अशान्तिले साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पुर्याउने जनाएको छ ।

विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ ।

महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ । 

विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ ।

साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ ।

महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।   

Share News