कबाट १ करोड २१ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चालु आर्थिक वर्षबाट महानगरभित्रका सार्वजनिक स्थानमा पार्किङ गर्दा निःशुल्क बनाएसँगै यस शीर्षकमा आम्दानी नभएको महानगरलले जनाएको छ । त्यस्तै, बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर र विज्ञापन करबाट पनि महानगरले ९ महिनामा शून्य आम्दानी गरेको छ ।
कर्जाको ब्याज साढे २६ प्रतिशत घट्यो, कुन बैंकबाट ऋण लिँदा सस्तो छ ?
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६ प्रतिशतले घटेको देखिन्छ । सार्वजनिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसत २६.७२ प्रतिशत अर्थात् २.३१ प्रतिशत बिन्दु घटेसँगै कर्जाको ब्याजदर पनि सोही अनुसार घटेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा बैंकहरूको आधार दर औसत ६.३५ प्रतिशत बिन्दुमा झरेको देखिन्छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आधार दर औसत ८.६६ प्रतिशत बिन्दुमा थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घटेपछि बैंकहरूको आधार दर घट्न पुगेको हो । बैंकहरूको आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्न पुग्छ । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत साढे २६ प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुने गर्दछ । समीक्षा अवधिमा सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । चैतसम्म यस बैंकको आधार दर ५.०२ प्रतिशत बिन्दुमा छ । जबकि गत वर्षको चैतमा आधार दर ७.३१ प्रतिशत बिन्दुमा थियो । गत वर्षको तुलनामा बैंकको आधार दर ३१.३२ प्रतिशत घटेको हो । तर, सबैभन्दा धेरै घटेको भने एभरेष्ट बैंकको रहेको छ । यस बैंकको आधार दर ३२.९६ प्रतिशत घटेर ५.४५ प्रतिशत बिन्दुमा झरेको छ । गत वर्षको चैतमा यस बैंकको आधार दर ८.१३ प्रतिशत थियो । यसअवधिमा हिमालयन बैंकको ३०.८९ प्रतिशत घटेर ६.८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको २९.८३ प्रतिशत घटेर ६.०९ प्रतिशत बिन्दु, कुमारी बैंकको २९.५९ प्रतिशत घटेर ६.७८ प्रतिशत बिन्दु, एनएमबि बैंकको २९.०७ प्रतिशत घटेर ६.४९ प्रतिशत बिन्दुमा आधार दर झरेको छ । यस्तै, नबिल बैंकको २८.५८ प्रतिशत घटेर ५.९७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको २८.४० प्रतिशत घटेर ६.१ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको २७.८२ प्रतिशत घटेर ६.३८ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको २६.९९ प्रतिशत घटेर ७.१४ प्रतिशत बिन्दुमा आधार दर कायम छ । प्राइम बैंकको २६.४२ प्रतिशत घटेर ६.८२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २६.३६ प्रतिशत घटेर ६.६२ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको २६.३१ प्रतिशत घटेर ६.७२ प्रतिशत बिन्दु, नेपाल बैंकको २५.४० प्रतिशत घटेर ५.९६ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २४.८० प्रतिशत घटेर ६.७३ प्रतिशत बिन्दुमा झरेको छ । सिद्धार्थ बैंकको २३.९९ प्रतिशत घटेर ६.४३ प्रतिशत बिन्दु, सानिमा बैंकको २२.९९ प्रतिशत घटेर ६.४३ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २२.०५ प्रतिशत घटेर ५.०९ प्रतिशत बिन्दु, प्रभु बैंकको २०.६३ प्रतिशत घटेर ६.७३ प्रतिशत बिन्दु र एनआईसी एशिया बैंकको १८.७३ प्रतिशत घटेर ७.२ प्रतिशत बिन्दुमा आधार दर कायम छ । बैंकको आधार दर घट्दा ऋणको ब्याजदर घट्न गई लगानी बढ्ने बैंकरहरू बताउँछन् । बैंकहरूले आधार दरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने भएकाले कर्जा पनि सस्तो हुने गर्छ । साथै, यदि ऋण फ्लोटिङ रेटमा छ भने आधार दर घटेपछि ऋणको ब्याजदर पनि घट्ने बैंकरहरु बताउँछन् । तर, ब्याजदर सस्तो हुँदा बैंकको आम्दानी भने घट्ने उनीहरुको तर्क छ । बैंकको ब्याजदर एकल अंकमा पनि न्यून दरमा झरेकाले ऋण लिन बैंकरहरूले आग्रह गरिरहेका छन् ।
एसएमएल इसुजुको एकमात्र बिक्रेता बन्यो लक्ष्मी ग्रुप, स्पेयर पार्ट्सको उपलब्धता देशैभर सुनिश्चित गर्ने
काठमाडौं । जापानी प्रविधिमा आधारित तथा भारतमा उत्पादित बस तथा ट्रक निर्माण कम्पनी एसएमएल इसुजुले नेपालको लागि लक्ष्मी ग्रुपलाई आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । नेपालको भूगोल र बजारका लागि उपयुक्त मानिने एसएमएल इसुजुका सवारी साधन विगत लामो समयदेखि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन् । आधिकारिक बिक्रेता बनेसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले बजार विस्तार र सुदृढीकरणमा आक्रामक ढंगले अघि बढ्ने जनाएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एसएमएल इसुजुका सवारी साधनहरू बिक्री गर्दै आएको छ । हाल सातै प्रदेशमा यसको सेल्स तथा सर्भिस नेटवर्क विस्तार भइसकेको र आगामी दिनमा अझै व्यापक बनाइने योजना रहेको कम्पनीका सेल्स हेड सञ्जय खड्काले जानकारी दिए । उनका अनुसार ग्राहकहरूको सहजताका लागि देशभर स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता गराउने प्रतिबद्धता कम्पनीले लिएको छ । 'हामीले देखाएको समर्पण, प्रतिबद्धता र मेहनतलाई मध्यनजर गर्दै एसएमएल इसुजुले हामीलाई एकमात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो,' खड्काले बताए । एसएमएल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्पर, स्कुल बस तथा स्टाफ बस लगायत विभिन्न क्षमताका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समयदेखि अग्रणी स्थान ओगटिरहेको कम्पनीले जनाएको छ ।
