काठमाडौंका ४ नयाँ शहरः प्राधिकरण-मन्त्रालय धाउँदै थोत्रो भयो डीपीआर फाइल, के अब नबन्ने हो ?

  २०७७ मंसिर १८ गते १४:५५     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) शहरी विकास मन्त्रालयमा पेश भएको ६ महिना बितिसकेको छ । आजसम्म मन्त्रालयले डीपीआर हेरेर मन्त्रीपरिषद्मा पठाएर पनि भौतिक निर्माणको काम सुरु भइसक्नु पर्ने हो ।

तर, डीपीआर काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालयमै ओहोर दोहोर भइरहेको छ । यो प्रक्रिया विगत ६ महिनादेखि नै चल्दै आएको छ । मन्त्रालयका उच्च अधिकारीहरुले खासै सो कामलाई प्राथमिकताका रुपमा नहेरेको कारणले पनि फाइल मन्त्रालयमै थन्किन बाध्य भएको हो ।

प्राधिकरणले तीन वटा नयाँ शहरको डीपीआर तयार गरेर मन्त्रालयमा पेश गरेको ६ महिना बित्दा पनि सो डीपीआर फाइल मन्त्रीपरिषद्मा पेश नहुनु विडम्वना हो । यसले पनि हाम्रो प्रशासनिक काम कति छिटो छरितो हुन्छ भन्ने प्रष्ट पार्छ ।

शहरी विकास मन्त्रालयमा डीपीआर असार महिनामा पेश भएको थियो । पेश भएको ४ महिनापछि मन्त्रालयले डीपीआर परिमार्जनको लागि पुनः सो डीपीआर फाइल प्राधिकरणमा फिर्ता पठाएको थियो ।

सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दवाडीले डीपीआरलाई सुक्ष्म ढंगले हेर्नु पर्ने भएको कारणले पनि समय लागेको बताए । ‘धेरै लामो समय हामीले डीपीआर अध्ययन गर्यौं, त्यसमा केही प्राविधिक तथा भाषा मिलाउनु पर्ने भएकाले हामीले फेरि प्राधिकरणलाई सच्याउन निर्देशन दियौं, प्राधिकरणले सच्याएर फेरि मन्त्रालयमा पठाएको छ,’ उनले भने ।

उनका अनुसार डीपीआर केही परिमार्जन हुनेछ । ‘अहिले पनि हामी केही कूराहरु परिमार्जन गरिनै रहेका छौं, छलफलमै छौं, यत्तिकै क्याविनेटमा पठायो भने भोलि फेरि परिमार्जन गर्न गाह्रो हुन्छ, त्यसैले अहिले डिटेल हेरेर परिमार्जन गरेर नै क्याविनेटमा पठाउँछौं,’ उनले भने ।

प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले डीपीआर फाइल मन्त्रीपरिषद्मा पठाउनको लागि पटक–पटक शहरी विकास मन्त्री र सचिवसँग आफुले छलफल गरेको बताए ।

‘मैले मन्त्री ज्यूसँग यसलाई चाँडै पेश गरौं भनेर भनेको थिएँ, मन्त्रालयले हेर्दैछ, हाम्रो पनि चाँडै होस् भन्ने चाहना हो, हामीले गरेर हुँदैन, तीन शहरमा कुनै पनि प्राविधिक समस्या छैन, मन्त्रीज्यू पनि नेगेटिभ हुनुहुन्न, अब पुसमा  क्याविनेटमा पेश भन्ने सुनेको छु,’ उनले भने ।

‘मन्त्रायलयमा डीपीआर पठाएको ६ महिना भइसक्यो, मन्त्रालयले त्यति उत्सुकताका साथ हेरेको छैन, फाइल मात्र ओहोर दोहोर हुँदै थोत्रो भइसक्यो, मन्त्री फेरिएर पनि काम रोकिएको हुन सक्छ,’ प्राधिकरणका एक कर्मचारीले भने ।

प्राधिकरणबाट स्वीकृत भएर मन्त्रालयमा पठाएको ६ महिहनाभन्दा बढी समय भएपनि डीपीआर अझै मन्त्रिपरिषदमा पठाइएको छैन । ललितपूर क्षेत्रको शहरको डीपीआर प्राविधिक कारणले नपठाएको भएपनि अन्य तीन शहरको डीपीआर भने पठाइएको थियो ।

चालु आवको शुरुदेखि नै शहरको निर्माण प्रक्रिया सुरु गरी समयावधि भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम हुने बताएपनि अझै डीपीआर समेत स्वीकृत हुन नसक्नुले शहर बन्ने कि नबन्ने भन्ने धेरै आशंकाहरु उब्जिएका छन् । मन्त्रालयमा मन्त्री फेरिएपछि फाइल अघि बढ्न ढिलाई भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट कार्यक्रममा तीन सानो सहरका लागि ५०/५० लाख र ठूलो शहरका लागि १ करोड रुपैयाँ विनियोजन भएपछि सबैको सँगै काम सुरु गर्ने योजना प्राधिकरणको थियो ।

फिनल्याण्डको हेलेन एन्ड कम्पनी एन्ड एसोसियन कम्पनीले तयार सबैभन्दा ठूलो शहरको विकासका लागि करिब २ खर्ब ८२ अर्ब खर्च हुने देखिएको प्राधिकरणले बताएकाे छ । दोस्रो १० हजार रोपनीको ‘आग्नेय’ शहरको लागि करिब ३० अर्ब खर्च हुनेछ भने यसको डीपीआर ईआरएमसीले नै तयार पारेको हो ।

तेस्रो ‘नैऋत्य’ शहर पनि १० हजार रोपनीको हुने प्रस्ताव गरिएको छ । डीपीआरका अनुसार यो परियोजनामा पनि २७ अर्बभन्दा बढी खर्च हुने देखिएको छ ।

चौथो, फुलब्राइक कन्सल्टेन्सीले तयार गरेको डीपीआरका अनुसार यो शहरको पूर्वाधार तयार गर्न २३ अर्ब खर्च लाग्नेछ । काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुने

यी चार नयाँ शहर निर्माणका लागि निजी लगानी तथा बैंकको ऋणबाटै बनाउने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित सामग्री:

नयाँ चार शहरको डीपीआर मन्त्रालयले परिमार्जन गर्ने, जग्गा फेरि हेरफेर हुन सक्ने

काठमाडौंका ४ नयाँ शहरः जग्गा दलालको चहलपहल बढ्यो, कित्ताकाट गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौंमा बन्ने नयाँ शहरको क्षेत्रफलमा हेरफेर, तपाईँकाे जग्गा नयाँ शहरमा पर्याे ?

नयाँ चार शहरः तीन शहरको डीपीआर स्वीकृत, ललितपुरको बन्नेमा अन्योल

चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.