चुनाव सार्न महासंघले बोलायो पदाधिकारी बैठक, कोषाध्यक्ष भन्छन्ः यो त किर्ते काम भयो

<p>काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । साउन ८ गते साढे २ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी प्राप्त भएको कोषाध्यक्ष निरक केसीले जानकारी [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

साउन ८ गते साढे २ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी प्राप्त भएको कोषाध्यक्ष निरक केसीले जानकारी दिए । तोकिएको समयमा महाधिवेशन गर्न सक्ने अवस्था नभएकोले पदाधिकारी बैठकबाट निर्णय गर्नुपर्यो भन्दै अध्यक्ष भवानी राणाले टेलिफोनमार्फत जानकारी दिएको कोषाध्यक्ष केसीले बताए ।

‘महाधिवेशनको विषयमा छलफल गर्नुपर्ने भयो, तोकिएको समयमा गर्न सक्ने अवस्था देखिएन, पूर्वअध्यक्षहरु पनि सहभागी गराएर छलफल गरेर निर्णय गर्नुपर्ने भयो भन्दै अध्यक्षले फोन गर्नुभएको थियो, म अहिले काठमाडौं बाहिर छु, अध्यक्षलाई यही कुरा जानकारी गराएँ, उहाँले जुममा सहभागी गराउँछु भन्नुभएको छ,’ कोषाध्यक्ष केसीले विकासन्युजसँग भने ।

महासंघ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत र एसोसिएट गरी ३ जना उपाध्यक्ष र एक जना कोषाध्यक्ष हुन्छन् । पदाधिकारी बैठकमा विशिष्ट सदस्य उपस्थित हुने भएपनि उनीसँग मताधिकार हुदैन । विशिष्ट सदस्यको रुपमा पूर्वअध्यक्ष चण्डीराज ढकाल छन् ।

संस्थापन पक्ष चुनाव सार्ने तयारीमा छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासको कारण सरकारले गत चैत ११ गतेदेखि जारी गरेको देशव्यापी लकडाउन साउन ६ गतेदेखि हटाएको छ । लकडाउन हटेपनि लामो दुरीका सार्वजनिक सवारी साधन खुलेका छैनन् । निजी सवारी साधनको हकमा पनि एक जिल्लाबाट अर्काे जिल्लामा र खासगरी काठमाडौं उपत्यका आउनको लागि प्रशासनको अनुमतिमा मात्रै प्रवेश पाइन्छ ।

सरकारले लकडाउन हटाए पनि सभा सम्मेलन गर्न अनुमति खुल्ला गरेको छैन । एक स्थानमा २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने नियम सरकारले लागू गरेको छ । यही सन्दर्भमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने अवस्था आएको महासंघ संस्थापन पक्षको निक्र्योल छ ।

‘देशभरका कम्तिमा पनि १ हजारभन्दा बढी व्यवसायी महाधिवेशनमा सहभागी हुनुपर्छ, सरकारले काठमाडौं उपत्यका छिर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ, आन्तरिक हवाइ उडान पनि भदौ १ गतेदेखि मात्रै खुल्ने भनिएको छ, कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र सहज रुपमा आवत जावत पनि गर्न नसकिने अवस्था भएकोले व्यवसायीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता देखाउँदै महाधिवेशन केही पर सारौं भन्ने हाम्रो कुरा हो, यो बेला महाधिवेशन भएन भने आकाशै खस्ने भन्ने पनि होइन, यही विषयमा छलफल गरेर महाधिवेशन सार्ने निर्णय गर्न पदाधिकारी बैठक बोलाइएको हो,’ संस्थापन निकट एक व्यवसायीले भने ।

तर, कोषाध्यक्ष केसी भने पदाधिकारी बैठकले महाधिवेशन सार्ने निर्णय गर्न नसक्ने बताउँछन् ।

‘विधि विधान लत्याएर आफ्नो अनुकुलतामा मात्रै महाधिवेशन गर्ने गर्ने भन्ने सोच कसैले पालेको छ भने बेग्लै कुरा हो, महाधिवेशन सार्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, पदाधिकारी बैठक बोलाएर अधिवेशन सार्न सकिदैन,’ कोषाध्यक्ष केसीले भने ।

तर, संस्थापन पक्ष निकट व्यवसायी भने केन्द्रीय समिति बैठकले नै यससम्बन्धि निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिइसकेको बताउँछन् ।

‘यसअघिको केन्द्रीय समिति बैठकको निर्णय सबैले हेर्नुभएकै होला, त्यो बैठकले महाधिवेशन सम्बन्धी आवश्यक निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिएको छ, त्यो निर्णप्रति कसैको शंका छ भने फेरि केन्द्रीय समिति बैठक बोलाऊँ न त,’ ती व्यवसायीले भने ।

कोषाध्यक्ष केसी भने महाधिवेशन सम्बन्धी सबै निर्णय गर्ने अधिकार पदाधिकारीलाईलाई दिइको भन्ने कुरा आफूलाई जानकारी नभएको बताउँछन् ।

‘महासंघ सार्वजनिक संस्था हो, यस्तो संस्था विधि विधान अनुसार चल्नुपर्छ, पहिलो कुरा त केन्द्रीय समितिको अधिकार पदाधिकारीलाई दिनै मिल्दैन, दोस्रो कुरा यस्तो निर्णय भएको जस्तो मलाई लाग्दैन, यदि केन्द्रीय समितिको अधिकार पदाधिकारीले गर्ने भन्ने निर्णय माइन्यूट भएको रहेछ भने त्यो त किर्ते कुरा भयो,’ कोषाध्यक्ष केसीले भने ।

साउन २६ र २७ गते महासंघ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोस प्रधान प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खुलेर समर्थन गरेका छन् भने पूर्वअध्यक्ष तथा महासंघ विशिष्ट सदस्य चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई खुलेर समर्थन गरेका छन् । ढकाल पक्ष महाधिवेशन सार्न नहुने पक्षमा छ भने अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्ष गोल्छा चुनाव सार्ने मनस्थितिमा पुगेका छन् ।

भोलिको पदाधिकारी बैठकमा महाधिवेशन सार्ने विषयमा मतविभाजन हुने सम्भावना बढी छ । मतविभाजन भएको अवस्थामा महाधिवेशन सार्ने पक्षमा वहुमत हुने देखिन्छ । अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष (उद्योग वाणिज्य) किशोर प्रधान चुनाव सार्ने पक्षमा छन् ।

चुनाव सार्न हुदैन भन्ने पक्षमा उपाध्यक्ष (वस्तुगत) उमेशलाल श्रेष्ठ, उपाध्यक्ष (एसोसिएट) चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी छन् । भोलिका पदाधिकारी बैठकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको छ ।

सम्बन्धित सामग्री

नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा

शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप

अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा

एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो

महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

Share News