महासंघका थप तीन विषयगत समितिले पाए पूर्णता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यससँगै पूर्णता पाउने समितिको संख्या ११ पुगेको छ ।

पछिल्लो पटक बैंक, फाइनान्स तथा बीमा समिति, मेला समिति तथा पर्यटन तथा हवाई यातायात समिति विस्तार गरिएको हो । बैंक, फाइनान्स तथा बीमा समितिको सभापतिमा हेमन्त गोल्छा, मेला समितिको सभापतिमा सविन श्रेष्ठ र पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा संघर्ष विष्ट रहेका छन् ।

महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण ग रे।

कार्यक्रममा वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र नीतिगत आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए । उनले अध्ययनमा आधारित सुझाव तयार गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे ।

उनले समितिहरूको सक्रियताले निजी क्षेत्र सशक्त हुने र आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गरे । निजी क्षेत्रका साझा मुद्दामा संस्थागत धारणा बनाउन पनि समितिको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समितिहरूलाई व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न आग्रह गरे । तथ्यमा आधारित नीतिगत सुझाव महासंघमा पेश गर्न उनले जोड दिए ।

कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता थप बलियो बन्ने बताए । निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय बढाउन समितिले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

बैंक, फाइनान्स तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले वित्तीय पहुँच विस्तार, ब्याजदर स्थिरता र निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताए ।

मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेलालाई व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारलाई प्राथमिकतामा राखिने बताए ।

पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन पुनरुत्थान, हवाई सेवा सुधार र नीतिगत सुधारका लागि समिति सक्रिय रहने बताए ।

महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या पहिचान, नीतिगत सुझाव तयारी तथा सरकारसँग समन्वय गर्ने प्रभावकारी संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।

Share News