नयाँ चार शहरः तीन शहरको डीपीआर स्वीकृत, ललितपुरको बन्नेमा अन्योल

  २०७७ जेठ २६ गते १५:०६     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका चार शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले तीन शहरहरुको डीपीआर स्वीकृत गरेको हो ।

तीनै शहरको डीपीआर स्वीकृत भएसँगै अन्तिम स्वीकृतीका लगि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ । प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।

ललितपुरमा बन्ने भनिएको नयाँ शहरमा भने अन्योलता देखिएको छ । ललितपुर महानगरपालिका नगरप्रमुख बैठकमा अनुपस्थित रहेकोले ललितपुर जिल्लामा पर्ने प्रस्तावित शहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको तिवारीले बताए ।

‘हामीले तीन शहरको डीपीआर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेका छौं, ‘काठमाडौँ नैऋत्य को शहरका लागि मेयरसाव दुई/तीन पटक बैठकमा बोलाएर पनि नआएपछि त्यतिकै रोकिएको छ, अर्को बैठकमा माग गरेर आयो भने स्वीकृत हुन्छ, नत्र त्यस्तै स्थगित रहन्छ,’ उनले विकासन्युजसँग भने ।

समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नयाँ शहरहरुको अन्तिम स्वीकृतीका लागि डीपीआर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको तिवारीले बताए । उनले सो डीपीआर मन्त्रिपरिषदबाट पास भएपछि निर्माणका लागि ठेक्का प्रकृयाको काम सुरु हुनेबताए ।

आगामी आर्थिक वर्षको सुरु देखि नै नयाँ शहरको निर्माण प्रक्रियाका लागि गर्नुपर्ने ठेक्कापट्टा लगाउने काम सुरु हुने उनको भनाई छ । उपत्यका विकास प्राधिकरणका अनुसार पहिले एकै पटक ४ वटै नयाँ शहर निर्माण सम्भव नभएको बताएपनि अहिले भने तीनै शहरको निर्माण प्रक्रिया सँगै सुरु गर्ने भएकाे हाे ।

आगामी आर्थिक वर्षको सुरुदेखि नै तीनै शहरको निर्माण प्रक्रिया सुरु गरी समयावधि भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम हुने तिवारीले बताए । आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा तीन सानो सहरका लागि ५०/५० लाख र ठूलो शहरका लागि १ करोड रुपैयाँ विनियोजन भएपछि सबैको सँगै काम सुरु गर्ने उनले बताए ।

नयाँ शहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ । डीपीआर अनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इसान’ को कुल निर्माण लागत चार खर्ब रुपैयाँ हुनेछ भने अन्य तीन वटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी, काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ । नयाँ शहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, प्रहरी चौकी, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ ।

मन्त्री नेम्वाङ भन्छन्ः चारै शहर बनाउने योजना पुरा गर्छौं

शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा बन्ने चारै शहर बनाउने योजना पुरा गरेरै छाड्ने बताएका छन् । काठमाडौंको अव्यस्थित बस्ती विस्तार भएका कारण संघीय राजधानीलाई व्यवस्थित बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको बताउँदै उनले चारै शहर निर्माण हुने बताएका हुन् ।

उनले चारै शहरको सिटीको काम आगामी आर्थिक वर्षमा तीव्र बन्ने बताए । विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सोमवार संसद्मा जवाफ दिँदै मन्त्री नेम्वाङले संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटी बनाउन लागिएको बताएका हुन् ।

‘कुनै पनि भूमाफियाको प्रलोभन र दबाबमा सरकार पर्दैन, संसारभरिका राजधानीहरू अति सुन्दर हुन्छन्, वातावरणीय दृष्टिले, सांस्कृतिक र सभ्यताले व्यवस्थित हुन्छन्, संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको हो,’ उनले भने ।

सम्बन्धित समाचार: 

नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ

चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.