नयाँ चार शहरको डीपीआर मन्त्रालयले परिमार्जन गर्ने, जग्गा फेरि हेरफेर हुन सक्ने

  २०७७ असोज १६ गते १२:५८     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौंमा निर्माण हुने भनिएका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) परिमार्जन हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले डीपीआर स्वीकृत गरी सहरी विकास मन्त्रालयमा पठाएको भएपनि मन्त्रालयले भने सो डीपीआर परिमार्जन गर्ने तयारी गरिरहेको हो ।

मन्त्रालयका अनुसार सो डीपीआर अहिले मन्त्रालयमा अध्ययनको क्रममा छ । अहिले मन्त्रालयले डीपीआरलाई सुक्ष्म ढंगले अध्ययन गरिरहेको बताएको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दवाडीले प्राधिकरणबाट स्वीकृत भएर आएको डीपीआर अहिले मन्त्रालयमा अध्ययनको क्रममा भएकोले मन्त्रिपरिषदमा नपठाएको बताए ।

’हामी डीपीआरलाई रिभाइज गरिरहेका छौं, क्याविनेटमा पठाएका छैनौं, डीपीआरको प्राविधिकगत पक्ष हेर्न बाँकी नै छ, सबै कूराहरु हेरिसकेपछि क्याविनेटमा पठाउँछौं,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार डीपीआर परिमार्जन गर्नु पर्ने देखिएको छ । केही प्राविधिक कूराहरु मिलाउनु पर्ने भएकोले त्यसलाई मिलाएर मन्त्रीको निर्देशन अनुसार फाइल क्याविनेटमा पठाइने उनले बताए ।

‘अहिले पनि हामी केही कूराहरु परिमार्जन गरिनै रहेका छौं, छलफलमै छौं, यत्तिकै क्याविनेटमा पठायो भने भोलि फेरि परिमार्जन गर्न गाह्रो हुन्छ, त्यसैले अहिले डिटेल हेरेर परिमार्जन गर्छौं,’उनले भने ।

‘मन्त्रीज्यूले नचाहेर हामीले क्याविनेटमा पठाउन मिल्दैन, हामीले हेरिसकेपछि फाइल मन्त्रीज्यूसमक्ष पेश गर्छौं, उहाँको जे निर्देशन हुन्छ त्यही अनुसार अघि बढ्छौं, डीपीआर हेर्दै जाँदा केही कूराहरु परिमार्जन गर्नै पर्ने देखिएको छ,’ उनले भने ।
उनका अनुसार नयाँ चार शहरको जग्गा पनि पुनः हेरफेर हुन सक्नेछ । यसअघि पनि प्रधिकरणले उपत्यकामा निर्माण गर्ने भनिएका तीन शहरहरुको क्षेत्रफलमा हेरफेर गरेको थियो ।

नयाँ शहरमा पर्ने स्थानीय तहहरुले आफ्नो ठाउँ पनि नयाँ शहर भित्र पर्नु पर्ने माग राखेपछि नयाँ शहरहरुको जग्गाको क्षेत्रफलमा हेरफेर गरिएको प्राधिकरणले बताएको थियो । मन्त्रालयले पनि पुनः जग्गा हेरफेर गर्नु पर्ने महसुस गरेको छ ।
प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारी भने धेरै खर्च गरेर तयार पारेको डीपीआर परिमार्जन गर्न उचित नभएको आशय व्यक्त गर्छन् ।

‘विज्ञ कन्सल्टेनसीले डीपीआर तयार गरेको छ, समतिलिे नै राम्रो छ भनेर सिफरिस गरिसकेको छ, बरु केही कूराहरु सच्याउन सकिन्छ, त्यो परिमार्जन नै सम्भव छैन, उहाँहरुले परिमार्जन नै गर्यो भनेपनि त्यो उहाँहरुकै कूरा हो,’ तिवारीले भने ।

उनले परिमार्जन गर्ने बारे आफुहरुलाई कूनै जानकारी नभएको बताए । ‘हामीले पहिले आफ्नो योजना अनुसार नै चारै शहरको क्षेत्रफल छुट्याएर काम गरेका थियौं, हाम्रो डीपीआर तयार भइसकेपछि पनि त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले हाम्रो ठाउँ पनि नयाँ शहर भित्र पर्नुपर्छ भनेर आवाज उठाए त्यही अनुसार हामीले पनि सम्भव भएको ठाउँमा जग्गाको क्षेत्रफल बढाएयौं,’ तिवारीले भने ।

प्राधिकरणले पहिले शंखरापुर नगरपालिका क्षेत्रमा पर्ने शहरको नगरपालिकाका वडा नम्बर ५, ६ र ९ का विभिन्न ठाउँहरु अहिले नयाँ शहर भित्र पारिए थियो । यस्तै, चाँगु नारायण नगरपालिकाको वडा नम्बर ७ र ८ का ठाउँहरु नयाँ शहरमा थपिएको थियो । यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ ।

यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको छ ।

एक लाख रोपनी क्षेत्रफल भएको इशानका विभिन्न ठाउहरुँलाई नयाँ शहर भित्र समावेश गराए पनि अन्य शहरहरुको जग्गा भने घटाइएको छ । तिवारीका अनुसार १० हजार रोपनीका अन्य शहरहरुको क्षेत्रफल घटाइएको हो । घना तथा बाक्लो मानव वस्ती भएको ठाउँहरुमा प्लान अनुसार काम गर्न असम्भव भएकोले ती क्षेत्रहरुलाई नयाँ शहरबाट हटाइएको तिवारीले बताए ।

प्राधिकरणबाट स्वीकृत भयर मन्त्रालयमा पठाएको ४ महनिाभन्दा बढी समय भएपनि डीपीआर अझै मन्त्रिपरिषदमा पठाइएको छैन । ललितपूर क्षेत्रको शहरको डीपीआर प्राविधिक कारणले नपठाएको भएपनि अन्य तीन शहरको डीपीआर भने पठाइएको थियो ।

ललितपुर महानगरपालिका नगरप्रमुख बैठकमा अनुपस्थित रहेकोले ललितपुर जिल्लामा पर्ने प्रस्तावित शहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको तिवारीले बताए । चालु आवको शुरुदेखि नै शहरको निर्माण प्रक्रिया सुरु गरी समयावधि भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम हुने बताएपनि अझै डीपीआर समेत स्वीकृत हुन नसक्नुले शहर बन्ने बि नबन्ने भन्ने धेरै आशंकाहरु उब्जिएका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यक्रममा तीन सानो सहरका लागि ५०/५० लाख र ठूलो शहरका लागि १ करोड रुपैयाँ विनियोजन भएपछि सबैको सँगै काम सुरु गर्ने योजना प्राधिकरणको थियो ।

डीपीआरका अनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इसान’ को कुल निर्माण लागत चार खर्ब रुपैयाँ हुनेछ भने अन्य तीन वटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ ।त्यसैगरी, काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ ।

सम्बन्धित सामग्री:

काठमाडौंका ४ नयाँ शहरः जग्गा दलालको चहलपहल बढ्यो, कित्ताकाट गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौंमा बन्ने नयाँ शहरको क्षेत्रफलमा हेरफेर, तपाईँकाे जग्गा नयाँ शहरमा पर्याे ?

नयाँ चार शहरः तीन शहरको डीपीआर स्वीकृत, ललितपुरको बन्नेमा अन्योल

चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.