काठमाडौंमा बन्ने नयाँ शहरको क्षेत्रफलमा हेरफेर, तपाईँकाे जग्गा नयाँ शहरमा पर्याे ?

<p>काठमाडौं । काठमाडौंमा निर्माण हुने भनिएका तीन नयाँ शहरको क्षेत्रफलमा हेरफेर अर्थात घटबढ गरिएको छ । काठमाडौं उपत्यका विकास प्रधिकरणले उपत्यकामा निर्माण गर्ने भनिएका तीन शहरहरुको क्षेत्रफलमा हेरफेर गरेको बताएको हो । नयाँ शहरमा पर्ने स्थानीय तहहरुले आफ्नो ठाउँ पनि नयाँ शहर भित्र पर्नु पर्ने माग राखेपछि नयाँ शहरहरुको जग्गाको क्षेत्रफलमा हेरफेर गरिएको प्राधिकरणका विकास [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा निर्माण हुने भनिएका तीन नयाँ शहरको क्षेत्रफलमा हेरफेर अर्थात घटबढ गरिएको छ । काठमाडौं उपत्यका विकास प्रधिकरणले उपत्यकामा निर्माण गर्ने भनिएका तीन शहरहरुको क्षेत्रफलमा हेरफेर गरेको बताएको हो ।

नयाँ शहरमा पर्ने स्थानीय तहहरुले आफ्नो ठाउँ पनि नयाँ शहर भित्र पर्नु पर्ने माग राखेपछि नयाँ शहरहरुको जग्गाको क्षेत्रफलमा हेरफेर गरिएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।

‘हामीले पहिले आफ्नो योजना अनुसार नै चारै शहरको क्षेत्रफल छुट्याएर काम गरेका थियौं, हाम्रो डीपीआर तयार भइसकेपछि पनि त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले हाम्रो ठाउँ पनि नयाँ शहर भित्र पर्नुपर्छ भनेर आवाज उठाए त्यही अनुसार हामीले पनि सम्भव भएको ठाउँमा जग्गाको क्षेत्रफल बढाएका छौं,’ तिवारीले भने ।

तिवारीका अनुसार नयाँ शहरको जग्गाको क्षेत्रफल बढ्ने मात्र होइन, धेरै ठाउँमा घटेको पनि छ । उनका अनुसार तीन वटा शहरहरुको धेरै ठाउँमा बढेको छ भने धेरै ठाउँमा घटेको पनि छ ।

उनका अनुसार इशान काठमाडौं नाम दिइएको शहरको क्षेत्रफल बढेको छ । एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुने भनिएको यस शहरको विभिन्न ठाउँमा क्षेत्रफल बढाइएको छ । यस शरहमा पर्ने शंखरापुर र चाँगुनारायण नगरपालिकाका विभिन्न ठाउँहरुलाई नयाँ शहर भित्र पारिएको तिवारीले बताए ।

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठका अनुसार पहिले सो शहर भित्र नपरेका शंखरापुर नगरपालिका वडा नम्बर ५, ६ र ९ का विभिन्न ठाउँहरु अहिले नयाँ शहर भित्र पारिएको छ । उनले नगरपालिकाको ५ नम्बर वडाको पापुलाठी, वडा नम्बर ६ को पुक्लाठी र ९ नम्बर वडाको इन्द्रायणीलाई नयाँ शरहभित्र समावेश गरिएको जानकारी गराए ।

स्थानीयहरुले आफुहरु पनि नयाँ शहर भित्र पर्नु पाउनु पर्छ भन्ने माग उठाएपछि त्यही अनुसार आफुहरुले  प्राधिकरणलाई आग्रह गरी क्षेत्रफल बढाउन लगाएको उनले बताए । यस्तै सोही शहरमा पर्ने चाँगुनारायण नगरपालिकाका विभिन्न ठाउँहरु पनि नयाँ शहर भित्र अटाएका छन् ।

चाँगु नारायण नगरपालिकाको वडा नम्बर ७ र ८ का ठाउँहरु नयाँ शहरमा थपिएको सो नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले बताए । यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरेको हो । यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ ।

त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको छ ।

एक लाख रोपनी क्षेत्रफल भएको इशानका विभिन्न ठाउहरुँलाई नयाँ शहर भित्र समावेश गराए पनि अन्य शहरहरुको जग्गा भने घटाइएको छ । तिवारीका अनुसार १० हजार रोपनीका अन्य शहरहरुको क्षेत्रफल घटाइएको हो ।
घना तथा बाक्लो मानव वस्ती भएको ठाउँहरुमा प्लान अनुसार काम गर्न असम्भव भएकोले ती क्षेत्रहरुलाई नयाँ शहरबाट हटाइएको तिवारीले बताए ।

पुरानो र बाक्लो वस्तीमा प्लान अनुसार काम हुँदैन भनेर घटायौं, हामीले बनाए अनुसारको योजना अनुरुप काम हुने ठाउँमा फेरि बढायौं, नहुने ठाउँलाई पहिले परेका ठाउँलाई पनि हटायौं, उनले विकासन्युजसँग भने ।
ठाउँहरु घटबढ भएपनि शहरहरुको बाउण्ड्री भने पहिलेकै अनुसार भएको उनको भनाई छ ।

ललितपुरमा पर्ने शहर बन्नेमा अन्यौल

काठमाडौंमा बन्ने भनिएका चार शहरहरु मध्ये ललितपुर क्षेत्रमा पर्ने शहर निर्माण हुनेमा भन्ने अन्यौलता थपिएको छ । तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बोर्डबाट स्वीकृत भएर सम्बन्धित मन्त्रालयमा पेश भइसकेको छ । अब सो मन्त्रालयले अन्तिम स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

प्रस्तावित चार नयाँ शहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको तिवारीले बताए ।

ललितपुर जिल्लामा पर्ने प्रस्तावित शहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको तिवारीले बताए । ‘हामीले तीन शहरको डीपीआर शहरी विकास मन्त्रालयमा पेश गरिसकेका छौं, काठमाडौँ नैऋत्य को शहरका लागि मेयरसाव दुई/तीन पटक बैठकमा बोलाएर पनि नआएपछि त्यतिकै रोकिएको छ, अर्को बैठकमा माग गरेर आयो भने स्वीकृत हुन्छ, नत्र त्यस्तै स्थगित रहन्छ,’ उनले विकासन्युजसँग भने ।

Share News