चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

  २०७७ जेठ १२ गते १४:३९     सन्ताेष राेकाया

काठमाडौं ।  काठमाडौं उपत्यकामा निर्माण हुन लागेका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएकाे छ । चारवटा नयाँ शहरमध्ये एक लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको डीपीआर तयार पार्न भ्याट बाहेक ७ करोड रुपैयाँ खर्च भएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।

सो शहरको डीपीआर तयार गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन भएको थियो । तिवारीले अन्य तीन नयाँ शहरका लागि ४ करोड २० लाख रुपैयाँ खर्च भएको उनले बताए ।

उनका अनुसार बाँकी १० रोपनी क्षेत्रफल भएका तीन परियोजनाको डीपीआरको लागि दुई–दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याटबाहेक एक करोड ४० लाख खर्च भएको छ । काठमाडौं ईसान (पूर्व–उत्तर)को डिपिआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन् ।

यसअघि केही शहरको डीपीआर निर्माण हुन बाँकी रहेपनि अब भने चारै शहरको निर्माण भएर दुई शहरको स्वीकृत पनि भइसकेको बताइएको छ । प्राधिकरणका अनुसार काठमाडौं नैऋत्य र काठमाडौं हरितको डिपीआर स्वीकृत गरेको भइसकेको छ । बाँकी दुई शहर काठमाडौं ईसान र काठमाडौं आग्नेयको जेठ २५ गते बस्ने बैठकले स्वीकृत गर्ने तिवारीले बताए ।

उनका अुनसार समितिबाट चारै शहरको डीपीआर स्वीकृत भइसकेपछि सोको प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने उनले बताए । मन्त्रिपरिषद्ले पनि सो प्रस्तावलाई स्वीकृत गरेपछि नयाँ शहरको निर्माण कार्य थाल्ने उनले बताए ।

न्युनतम ८ आनाबाट किनबेच गर्न सकिने

निर्माण भएका विस्तृत अध्ययन प्रतिवेदनका अनुसार अब चारै नयाँ शहरमा जग्गा किनबेच गर्दा न्युनतम आठ आना हुनु पर्नेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चारै शहर भित्रका जमिन खरिद विक्रीका लागि केही मापदण्डहरु बनाएको छ । प्राधिकरणले ८ आनाभन्दा कम कित्ताकाट गर्न नसकिने उल्लेख गरेको छ ।
उपत्यकामा व्यवस्थित बस्ती विकास गर्नका लागि प्राधिकरणले नयाँ शहरहरुमा विभिन्न मापदण्डहरु तय गरी कार्यक्रहरु अगाडि बढाउने छ । प्राधिकरणले नयाँ शहरचित्र पर्ने जग्गालाई प्लटिङ गर्नेछ ।

शहर विकास आयोजनाको योजना अनुसार नयाँ शहर बन्दा एक जनापनि विस्थापित हुनु नपर्ने तिवारीले बताए । आयोजना क्षेत्रमा पर्ने १ वा २ आना जग्गा हुने व्यक्तिलाई पनि अर्को स्थानमा जग्गा मिलाउने गरी काम भइरहेको उनले बताए । आयोजना क्षेत्रमा भने हाल कित्ताकाट गर्न प्रतिबन्ध लगाइएको छ ।

जग्गाको मूल्य बढ्ने

चार नयाँ शहर विकासपछि जग्गाको मूल्य बढ्ने भएको छ । सो कूरा डीपीआरमा पनि उल्लेख गसरिएको बताइएको छ । नयाँ चार शहर सेवा सुविधायुक्त हुनेछन् । जहाँको जमिनको मूल्य पनि बढ्नेछ ।

तिवारीले धेरै सेवा सुविधा हुने भएकोले नयाँ शहरको मूल्य पनि अन्य ठाउँको भन्दा बढ्ने बताए । जमिनकाे ठाउँ हेरेर जग्गाकाे मूल्य कायम हुने उनकाे भनाई छ ।

उत्कृष्ट स्वदेशी तथा विदेशी परामर्श दाताहरुले अध्ययन गरी प्लानिङ गरिएको घडेरीले राम्रो मूल्य पाउन सक्ने विस्वास गरिएको छ । चार नयाँ शहर विकास भइसकेपछि हरेक घडेरीमा विजुली, पानी, सडक, पार्क, पार्किङ, विद्यालय इत्यादिको विकास हुनेछ । यसले उपत्यकामा मानिसको चापलाई सन्तुलन गर्ने प्राधिकरणले विस्वास लिएको छ ।

सरकारले राजधानी काठमाडौंको कोलाहल र अव्यवस्थित सहरको संरचनालाई हटाउनका लागि नयाँ शहर अर्थात स्मार्ट सिटीको परिकल्पना गरेको हो । त्यहि परिकल्पना अनुरुप स्मार्ट सिटी बने साँच्चिकै स्मार्ट सिटीवासीले राम्रो सुविधा पाउने छन् । जहाँ सविधासम्पन्न भौतिक पूर्वाधारहरुसहित व्यवस्थित र सफा सुग्घर शहर हुनेछ ।

रोजगारीको हब बन्ने 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले धेरै मासनिसको रोजगारी गुमेको छ । लकडाउनको समयमा अर्थतन्त्र ठप्प रहेको समयमा नयाँ बन्ने शहरले पनि अब धेरै मानिसलाई रोजगारी पाउने अवसर मिल्नेछ ।

चारवटै नयाँ शहर निर्माण प्रक्रियामा गएपछि त्यहाँ उल्लेख्य मानिसहरुले रोजगारी पाउनेछन् । निर्माण कार्य पूरा भइसकेपनि त्यहाँको भौतिक संरचना र शहर भित्र निर्माण भएका विभिन्न व्यवसायहरुले मानिसहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्नेछ ।

यस्तै, नयाँ तथा स्मार्ट शहर भनेपछि उपत्यकामा जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई अन्डरग्राउन्ड गरिनेछ त्यसमा पनि उल्लेख्य मानिसको सहभागिता रहनेछ । शहरहरुको फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत रहनेछन् । ती क्षेत्रहरुमा पनि जनशक्ति परिचालन गरिनेछ ।

चार शहर कुन–कुन ठाउँमा हुन् ?

काठमाडौं आग्नेय

भक्तपुरमा निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पूर्वमा अरनिको राजमार्गको सूर्य्विनायक चोकबाट सूर्यविनायक मन्दिर अगाडिको वनलाई बाहिर पार्दै अघि बढ्नेछ ।

पश्चिमतर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

काठमाडौं नैऋत्य

यो शहरको डीपीआरको काम इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीले गरिरहेको छ । १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भू–भागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पूर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ ।

पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ ।

इशान काठमाडौं

यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरेको हो । यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ ।

त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको छ ।

काठमाडौं उत्तर

यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पूर्व्तिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ ।

उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यो शहरको वृस्तिृत योजना प्रतिवेदन डीपीआर फुल ब्राइट कम्पनीले बनाइरहेको छ ।

One comment on "चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.