नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ

  २०७७ जेठ १८ गते १५:५०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकाको चार ठाउँमा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएसँगै सो ठाउँहरुको जग्गाको मूल्यपनि निर्धारण भएको छ । शहर विकास भइसकेपछि अर्कै मूल्य कायम हुने भएपनि डीपीआरमा हालको बजारको अवस्थालाई मध्येनजर गर्दै जग्गाको मूल्य तोकिएको हो ।

बढ्दो अव्यवस्थित शहरीकरण र जनसंख्याको चापलाई मध्येजर गर्दै निर्माण हुने भनिएका चार शहर भौतिक पूर्वाधारले भरिपूर्ण र सुविधा सम्पन्न हुनेछन् । ती चारै शहरमा बस्ने नागरिकहरु सेवा सुविधा उपभोग गर्ने भाग्यमानी नागरिकमा गनिनेछन् ।

हाल काठमाडौं उपत्यकामा बढ्दै गएको जनसंख्या, अव्यवस्थित शहरीकरण र दुर्गन्धित वातावरणले आजित नागरिक व्यवस्थित र सुविधा सम्पन्न शहरमा बस्न पाएपछि उत्तिकै खुसी पनि हुनेछन् । तर, यति हुँदा हुँदै पनि ती सुविधा सम्पन्न शहरहरुमा बस्नको लागि कति पैसा तिर्नु पर्ने हो ? जग्गाको मूल्य कति पर्छ भन्ने जिज्ञासा भने आम सर्वसाधारणमा व्याप्त छ ।

काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणको भनाई छ । सो भन्दा कमको कित्ताकाट गर्न नपाइने डीपीआरमा उल्लेख गरिएको छ ।

सो डीपीआरमा नागरिकले जग्गा खरिद गर्नु परे न्युनतम आठ आना जग्गा हुनै पर्ने उल्लेख गरिएको छ । प्राधिकरणले सो मापदण्ड उल्लेख गरेसँगै धेरै मानिसमा एउटा प्रश्न खडा भएको छ ।

आठ आनाभन्दा कम जग्गा भएका मानिसले के गर्ने ? आफुहरुले जग्गा छोड्नु पर्ने कि हो कि नपर्ने ? यस्ता विविधि प्रनहरु आम जनमानसबाट उठिरहेका छन् । तर, आठ आनाभन्दा कम जग्गा भएका जग्गा धनीहरुका लागि प्राधिभकरणले अर्को एउटा मापदण्ड तयार छ ।

प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले आठ आनाभन्दा कम जग्गा भएकाहरुले जग्गा छोड्नु नपर्ने बताएका छन् । घरधनीहरुले भएको जग्गा छोड्ने नभई न्युनतम आठ आना जमिन बनाउनको लागि आफुसँग भएको जमिनमा थप पैसा तिरेर आठ आना जग्गा बनाउन सकिने उनले स्पष्ट पारे ।

त्यसका लागि उनीहरुले शहर विकास भइसकेपछि बजारको मूल्य अनुसार जमिनको मूल्य तिर्नु पर्ने उनको भनाई छ । ‘घर–घरमा बाटो जोडिन्छ, जग्गा कम भएकोहरुका लागि उनीहरुले थप पैसा तिरेर थप जग्गा बनाउन सक्छन्,’ उनले भने ।

आठ आना जमिन पछि विकसित घडेरी फिर्ता आउँदाखेरि जग्गा थप्न नपारेस् भनेर न्युनतम आठ आना मात्र काट्न पाइन्छ भनेको उनको भनाई छ । अहिले डीपीआरमा जति मूल्य तोकिएको भएपनि शहरहरु विकसित भइसकेपछि जसलाई जति सेवा सुविधा हुन्छ त्यही आधारमा र ठाउँको प्रकृति हेरेर जग्गाको मूल्य पनि तोकिने उनले बताए ।

‘हामीले अहिले डीपीआरमा हालको बजारको मूल्य तोकेका छौं, त्यसको वास्तविक मूल्य पछि बजारले बोल्नेछ,’ उनले भने ।

डीपीआरमा भएको मूल्य

चारै शहर विकास भइसकेपछि त्यहाँको जग्गाको मूल्य तोकिने भएपनि अहिले प्राधिकरणले हालको बजारको मूल्य हेरेर नयाँ शहरको जमिनको मूल्य कायम गरेको छ । तिवारीका अनुसार हाल ती ठाउँमा मोटरबाटो भएको जमिनको एक आनाकोे २० लाख रुपैयाँ तोकिएको छ ।

मोटर बाटो भएको र मोटर बाटो भएको नजिकैको जग्गाको मूल्य महँगो नै भएको उनको भनाई छ । तर, मोटर बाटो नभएको जमिनको मूल्य भने अहिले पनि सस्तो नै छ । पछि योजनावद्ध रुपले गइसकेपछि सबैमा बाटो पुगाएर त्यहाँको जमिनको मूल्य पनि तोक्ने उनले बताए ।

त्यहाँको सेवा सुविधा बढेपछि जग्गाको मूल्य पनि आफै बढ्ने उनले बताए । शहर विकसित भइसकेपछि प्रति आनाको २६÷२७ लाख रुपैयाँ मूल्य पर्न सक्ने उनको भनाई छ । अहिले डीपीआरमा बाटो नभएको ठाउँमा आनाको ५/६ लाख रुपैयाँ रहेको छ, गोरेटो भएको जग्गामा ८९ लाख रुपैयाँ कायम गरिएको छ, मोटर बाटो भएको जग्गा १६÷१७ लाख रुपैयाँ तोकिएको छ,’ उनले विकासन्युजसँग भने ।

जग्गाको मूल्य परियोजनाले बोल्नेभन्दा पनि बजारले बोल्ने उनको भनाई छ । जग्गाको मूल्य हामीले तोके पनि बजारले नियन्त्रण गर्ने स्पष्ट पारे ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिको २५ गते बस्ने बैठकले चारै शहरको डीपीआर स्वीकृत गर्ने उनले बताए । समितिको जेठ २५ गतेको बैठकले डीपीआरलाई स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्को बैठकमा पेश हुनेछ र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ ।

यस्तो बन्नेछन् नयाँ शहर

नयाँ शहर भनेको नयाँ तथा आधुनिक शहर हो । जहाँ विभिन्न भौतिक पूर्वाधारदेखि सुविधा सम्पन्न संरचना हुनेछन् । ती शहरहरुमा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकताका साथ निर्माण गरिनेछ ।

नयाँ शहरहरुमा व्यवस्थित सडक, यातायात, खानेपानी, ढल निकास, विद्युत, फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, विद्यालय, खुला क्षेत्र, बैंक तथा वित्तिय संस्था, सार्वजनिक पार्क, स्वास्थ्य चौकी लगायत भौतिक संरचनाहरु योजनावद्ध किसिमले बन्नेछन् ।

अहिलेका जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई ती शहरमा भूमीगत गरिनेछ भने फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत हुनेछन् । त्यस्तै, विभिन्न हरियाली पार्क, चिल्ड्रेन पार्क, खेलाडीहरुका लागि खेल मैदानलगायत सुविधा सम्पन्न संरचनाहरु निर्माण गरिने छन् ।

याे पनि पढ्नुस्: चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

2 comments on "नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ"

  • Prabhat Kumar karna says:

    Per aana rate fix than we have no property they are perchage this land.

  • Devin says:

    Why within Kathmandu? this scheme should be in those placesses where population is lnduess and start to develop. So no need in kathma

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.