कक्षा १२ को परीक्षा नसर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने भएको हो । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि कक्षा १२ को परीक्षा निर्धारित मितिमा नहुने आशंका कतिपयले गरेका थिए । तर, आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले देशभरका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई तोकिएको मितिमै परीक्षा सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली लागू
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् । अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमा
काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको प्रतिष्ठित स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट प्राप्त ३ हजार ७९१ चलचित्रहरुमध्ये छानिएका ९८ सर्टलिस्ट फिल्ममध्ये २० उत्कृष्ट सर्टफिल्ममा ‘पाउलो’ पनि पर्न सफल भएको हो । चीनको सेन्जेन सहरमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शन पनि हुनेछ । जुत्ताको कथालाई केन्द्रमा राखिएको यस लघुचलचित्रले परिवारविहीन सडक बालकको मार्मिक जीवनलाई चित्रण गर्छ, जसमा ‘जुत्ता’ नै कथा अगाडि बढाउने प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । यसअघि पनि ‘पाउलो’ भारत, अमेरिका, बेलायत, रसिया, जिम्बावे लगायतका थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ । सीएमएस इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल (भारत), अथेन्टिक ग्लोबल फिल्म अवार्ड (अमेरिका), लाइट अफ द वर्ल्ड (रसिया), भर्सिटी फिल्म एक्स्पो (जिम्बावे) लगायतका महोत्सवहरूमा सहभागिता जनाइसकेको छ । साथै, छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष स्क्रिनिङ पनि भइसकेको छ। मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पाउलो’ को छायांकन नारायण जिसीले, सम्पादन अनिल महर्जनले, र कास्टिङ डिरेक्शन रेनुका कार्कीले गरेका हुन् । चलचित्रमा प्रशान्त हुमागाईँ, मोहन श्रेष्ठ, सुवास सिलवाललगायत कलाकारहरूको अभिनय छ । ब्ल्याक हर्स कम्पनीले प्रायोजन गरेको यस चलचित्र ऐना आर्ट्सको प्रस्तुति हो । निर्देशक अभिलाषी यसअघि घुर्रा, द स्कूल वाल, एक जोर जुत्ता लगायतका फिल्ममार्फत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।
विद्यालय बन्द हुँदा लागुऔषधमा फस्न थाले बालबालिका, तत्काल स्कूल खोल्न माग
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । 'विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ', बालककी आमाले भनिन्, 'विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।' वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो । यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन । विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन् । सरकारले माग पूरा गर्छ÷गर्दैन भनेर शिक्षकलाई चिन्ता छ । तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा पिरलो छ । सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताए । 'सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा सग्लग्न थालेका छन् । विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिसके । यो विषय संवेदनशील छ ।' जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको सरोकारवाला बताउँछन् । बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । 'बालबालिका कुलतमा फसिरहेको देखेमा वा थाहा पाएमा सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीमा जानकारी दिनुपर्छ । अभिभावक थप सचेत बन्न जरुरी देखिन्छ ।' हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । 'यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन् । हामीलाई उनीहरूको चिन्ता छ । राज्यले हाम्रो माग सम्बोधन गरेर विद्यार्थीप्रति संवेदनशील बन्नुपर्छ', शिक्षक खड्काले भने । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले भने, 'लागुऔषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ, जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ ।' रासस
नेपाल चिकित्सक सहकारी खारेज हुँदै, महानगरपालिकाले निकाल्यो अन्तिम सूचना
काठमाडौं । सबैले सबै काम जाँदैनन् । चिकित्सकहरु विरामीको उपचार गर्न निपूर्ण हुन्छन् । अरु काममा हात हाल्दा उपलब्धि असफलता नै हो । सहकारी सञ्चालन गर्दा चिकित्सकलाई यस्तै असफलता हात मिलेको छ । चिकित्सकहरुको अगुवाई र व्यवस्थापनमा खुलेको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड असफल भएको छ । उक्त संस्था खारेजी प्रक्रियामा अगाडि बढेको काठमाडौं महानगरपालिकाले जनाएको छ । २०७७ सालमा स्थापना भई सञ्चालनमा आएको उक्त सहकारी संस्था ५ वर्ष पूरा नहुँदै खारेजी प्रक्रियामा गएको हो । सहकारीको दुई तिहाई सदस्यले संस्था खारेजीको माग गर्दै गत चैत्र १ गते महानगरपालिकामा निवेदन दिएका छन् । कानुनी प्रक्रिया पूरा गरी उक्त सहकारी संस्था खारेज गर्न लागिएको महानगरपलिकाले जनाएको छ । पलिकाले सहकारी संस्थासँग कुनै लेनदेन भए माग दावी गर्न १५ समय दिएर अन्तिम सूचना पनि सार्वजनिक गरेको छ ।