विकासन्युज

एभरेष्ट इन्स्योरेन्सको एजीएम सम्पन्न, मर्जर र प्राप्तिको काम गर्न सञ्चालक समितिलाई दियो अख्तियारी

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा(एजीएम) आज(साउन ६ गते) काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सम्पन्न भएको छ । उक्त सभाले सामान्य तथा विषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै, सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने निर्णय गरेको छ । दिउँसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारवाही गर्न निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले श्रमजिवी ऐन विपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानून अनुसार कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजिवी पत्रकार र कार्यरत कर्मचारीलाई जवरजस्ती रोजगारीबाट हटाउने सञ्चारगृहलाई कारवाही गर्न विकास तथा प्रविधि समितिले निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले बतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको बताइन् । ‘कोभिड-१९ ले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त परिस्थितिमा पनि अहोरात्र सूचना प्रवाह गरी पेशागत दायित्व निर्वाह गर्ने श्रमजिवि पत्रकार र सञ्चार माध्यममा कार्यरत कर्मचारीलाई जवरजस्ती रोजगारीबाट हटाउने, बेतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता काम भएका छन् । श्रमजिवि पत्रकार सम्बन्धि ऐन २०५१ विपरित काम हुन नदिन र भएको पाइए कानूनी कारवाही गर्न समिति नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समितिले निर्देशन गर्छ ।’- उनले भनिन् । समितिले कोभिड-१९ का कारण सञ्चार क्षेत्रमा परेको असरको विस्तृत अध्ययन गरी यसको प्रभावका बीच प्रकाशन र प्रशारणलाई निरन्तरता दिई सूचना प्रवाहमा योगदानका आधारमा सञ्चारगृहलाई सहुलित राहत र सुरक्षाको प्रवन्ध मिलाउन पनि निर्देशन दिएको छ । मंगलबार समितिमा मन्त्री डा. युवराज खतिवडा र पत्रकार महासंघका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

‘कोदोको रक्सीलाई ब्याण्ड होइन ब्राण्डको रुपमा विकास गरौं’

काठमाडौं । प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन् । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटी युक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । विकसित मुलुकहरुले आफ्नो देशमा उत्पादित रक्सीलाई ब्राण्ड बनाई प्रवद्र्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताए । उनले प्रदेश एक सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफुले गैह्रसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताइन् । Ushakala Rai Gepostet von Bikashnews.com am Dienstag, 21. Juli 2020 नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताइन् । अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवस्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताए । घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभई ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताइन् ।

कर्मचारी सञ्चय कोषका ऋणीले अब घरबाटै किस्ता तिर्न सक्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एशिया बैंकबाटै ऋण भुक्तानी गर्न सक्ने भएका छन् । कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उनीहरूले उपभोग गरेका कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो । डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको यस बैंकले डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउस पोर्टलमा लग इन गरेपश्चात् गोभरमेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ । यससँगै, नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने दिन गएका छन् ।

किन प्रयोग गर्ने टेलिकमको कल ट्रान्सफर सेवा ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिँदैछ । यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको कल ट्रान्सफर सुविधाले केही राहत दिनसक्छ । नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट कल ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ । कल गरिएको नम्बर व्यस्त भएमा बिजी ट्रान्सफर अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो एन्सर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ । कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध छन् । सबै सुविधाहरु एक्टिभेसन र डिएक्टिभेसन गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही किओर्डहरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

झापामा समुदायबाट सङ्कलित रकमबाट पिसिआर मेशिन जडान

झापा । झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिए । मुलुकमै समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पिसिआर ल्याब हो । यसका लागि रु एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तरराष्ट्रिय झापाली समाज एक्लैले रु २५ लाख योगदान गरेको छ । “सम्पूर्ण उपकरण आइपुगेको छ”, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भने, “आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरु हुनेछ ।” अभियानले पिसिआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताए । प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रदेश नं १ मै झापामा कोडिभ–१९ का सङ्क्रमित ज्यादा भए तापनि सङ्क्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो । अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौँको जयश्री श्याम कम्पनीबाट पिसिआर ल्याबका उपकरण आयात खरीद गरिएको बताए । उपकरणमा रु ८५ लाख खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ । पिसिआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उहाँले बताउनुभयो । उपकरण जडानका लागि काठमाडौँबाटै इञ्जिनीयर आएका छन् । कोरोना महामारीसँग लड्न निजी क्षेत्रले पिसिआर ल्याब स्थापना नै गरेकामा झापा जिल्लावासी हर्षित भएका छन् । सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने बताए ।

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन् । अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उक्त स्थानमा डोजर लगाई लेदो पन्छाउने काम भइरहेको पनि उहाँले जानकारी दिए । यस्तै मध्यहाडी(पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पप्पुु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो । यस्तै मध्यपहाडी लोकमार्गको सिन्धुली सडकखण्डअन्तर्गत गोलञ्जोर गाउँपालिकाका बलेनी र कुखुरेटारमा सडकमा खसेको पहिरो पन्छाउने काम सकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । उक्त राजमार्गअन्तर्गत गोलञ्जोर–१ च्याकुटारबेँसीमा सडकमा खसेको पहिरो पन्छाउन डोजर पठाइएको उनले जानकारी दिए । उक्त स्थानमा पहिरो जाँदा एक घर जोखिममा परेको भनी जानकारी आए पनि घर जोखिममा नपरेको उनले जानकारी दिए । सडकमा पहिरो खसेपछि त्यस उताको सवारी साधन आवागमन रोकिएको र डोजरले पहिरो पन्छाउने उहाँको भनाइ रहेको छ । सिन्धुलीमा मनसुनको सक्रियतासँगै केही दिनदेखिको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेको र सम्भावित बाढीपहिराबाट बच्न र बचाउन प्रशासनले आग्रह गर्दै आएको उनको भनाइ छ । जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भएको र हालसम्म जनधनको क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडाैं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे ८ र ललितपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ८२ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ५६, ललितपुरकाे ७९ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ५० जना काेराेना संक्रमित थपिएका छन् भने ६०९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ९ सय ९४ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १२ हजार ४ सय ७७ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।