पहिरोमा स्काभेटर पुरियो, दुई चालक वेपत्ता
बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ। ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन। ‘पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने। पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए। अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।
काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न
काठमाडौँ। ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न भएको हो । पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण÷पुनःनिर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिए । आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ । सोही अवसरमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । विसं २०७५ वैशाखबाट पुनःनिर्माणको शुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे । उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनःनिर्माण गरिरहेको जानकारी दिए । “सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ”, उनले भने, “जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनःनिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा रु ५० लाख, दोस्रो र तेस्रो चरणमा रु पाँच–पाँच करोड दिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए । सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।
कोरोनाले बेलायतमा थप एक नेपालीको मृत्यु
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ । सङ्घका अनुसार नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।
काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २ र ललितपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय ७ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ७६, ललितपुरकाे ८२ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
काेराेनाकाे कारण बारामा १७ वर्षिय युवतीकाे मृत्यु
काठमाडौं । बारामा काेभिड-१९ काे कारण १७ वर्षिय युवतीकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाव संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
नेपालमा २४ घण्टामा १ सय ९ जनामा काेराेना देखियाे
काठमाडाैं । नेपालमा २४ घण्टामा १ सय ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ सय ९ जनामा कोरोना देखिएको हो । याेसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ भने हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्।
काेभिड-१९ सङ्क्रमितमा लक्षण देखिन थाले
काठमाडौं । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् । उनका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।” लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । “अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका सङ्क्रमित उपचार गराउन आउँछन्”, उनले भने, “ती कतिपय सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।” पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने सङ्क्रमितमा लक्षण देखिन थालेका बताए । “पहिले अस्पतालमा भर्ना हुने सङ्क्रमित लक्षणविहिन रहेका थिए”, उनले भने, “तर अहिले अस्पतालमा भर्ना भएका सङ्क्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।” उनका अनुसार अहिले अस्पतालमा १५ जना सङ्क्रमित भर्ना भएकामा तीन जनामा सामान्य लक्षण देखिएका छन् । अस्पताल भर्ना भएका सातजना सङ्क्रमित भारतका रहेका छन् । ती सङ्क्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ सङ्क्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने सङ्क्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् । तीमध्ये ५४ लाख ७५ हजार १६३ जना (३४.९ प्रतिशत) सक्रिय सङ्क्रमित रहेका छन् भने छ लाख ३६ हजार ७८७ जना कोभिड–१९ का कारणले मृत्यु भएका छन् । जुन कूल सङ्क्रमितको ४.१ प्रतिशत हो । यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन् । जुन निको हुने ६१ प्रतिशत हो ।
रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न
काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उनलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो । उनलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए । ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव विनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो परेको थियो । रथारोहण हुने चार दिनअघि मच्छिन्द्रनाथ बोक्ने पुजारीले शुद्ध भएर बस्नुपर्ने चलन रहेको सचिव बज्राचार्यले जानकारी दिए । वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको दवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन कीर्तन पाठ गर्ने परम्परा रहेको भाष्करप्रसाद अमात्यले बताए । उनले भने, “उनलाई पुल्चोकबाट गाःबहाल हिँडाउनुपूर्व र त्यहाँबाट अन्य स्थानमा हिँडाउनुपूर्व पनि मृदङ्ग भजन पाठ गर्नुपर्ने हुन्छ ।” मच्छिन्द्रनाथलाई हरिहरका अर्थात् महादेवका रुपमा पनि पुजिने भएकाले मृदङ्ग पाठ गरिने चलन रहेको अमात्यले जानकारी दिए । करुणावतारलाई रथारोहण गराउन लादा एक पानेजुले हातमा ॐ लेखेको थाली, एकले बालेको बत्ती, एकले भगवानलाई झल्लरी छाता, केहीले काँ बाजा बजाएर लगेका थिए । रथारोहणका लागि यो उत्तम र अन्तिम साइत रहेको, यो साइतमा रथारोहण नगरिएन तत्काकालै शुभ साइत नभएको, मच्छिन्द्रनाथलाई नौ महिनामा बुङ्मती फर्काउनु नहुने, असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने ज्योतिषी जोशीले बताए । उनले भने, “ललितपुरमा रहेका धार्मिक सङ्घसंस्था, ज्यापू समाज, स्थानीय जनता गुठी संस्थान शाखा कार्यालय ललितपुर र ललितपुर महानगरपालिकाको पहलमा रथारोहण सम्पन्न गरियो ।” लोकनाथको रथारोहण सम्पन्न भएसँगै कोरोना महामारीका कारण के होला भन्ने चिन्ता हटेको ७० वर्षीय ञ्वाल सूर्यमान डङ्गोलले बताए । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यसपटकको रथारोहणमा कोभिड–१९ सङ्क्रमणको बेवास्ता गरी हजाराँै मानिस रथारोहणमा उपस्थित भएका थिए । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । भोटोजात्राको कथा किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागका राजा कर्काेटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु “महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चो¥यो” भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ । प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिइ सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्काेटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए । राजा गुणकामदेव पनि त्यहाँ आए । एकछिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रथ निर्माण गर्न अपनाएको विधिअनुसार नै रथ निर्माण गर्ने गरिएको छ । मच्छिन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै जान्छ । रथमा त्रयोदश भुवनको प्रतीकस्वरुप तेह्र तला राखिन्छ । रथ बत्तीस लक्षणले युक्त मानिन्छ । रथका चार पाङ्ग्रालाई चार भैरवको प्रतीस्वरुप मानिने ८३ वर्षीय ञ्वाँल आशालाल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यी चार भैरवहरुमा हयसिद्ध, हयग्रीव, लुप्त संहार (लुइता संहार) र लुभूको नन्दकुण्ड हुन् ।” रथको मुनि बीचमा राखिएको लामो काठलाई घःमा भनिन्छ । घःमालाई कर्काेटक नागका रुपमा मानिएको छ । यसको अग्र भागमा हयग्रीव भैरवको मूर्ति स्थापना गरिएको छ । रथ तान्दा कुनै बिघ्नबाधा नहोस् भनेर कर्काेटक नागराजको शिखा बिघ्नातक भैरवलाई आह्वान गरिन्छ । रथ तान्दै लैजाँदा दायाँबायाँ नढल्कियोस् भनी मेरुदण्ड सिधा गर्न डोरीले दायाँबायाँ आवश्यकतानुसार तन्काउने गरिन्छ । यसरी तान्ने डोरीलाई थरिथरि नागका रुपमा मानिने सिद्धिबहादुर महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “दायाँ जगलाई वासुकी नाग र बायाँ जगलाई शेषनागका रुपमा मानिन्छ ।” रथमा मच्छिन्द्रनाथको पछाडि रक्तवर्ण बोधिसत्व स्थापना गरिन्छ । यसलाई महादेव वा शिवको प्रतीकका रुपमा मानिने महर्जनले बताउनुभयो ।