महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

  २०७७ असार ३१ गते १४:५७     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी निकै बढेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

तर, विगतदेखिकै अनुभव हेर्ने हो भने महासंघमा नेता बनाउने (किङ मेकर) हरुको भूमिका महत्वपूर्ण हुने गर्छ । विगत महाधिवेशनहरुमा भिन्नभिन्न व्यक्तिहरु किङ मेकरको भूमिकामा रहने गरेका थिए । खासगरी महासंघका पूर्वअध्यक्षहरु नै किङ मेकर बन्ने गरेका छन् ।

यसपालीको महाधिवेशनमा भने पूर्वअध्यक्षहरु चन्डीराज ढकाल र पशुपति मुरारका किङ मेकरको भूमिकामा देखिएका छन् । प्यानलै बनाएर वरिष्ठ उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा होमिएका ढकाल र प्रधानलाई यी दुई पूर्वअध्यक्षहरुले एक एक जनालाई सहयोग गरिरहेका छन् ।

‘यसपालीको चुनावी प्रतिस्पर्धामा सतहमा जो देखिए पनि भित्री चाल चण्डीराज ढकाल र पशुपति मुरारकाले नै चल्ने हो, ढकाल व्यवसायमा असफल भएपनि महासंघ राजनीतिमा सफल छन्, मुरारकाले व्यवसायमा सफलता प्राप्त गरिरहेका छन् भने महासंघ राजनीतिमा अब अलि बढी नै सक्रियता देखाउन थालेका छन्, यसपालीको चुनावमा यी दुईको चालबाजी हेर्न लायकको छ,’ एक व्यवसायीले भने ।

कुन क्षेत्रमा कसको पकड ?

पशुपति मुरारकाभन्दा निकै अगाडिदेखि महासंघको नेतृत्वमा बसेर राजनीति गरिरहेका ढकालको सबैभन्दा धेरै पकड भएको क्षेत्र जिल्ला/नगर हो । जिल्ला नगर क्षेत्रले एक उपाध्यक्ष र १७ सदस्य महासंघमा पठाउँछ । यो क्षेत्रमा १०६ जना मतदाता रहेका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा ५० प्रतिशत मतभार यही क्षेत्रको छ ।

जिल्ला/नगर क्षेत्रमा मुरारकाको भन्दा ढकालको प्रभाव बढी हुने जानकारहरु बताउँछन् । इतिहासले पनि त्यहि पुष्टि गर्छ । ढकालकाे समर्थन रहेका सुरज बैंद्य, प्रदिपजंग पाण्डेले अध्यक्ष पदमा निर्वाचन जिते। ढकालकाे समर्थनमा मुरार्का र भवानी राणा अध्यक्ष भए । ढकालकै समर्थनमा शेखर गाेल्छाले बरिष्ठ उपाध्यक्ष पदमा विजयी हासिल गरे ।

जिल्ला/नगरपछि बढी मतभार भएको क्षेत्र एसोसिएट हो । महासंघ वरिष्ठ उपाध्यक्ष पदमा एसोसिएटबाट ९२७ जनाले मतदात गर्दैछन् । तर यस क्षेत्रकाे मतभार ३० प्रतिशत हुन्छ ।

एसोसिएटमा ढकालको भन्दा मुरारकाको प्रभाव धेरै रहेको जानकारहरु बताउँछन् । इतिहासले पनि त्यहि भन्छ । जब  एशाेसिएट उपाध्यक्ष पदका प्रत्यासी प्रदिपमान बैद्यलाइ पराजित गर्दै मुरार्का विजयी भए तब उनी निरन्तर याे क्षेत्रमा प्रभावशाली व्यक्तिकाे रूपमा उदाए ।

