विकासन्युज

'गभर्नर अरूले नै छान्ने हो भने रबर स्ट्याम्प बन्न चाहिनँ, एउटा पनि बैठक नबसेपछि राजीनामा दिएँ'

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । सिफारिस समिति गठन भएको एक महिनासम्म एउटा पनि बैठक नबसेपछि राजीनामा दिएको भट्टराईले विकासन्युजसँग बताए ।  ‘एक महिनामा एउटा पनि बैठकमा नबस्ने कमिटीमा कोही पनि बस्दैन । मेरो ठाउँमा अन्य कुनै व्यक्तिलाई राखेको भएपनि उसले पनि राजीनामा दिन्थ्यो,’ उनले भने ।  राष्ट्र बैंकको गभर्नर अरूले नै छान्ने हो भने आफूहरू सिफारिस समितिको सदस्यमा बसिरहनुको औचित्य नरहेको भट्टराईको भनाइ छ । आफूलाई सदस्य बनाएर रबर स्ट्याम्प बनाइएकाले समितिको सदस्यबाट राजीनामा दिएको उनले बताए । ‘यदि उहाँहरूले छान्ने हो भने हामीले किन बस्ने, हाम्रो औचित्य के हो ? हामी रबर स्ट्याम्प मात्रै हुने हो भने हाम्रो औचित्य नै रहेन । आफ्नो भएको नाम पनि जान्छ,’ उनले भने ।  विगतमा माफियाविरुद्ध लडेर पुनर्बहाली भई अवकाश भएको र सिफारिस समितिमा रहेर शत्रु कमाउने आफ्नो चाहना नरहेको भट्टराईको भनाइ छ ।  ‘मैले माफियासँग लडाइ लडेँ, यो मान्छे भ्रष्टाचारी होइन, निर्दोष हो भनेर पुनर्बहाली भएर अवकाश पाएको मान्छे हुँ,’ उनले भने, ‘मलाई विवादमा पर्नु छैन । म यो उमेरमा कुनै विवादमा पर्न पनि चाहन्नँ । मलाई शत्रु बनाउन पनि छैन ।’  भट्टराई राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । विसं २०६१ माघ १८ गते नियुक्त भएका भट्टराई विसं २०६६ साल माघ १७ गतेसम्म गभर्नर पदमा रहेका थिए । तर, उनलाई भ्रष्टाचारको आरोपमा सरकारले विसं २०६५ माघ २ गते निलम्बन गरेको थियो । छानबिनपश्चात सफाइ पाएपछि विसं २०६६ साउन ११ गते उनी पुनर्बहाली भएका थिए ।  २०८१ चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र भट्टराईलाई सदस्य नियुक्त गरेको थियो । 

मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार : अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि घरजग्गा व्यवसायी सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । महासंघको तेस्रो स्थापना दिवस कार्यक्रममा बोल्दै उनले व्यवसायीले सामना गर्नुपरिरहेको नीतिगत तथा कानुनी समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरे । उनले मुलुकको अर्थतन्त्रमा घरजग्गा व्यवसायको ठूलो योगदान रहेको उल्लेख गरे ।  सो क्षेत्रमा देखिएका समस्या सम्बन्धित व्यवसायीसँग छलफल गरेर अन्त्य गरिनुपर्ने उनको भनाइ छ । अध्यक्ष घिमिरेले चालु आवको नौ महिनामा घरजग्गा व्यवसायबाट ३३ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए । उनले घरजग्गा आवास तथा विकास महासंघमा धेरै समस्या रहेकाले यसमा सहयोग गर्न सरकारसँग आग्रह गरे । उनले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनसँग सहकार्य गर्न सहमत रहेको र चाँडै सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष सीताराम दाहालले नेपाल घरजग्गा तथा आवास विकास महासंघसँग सहकार्य गर्ने बताए ।  महासंघको कार्यक्रममा बोल्दै दाहालले महासंघप्रति आफूहरू संधै सकारात्मक भएको जानकारी दिए ।  उनले भने, ‘हामी सहकार्य गर्न आधिकारिक रूपमै आतुर छौं । पहिलेका सरकारका कारण परेको असर हाल विस्तारै हल भएपनि लयमा जान सकेको छैन । विगतका भूमि ऐन अव्यावहारिक हुनु, सही मूल्याकंन नहुनु कित्ताको निकास सही कार्यान्वयन नहुनु जस्ता थुप्रै समस्या छन् ।’ सरकारले ल्याएको नीति सकारात्मक रहेको उनको भनाइ छ । अब दुबै महासंघले सहकार्य गरेर अगाडि बढे घर जग्गा कारोबारमा निकै सहयोग पुग्ने उनको जिकिर छ ।

