काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन् ।
आइतबार जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच करिब डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो ।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका १३ बुँदे मागहरूमा थप ६ बुँदा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ ।
सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा एक समिति गठन गर्ने समझदारी भएको उनले बताए ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष सनातनीले देशमा धार्मिक सद्भाव कायम राख्न र मुलुकलाई द्वन्द्वबाट जोगाउन आफूहरू सहमतिमा आएको बताए ।
उनले भने, ‘हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी ‘वसुधैव कुटुम्बकम’ मा विश्वास गर्छौं । हिन्दू राष्ट्रको परिकल्पना गर्दा हामी सबै धर्म र समुदायलाई उत्तिकै सम्मान गर्छौं । कसैलाई पनि अन्याय गर्ने हाम्रो उद्देश्य होइन ।’
उनले राजनीतिक दलहरूले यस विषयलाई लिएर षडयन्त्र गर्नसक्ने भन्दै सबैलाई सचेत रहन समेत आग्रह गरे ।
हिन्दु सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवकाअनुसार धर्मका आधारमा कुनैपनि आयोग गठन नगरिने, मदरसा तथा मस्जिदको ‘फन्डिङ’ (कोष परिचालन) र धार्मिक स्थलहरूमा प्रयोग गरिने लाउड स्पिकरको व्यवस्थापन लगायतका विषयमा समेत समझदारी भएको छ ।
वार्ताका क्रममा गृहमन्त्रीले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै कुनै पनि धार्मिक समुदायका पर्व र गतिविधिमा अवरोध वा हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
सरकारी पक्षबाट माग सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिवद्धता प्राप्त भएपछि हिन्दू सम्राट सेनाले नेपाल बन्दसहितका सम्पूर्ण विरोधका कार्यक्रमहरू तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ ।
अहिलेको परिस्थितिमा देशलाई अन्धकारतर्फ धकेलिन नदिन र शान्ति कायम राख्नका लागि वार्ता र सहमतिलाई प्राथमिकता दिइएको संगठनले जनाएको छ ।