एफएनसीसीआईको साधारणसभाः कसरी हुन सक्छ स्थगित ? रोकिए फेरि कहिले गर्नुपर्छ ?

  २०७६ फागुन ३० गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा अन्योलमा परेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण देखाउँदै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम भएको देशको सूचीमा राखेको र संक्रमण भित्रन नदिन सरकारले धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आव्हान गरेका कारण सभा अन्योलमा परेको हो ।

महासंघले आगामी चैत २८ र २९ गते काठमाडौंमा महासंघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । तर, सरकारी उच्च अधिकारीबाट दबाब आएको भन्दै अध्यक्ष भवानी राणाले आफू निकटसँग साधारणसभा सार्नुपर्ने तर्क गरिरहेकी छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले साधारणसभा सार्न महासंघसँग आग्रह गरेका छन् । हिजो (बिहीबार, २९ फागुन २०७६) महासंघका प्रतिनिधिले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग छलफल गरेका छन् ।

सो छलफलमा प्रमुख जिल्ला अधिकारी दाहालले साधारणसभा सार्न आग्रह गरेका सहभागी एक प्रतिनिधिले जानकारी दिए । सरकारले सभा, सम्मेलन र धेरै मान्छे सहभागी हुने कुनै पनि प्रकारको कार्यक्रम गर्न रोकेको अवस्थामा महासंघले साधारणसभा गर्नु उचित नहुने दाहालको भनाइ छ ।

महासंघ अध्यक्ष राणा साधारणसभा सार्ने मनस्थितिमा भएपनि अन्य पदाधिकारी भने सार्न नहुने अडानमा थिए । तर, प्रमुख जिल्ला अधिकारी दाहालसहित उच्च सरकारी अधिकारीले सभा सार्न महासंघ प्रतिनिधिलाई दबाबसहितको आग्रह गरेपछि सभा सार्ने मनस्थितिमा अन्य पदाधिकारी पनि पुगेका बताइएको छ ।

‘सरकारले सभा सार्न घुमाउरो ढंगले निर्देशन नै दियो, देशभरबाट मानिस जम्मा हुने, त्यसमध्ये कसैलाई कोरोना संक्रमण भएको अवस्था रहेछ भने सबैलाई सर्नसक्ने सम्भावना पनि छ, त्यसैले यो बेला चुनाबी जोडघटाउ भन्दा पनि मानिसको ज्यानलाई उच्च प्राथमिकतामा राखेर निर्णय गर्नु उचित हुन्छ भन्ने महसुस गरिएको छ,’ महासंघका एक पदाधिकारीले विकासन्युजसँग भने ।

महासंघको यसपालीको साधारणसभाले आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व छनोट गर्दैछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकोले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि महासंघको अध्यक्ष बन्दैछन् ।

तर, यसपटकको साधारणसभामा उपाध्यक्षहरु चन्ढीप्रसाद ढकाल र किशोर प्रधान बरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, अन्य पदमा पनि चुनाबी प्रतिस्पर्धामा धेरै उद्योगी व्यवसायी छन् ।

चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार भने साधारणसभा रोक्न नहुने पक्षमा छन् । आफूहरुको समय, श्रम र पैसा खर्च भइरकेको र साधारणसभा सार्दा फेरि यही प्रक्रिया दोहोरिने भन्दै उम्मेदवारले साधारणसभा नसार्न दबाब दिएका हुन् ।

साधारणसभा सार्ने कि नसार्ने भन्ने विषयमा छलफल गर्न महासंघले आज ३ बजे कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकले सभा सार्ने कि नसार्ने भन्ने निर्णय गर्ने अनुमान गरिएको छ ।

सभा सार्न सरकारी अधिकारीको दबाब र अध्यक्ष राणाको मनस्थिति भएपनि उम्मेदवारहरुले नसार्न दबाब दिएका कारण मध्यमार्गी निर्णय हुन सक्ने सम्भावना पनि छ । तत्कालको लागि सभा सार्ने निर्णय नगर्ने र पछि जे जस्तो अवस्था देखिन्छ, त्यसै अनुरुप निर्णय गर्ने गरेर अगाडि बढ्नुपर्ने मध्यमार्गी विकल्पमा पनि अनौपचारिक छलफल भइरहेको छ ।

‘सभा सार्नै पर्ने अवस्था आयो भने एक साता अघि पनि सार्न सकिन्छ, अझै एक महिना बाँकी भएकोले अहिले नै सभा सार्ने निर्णय गरेर बसिरहनु पर्दैन, त्यसैले तत्कालको लागि तयारीका कामहरु गर्दै गर्ने र अवस्था अझ संकटपूर्ण हुँदै गयो भने एक साताअघि रोक्ने निर्णय गरौं भन्ने विकल्पमा कुराकानी गर्दैछौं,’ महासंघका एक पदाधिकारीले भने ।

विधानले के भन्छ ?

साधारणसभा रोक्ने अवस्था आयो भने महासंघको विधानमा पनि टेक्नुपर्ने अवस्था रहन्छ । यस्तो अवस्थामा महासंघको विधानको दफा २४ आकर्षित हुनेछ ।

‘एक वार्षिक साधारणसभा र अर्काे वार्षिक साधारणसभाबीचको फरक सामान्यतया एक वर्षको हुनेछ । तर, विशेष परिस्थितिमा कार्यकारिणी समितिको दुई तिहाई सदस्यहरुको निर्णयबाट तोकिएको प्रक्रिया पूरा गरी बढीमा ३ (तीन) महिनासम्मका लागि कार्यकारिणी समितिले साधारणसभा पछि सार्न सक्नेछ,’ भन्ने व्यवस्था दफा २४ मा छ ।

विधानले साधारणसभा सार्न ३ महिनाको लागि मात्रै छुट दिएकोले चैतको सभा सारेर असारसम्म पुर्याउन सकिन्छ ।

सम्बन्धित सामग्री

एफएनसीसीआई निर्वाचनः रोक्न प्रशासनको आग्रह, नरोक्न उम्मेदवारको दबाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.