ब्रड पीक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीप्रति सरकारको श्रद्धाञ्जली

निर्मल पूर्जा । फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानमा रहेको विश्वको १२औं अग्लो हिमाल ब्रड पीक आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार (आज) विज्ञप्ति जारी गर्दै विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूप्रति श्रद्धाञ्जलली अर्पण गरेको जनाएको छ।

मन्त्रालयले उक्त दुर्घटनाले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ । 

विज्ञप्तिमा नेपाली आरोहीहरू संलग्न टोली सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय, स्थानीय उद्धार संयन्त्र तथा नेपाली पर्वतारोही टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ ।

उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच खोज तथा उद्धार कार्यमा खटिएका पाकिस्तानी तथा नेपाली उद्धारकर्मी र पर्वतारोहीहरूको साहस, समर्पण र व्यावसायिकताप्रति मन्त्रालयले उच्च सम्मान व्यक्त गरेको छ ।

Share News