काठमाडौं । सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले आफ्ना उत्पादनहरूको देशव्यापी बिक्री-वितरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ मा उत्पादन हुने लोकप्रिय सन्चो ५ मि.लि. सहित सन्चो बाम, सन्चो सिलाजित, हिमालयन मसाज आयल, सन्चो जटा केश तेल र सन्चो १० मि.लि. लगायतका हर्बल उत्पादनहरूको बिक्री-वितरणलाई प्रदेशगत रूपमा विस्तार गर्न दुई सुपर स्टकिस्ट नियुक्त गर्ने भएको हो ।
कम्पनीका अनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक तथा गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि अर्को गरी दुई सुपर स्टकिस्ट नियुक्त गरिनेछ । तोकिएका योग्यता र शर्त पूरा गर्ने इच्छुक व्यापारिक फर्म वा कम्पनीले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रस्ताव पेस गर्ने इच्छुक फर्म वा कम्पनीले कम्पनीको मौज्दातमा रहेको सन्चो ५ मि.लि. मध्ये न्यूनतम ४ लाख ५० हजार थान बराबरको १ करोड ५७ लाख ५० हजार रुपैयाँभन्दा कम नहुने रकमको एकमुष्ट खरिद प्रस्ताव पेस गर्नुपर्नेछ । गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि प्रस्ताव पेस गर्ने फर्म वा कम्पनीले पनि सोही परिमाण र न्यूनतम रकम बराबरको एकमुष्ट खरिद प्रस्ताव पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रत्येक कार्यक्षेत्रका लागि सबैभन्दा बढी एकमुष्ट खरिद प्रस्ताव गर्ने फर्म वा कम्पनीलाई सम्बन्धित क्षेत्रको सुपर स्टकिस्टका रूपमा छनोट गरिनेछ । छनोट भएका सुपर स्टकिस्टले सम्झौता गर्दा आफूले प्रस्ताव गरेको खरिद रकम कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीले सन्चो ५ मि.लि.को ५५ लाख थान तथा अन्य हर्बल उत्पादनहरूको ५२ हजार थान बिक्री गर्ने लक्ष्य राखेको छ । यसअनुसार बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सुपर स्टकिस्टले सन्चो ५ मि.लि. २७ लाख ५० हजार थान र अन्य हर्बल उत्पादन २६ हजार थान खरिद गर्नुपर्नेछ। गण्डकी, कोशी, मधेश र लुम्बिनी प्रदेशका सुपर स्टकिस्टले पनि सोही परिमाणमा खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।