मुरार्काकाे समर्थममा शेखर गाेल्छाकाे समूहले एशाेसिएटमा १०० प्रतिशत जित हासिल गर्याे । गत वर्ष मुरार्काले ज्ञानेन्द्रलाल प्रधानलाई समर्थन गर्दै थिए । तर पछि चन्द्रप्रसाद ढकाल एशाेसिएट उपाध्यक्षमा सर्बसहमत भए ।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा २० प्रतिशत मतभार रहेको वस्तुगत क्षेत्रको मतदाता १०३ जना छन् । वस्तुगतमा ढकाल र मुरारकाको करिब उस्तै प्रभाव रहेको बताइन्छ ।

ढकाल र मुरारकाको विशेषता

ढकाल र मुरारका दुबैलाई नजिकबाट चिन्नेहरु यी दुबै पूर्वअध्यक्षहरु उद्योगी व्यवसायीका समस्या समाधान गरिदिन जुनसुकै समय तयार हुन्छन् । जुनसुकै बेला फोन उठाउने, जस्तो सुकै समस्यामा पनि समाधानको लागि पहल गरिदिने स्वभावका कारण धेरै सदस्यले ढकाल र मुरारकालाई ‘नेता’ मानिरहेका छन् ।

तर, केही व्यवसायीहरु भने मुरारका र ढकालले समाधान गरिदिने समस्या नै फरक प्रकृतिका भएकोले दुबैको सहयोग आवश्यक पर्ने बताउँछन् । मुरारकाको खास दख्खल भएको क्षेत्रमा ढकालको नभएको र ढकालले गर्न सक्ने काम मुरारकाले गर्न नसक्ने भएकोले दुबै पूर्वअध्यक्षसँग समदूरीको सम्बन्ध राख्नुपर्ने व्यवसायीको भनाइ छ ।

‘बल प्रयोग गर्नु गराउनु पर्ने तथा राजनीतिक प्रकारका समस्या छन् भने पूर्वअध्यक्ष ढकाललाई सम्झनु पर्छ, भन्सार, कर तथा अन्य प्रशासनिक समस्या हो भने पूर्वअध्यक्ष मुरारकाबाट सहयोग बढी प्राप्त हुन्छ, त्यसैले अहिलेसम्मको अवस्थामा समस्याको प्रकृति अनुसार हामीलाई दुबै व्यक्ति जरुरी छ, भोलि के कस्तो हुन्छ भनेर अहिले भन्न सकिने कुरा पनि होइन,’ अर्का एक व्यवसायीले भने ।

आफ्नो कार्यकालमा कसले के काम गरे ?

२०४९ सालदेखि महासंघमा सक्रिय भएका व्यवसायी निरक केसी पूर्वअध्यक्ष ढकालको सक्रियता र सम्पर्क तथा पूर्वअध्यक्ष मुरारकाको नीति निर्माणमा विशेष दख्खल रहेको स्मरण गर्दछन् ।

‘चण्डीजी जुनसुकै समयमा साथीहरुलाई सहयोग गर्न तयार रहनुहुन्छ, एकचोटी भेटेको र चिनेको साथीलाई सम्झन सक्नुहुन्छ, जिल्लाका साथीहरुसँग लामो समयदेखि आजसम्म पनि सम्पर्कमा हुनुहुन्छ, राजनीतिक नेतृत्व र गतिविधिप्रति पनि जानकारी राख्नुहुन्छ, त्यसैले साथीहरुले उहाँलाई आज पनि सम्झिरहेका हुन्,’ केसीले भने ।

पशुपति मुरारकाको अध्ययन र तर्कशैली राम्रो भएको केसीको भनाइ छ ।

‘महासंघ र सरकारका नीतिगत विषयमा पशुपतिजी अलि बढी दख्खल राख्नुहुन्छ, तर्क गर्ने क्षमता राम्रो छ, साथीहरुलाई नीतिगत समस्या पर्यो भने उहाँले सहयोग गर्नुहुन्छ, भाग्य बलियो भएर महासंघको अध्यक्ष हुनुभएकोले जिल्लाका साथीहरुसँग पशुपतिजीको सम्पर्क अलि कम भएको महसुस गरेको छु,’ केसीले थपे ।

