२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगसँग सम्बन्धित विभिन्न सिफारिस तथा सेवा प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै प्रदान गरिने स्पष्ट पारेको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने २५ करोड रुपैयाँभन्दा कम स्थिर पुँजी भएका उद्योगका लागि आवश्यक मेसिनरी, औजार तथा कच्चा पदार्थसम्बन्धी सिफारिस प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो ।

यस्तै, रसायन आयात, बण्डेड वेयरहाउस सञ्चालन, कच्चा पदार्थ खपतको नर्म्स निर्धारण तथा अन्य छुट, सुविधा र सहुलियतसम्बन्धी सिफारिससमेत सम्बन्धित प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै गरिने विभागले स्पष्ट पारेको छ ।

यसैबीच, उद्योग विभागले उद्योग दर्तासहित थप सात प्रकारका सेवा पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । विभागका अनुसार औद्योगिक व्यवस्थापन सूचना प्रणालीमार्फत आगामी साउन १८ गतेदेखि यी सेवाहरू अनलाइनबाटै सञ्चालनमा ल्याइनेछ ।

Share News