काठमाडौं । विनोद चौधरीले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको सेयर बेचेका छन् । नेपाल राष्ट्र बैंकले चौधरीको परिवारको नाममा रहेको सेयर विवरण माग गर्दै एनसीसी बैंकलाई पत्र काटेपछि चौधरीले उक्त बैंकमा रहेको सबै सेयर बेचेका हुन् ।
मुख्य प्रवद्र्धक विनोद चौधरी रहेको नविल बैंक र एनसीसी बैंकबीच मर्जरको लागि मोलमालाई भईरहेको बेलामा चौधरीले आफ्नी श्रीमती सरिका चौधरीको नाममा ९ लाख ८१ हजार कित्ता सेयर किनेका थिए । उक्त समाचार विकासन्युजमा प्रकाशित भएको थियो ।
दुई बैंकबीच मर्जरबारे गृहकार्य भैरहेको बेलामा चौधरीले एनसीसीको सेयर किनेपछि इन्साइटर ट्रेडिङको आरोप लागेको थियो । त्यतिबेला नै इन्साइडर ट्रेडिङको आरोप लागेपछि अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन प्रक्रियालाई नियामकको दवावमा रद्द गराएको थियो ।
‘मर्जरको प्रयास भैरहेको जानकारी पनि राष्ट्र बैंकलाई थियो । त्यहिबेला आन्तरिक छलफलमा सहभागी समूहले ठूलो मात्रामा सेयर किनेको समाचार आएपछि हामीले सेयर विवरण माग गरेका थियौं’ नेपाल राष्ट्र बैंक स्रोतले भन्यो ।
बैंक तथा वित्तीय संस्थाहरुले हरेक महिनामा ठूला सेयरधनीको विवरण राष्ट्र बैंकलाई पठाउने गरेको छ । राष्ट्र बैंकले चाहेको वखत कुनै पनि सेयरधनीको पूर्ण विवरण माग्न सक्ने व्यवस्था छ ।
जवाफमा एनसीसी बैंकले सेयर बिक्री भैसकेको जानकारी गराएको छ । ‘पब्लिक सेयर किनबेच भएको देखियो । त्यसमा हामीले थप कारवाही गर्नु जरुरी नै भएन’ स्रोतले भन्यो ।
राष्ट्र बैंकले पत्र लेखेको भोलिपल्टै चौधरीले सबै सेयर बिक्री गरेको देखिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । चौधरीले एनसीसी बैंकको सेयर प्रतिकित्ता न्यूनतम ३१० रुपैयाँमा किनेका थिए भने बेच्दा प्रतिकित्ता न्यूनतम ३७० रुपैयाँमा पाएका छन् ।
नबिल बैंकको तर्फबाट एनसीसी बैंकसँग १००ः३५ को अनुपातमा स्वाप रेसियो कायम गरेर मर्जको लागि प्रस्ताव भएको थियो । एनसीसी बैंकका तर्फबाट १००ः४० अनुमातमा मर्ज गर्न प्रस्ताव भयो । तर सहमति नभएपछि मर्जरको छलफल पनि रोकिएको जानकारहरु बताउँछन् ।
सम्बिन्धत समाचार