भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी

  २०८१ माघ ६ गते ११:५४     विकासन्युज

काठमाडौं । भारतमा कार्यरत अटोमेकरहरूले सन् २०२५ मा करिब एक दर्जन नयाँ इलेक्ट्रिक कार मोडलहरू लन्च गर्ने योजना बनाएका छन् ।

विश्वव्यापी रूपमा इलेक्ट्रिक सवारी (ईभी) को माग घट्दै गए पनि खरिदकर्तालाई आकर्षित गर्न धेरैजसो प्रिमियम बजारमा लामो ड्राइभिङ रेन्ज र छिटो चार्जिङ समय भएका मोडलहरू ल्याउन लागेका हुन् ।

शुक्रबारदेखि नयाँ दिल्लीमा सुरु भएको पाँच दिने अटो शोमा ईभी कारहरूले मुख्य स्थान पाएका छन् । यहाँ भियतनामी नवप्रवेशी भिनफास्ट, स्वदेशी ब्राण्ड मारुति सुजुकी र महिन्द्रा एण्ड महिन्द्राका साथै विश्वव्यापी प्रतिस्पर्धी बीवाईडी, टोयोटा र हुन्डाइका मोडलहरू प्रदर्शन गरिएको छ ।

भारतको ईभी बजारका अग्रणी टाटा मोटर्स र चीनको एसएआईसी मोटरको आंशिक स्वामित्व भएको जेएसडब्लु-एमजी मोटरले विश्वको तेस्रो ठूलो कार बजारमा विस्तारित लाइनअप प्रदर्शन गरे ।

भारतको ईभी बजार सानो छ, जहाँ २०२४ मा बिक्री भएका ४० लाख ३० हजार कारहरूमध्ये इलेक्ट्रिक मोडलहरूको हिस्सा करिब २.५ प्रतिशत मात्र छ । उच्च मूल्य र अपर्याप्त चार्जिङ नेटवर्कले खरिदकर्तालाई रोकिरहेको जनाइएको छ । सरकारले यसलाई २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउन चाहन्छ ।

विश्वव्यापी रूपमा ईभी बिक्रीको वृद्धिदर २०२४ मा गत वर्षको तुलनामा १३ प्रतिशतमा झरे पनि यसले पहिलो पटक एक लाख युनिट नाघेको छ ।

भारतमा पनि ईभी बिक्री वृद्धि सुस्त गतिमा भइरहेको छ । २०२४ मा गत वर्षको तुलनामा २० प्रतिशतले बढेर करिब १ लाख युनिट पुगेको छ, जुन समग्र कार बजारको सोही अवधिको ५ प्रतिशत वृद्धिभन्दा बढी हो ।

अटो उद्योगका कार्यकारीहरूका अनुसार लामो रेन्ज र छिटो चार्ज हुने नयाँ मोडलहरूले माग बढाउन सक्छन् । विश्लेषकहरूले भारतमा २०२५ मा ईभी बिक्री दोब्बर हुने अनुमान गरेका छन् ।

भारतमा पहिलेका इलेक्ट्रिक सवारीहरू जसमध्ये धेरैजसो टाटा मोटर्सका थिए, पेट्रोल कारलाई इलेक्ट्रिकमा रूपान्तरण गरिएका थिए, जसले एक पटक चार्ज गर्दा ३०० किलोमिटर (१८६ माइल) सम्म मात्र गुड्न सक्थे । जसलाई धेरैले बाहिर यात्राका लागि अपर्याप्त मान्थे ।

नयाँ लन्च हुने अधिकांश मोडलहरू सुरुदेखि नै इलेक्ट्रिक सवारीको रूपमा डिजाइन गरिएका छन् र न्यूनतम ४०० किलोमिटरको रेन्ज दिन्छन् । महिन्द्राजस्ता केही अटोमेकरहरूले ६०० किलोमिटरभन्दा बढीको रेन्ज र २० मिनेटभन्दा कममा २० देखि ८०  प्रतिशतसम्म फास्ट चार्जिङको सुविधा दिइरहेका छन् ।

महिन्द्राका यस वर्षका दुई इलेक्ट्रिक एसयूभी लन्चको मूल्य २२ देखि ३५ हजार डलर छ । भारतमा कारको औसत मूल्य करिब १२ हजार डलर छ, जहाँ सस्ता मोडलहरूको तुलनामा महँगा मोडलहरूको वृद्धि तीव्र छ ।

इलेक्ट्रिक सवारी निर्माता भिनफास्ट जसले दक्षिण भारतमा कार कारखाना निर्माण गरिरहेको छ, आफ्नो मिनी-एसयूभी भिएफ थ्री, तीन पङ्क्तिको एमपीभी, भिएफ नाइन लगायत प्रदर्शन गर्नेछ ।

‘भारतको बढ्दो मध्यम वर्ग र इलेक्ट्रिक सवारी अपनाउन सरकारी प्रोत्साहनले भिनफास्टको विश्वव्यापी विस्तारका लागि यो स्वाभाविक केन्द्र बनेको छ,’ कार निर्माताले भन्यो ।

दक्षिण कोरियाली हुन्डाईले भारतमा निर्मित आफ्नो लोकप्रिय क्रेटा एसयूभीको इलेक्ट्रिक संस्करण प्रदर्शन गर्‍यो, जसले प्रतिस्पर्धीहरूलाई टक्कर दिन मद्दत गर्ने आशा गरेको छ । यता बीवाईडीले आफ्नो सिलायन सेभेन इलेक्ट्रिक एसयूभी प्रदर्शन गर्‍यो ।

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी, ई भिटारा एसयूभी प्रदर्शन गर्‍यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुनेछ । यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् ।
केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् ।

‘छिटो इलेक्ट्रिक अपनाउने बाटो सबै इलेक्ट्रिफाइड सवारीलाई समानुपातिक रूपमा प्रोत्साहन गर्दा राम्रोसँग काम गर्छ,’ टोयोटाको भारतीय एकाइका कन्ट्री हेड र कर्पोरेट मामिला तथा गभर्नेन्सका कार्यकारी उपाध्यक्ष विक्रम गुलाटीले भने ।

बीवाईडीको ‘याङवाङ यू नाइन’ सुपरकार जो ६ मिटर उफ्रिन सक्छ (भिडियोसहित)

अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन

चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस