विकासन्युज

अझै हस्तान्तरण हुन सकेन दरबार हाई स्कूल

काठमाडौं । निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम सके पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म स्कूल हस्तान्तरण हुन नसकेको हो । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चारतले र ४० कक्षाकोठा रहेको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीका अनुसार निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सके पनि कोरोनाकै कारण हस्तान्तरण हुन नसकेको हो । निर्माण सम्पन्न भए पनि के कसरी निर्माण सम्पन्न भएको छ भनेर चिनियाँ टोलीको अवलोकनपछि मात्र हस्तान्तरण गर्नुपर्ने र अहिलेको अवस्थामा विदेशबाट आवतजावत गर्न समस्या भएकाले विद्यालय निर्माण सम्पन्न भएको छ । महिनासम्म पनि हस्तान्तरण हुन नसकेको व्यवस्थापक केसीको भनाइ छ । कोरोना भाइरसका कारण गत चैतको पहिलो सातादेखि बन्द रहेको आन्तरिक र बाह्य उडान आगामी भदौ १ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेकाले त्यसपछि हस्तान्तरण प्रक्रियामा जाने बताइएको छ । विसं २०७२ मा गोरखा भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको उक्त स्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउनमा भएको हो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढ्न पाउने भएका थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको थियो । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी तथा चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र सो विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताए । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो । मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहको छ ।

वर्षाले कृषि बालीमा क्षति, तरकारीको मूल्य बढ्यो

भरतपुर । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताए । उनका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षति पु¥याएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ । कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताए । डुवानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ । महानगरअन्तरगत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिए । महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ । भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ । यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पु¥याएको छ । कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताए । जिल्लाको पहाडी ईच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताए । विशेष गरी मकै बालीमा क्षति पुगेको उनले जानकारी दिए । ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताए । क्षति भएका ठाउँमा प्राविधिको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको बताए । उनले भने, “बाली क्षति भएका र बढी पानी जमेका ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुसारको नयाँ बाली लगाउन कृषकलाई सुझाव दिइरहेका छौँ ।” भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक हप्तादेखि डुवानमा परेको बताए । उनले भने’, “वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन । पानीले डुबाएर राखेको छ ।” भण्डारण गरेको धान र मकैमा पानीले क्षति पु¥याएको कुमालले बताए । भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताउनुभयो । “भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो”, उनले भने । चितवनमा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती र सात हजार १०० हेक्टरमा तरकारी खेती हुने गरेको छ । तरकारीको मूल्य बढ्यो जिल्लाका समथर भू–भागमा अहिले तरकारी खेती कम हुने गर्दछ भने पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरेको छ । बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ । महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताए । उनले भने, “धादिङ, मकवानपुर, भक्तपुरलगायत उपत्यका आशपासका पहाडी जिल्लाबाट आउने तरकारी समयमा आउन सकेको छैन । ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ ।” त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताए । उनले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताए । उनले भने, “बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुन्छ ।” उनका अनुसार लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारीबारी मासेर धानखेती गर्न थालका छन् । उहाँले १० क्विटल आवश्यक पर्ने तरकारी पाँच केजी पनि पाउन नसकेको बताउनुभयो । चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायी बताउँछन् । बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ । निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी रु पाँचसम्म बढेको जानकारी दिए । यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उनले बताए ।

राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी

  काठमाडौं । सनराईज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच विवाद भएको छ । ५ महिना लामो विवाद उत्कर्षमा पुगेपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग राजीनामा मागेको छ । सञ्चालक समितिले सहमतिको आधारमा राजीनामा गर्न प्रमुख कार्यकारी अधिकृत पौड्याललाई सुझाव दिएको थियो । सञ्चालक समितिले सीईओ पौड्याललाई कार्यकाल पूरा हुनु अघि नै छोड्दा नियमअनुसार पाउने सुविधा लिएर राजीनामा गर्न भनेको थियो । तर पौड्यालले राजीनामा दिन अस्वीकार गरेपछि सञ्चालक समितिले उनीसँग ६ बुँदे स्पष्टिकरण सोधेको छ । ‘विहीबार स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण बुझाउन ५ दिनेको समय दिइएको छ । सोमबारसम्म स्पष्टीकरण पेस गर्नुपर्ने छ’ स्रोतले भन्यो । स्रोतका अनुसार सञ्चालक समितिको पूर्ण बैठकमा पौड्याललाई बोलाएर विवादका विषयमा छलफल भएको थियो । छलफलमा पौड्याल निकै आक्रामक ढंगले प्रस्तुत भएका थिए । त्यसपछि उनीलाई राजीनामा गर्न सबैले सुझाव दिए । तर पौड्यालले राजीनामा गर्न अस्वीकार गरे । उनले आफूलाई हटाउने निर्णय लिएमा नेपाल राष्ट्र बैंकको सहयोग लिने र अदालतसम्म जाने चुनौति दिए । त्यसपछि उनी सञ्चालक समितिको बैठकबाट बाहिरिए । पौड्यालले बाेर्डलाई चुनौति दिएपछि सञ्चालक समितिको बैठकले सर्वसहमतिमा प्रमुख कार्यकारी अधिकृतसँग प्रष्टीकरण लिने निर्णय लिएको स्राेतले बतायाे । ‘सञ्चालक समितिको निर्णयसहित अध्यक्ष मोतिलाल दुगडको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको छ । स्पष्टकरणको पत्र बुझ्न नमानेपछि विहीबार नै पौड्याललाई इमेल गरिएको छ । इमेल गरेको विषय पौड्यालको मोवाइलमा एसएमएस गरेर जानकारी दिइएको छ’ स्रोतले बतायो । ‘सोमबारसम्म सीईओ पौड्यालले कि स्पष्टीकरण दिनुहुन्छ कि राजीनामा दिनुहुन्छ’ स्रोतले भन्यो । बाेर्डले साेधेकाे प्रष्टीकरणकाे सामना कसरी गर्ने भनेर शुक्रबार दिनभर पाैड्यालले आफ्ना सहयाेगिहरूसँग छलफल गरेका छन् । ‘शुक्रबार बैंकमा आउनु भएकाे थियाे । तर बैंकका नियमित बैठकहरूमा उहाँ सहभागि हुनु भएन’ स्राेतले भन्याे । प्रकियाको विषयमा सबै कुरा खुलस्त बताए पनि विवादको विषय भने स्रोतले खुलाउन चाहेन । ‘विवादका विषय धैरै छन्, मुख्य विषयहरु स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ’ स्रोतले भन्यो । ‘कुरो मिलेन । उहाँले राजीनामा दिनु भयो भने राम्रो । राजीनामा दिनु भएन भने बर्खास्त गर्नुपूर्व सफाईकाे मौका त दिनुपर्यो नि’ स्रोतले भन्याे । पौड्याल एक वर्षअघि सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । बैंकहरुमा यस्तो विवाद भएपछि पीडित पक्ष नेपाल राष्ट्र बैंकमा गुहार माग्ने जाने प्रचलन छ । तर शुक्रबारसम्म यो विवाद राष्ट्र बैंकमा नपुगेको कार्यकारी निर्देशन देवकुमार ढकालले बताए । ‘विवादका विषय सुन्नमा आएको छ तर आधिकारिक रुपमा कुनै पनि पक्ष राष्ट्र बैंक आएको छैन’ उनले भने ।

दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । वैकल्पिक मार्गमा साना सवारी साधनको चापले पनि समस्या आयो । उनले भने, “त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने छ ।” उनका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको छ । अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा राम्रोसँग ग्राभेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग पुनः अवरुद्ध हुने देखिएकाले सवारी प्रवेशमा रोक लगाइएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । तनहुँमा बिहीबार साँझदेखि शनिबारसम्म पानी परे पनि पृथ्वीराजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

