एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो

  २०७७ साउन ६ गते ११:१६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन थप अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमण कै बीचमा साउन २६ र २७ गते हुने महासंघको निर्वाचन पछिल्लो समय थप अन्योलमा पर्दै गएको हो ।

महासंघको अध्यक्षको जिम्मेवारी लिन तयार भएर बसेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तोकिएकै समयमा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । कोरोना भाइरस संक्रमणकै बीचमा देखिएको बाढी तथा पहिरोले महासंघ निर्वाचन सम्पन्न गर्न थप चुनौति थपिएको गोल्छाको भनाइ छ ।

‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् ।

महासंघले विधान अनुसार गत चैत २८ र २९ गते महासंघको निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो ।

कोरोना भाइरस संक्रमण बृद्धि भइरहेको समयमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै महासंघले साउन २६ र २७ गते ललितपूरमा महासंघको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सरकारले लकडाउन केही खुकुलो बनाएर तोकिएबाहेकका क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि धेरै मानिस भिडभाड हुने सभा सम्मेलन तथा सेमिनार गर्न खुल्ला गरेको छैन । यद्यपि सरकारको भनाइ अनुसार सभा सम्मेलन भने रोकिएको छैन । महासंघकै चुनावी कार्यक्रमहरुमा सामाजिक दुरी कायम गरेर संक्रमण विस्तार रोक्न सजगता अनाइएको जस्तो देखिएको छैन ।

महासंघले तोके अनुसारको निर्वाचन गर्न सरकारले अनुमति दिने नदिने यकिन छैन । केही दिन अघिमात्रै महासंघ प्रतिनिधि, काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसँग छलफल गरेको थियो । सो छलफलमा पनि निर्वाचन हुन दिने नदिने भन्नेमा सरकारले स्पष्ट जवाफ नदिएको महासंघ प्रतिनिधिहरुले बताएका छन् ।

यो निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष र ६३ सदस्य निर्वाचित गर्नेछ । यो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.