ओलीको चुनौती– मिसन ०८४ मा हेरौंला, एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उनले यस्तो चुनौती दिएका हुन् । उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए । प्रधानमन्त्रीले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए । उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए ।  प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँले यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ नि ।’ 'मिसन ०८४ मा हेरौंला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतीका साथ भन्छौं,’उनले थपे । प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताए ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बीमा दोकान प्रालिले आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो । जसमध्ये फाईनल चरणमा पुगेका दुई कम्पनीहरू हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी विच भएको फाईनल खेल निकै रोमाञ्चक भएको थियो ।  प्रतियोगिताको प्रमुख अतिथिका रुपमा रहेका एन्फाका महासचिव किरण राईद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो । दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरूलाई प्रमाणपत्र, सिल्ड, ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए । उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ ।  'स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य' भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ ।

भट्टराईलाई मैले मन्त्री बनाएको हुँ, स्वास्थ्य ठीक नभएर राजीनामा दिनुभयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट  पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकाेप्रति उनले असन्तुष्टि जनाए । उनले भने, 'उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।' प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणीसमेत गरे । एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने प्रतिबद्धता उनले जनाए ।  

पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने

काठमाडौं । पोप फ्रान्सिसको अन्त्येष्टि आगामी शनिबारका दिन गरिने भएको छ । भ्याटिकनले जानकारी दिएको अनुसार अन्त्येष्टि स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ । पोपको अन्त्येष्टि सेन्ट पिटर बेसिलिकाको अगाडि गरिने जनाइएको छ । भ्याटिकनले जनाएअनुसार बुधबार बिहान ९ बजे पोपको पार्थिव शरीर सेन्ट पिटर बेसिलिकामा ल्याइनेछ । उनको पार्थिव शरीर अन्त्येष्टि नभएसम्म त्यहीं राखिनेछ ताकि श्रद्धालुहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सकून् । हाल पोपको शरीर सान्ता मार्था आवासको प्रार्थना कक्षमा राखिएको छ, जहाँ उनले पोपको रूपमा १२ वर्षसम्म बसोबास गरेका थिए । सोमबार क्याथोलिक समुदायका सबैभन्दा ठूला धर्मगुरु फ्रान्सिसको निधन भएको थियो । भ्याटिकनले जारी गरेको वक्तव्यमा उनको मृत्युको कारण स्ट्रोक आएपछि हृदयगति रोकिएको उल्लेख गरिएको छ । पोप फ्रान्सिसको निधन : तलब नलिने सरल नेता, छाडे २१९ करोडको सम्पत्ति  

दिगो विकासतर्फ ग्लोबल आइएमई बैंक, रुफटप सोलार कर्जा सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।  यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरू जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।  

सेयर बजार घट्यो, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९ अंकले घटेर २६८८ विन्दुमा झरेको छ । बजार ओरालो लागे पनि कुल ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको बजारमा ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १ कम्पनीको मूल्य यथावत् छ । सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ, जसको कारोबार ४४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछिका धेरै कारोबार गर्ने कम्पनीहरूमा हिमालयन पावरको ४० करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, नेपाल रिइन्स्योरेन्सको ३५ करोड र राधी विद्युतको ३५ करोड रुपैयाँ रहेका छन् । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले र क्रेस्ट माइक्रो लाइफको ९.९८ प्रतिशतले वृद्धि भएको हो ।