सिटिइभिटीकाे प्रयोगात्मक परीक्षा औपचारिकतामा मात्रै सीमित रहेकाे निष्कर्ष

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो । परिषद्ले प्रयोगात्मक परीक्षा सम्बन्धित शिक्षण संस्थामार्फत सञ्चालन गर्दै आएकाले उक्त परीक्षा औपचारिकता मात्र हुन पुगेको सरकारी कार्यदलको निष्कर्ष छ । प्रयोगात्मक अभ्यासलाई परीक्षामा प्राथमिकता नदिइँदा उत्पादित जनशक्तिले श्रम बजारमा तत्कालै दक्ष काम गर्न कठिनाइ हुन्छ । प्राविधिक शिक्षाविज्ञ प्रा डा राजेन्द्रप्रसाद अधिकारी संयोजकत्वको कार्यदलको प्रतिवेदनले आवश्यक न्यूनतम् योग्यता पुगेका सम्पूर्ण परीक्षार्थीलाई योग्यताबापत समान ४० अङ्क प्रदानको व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने र सो व्यवस्था हटाउने वा ग्रेडअनुसार भार तोकी अङ्क प्रदान गर्ने वा प्रवेश परीक्षा उत्तीर्ण हुन आवश्यक न्यूनतम् अङ्कको ५० प्रतिशतसम्म मात्र प्रमाणपत्रवापत अङ्क प्रदान गर्न पनि सिफारिस गरेको छ । सरकारले ‘समृद्ध नेपाल’को एक आधार प्राविधिक शिक्षालाई समेत मानेर विद्यालय शिक्षाको ७५ प्रतिशतसम्मको भार यस क्षेत्रलाई दिने भन्दै आएकामा वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक नगरिएको, निर्धारित समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमा नभएको तथा विद्यार्थी भर्ना प्रक्रियामा ढिलाइ भएकाजस्ता जनगुनासासमेत औँल्याउँदै कार्यदलले शैक्षिक क्यालेण्डर बनाई त्यसलाई अक्षरशः पालना गर्नुपर्ने, परीक्षार्थी आफैँले अनलाइन इन्ट्री गरी फाराम भर्न मिल्ने गरी हाल सञ्चालनमा रहेको अनलाइन प्रणालीलाई अध्यावधिक गर्न आग्रह गरेको छ । एसइईको नतिजा प्रकाशन हुनुभन्दा पहिले नै प्रवेश परीक्षा सञ्चालनको व्यवस्था गर्नुपर्ने र शिक्षण संस्थाअनुसार नभई कार्यक्रमअनुसार प्रदेशस्तरमा प्रतिस्पर्धा गराउन पनि सुझाव दिएको छ । कोरोना महामारीपछिको बन्दाबन्दीका अवस्थामा ती तहका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७ जारी गरी लागू गरेको छ । परिषद्को प्रवेश परीक्षा, छात्रवृत्ति तथा वार्षिक र सेमेष्टर परीक्षाका सम्बन्धमा सुझाव दिन गठित सो कार्यदलले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार बुझाएको प्रतिवेदनमा ती परीक्षालाई अझ व्यवस्थित, मर्यादित, पारदर्शी तथा विश्वसनीय बनाउन सैद्धान्तिक परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन र प्रयोगात्मक परीक्षा सञ्चालनसम्बन्धी छुट्टाछुट्टै निर्देशिका लागू गर्नुपर्ने सुझाव दिइएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसइईको कार्यक्रमअनुसार उत्तीर्ण परीक्षार्थीको सूची प्रकाशनको व्यवस्था गर्ने र त्यसरी प्रकाशित सूचीका आधारमा कार्यक्रम सञ्चालन अनुमति पाएका शिक्षण संस्थाले एसइईको नतिजा प्रकाशनपछि भर्ना प्रक्रिया शुरु गर्नुपर्ने सुझाव कार्यदलको छ । कार्यदलको प्रतिवेदनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट जारी गरिएको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्नासम्बन्धी निर्देशिका, २०७४ मा कार्यदलको सुझाव समावेश गरी समयानुकूल परिमार्जन गरी लागू गर्न भनिएको छ । कार्यदलले वर्गीकृत छात्रवृत्तिको हाल प्रदान गरिदै आएको कोटा प्रणालीमा समेत परिमार्जन गर्नुपर्ने, प्राविधिक एसएलसी तहको प्रवेश परीक्षाको प्रश्नपत्रलगायत प्रवेश परीक्षासम्बन्धी सम्पूर्ण कार्य प्रदेश कार्यालयले नै गर्ने र क्रमशः यो प्रावधान डिप्लोमा र प्रमाणपत्र तहमा समेत लागू गर्दै जानुपर्ने जस्ता विषयमा सुझाव दिएको छ । कार्यदलका पदाधिकारीसमक्ष शिक्षामन्त्री पोखरेलले प्राविधिक शिक्षाका क्षेत्रमा क्रमशः राम्रा अभ्यासलाई प्रवेश गराउन जरुरी रहेको र यस क्षेत्रमा गुणस्तरीय परिवर्तनको खाँचो रहेको बताउँदै प्रतिवेदनले त्यस दिशामा अग्रसर हुन सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभएको उनको स्वकीय सचिव पुरन केसीले जानकारी दिए । कार्यदलमा परीक्षा, इञ्जिनीयरिङ, शिक्षा प्रशासनसमेतका क्षेत्रका प्रतिनिधि सदस्य थिए । परिषद्का सदस्यसचिव डा पुष्परमण वाग्लेका अनुसार गत आर्थिक वर्षसम्ममा कूल ३४५ स्थानीय तहमा गरी एक हजार ४२ प्राविधिक विद्यालय विस्तार भएको छ । अघिल्लो आर्थिक वर्षमा प्राविधिक विद्यालयको सङ्ख्या ८७७ थियो । यसरी विस्तार हुँदा १२ हजार ८४८ अतिरिक्त विद्यार्थी ती विद्यालयमा हुने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको पदभार ग्रहण गर्दा दुई वर्षभित्र ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्ने घोषणा गर्नुभएको थियो भने सरकारले लागू गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा उच्च शिक्षासम्म प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिने उल्लेख छ । हाल परिषद्को मातहतमा सम्बन्धन प्राप्त ४२९, आंगिक ५९ साझेदारीका १०, प्राविधिक अभिवृद्धि तथा सेवाग्राही (टिइसिए) प्रणालीमा ५३४ र स्थानीय तहको सहकार्यमा १० शैक्षिक संस्था सञ्चालित छन् ।

