युवा नेताले सुरु गरे देश र कांग्रेस जोड्ने अभियान

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित देश र कांग्रेस जोड्ने अभियान घोषणा गरेका छन् ।

आइतबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभा सदस्य रञ्जित कर्णलगायतका नेताहरूले अभियान सार्वजनिक गरेका हुन् । 

उनिहरुले पार्टीलाई एकताबद्ध बनाउने प्रयासका रूपमा यसलाई अघि बढाइएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता महरले आगामी साउन २० गते काठमाडौंको सुकेधारामा राष्ट्रिय एकता भेला आयोजना गरिने जानकारी दिए । 

उनका अनुसार भेलामा नेपाली कांग्रेसका तर्फबाट विभिन्न तहमा निर्वाचित देशभरका जनप्रतिनिधिलाई उक्त कार्यक्रममा सहभागी गराइनेछ ।

महरले उक्त भेलामा पार्टीका संस्थापन र संस्थापनइतर दुवै धारका नेताहरूलाई एउटै मञ्चमा उभ्याउने प्रयास गरिने जानकारी दिए ।

पार्टीभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्दै संवाद, सहकार्य र संगठनात्मक एकतालाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने उनको भनाइ थियो ।

नेता महरका अनुसार अभियानको उद्देश्य कांग्रेसलाई आन्तरिक रूपमा सुदृढ बनाउँदै जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु हो ।

कांग्रेसभित्र गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन । उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवापक्ष सहभागी नभएको विषयलाई लिएर पार्टीभित्र मतभेद कायम छ ।

यता संस्थापनइतर समूहले पनि साउन २९ गते राष्ट्रिय भेला बोलाइसकेको छ ।

एउटै महिनाभित्र दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको आन्तरिक शक्तिसन्तुलन र एकताको प्रयास थप चासोको विषय बनेको छ ।

Share News