विकासन्युज

पूर्वाञ्चल विश्वविद्यालयकाे सबै परीक्षा स्थगित

काठमाडाैं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेकाे परीक्षा स्थगित गरेको छ। साेमबार विश्वविद्यालयले विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे । लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो। विज्ञप्तीमा भनिएकाे छ, ‘कोरोना संक्रमणका कारण केही जिल्लाहरुमा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यि सबै कुराहरुले मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाकाे तालिकाहरु प्रकाशित गरिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।’

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० ले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो । यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला एक हजार २०० ले बढेको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा निर्माण हुने

काठमाडाैं । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको टुङ्गो लगाएको हो । ऊर्जामन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्बद्ध सरोकारवालाको बैठक डाकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए । बैठकमा उहाँले सङ्घ, प्रदेश र स्थानीय तह तथा सरकारी निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारणसमेतको लगानी रहने गरी लगानी मोडालिटी प्रस्ताव गरेका हुन् । मन्त्री पुनको लगानी प्रस्तावमा सहमति जुटेको ऊर्जा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका संयोजक तथा ऊर्जा मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटवालका अनुसार सङ्घबाट २६ प्रतिशत, कर्णाली प्रदेश सरकारबाट २० तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट पाँच प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत हुनेछ । यस्तै देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी ढाँचा तयार भएको भेटवालले बताए । उक्त लगानी शेयरमार्फत हुनेछ । उक्त आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । भेरी नदीको ४० घनमिटर (प्रति सेकेण्ड) पानी बबईमा फर्काएर यो आयोजनाको निर्माण हुनेछ । त्यसबाट ४६.८ मेगावाट विद्युत् उत्पादन हुनेछ हाल आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ । ‘हेडवक्र्स’ तथा विद्युत् गृह निर्माण शुरु भएको छ । आर्थिक वर्ष २०७९/८० मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री पुनले बताउनुभयो । आयोजना निर्माणको जिम्मेवारी मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागलाई दिइएको छ । आयोजना निर्माण सम्पन्न भएपछि त्यसको व्यवस्थापन तथा सञ्चालन भने शेयरधनी सङ्घ, प्रदेश, स्थानीय तह र सर्वसाधारणका प्रतिनिधि रहेको कम्पनीमार्फत हुनेछ । त्यसका लागि नेपाल सरकारको स्वामित्व रहने गरी ‘भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी’ नामको सार्वजनिक कम्पनी स्थापना गरिने भएको छ । आयोजना निर्माणको संशोधित लागत रु ३३ अर्ब १९ करोड छ । त्यसमा सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि दुई प्रतिशत तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ । आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक रु तीन अर्ब १० करोड तथा विद्युत्बाट रु तीन अर्ब २३ करोड गरी रु छ अर्ब ३३ करोड आम्दानी हुने अनुमान गरिएको छ । सचिवको नेतृत्वमा समन्वय समिति आयोजनालाई समन्वयात्मक रूपमा सञ्चालन गर्न भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना समन्वय समिति गठन गरिने भएको छ । मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने समितिमा कर्णाली प्रदेशका प्रमुख सचिव, प्रदेश–५ सरकारका प्रमुख सचिव, जलश्रोत तथा सिँचाइ विभागका महानिर्देशक, बबई सिँचाइ आयोजनाका आयोजना निर्देशक र भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सदस्य रहनेछन् । उक्त समितिले आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्ने छ । कामलाई तीव्रतामा अघि बढाउनुस् : मन्त्री पुन बैठकमा मन्त्री पुनले दैवीप्रकोप तथा कोभिड–१९ महामारीका कारण आयोजना निर्माण कार्य प्रभावित भएको भन्दै उक्त अवधिमा हुन नसकेका कामलाई तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिए । “दैवीप्रकोप र कोभिड महामारीका कारण आयोजनाको काममा अवरोध पुगेको छ”, उनले भने, “रोकिएको अवधिको समेत क्षतिपूर्ति हुने गरी तीव्रतामा काम अगाडि बढाउनुपर्छ ।”

