एफएनसीसीआई निर्वाचनः रोक्न प्रशासनको आग्रह, नरोक्न उम्मेदवारको दबाब

  २०७६ फागुन २९ गते १३:१३     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को महाधिवेशन अन्योलमा परेको छ ।

विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस संक्रमणबाट जोगिन भन्दै सरकारले सभा, सम्मेलन तथा भेला जस्ता कार्यक्रम आयोजना नगर्न अनुरोध गरेको कारण महासंघको महाधिवेशन अन्योलमा परेको हो ।

महासंघले आगामी २८ र २९ चैतमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । यो महाधिवेशनले नयाँ नेतृत्व पनि छनोट गर्ने भएकोले चुनाबी प्रतिस्पर्धामा होमिएका उम्मेदवारले भने महाधिवेशन नसार्न दबाब दिएका छन् ।

सरकारले आफ्ना सबै प्रकारका भेला, सम्मेलन र सभा स्थगित गरेको अवस्थामा महासंघले महाधिवेशन गरेर जोखिम बढाउन नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

‘सरकारले गर्ने भनेका सभा, सम्मेलन र भेलाहरुलाई पनि रोकेको छ, अरुलाई पनि यस्ता प्रकारका कार्यक्रमहरु आयोजना नगर्न र भीडभाडमा नजान उर्दी जारी गरेको छ, यस्तो अवस्थामा एउटा कुनै संस्थाले सरकारको निर्देशन र अनुरोध नमानी कार्यक्रम आयोजना गर्न खोज्नु राम्रो होइन, उहाँहरु आफैले बुझेर कार्यक्रम स्थगित गरे जाती हुन्छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले विकासन्युजसँग भने ।

अहिलेको अवस्थामा महासंघको महाधिवेशन गर्नु अत्यन्तै जोखिमयुक्त भएको पनि उनको भनाइ छ ।

‘महासंघलाई हामीले कार्यक्रम आयोजना गर्दै नगर्नु भनेर पत्र पठाएको वा बोलाएर निर्देशन दिएको अवस्था होइन, तर समग्र निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था भएकोले महासंघ आफै जिम्मेवार ढंगले प्रस्तुत हुन्छ होला, महासंघको अधिवेशनमा सहभागी हुन आएका कसैलाई उच्च ज्वरो देखियो, नजिकको अस्पतालमा गएर परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइयो र त्यो संक्रमण त्यहाँ सहभागी भएका अरु धेरैलाई सर्यो भने त्यसको जिम्मा कसले लिने ? त्यसैले यस्तो बेलामा कार्यक्रम स्थगित गर्नु नै बुद्धीमतापूर्ण कार्य हुन्छ, महासंघले त्यसै गर्छ भन्नेमा म विश्वस्त छु,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

महासंघको यो महाधिवेशनले नयाँ नेतृत्व पनि छनोट गर्नेछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने भएकोले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि अध्यक्ष बन्नेछन् ।

तर, अध्यक्ष बाहेकका पदमा भने निर्वाचन हुनेछ । यस्ता पदमा पनि बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकोले सो पदमा हुने चुनावी प्रतिस्पर्धा रोचक हुनेछ ।

बरिष्ठ उपाध्यक्ष पदमा अहिलेका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छन् । ढकाल र प्रधानको अघोषित प्यानल नै चुनावी प्रतिस्पर्धामा सहभागी हुदैछ ।

चुनाबी प्रचार प्रसारमा धेरै समय र पैसा खर्च भइसकेकोले महाधिवेशन रोक्न नहुने उम्मेदवारहरुको भनाइ छ । महासंघको निर्वाचन असाध्यै खर्चिलो हुने गरेको सरोकारवाला बताउँछन् ।

‘महाधिवेशन आउन अझै एक महिना समय बाँकी छ, अहिले पनि प्रचार प्रसारका कार्यक्रम रोकिएका छैनन्, उम्मेदवारहरुको खर्च पनि धेरै भइसकेको छ, अब महाधिवेशन रोकिने हो भने फेरि खर्च र समय यति नै लाग्छ, त्यसैले एक महिनासम्ममा कोरोना संक्रमण सकिन्छ होला, त्यसैले आन्तरिक तयारी गर्दै गरेर तोकिएकै समयमा महाधिवेशन गर्ने गरी अगाडि बढ्नु उचित हुन्छ,’ आगामी निर्वाचनको लागि उम्मेदवारका प्रत्यासी बनेका एक उद्योगीले विकासन्युजसँग भने ।

उपाध्यक्ष उम्मेदवारका प्रत्यासी ढकालले महाधिवेशन नरोक्न महासंघ नेतृत्वलाई दबाब दिइरहेका छन् । यस्तै अर्का प्रत्यासी प्रधानले पनि महाधिवेशन रोक्न नहुने भन्दै तोकिएकै समयमा गर्न दबाब दिइरहेका छन् ।

प्रशासनले कार्यक्रम स्थगित गर्न आग्रह गरिरहेको र उम्मेदवारहरुले तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिएको कारण महासंघ नेतृत्व अप्ठेरोमा परेको छ । महासंघ अध्यक्ष भवानी राणा महाधिवेशन रोक्नु उचित हुने मनस्थितिमा रहेकी स्रोतको दाबी छ । तर, बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा भने महाधिवेशन तोकिएकै समयमा गर्नु उचित हुने पक्षमा छन् । उम्मेदवार बनेकाहरु भने तोकिएकै समयमा महाधिवेशन गर्न सके आफूहरुको समय र पैसाको बचत हुने भन्दै सोही अनुसारको तयारीमा जुट्न नेतृत्वलाई दबाब दिइरहेका छन् ।

महासंघका महानिर्देशक धरणीधर खतिवडाले महाधिवेशन रोक्ने बारेमा कुनै योजना नरहेको बताए । महासंघले चैत २८ र २९ गतेका लागि महाधिवेशन बोलाइसकेको र अहिलेसम्म सोही अनुसार तयारी भइरहेको उनको भनाइ छ । तर, महासंघले भोलि (शुक्रबार, ३० फागुन) कार्यसमिति बैठक बोलाएको छ । सो बैठकपछि मात्रै तोकिएकै समयमा महाधिवेशन हुने वा रोकिने भन्ने यकिन हुन सक्नेछ ।

सम्बन्धित सामग्री

अनुहार प्रष्ट, मिति अस्पष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.