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । चलचित्र विकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताएका हुन् । उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । चलचित्र क्षेत्रलाई खुलाई गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मीहरु र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उनले बताए । चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए । उनले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको समेत बताए ।

अल्फाबिटा अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर साउन १२ गते हुने

काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उदेस्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर-२०२०’ आयोजना गरेको छ । विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिन सक्ने गरी अल्फाबिटाले आगामी १२ साउन (सोमबार)मा भर्चुअल फेयरको आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयसहित ६ वटा शैक्षिक संस्था सहभागि हुँदैछन् । फेयरमा मक्वारी युनिभर्सिटी, दी युनिभर्सिटी अफ न्यू क्यासल्, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, चाल्र्स डार्विन युनिभर्सिटीका आधिकारीरिक प्रतिनिधिबाट विद्यार्थीले कोभिड-१९ पछिको शैक्षिक अवस्था, छात्रबृत्ति, कोभिड-१९ कै अवस्थामा अनलाइन कक्षा तथा त्यसपछिको अध्ययनको अवस्थाको विषयमा जानकारी लिन सक्नेछन् । त्यसैगरी, फेयरमा एजुकेसन सेन्ट्रर अफ अष्ट्रेलिया (इसिए) र नेभिटासका आधिकारीक प्रतिनिधिहरूबाट समेत परामर्श लिन सकिनेछ । विद्यार्थीहरू अनलाइन प्लेटफर्ममार्फत फेयरमा जोडिन सक्नेछन । फेयरमा नेपालस्थित अष्ट्रेलियन राजदुत पिटर बड, आइइएलटिएस, पिटिइका प्रतिनिधि, बैंकलगाएतका प्रतिनिधिको सहभागिता हुँदैछ । फेयरमा विद्यार्थीहरूले कोभिड-१९ पछिको अष्ट्रेलियाको शैक्षिक अवस्था, प्रक्रिया र अन्य विषयमा समेत प्रत्यक्ष जानकारी पाउनेछन् । पहिलो तहको कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । विद्यार्थीहरू अल्फाबिटासंगको लिंकमा आइसकेपछि उनीहरूले चाहेको शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधिसंग एक-एक गरी परामर्श लिन अनलाइन प्लेटफर्ममा छुट्टै भर्चुअल रुमको ब्यवस्था गरेको छ । अल्फाबिटाको वेवसाइट, फेसबुक पेज र इन्स्टाग्राममा राखिएको लिंकमार्फत जोडिन सकिनेछ ।

तिम्रो पाइलाले सफलता पाओस्, छाेरी !