अस्थिर व्याजदर र वित्तीय क्षेत्रमा पर्न सक्ने असर

हालको विषम अवस्थाले गर्दा वित्तीय क्षेत्रमा अधिक तरलता थुप्रिएको छ । बजारमा कर्जाको माग शुन्य रहेको छ । विदेशबाट आइरहेको नियमित विप्रेषण, आयातमा आएको कमी र आषाढ महिनामा भएको विकास खर्चको भुक्तानीले पनि बैकिङ क्षेत्रमा अधिक तरलता थुप्रिएको छ । बजारमा अधिक तरलताले बैंक वित्तीय संस्थाहरु न्युन व्याजदरमा विभिन्न कर्जाको योजनाहरु सार्वजनिक गरिरहेको र निक्षेपको व्याजदरमा समेत दिनदिनै समायोजन परिमार्जन गरिरहेको अवस्था छ । कोभिड-१९ को कारणले सरकारले गरेको लकडाउन १२० दिन पश्चात् हाल खुल्ला गरेको छ । २०७६ चैत १० गते ३५ खर्ब ३० अर्ब निक्षेप रहेको बैकिङ क्षेत्रमा २०७७ साउन ९ गते हुँदा करिब ३७५ अर्बले वृद्धि भई बैंकिङ क्षेत्रमा ३९ खर्ब ५ अर्ब निक्षेप पुगेको छ । बजारमा कर्जाको माग न्युन हुनु तर नियमित रुपमा निक्षेपमा भएको उच्च वृद्धिले गर्दा बैंकिङ क्षेत्रमा बढ्दो व्याज खर्च नियन्त्रण गर्नु चुनौतीको रुपमा देखिएको छ । कर्जा तर्फ हेर्दा २०७६ चैत १० गते ३१ खर्ब ६५ अर्ब रहेको कर्जा २०७७ साउन ९ गते हुँदा करिब ५७ अर्बले वृद्धि भई ३२ खर्ब २२ अर्ब पुगेको छ । कर्जाको वृद्धि समेत नयाँ कर्जाको माग भएर वृद्धि नभई नेपाल राष्ट्र बैंकले २०७७ बैशाख १६ गते कोभिड १९ ले असर गरेका र ऋणीको अवस्थाको आधारमा अधिकतम १० प्रतिशत सम्म थप चालु पुँजी कर्जा प्रदान गर्न सकिने सूचना जारी भएक पश्चातको कर्जा लगानीले मात्र सो कर्जा वृद्धि भएको तर बजारमा हालसम्म कर्जा माग एकदमै न्युन रहेको छ । बजारमा कर्जाको माग न्युन हुदा अधिक तरलता देखिएको छ । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता समस्या समाधानको लागि भन्दै २०७७ साउन ८ गते २० अर्बको रिभर्स रिपो जारी गरेकोमा उक्त रिपोको औसत व्याजदर ०.०४६४ प्रतिशत रहनुले समेत बजारमा अधिक तरलता रहेको स्थिति देखाउँदछ । त्यस्तै यस आर्थिक वर्षमा २८ दिने र ९१ दिने ट्रेजरी विल जारी गरेकोमा उक्त दुवै ट्रेजरी विलको व्याजदर ०.५० प्रतिशत भन्दा न्युन रहनुले पनि बजारमा अधिक तरलता रहेको देखिन्छ । यसतर्फ नेपाल राष्ट्र बैंकले वित्तीय उपकरण जारी गर्दै बजारमा देखिएको अधिक तरलता खिच्नु पर्ने देखिन्छ । २०७७ असारमा ९१-दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १.२७ प्रतिशत र वाणिज्य बैंकहरूबीचको भारित औसत अन्तरबैंक दर ०.३५ प्रतिशत रहेको छ । २०७६ असारमा यी दरहरु क्रमशः ४.९७ प्रतिशत र ४.५२ प्रतिशत रहेका थिए । दिपक न्याैपाने नेपाल राष्ट्र बैंकले भर्खरै मात्र आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले आ.