पशुपति खाद्यले बेच्यो १०.१८ अर्बको खाने तेल, ८५ प्रतिशत भारत निर्यात

काठमाडौं । पशुपति खाद्य तेल उद्योगले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामै १० अर्ब १८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ भर गरेको १० अर्ब ३० करोड रुपैयाँ आम्दानीसँग लगभग बराबर हो ।

पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा उल्लेख्य उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ७ करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ६६ करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब ७ करोड ७० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीको मुख्य स्रोत भारततर्फको निर्यात हो । गत  आर्थिक वर्षको ९ महिनामा कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारत निर्यातबाट आएको कम्पनीले जनाएको छ ।

सन् १९८२ मा स्थापना भएको पशुपति खाद्य तेल उद्योग नेपालका प्रमुख परिष्कृत खाद्य तेल तथा वनस्पति घ्यू उत्पादक उद्योगमध्ये एक हो । कम्पनीले विदेशबाट कच्चा खाद्य तेल आयात गरी प्रशोधन गरेर सोयाबिन, सूर्यमुखी र पाम ओलिन तेलका साथै वनस्पति घ्यू उत्पादन गर्दै आएको छ । यी उत्पादनहरू ‘पोस्टम्यान’, ‘हनुमान’, ‘हेल्लो’ र ‘पशुपति’ ब्रान्डमार्फत बजारमा बिक्री-वितरण गरिन्छ ।

कम्पनीको दर्ता कार्यालय मोरङको विराटनगर-८ मा रहेको छ भने उत्पादन केन्द्र सुनसरीको दुहबी उपमहानगरपालिका-८ मा सञ्चालनमा छ। कम्पनीमा नन्द किशोर राठी १३ प्रतिशत स्वामित्वसहित सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी छन्। बाँकी स्वामित्व शारदा, राठी र वैद्य परिवारका १९ जना अन्य सेयरधनीसँग रहेको छ ।

कच्चा खाद्य तेलका लागि कम्पनी पूर्ण रूपमा आयातमा निर्भर छ । नेपालमा उत्पादन हुने कच्चा खाद्य तेलले कुल आवश्यकताको सानो हिस्सा मात्र पूरा गर्ने भएकाले कम्पनीले अधिकांश कच्चा तेल अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिललगायत मुलुकबाट आयात गर्छ ।

कम्पनीका अनुसार आयात नीतिमा हुने परिवर्तन, प्रतिकूल मौसमका कारण कच्चा पदार्थको मूल्यमा आउने उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा खाद्य तेलको मूल्य अस्थिरता तथा अमेरिकी डलरमा हुने आयातका कारण सिर्जना हुने विनिमय दरको जोखिमले कारोबार, नगद प्रवाह र नाफामा प्रत्यक्ष असर पार्न सक्छ । विश्वव्यापी आपूर्ति शृंखलामा आउने अवरोधका कारण कच्चा पदार्थ आपूर्तिमा ढिलाइ हुने र मौज्दात व्यवस्थापन लागत बढ्ने जोखिम पनि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब रुपैयाँ कर्जा लिएको छ । यसमध्ये ३ अर्ब रुपैयाँ फन्ड-बेस्ड र ५ अर्ब रुपैयाँ नन-फन्ड-बेस्ड कर्जा रहेको छ ।

Share News