मेरो सानु, मेरी परी, मेरो लागि सबैभन्दा ठूलो दिन २०६५ साउन १० गते, शुक्रबार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । म त्यो बेला विद्यार्थी थिए, त्यत्ति अनुभव थिएन । तर पनि समयले सबैकुरा सिकाई नै दियो, पहिलो पटक स्कुलमा अभिभावक भनेर पत्र आउँदा एक्दम नौलो लाग्यो । बाटो भरी एक्लै हासेको की म नि अब ठूलो भएँ भनेर, त्यो क्षण, समय मेरो लागि एक्दम हर्षको अनुभूति, सुखद पल थियो । त्यो सबै तिम्रो आगमनले हो छोरी , तिमी बिना म तँ कल्पना नि गर्न सक्थेन, मेरो पढाई थियो, तर तिमी मेरो आन्तरिक शक्ति थियो, धेरैले सानो बच्चालाई कसरी छाड्न सकेको पढ्न भन्दा नराम्रो लाग्थ्यो, तर अरुको वास्ता गरिन् । तिम्रो पहिलो शब्द आफ्नो लागी मा, सुने आफ्नो सबै पीडा कम भयो खै अरुले छोरा पाएमा ठूलो भोज भतेर गर्ने, शान भएको भान हुँदो होला, तर मेरो लागि सन्सारको सबै करोडौं छोरा भन्दा मेरो छोरी नै प्यारो लाग्यो । खै जति तिम्रो बारेमा लेखेनि कम हो, तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको । म बिरामी हुँदा मलाई, पानी दिने, औषधि खाने एतिकै भन्दा नि खुसि लाग्थ्यो । सानैमा स्कुलमा राख्दा, चाँडै लिन जाँदा मेरो बाटो कुरेर आँखाबाट आँसु देखेँ, स्कुललो शिक्षकलाइ साेध्दा तँ तपाइँ आउने समय थाहा भएर रुन लगेको भन्दा छक्क पर्थे, कसरी म आउने बेला भयो भनेर थाहा पाको सोच्थे । तिम्रो पहिलो नृत्य थियो, जुन तँ लग्यो ताराले, मन तँ लग्यो मायाले,,, , त्यो बेला तिमी २ वर्ष की थियौ, म हतरिदै तिम्रो नृत्य हेर्न गए, तर तिमीले मलाई हेर्ने बितिकै रोयो, म लुकेर बसेको, पछि राम्रो लाग्यो कार्यक्रम । म तिम्रो हरेक पाइलामा सफलताको कामना गर्ना चहन्छु, हरेक पल खुसिमा बितोस, मेरो स्नेह्, माया सधैं तिम्रो लागी रहने नै छ, त्यो नि आज बाचा गर्न चाहन्छु । म मात्र होइन, नानु, तिम्रो डयाडि नि, तिमिलाइ अति माया गर्नु हुन्छ । तिम्रो उपहार मलाई सबैभन्दा बढी मन पर्छ, त्यो तिम्रो हातले बनाएको कार्ड, अनि मेरो जन्मदिन वा अरु कुनै बेलामा रूम सजाउने, मेरो लागी तिम्रो सर्प्राइज त्यो अत्ति नै मन पर्छ। म बिरामी हुँदा, स्याहार गरेको, सबै सम्झना छ । एकचोटि मेरो लागी आमाको बारेमा कविता वाचन गरेर दोस्रो भएको सब थाहा छ, तिमी जस्तो जति छोरी पाउन तँ जति तपस्या गरेँ नि कम छ, तिम्रो नाम सभ्यता जस्तै तिमी सभ्य छौ, सबैले तिम्रो उदाहरण दिदा आफू सार्है नै भागयमानि महशुस भान हुन्छ । कतिपयले कुरा सुनाउथे की छोरी भयो भनेर उनीहरू अभागी छन्, जसले त्यो अमूल्य रत्न जस्तो छोरीबाट टाढा छन्, मेरो तँ भाग्य नै ठूलो छ की म फेरी छोरीको आमा भए, तर अरुले जे जति सुनाए नि म वास्ता गरिन म तँ सन्तानला पो जन्म दिए ना की छोरा वा छोरी, मेरो लागी दुबै आँखाकी नानि, मुटु सबै यिनीहरू नै हुन । सभ्यता र सम्पदा मेरो बाँच्ने आधार हो, भविश्य हो, मेरो हरेक खुसी र दुखमा साथ दिने दुई पखेटा हुन् । सानु जब तिमी केही गल्ती गर्दा म एतिकै रिसाउँथे, त्यो बेला तिमी कान समातेर सोरी भनेर उथबस गर्दा म जति रिसाएनि एकछिनमा हरएर जान्थ्यो । हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस् सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ छाओस्, दुख तिम्रो छेउ आउनु अगाबै, मेरो सामना गरोस् । हरपल तिमी बिहानीको पहिलो किरण झै चम्कि रहौ तिम्रो जन्मदिनको अबसरमा मेरो माया र आशिष सधैं तिमीलाई आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस्। मुटुमा अटुट माया र आशिश्, तिम्रो शिरमा रहिरहोस् । सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् । यतिनै छ मेरो भाबना, जनमदिनको लाखौं लाख मेरो छोरीलाई शुभकामना, शुभकामना फेरी पनि शुभकामना तिम्रो मामु, डयाडि ।