व. २०७७/७८ मा मुद्रास्फिर्तिलाई ७ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य लिएको छ तर बजारमा देखिएको अधिक तरलताले गर्दा निक्षेपको व्याजदर दिनानुदिन घट्दै जाने र मुद्रास्फिर्ति भन्दा निक्षेपको व्याजदर कमी हुँदा मुद्राको क्रय शक्तिमा कमी आउने देखिन्छ । यसले गर्दा बैकिङ क्षेत्रबाट निक्षेप अनौपचारिक क्षेत्र तर्फ जाने जोखिम देखिन्छ । अनौपचारिक क्षेत्रमा निक्षेप पलायनले ल्याउन सक्ने वित्तीय अराजगता सम्बोधनको लागि समेत निक्षेप व्याजदरको समस्या सम्बोधन गरिनु आवश्यक छ । बजारमा देखिएको निक्षेपको अधिक वृद्धि तर कर्जाको माग शुन्य रहेको अवस्थामा बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाई दिनदिनै नयाँ नयाँ व्याजदर सार्वजनिक गरिरहेको छन् भने अर्काे तर्फ कल खातामा रहेको निक्षेप झिकिदिन अनुरोध गर्दै ग्राहकलाई दिन दिनै सम्पर्क गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा व्यवस्था नै गर्दै २०७७ आषाढ मसान्त सम्म वाणिज्य बैंकको कुल निक्षेपमा कल निक्षेपको मात्रा १० प्रतिशत भन्दा अधिक हुन नहुने र विकास बैंक तथा वित्तीय कम्पनीमा यस्तो प्रतिशत १५ प्रतिशत कायम गरेको थियो । २०७७ जेष्ठ मसान्तको तथ्याकं हेर्ने हो भने २७ वाणिज्य बैंकमध्ये १६ वटा वाणिज्य बैंकको कल निक्षेपको मात्रा १० प्रतिशत भन्दा अधिक रहेको थियोे । यसरी बैकिङ क्षेत्रमा कल निक्षेप अधिक हुँदा समेत निक्षेपको स्थायीत्व नहुने देखिन्छ । त्यस्तै विकास बैंक तर्फ हेर्ने हो भने तोकिएको १५ प्रतिशत सीमा भन्दा ६ वटाको मात्र अधिक रहेको छ । त्यस्तै वित्त कम्पनीमा ६ वटाको १५ प्रतिशत सीमा भन्दा अधिक रहेको छ । २०७७ आषाढ मसान्तको तथ्याकं प्रकाशन हुँदा सबै बैंक वित्तीय संस्थाको कल निक्षेपको मात्रा तोकिएको सीमा मै रहेको तथ्यांक प्रकाशन होला आशा गरौं । निक्षेप तथा कर्जाको व्याजलाई हेर्ने हो भने सधै व्याजदर विभिन्न वर्षहरुमा अस्थिर देखिएको छ । निक्षेपको औसत लागत २०७३ आषाढमा ३.२८ प्रतिशत रहेकोमा २०७७ जेष्ठमा पुग्दा उक्त प्रतिशत ६.१७ कायम भएको छ । साथै कर्जाको व्याजदरमा हेर्ने हो भने २०७३ आषाढमा ८.८६ प्रतिशत रहेको व्याज २०७५ आषाढमा १२.४७ प्रतिशत र २०७७ जेष्ठमा १०.४३ प्रतिशत रहेको छ । यसरी हेर्दा विगत चार वर्ष देखि नै कर्जाको व्याजदर दोहोरा अंकमा नै रहेको छ । हाल बजारमा कर्जाको माग न्युन रहेको र बैंकहरुले विभिन्न योजना सार्वजनिक गर्दै एकल अंकमा कर्जाको व्याजदर घोषणा गरिरहेका छन् । हालको अवस्थामा बजारमा अधिक तरलता देखिएतापनि आगामी दिनमा कोभिड १९ को असर न्युन भएपश्चात् विभिन्न परियोजनामा स्वीकृत भएका कर्जाको लगानी बढ्ने साथै विभिन्न परियोजना तथा व्यापार व्यवसायमा भएको मालसामान काम नलाग्ने अवस्थामा पुगिसकेको र अल्पकालिन कर्जाको माग बढ्न सक्ने ,विदेशबाट फर्किएका युवाहरु समेत स्वरोजगार तर्फ आकर्षित हुँदा विभिन्न कर्जाको माग बढ्ने भएकोले छिटै नै बजारमा तरलता समस्या देखिन सक्छ । आजको मितिमा एकल अंक ८, ९ प्रतिशतमा लगानी भएका कर्जाको व्याज छोटो अवधिमा नै १३, १४ प्रतिशत पुग्ने अवस्था आएमा सर्वसाधारणको बैंक वित्तीय संस्था प्रतिको भरोषा टुट्ने देखिन्छ । निक्षेपकोे व्याज निरन्तर घट्दो क्रममा रहेको र निक्षेप बैंक क्षेत्रबाट अनौपचारिक क्षेत्रमा गएमा पुःन बैकिङ क्षेत्रमा फर्किने सम्भावना एकदमै न्युन रहने भएकोले समेत नेपाल राष्ट्र बैंकले अनौपचारिक क्षेत्रमा निक्षेप पलायन हुने अवस्था आउन नदिन पहल कदमी लिनु पर्ने देखिन्छ । सरकारले आ.