महासंघमा लामो समयसम्म सक्रिय तथा सफल गलैचा व्यवसायी अनुपबहादुर मल्ल ढकाल र मुरारका अध्यक्ष बनेको परिस्थिति नै भिन्न भएकोले सो परिस्थिति अनुसार दुबै जनाले राम्रो काम गरेको बताउँछन् । ढकाल अध्यक्ष भएको समयमा कार्यकारिणी सदस्यको रुपमा महासंघ प्रवेश गरेका मल्ल अध्यक्षको रुपमा मुरारकाको कार्यकाल सकिएसँगै महासंघबाट बाहिरिएका थिए ।

‘ढकाल अध्यक्ष बनेको समयमा राजाको सक्रिय शासन सकिएर देश शान्तिप्रक्रियामा भर्खरै जादैथियो, सशस्त्र विद्रोहबाट आएको माओवादीले सम्पत्तिमाथिको अधिकार कुण्ठित गर्ने हो कि त्रासमा उद्योगी व्यवसायी थिए, श्रम सम्बन्ध नराम्रो थियो, यो परिवेशमा ढकाल नेतृत्वको महासंघले राजनीतिक पहुच बृद्धि गरेर निजी क्षेत्रको शाख जोगाएको हो, त्यसैले म ढकाललाई सफल अध्यक्ष मान्छु,’ मल्लले भने ।

मुरारकाप्रति पनि मल्लको सकारात्मक धारणा छ । मुरारकाले अध्यक्षको रुपमा विवादरहित कार्यकाल व्यतित गरेको र निजी क्षेत्रका अन्य संस्थाहरुसँगको सम्बन्ध सुमधुर बनाउन ठूलो भूमिका निर्वाह गरेको मल्लले सुनाए ।

‘मुरारका अध्यक्ष बन्नुभएको समयमा संविधानसभाको अर्काे निर्वाचन गरेर संविधान बनाइएको थियो, लामो समयदेखि ठूलो समस्याको रुपमा रहेको खराब श्रम सम्बन्धलाई कानुनी रुपमा व्यवस्थित गर्नुपर्ने थियो, संविधानमा निजी क्षेत्रका विषय समावेश गराउन र श्रम सम्बन्धलाई कानुनी रुपमै व्यवस्थित गर्न मुरारका नेतृत्वको महासंघ सफल भयो, त्यसैले मुरारकाको कार्यकाल म सफल मान्छु,’ मल्लले भने ।

अध्यक्षको रुपमा मुरारकाको कार्यकाल विवादास्पद करिब भएन । तत्कालिन अध्यक्ष प्रदीपजंग पाण्डेलाई भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गरेपछि मुरारका अध्यक्ष भएका थिए । महासंघ कार्यसमितिको ३ वर्षे कार्यकालमा एक वर्ष पाण्डेले र बाँकी २ वर्ष मुरारकाले अध्यक्षको रुपमा महासंघको नेतृत्व गरेका थिए ।

तर, पाण्डेलाई अध्यक्षको रुपमा स्वीकार गर्ने कि नगर्ने भन्नेमा महासंघभित्र तिब्र विवाद भयो । मुरारकाले पाण्डेलाई अध्यक्षको रुपमा अभिलेखिकरण गर्न सबैलाई स्वीकार गराए । यस्तै, महासंघसँग रुष्ट भएपछि नेपाल उद्योग परिसंघ स्थापना गरेर महासंघको भवनमै पाइला हाल्दिन भनेका पूर्व अध्यक्ष विनोद चौधरीलाई पनि महासंघको कार्यक्रममा ल्याएर अभिनन्दन गरेर मुरारकाले अर्काे समझदारीपूर्ण नेतृत्वको पहिचान पनि दिएका थिए ।

अहिले पूर्वअध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र उनको टीमलाई जिताउन भोट माग्दै हिडेका छन् । पूर्वअध्यक्ष मुरारका वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र उनको टीमलाई जिताउन भोट माग्दै हिडेका छन् । यो निर्वाचनमा कसले बाजी मार्ला भनेर जान्न भने निर्वाचनसम्म कुर्नै पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.