व. २०७७/७८ को बजेट वक्तव्यमा यस वर्षको आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण पेश गरेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धि हासिल गर्न बजार चलायमान हुनु आवश्यक छ । यसको लागि समेत बजारमा कर्जाको माग उच्च हुन जाँदा तरलता समस्या देखिने सम्भावना उत्तिकै रहेको छ । बजारमा बढ्दोे प्रतिस्पर्धाले गर्दा व्यवसायीको नाफामा संकुचन आउनु तर कर्जाको व्याजमा कमी नआउनाले गर्दा व्यवसायी तथा उद्यगीले व्यवसाय तथा उद्योग बाट हात झिक्न सक्ने सम्भावना समेत उत्तिकै छ । यसर्थ सरकारले मुद्रास्फिर्तिमा नियन्त्रण गरेर कर्जाको व्याजलाई उच्च हुन नदिएमा राज्यको उत्पादकत्व वृद्धि गर्न एवं रोजगारी श्रृजनामा ठुलो सहयोग हुने देखिन्छ । यसैले बजारमा देखिएको व्याजको बढ्दो उतर चढावलाई नियन्त्रण गर्न आवश्यक छ । बैंक वित्तीय संस्थाले व्याजदर निर्धारण गर्दा दुरदर्शी भएर निर्धारण गर्न आवश्यक देखिन्छ । त्यस्तै मुद्रास्फिर्ति भन्दा बचतको व्याज कम नहुने अवस्था श्रृजना गरी अनौपचारिक क्षेत्रमा निक्षेप परिचालन हुने अवस्था रोक्नु पर्ने देखिन्छ ।

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । ‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने । सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् । नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७।७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् । नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।

पाँच दिन भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो । मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

एनआईसी एशिया बैंकका शाखाबाट अब डिजिटल रुपमा ग्राहक आफैंले खाता खोल्न सक्ने

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्न डिजिटल अकाउन्ट ओपनिङ प्रणालीको सुरुवात गरेको छ । ग्राहकहरुले उक्त डिजिटल अकाउन्ट ओपनिङ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले जनाएकाे छ । यस प्रणालीमा सेवाग्राहीहरूले ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन् । कम्प्युटरमा दक्षता नपुगेकाहरुकाे निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ । यसरी खाता खोल्दा ग्राहक महानुभावहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले जनाएकाे छ ।  

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गोदावरी । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस